काठमाडौं । देशभरका विभिन्न अदालतमा ३२ न्यायाधीशका कुर्सी खाली भएका छन् । न्यायाधीश नियुक्तिको सिफारिस गर्ने न्याय परिषदमै मंसिर १५ देखि एकजना सदस्य रिक्त छन् ।
यतिसम्म कि सर्वोच्च अदालतमै ४ जना न्यायाधीशको पद रिक्त छ । न्यायपरिषदले पूर्णता नपाउँदासम्म नयाँ न्यायाधीश नियुक्तिको सम्भावना छैन ।
देशभरका उच्च अदालतमा तीनजना मुख्य न्यायाधीशसहित २३ न्यायाधीशको पद रिक्त छ । पाटन, तुलसीपुर र सुर्खेत उच्च अदालतमा मुख्य न्यायाधीशकै पद रिक्त छ ।
पाटन उच्च अदालतमा ७ जना न्यायाधीशको पद रिक्त छ । जनकपुर, पोखरा र दिपायल उच्च अदालतमा एक÷एकजना न्यायाधीशहरुको पद रिक्त छ ।
उच्च अदालतका ११ वटा अस्थायी इजलासमध्ये अधिकांशमा न्यायाधीशहरुको दरबन्दी खाली छ । इलाम, धनकुटा, ओखलढुंगा र वीरगञ्जका अस्थायी इजलासहरुमा एक÷एकजना उच्च न्यायाधीशको पद रिक्त छ । महेन्द्रनगर, जुम्ला, नेपालगञ्ज, बीरगञ्ज र हेटौंडा अस्थायी इजलासमा पनि एक÷एकजना न्यायाधीश रिक्त छन् ।
बुटवल अस्थायी इजलासमा २ जना न्यायाधीश रिक्त छन् ।
जिल्ला अदालततर्फ देशभरिका न्यायाधीशहरुको कुल दरबन्दी संख्या २८७ रहेकोमा २८२ जनाको पदपूर्ति भएको छ । जिल्लातर्फ ५ जना मात्रै न्यायाधीशको पद रिक्त छ ।
काठमाडौं जिल्ला अदालतमा ४३ न्यायाधीशको दरबन्दी रहेकोमा तीनवटा पद रिक्त छ । मोरङमा एकजना र सिरहामा एकजना जिल्ला न्यायाधीशको पद रिक्त छ ।