Jus Nepal
शुक्रबार, माघ ११, २०८१ | January 24, 2025 |

अदालतमा ‘लोकप्रियतावाद’ को जोखिम

राजनीतिक लोकप्रियतादेखि न्यायिक लोकप्रियतासम्म

लोकप्रिय हुने चाहना प्रायः हरेक मानिसमा हुन्छ । राजनीतिकर्मीहरु त झनै लोकप्रिय हुन चाहन्छन् । लोकप्रिय बन्न पाए सधैं चुनाव जितिन्छ भन्ने नेताहरुको सपना हुन्छ । तर, जब न्यायालयभित्र ‘लोकप्रियतावाद’ (Populism) प्रवेश गर्छ, त्यसले न्याय निरुपणलाई अलोकप्रिय एव‌ं अविश्वसनीय बनाउँछ ।

लोकप्रियतावाद एउटा त्यस्तो राजनीतिक विचार वा अभियान हो, जसले संस्थापन पक्ष वा घरानियाँ राजनीतिको विरुद्धमा आम मानिसहरुको पक्षपोषण गर्दछ । यो कुनै कसिलो विचारधारामा अडिँदैन, आफूलाई लोकप्रिय बनाउन जुन बाटो पनि प्रयोग गर्न सक्छ । लेफ्ट, राइट वा मध्यमार्गी जुनसुकै लाइन लिन सक्छ । यसले परम्परागत राजनीतिक प्रणालीको विरोध गर्छ अनि जनताको आर्थिक अधिकार र सामाजिक परिवर्तनको कुरो गर्छ ।

निश्चित शासकको विरोध गर्दै आम जनताको पक्ष लिनु, संस्थापन पक्षको विरुद्ध खडा हुनु, चमत्कारिक नेता जन्मनु, जटिल सामाजिक प्रश्नहरुको सरल समाधान खोज्नु अनि कार्यकर्ता पार्टी संयन्त्रमा आधारित नभएर आम जनतालाई प्रत्यक्ष सम्बोधन गर्नु लोकप्रियतावादको मूल राजनीतिक चरित्र हो ।

मदन भण्डारी, प्रचण्ड र केपी शर्मा ओलीले ‘वाम लोकप्रियतावादी’ नेता बन्ने प्रयास गरे । कमल थापाले ‘दक्षिणपन्थी लोकप्रियतावाद’ को असफल अभ्यास गरे । अहिले राजेन्द्र लिङदेनले ‘दक्षिणपन्थी लोकप्रियतावाद’ र रवि लामिछानेले ‘मध्यमार्गी लोकप्रियतावाद’को प्रयोग गर्न खोजेको देखिन्छ । बालेन्द्र शाह, गोपाल हमाल, हर्क साम्पाङ, ज्ञानेन्द्र शाही र दुर्गा प्रसाई ‘रैथाने लोकप्रियतावादी’ हुन् ।

इन्टरनेशनल बार एशोसिएसनका कार्यकारी निर्देशक डा. मार्क एलिस ०८१ कात्तिक पहिलो साता काठमाडौं आएका थिए । उनले दरबारमार्गमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा ‘लोकप्रियतावाद’ माथि चिन्ता प्रकट गरे । विश्व राजनीतिमा बढ्दै गएको लोकप्रियतावादले अधिनायवादको सेवा गरिरहेको उनको तर्क थियो ।

‘लोकप्रियतावाद र राष्ट्रवादका अँध्यारा पक्षहरु एकै साथ देखा पर्दछन् । किनभने, धेरै मानेमा दुवै नश्लवादमा आधारित छन्, जसको केन्द्रमा अधिनायकवाद छ’ मार्क भन्छन्, ‘यसले बहुसंस्कृतिवादलाई अस्वीकार गर्छ । अर्को संस्कृतिका मानिसप्रति हुने शत्रुताको अभूतपूर्व वृद्धिप्रति आँखा चिम्लन्छ र उनीहरुलाई ‘आप्रवासी’ ठान्छ ।’

लोकप्रियतावादको चरित्रबारे थप चर्चा गर्दै मार्क भन्छन्, ‘मलाई लाग्छ, आज राज्यको स्वेच्छाचारी शक्ति लोकप्रियतावाद र राष्ट्रवाद दुबैमा नाटकीय रुपबाट बढिरहेको छ ।… युरोपमा राष्ट्रवाद तथा लोकप्रियतावादको उदय असाधारण छ । सर्वसत्तावादी पार्टीहरुको संख्यामा नाटकीय वृद्धि भएको छ ।’ डा. मार्कको भाषणको अंश  पढ्न यहाँ क्लिक गर्नुहोस्   

लोकप्रियतावादका तीन भेद

विश्व राजनीतिमा विभिन्न प्रकारका लोकप्रियतावाद देखिन्छन् ।

एउटा हो– वामपन्थी लोकप्रियतावाद । यसले यसले आर्थिक समानताको पक्षपोषण गर्छ । कर्पोरेटका मालिहरुबाट हुने राजनीतिक हस्तक्षेपको विरोध गर्छ र सामाजिक लोककल्याणमा पुनर्वितरणको माग गर्दछ । भेनेजुएलाका ह्युगो चाभेजदेखि अमेरिकी राजनीतिज्ञ बर्नी स्यान्डर्ससम्म यो वाम–लोकतान्त्रिक कित्तामा पर्छन् ।

दोस्रो हो– दक्षिणपन्थी लोकप्रियतावाद । यो कित्तामा अमेरिकाका डोनाल्ड ट्रम्प र फ्रान्सको नेशनल  र्‍याली पार्टीकी मारिन ले पेनसम्म पर्छन् । दक्षिणपन्थी लोकप्रियतावादले राष्ट्रवादको वकालत गर्छ । आप्रवासनविरोधी नीतिको वकालत गर्छ । राज्यमा संस्थापन पक्षको सांस्कृतिक पहिचानको वकालत गर्छ ।

लोकप्रियतावादी राजनीतिको तेस्रो पाटो पनि छ जसलाई ‘मध्यमार्गी लोकप्रियतावाद’ भनिन्छ । यसले वामपन्थी र दक्षिणपन्थी दुबैखाले लोकप्रियतावादको सीमामा रहेर आफूलाई प्रस्तुत गर्दछ । जस्तो–इटलीका पूर्वप्रधानमन्त्री सिल्वियो बेर्लुस्कोनीलाई मध्यमार्गी लोकप्रियतावादीका रुपमा लिने गरिन्छ । बेर्लुस्कोनीले १९९४ देखि २०११ सम्म चार कार्यकाल इटलीको प्रधानमन्त्री चलाए ।

बैंकका मालिक, फुटबल क्लबका सञ्चालक र टेलिभिजन सञ्चालक एवं मिडिया सञ्चालकसमेत रहेका बेर्लुस्कोनीमाथि सन् २०१३ मा कर छली गरेको अभियोगमा मुद्दा चल्यो । ६ वर्षसम्म चुनाव लड्न नपाउने फैसला भयो । सन् २०२३ मा उनको निधन भयो । राजनीतिमा लोकप्रिय बनेका बेर्लुस्कोनीलाई इटलीको ‘मिडिया टाइकन’ का रुपमा समेत लिने गरिन्थ्यो ।

शायद डा. मार्क एलिसले चिन्ता गरेको अहिले विश्वमा बढिरहेको लोकप्रियतावाद चाहिँ मध्यमार्गी वा वामपन्थी लोकप्रियतावाद नभएर दक्षिणपन्थी लोकप्रियतावाद हो ।

नेपाली राजनीतिमा लोकप्रियतावाद

नेपालको आधुनिक राजनीतिमा पनि लोमप्रियतावाद पन्पनाउने गरेको पाइन्छ । जस्तो– ०४६ सालको परिवर्तनपछि वाम लोकप्रियता देखा पर्‍यो ।

परम्परागत कम्युनिष्ट विचारको विरोध गर्दै ‘बहुदलीय जनवाद’को नारा दिएर मदन भण्डारी चमत्कारिक नेताका रुपमा उदाए । भण्डारीले अघि सारेका कार्यक्रमहरु ‘वाम लोकप्रियतावाद’ सँग मेल खाने किसिमका थिए । तर, अति लोकप्रिय बनेका भण्डारीको ४१ वर्षकै उमेरमा चितवनको दासढुंगामा जीप दुर्घटनामा परी मृत्यु भयो ।

भण्डारीको मृत्युपछि एमालेले उनकै लोकप्रियताको जगमा टेकेर ९ महिना सरकार चलायो । त्यसबेला उसले वृद्धभत्ता, आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रमहरु ल्यायो । तर, उक्त वाम लोकप्रियतालाई धान्ने ‘करिस्म्याटिक नेता’ एमालेले पाएन ।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद विघटन गर्दा सर्वोच्च अदालतले संसद ब्युँताइदिएको थियो । त्यसको विरोध एमाले सडकमा ओर्लियो र तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायविरुद्ध नारा लगायो । उनलाई फाँसी दिनुपर्नेसम्मका नाराहरु लागे । र, त्यसले के देखायो भने वाम लोकप्रियतावादले पनि दक्षिणपन्थी लोकप्रियतावादले जस्तै न्यायालयको स्वतन्त्रता मन पराउँदैन ।

नेपालमा दक्षिणपन्थी लोकप्रियतावादले चारवटा विशेषता बोकेको देखिन्छ– एक– राष्ट्रवाद । दोस्रो – हिन्दु राष्ट्र । तेस्रो– कम्युनिष्टहरुको चर्को विरोध । र, चौथो– पहिचानसहितको संघीयताको विरोध ।  

०४६ को राजनीतिक परिवर्तनपछि संसदवादी दलहरुमा देखापरेको गैरजिम्मेवारी र विकृतिको विरोध गर्दै ०५२ सालबाट एमालेभन्दा पनि अति वामपन्थी पार्टी नेकपा माओवादी जन्मियो । र, ०६४ सालको संविधानसभा चुनावसम्म आउँदा त्यसले अर्को वामपन्थी लोकप्रियतावादको शिखर चुम्यो ।

प्रचण्ड र बाबुरामलाई चमत्कारिक नेता मान्दै जनताले माओवादीलाई पहिलो दल बनाइदिए । तर, माओवादी नेताहरुले लोकप्रियताको बाटो नसमातेर परम्परागत बाटो अवलम्बन गरेका कारण मदन भण्डारीपछिको दोस्रो किस्ताको वाम लोकप्रियतावाद पनि सेलायो ।

यहीबीचमा नेपाली समाजमा कम्युनिष्ट विचारधाराको विरोधमा दक्षिणपन्थी विचारधारा पनि शक्तिशाली बन्दै आइरहेको थियो । राजसंस्था ढलेकोमा पुरानो संस्थापन पक्ष असन्तुष्ट थियो । कर्पोरेट क्षेत्र ट्रेड युनियन आन्दोलन र चन्दाबाट हैरान थियो । कम्युनिष्टहरुले समाजवादी कार्यक्रम ल्याउलान् कि भनेर त्रसित थियो । पार्टी राजनीतिबाट हैरान युवा पुस्ता संसारभरि छरिएको थियो । उता विश्व र नजिकैको भारतमा पनि कम्युनिष्टहरु धमाधम लोप भइरहेका थिए ।

यिनै कारणहरुले गर्दा नेपालमा दक्षिणपन्थी लोकप्रियतावादको आधार तयार हुन थाल्यो । सुरुमा संविधानसभामा २४ सिट जितेर कमल थापाले दक्षिणपन्थी लोकप्रियतावादको नेता बन्ने प्रयास गरे ।

त्यसबेला नेपालमा दक्षिणपन्थी लोकप्रियतावादले चारवटा विशेषता बोकेको थियो– एक– राष्ट्रवाद । दोस्रो – हिन्दु राष्ट्र । तेस्रो– कम्युनिष्टहरुको चर्को विरोध । र, चौथो– पहिचानसहितको संघीयताको विरोध । कमल थापाले यसमा राजसंस्था पुनस्थापनाको नारालाईसमेत जोडेका थिए ।

संविधानसभाको समयमा कमल थापाले दक्षिणपन्थी लोकप्रियतावादको लगाम पकडन नसकेपछि ०७२ पछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकप्रियतावादी बन्ने प्रयास गरे । ओलीको लोकप्रियतावादका आफ्नै मौलिक विशेषता रहे ।

भारतीय नाकाबन्दीको विरोध गर्दै ओली चर्को राष्ट्रवादीका रुपमा देखा परे । देशभित्रका अन्य जातजातिको पहिचानको विरोध गरेर उनले दक्षिणपन्थी लोकप्रियतावादलाई समेत आफैंसँग मिसाए । माओवादीको चर्को विरोध गरेर उनले कम्युनिष्ट विरोधीहरुलाई पनि आफूतिरै नजिक बनाए । र, पूर्वीय सभ्यता, ऋषिमुनिको योगदान, भगवान रामको मूर्ति स्थापना इत्यादि गरेर उनले हिन्दुराष्ट्र हुनुपर्छ भन्ने जनमत पनि ओलीले आफूतिरै डोलायमान बनाए ।

अन्ततः ०७४ को चुनावसम्म आइपुग्दा ओली एकाएक लोमप्रिय बन्न पुगे । र, उनी भण्डै दुई तिहाई बहुमतसहितको शक्तिशाली प्रधानमन्त्री बने । उनले आफ्नो वायाँतिर प्रचण्ड र विप्लवलाई राखे, दायाँतिर राजेन्द्र लिङदेन र सिके राउतसम्मलाई समेटे ।

लामो समयको कम्युनिष्ट आन्दोलनमा सहभागिता रहेको र पुरानो संरचनाको कम्युनिष्ट पार्टीको अध्यक्षका रुपमा केपी ओलीसँग धेरै सीमाहरु थिए, जसले गर्दा उनले लोकप्रियतावादका सबै अवयवहरुलाई आफूसित टिकाइराख्न सकेनन् ।

फलस्वरुप, कमल थापा र केपी ओलीले सम्हाल्न नसकेको लोकप्रियतावादलाई ०७९ को चुनावसम्म आइपुग्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ‘पिक’ गर्‍यो । त्यसपछि रवि लामिछाने लोकप्रियतावादका उपयुक्त पात्र बन्न पुगे ।

रवि लामिछाने कुन लाइनका लोकप्रियतावादी हुन् ? उनी वाम लोकप्रियतावादी होइनन् । माओवादीलाई १७ हजारका हतयार भनेर सुरु भएको रास्वपाको लोकप्रियतावादको वैचारिक जग वाम लोकप्रियतावाद होइन ।

सुरुमा रविलाई संघीयताविरोधीका रुपमा हेरिएको थियो । उनले वर्तमान संसदीय व्यवस्थाको पनि आलोचना गरेको हुनाले उनी राप्रपामा पो मिल्छन् कि भन्ने पनि धेरैलाई लागेको थियो । ‘हिन्दुराष्ट्र’को पक्षमा रहेको जनमतलाई रविले ‘क्यास’ गर्ने अनुमान पनि धेरैको थियो । तर, रविले राजावादी र हिन्दुवादीलाई निराश बनाउँदै ‘व्यवस्था हैन, अवस्था बदल्ने’ नीति लिए । यसबाट उनी दक्षिणपन्थी लोकप्रियतावादबाट मध्यमार्गतिर ढल्केको देखियो ।

चुनावमा ११ लाख लोकप्रिय मत पाएका रविले आफ्नो पार्टीलाई ‘सेन्टर’ मै राखिरहेको भए शायद दक्षिणपन्थी लोकप्रियतावादीहरु पनि उनीसँग आशावादी नै रहने थिए, तर रविले आफूलाई कम्युनिष्टहरुसँग सहकार्य नै गर्नेसम्मको बाटोमा लगे । केपी ओलीसँग गठबनधन गरेर रास्वपा सरकारमा गयो ।
सरकारबाट हटिसकेको रास्वपा अहिले माओवादीलाई ‘१७ हजारवाला’ भनेर गाली गर्ने होइन कि ‘अघोषित सहकार्य’ नै गर्ने अवस्थामा पुगेको देखिन्छ । आगामी चुनावमा रास्वपा–माओवादी गठबन्धन हुन सक्ने चर्चा भइरहेको छ ।

लोकप्रियतावादको विशेषता के हो भने उसले कसैसँग सहकार्य गर्दैन । प्रत्यक्ष जनतालाई अपिल गर्छ । परम्परागत पार्टीहरुको निरपेक्ष विरोध गर्छ र निर्वाचन वा सडक आन्दोलनको माध्यमबाट सत्तामा पुग्छ । तर, रास्वपा विस्तारै लोकप्रियतावादबाट परम्परावादमा फेरिँदै गएको प्रतीत हुन्छ । तथापि, अहिलेसम्म नेपाली राजनीतिको लोकप्रियतावादको पक्षपोषक भने रास्वपा नै हो, रवि लामिछाने नै हुन् भन्दा फरक नपर्ला ।

निचोडमा भन्नुपर्दा मदन भण्डारी, प्रचण्ड र केपी शर्मा ओलीले ‘वाम लोकप्रियतावादी’ नेता बन्ने प्रयास गरे । कमल थापाले ‘दक्षिणपन्थी लोकप्रियतावाद’ को असफल अभ्यास गरे । अहिले राजेन्द्र लिङदेनले ‘दक्षिणपन्थी लोकप्रियतावाद’ र रवि लामिछानेले ‘मध्यमार्गी लोकप्रियतावाद’को प्रयोग गर्न खोजेको देखिन्छ । बालेन्द्र शाह, गोपाल हमाल, हर्क साम्पाङ, ज्ञानेन्द्र शाही र दुर्गा प्रसाई ‘रैथाने लोकप्रियतावादी’ हुन् ।

नेपाली राजनीतिमा लोकप्रियतावादका स्थानीय बाछिटाहरु पनि आउने गरेका छन् । जस्तै– काठमाडौंका मेयर बालेन्द्र शाह अर्का लोकप्रिय नेता हुन् । उनको पक्षमा युवाहरुको आकर्षण बढ्दै गइरहेको छ । धनगढीका मेयर गोपी हमाल र धरानका हर्क साम्पाङ पनि लोमप्रियताकै बलमा जितेका जनप्रतिनिधिहरु हुन् ।

सामाजिक सञ्जालबाट लोकप्रिय बनेकै आधारमा ज्ञानेन्द्र शाही राप्रपामा लागेर जननिर्वाचित सांसद बनेका छन् । दुर्गा प्रसाईले ‘दक्षिणपन्थी लोकप्रियतावाद’ को रैथाने अभ्यास गरिरहेकै छन् । अहिले सोसल मिडियामा छाएकी आशिका तामाङ पनि भविष्यमा सांसद बनिन् भने अचम्म नमाने हुन्छ । किनभने, राजनीतिमा जाने छोटो बाटो भनेकै लोकप्रियतावादको भर्‍याङ हो । दशकौं पार्टीमा काम गरेका कार्यकर्ताको मेहनत भन्दा लोकप्रियतावाद बाटो छोटो हुन्छ ।

न्यायालयमा लोकप्रियतावादको छाया

डा. मार्क एलिसले ठीकै भनेका हुन् राजनीतिमा बढेको लोकप्रियतावादले स्वतन्त्र न्यायालय रुचाउँदैन । अदालतलाई उसले या त आफ्नो प्रभावमा राख्न खोज्छ, या त विरोध गरेर जनआस्था घटाउने कार्य गर्दछ ।

एलिस भन्छन्, ‘ विधिको शासन भनेको संस्थाहरु, नियम कानून र कार्यविधि मात्रै होइन । विधिको शासन भनेको नैतिकताको विषय पनि हो । सरकारी शक्तिको मनमौजी प्रयोगमा होइन कि यसलाई न्यायको परिभाषाअन्तर्गत हेरिनुपर्छ । आज हामी यस्ता सर्वसत्तावादी नेताहरु भेट्छौं, जसले कानूनका आधारभूत मान्यता एवं प्रक्रियालाई सरकारको विवेकहीन एवं मनोमानी प्रयोगबाट रोक्न सकिरहेका छैनन् ।’

आफ्नो पक्षमा अदालतले फैसला गरेन भने न्यायालय बिक्यो, न्यायालयमा भ्रष्टाचार छ, न्यायालयमा पार्टीकरण भइरहेको इत्यादि भन्दै अदालतको बदनाम गर्ने काम लोकप्रियतावादीहरुले गर्छन् ।

राजनीतिक लोकप्रियतावादको प्रभाव स्वरुप अदालतका न्यायाधीशहरु आफैं पनि ‘न्यायिक लोकप्रियतावाद’ को प्रभावमा पर्ने खतरा बढ्छ । बाहिरको जनमत हेरेर फैसला गर्ने, भीडतन्त्रको विरुद्धमा फैसला सुनाउन डराउने अनि राष्ट्रिय विवादका विषयमा फैसला नदिई भाग्न खोज्ने प्रवृत्ति न्यायालयमा छिर्न सक्छ   

त्यसर्थ, राजनीतिमा जति–जति लोकप्रियतावाद मौलाउँदै जान्छ, त्यति–त्यति न्यायालयमाथि आक्रमण बढ्दै जान्छ । न्यायाधीशको नियुक्तिदेखि न्याय निरुपणमा समेत हस्तक्षेप बढ्छ । विभिन्न ट्रायलहरु गरेर अदालतलाई बदनाम बनाउने र न्यायाधीशलाई तर्साउने प्रयत्नहरु गरिन्छ । राज्यशक्तिको भय खडा गरेर वा जनमतबाट अदालतलाई प्रभावित बनाउने प्रयत्न राजनीतिक नेतृत्वबाट गरिन्छ ।

यता, राजनीतिक लोकप्रियतावादको प्रभाव स्वरुप अदालतका न्यायाधीशहरु आफैं पनि ‘न्यायिक लोकप्रियतावाद’ को प्रभावमा पर्ने खतरा बढ्छ ।
बाहिरको जनमत हेरेर फैसला गर्ने, भीडतन्त्रको विरुद्धमा फैसला सुनाउन डराउने अनि राष्ट्रिय विवादका विषयमा फैसला नदिई भाग्न खोज्ने प्रवृत्ति न्यायालयमा छिर्न सक्छ ।

सरकारको पक्षमा मात्रै फैसलाहरु सुनाउँदै जाने र कार्यपालिकाप्रति नतमस्तक हुने खालका लक्षणहरु पनि न्यायिक नेतृत्वमा देखा पर्न सक्छन् ।

‘न्यायिक लोकप्रियतावाद’ एउटा त्यस्तो परिघटना हो, जहाँ अदालतका निर्णयहरू जनता वा निश्चित समूहहरूको धारणाबाट प्रभावित हुन्छन् । यसरी अदालत ‘पब्लिक सेन्टिमेन्ट’का आधारमा चल्ने कार्यलाई नै ‘न्यायिक लोकप्रियतावाद’ भन्ने गरिन्छ ।

त्यसर्थ, कानूनको शासन र न्यायको प्रत्याभूतिका लागि न्यायालयलाई सधैं राजनीतिक/न्यायिक दुबैखाले लोकप्रियतावादका जोखिमबाट जोगाइ राख्न आवश्यक हुन्छ ।

 


जस नेपाल

जस नेपाल डट कम नेपालको पहिलो डिजटल लिगल जर्नल हो । यहाँले कानूनसम्बन्धी लेख रचनाहरु पठाउन सक्नुहुनेछ । Email- jusnepal81@gmail.com

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri