काठमाण्डौ: डर त्रास र असल नियतले गरेको काम कसूर नहुने व्यवस्था गरेको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २२ मा डर त्रासमा परी गरेको काम कसूर नहुने व्यवस्था गरेको छ । कसैले जोखिम हातहतियार वा विषालु वा विष्फोटक पदार्थ लिई कुनै व्यक्तिलाई निजले तत्काल कुनै काम नगरे निज वा निजको नजिकको नातेदारको ज्यान लिने वा शारीरिक अङ्गभङ्ग गराउने डर त्रास देखाएको र तत्काल त्यस्तो काम नगरे आफ्नो वा आफ्नो नजिकको नातेदारको ज्यान जान वा शारीरिक अङ्गभङ्ग हुन सक्ने खतरा छ भनी विश्वास गर्नु पर्ने मनासिब कारण भई त्यस्तो व्यक्तिले गरेको त्यस्तो काम कसूर मानिने छैन ।
तर देहायको अवस्थामा त्यस्तो काम कसूर मानिने व्यवस्था गरेको छ ।
– ज्यान लिएको वा शारीरिक अङ्गभङ्ग गरेकोमा,
– जवर्जस्ती करणी गरेकोमा,
– राज्य बिरुद्धको कसूर गरेकोमा, वा
– त्यस्तो काम गर्ने व्यक्ति आफैले गर्दा वा आफले कुनै काम गरेको कारणबाट निज त्यस्तो डर त्रासको अवस्थामा पुगेकोमा ।
त्यस्तै उपदफा (१) बमोजिम डर, त्रासमा पारी कसूर गराउने व्यक्तिलाई निज आफैले त्यस्तो कसूर गरे सरह कानून बमोजिम सजाय हुनेछ ।
त्यसैगरि दफा २३ अन्तैगत अन्य हानि, नोक्सानीबाट बचाउन असल नियतले गरेको काम कसूर नहुने व्यवस्था गरेको छ । कसैलाई कुनै हानि, नोक्सानी हुने कुनै काम तत्काल नगरे आफनो वा अरु कसैको जीउ, ज्यान वा सम्पत्तिमा त्यसभन्दा ठूलो हानि, नोक्सानी हुने निश्चित भई आपराधिक नियत विना र संभावित ठूलो हानि, नोक्सानी रोक्ने वा टार्ने उद्देश्यले असल नियतले त्यस्तो हानि, नोक्सानी हुने काम गरेमा हानि पुग्न सक्छ भन्ने जानीजानी गरेको कारणले मात्र त्यस्तो काम कसूर नमानिने व्यवस्था ऐनको दफा २३ ले गरेको छ ।
व्यवस्थापिका संसदको २०७४ साल साउन २५ गते बसेको बैठकले नेपालको संविधानको धारा १११ बमोजिम यो विधेयक पारित भर्एसँगै संविधानको धारा ११३ बमोजिम २०७४ असोज ३० गते राष्ट्रपतिद्धारा प्रमाणिकरण भएको हो ।