काठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका संसदले २०७४ असोज ३० गते मुलुकी अपराध संहिता ऐन समयानुकूल परिमार्जन गरि जारी गरेको हो ।
डाक्टरको लापर्वाहीका कारण बिरामीको ज्यान गए ५ वर्ष कैद सजायको व्यवस्था गरेको छ । त्यस्तै हेलचेक्राइँ गरेमा ३ वर्ष कैदको व्यवस्था छ । डाक्टरले बदनियतपूर्वक उपचार गरेमा जन्मकैद सम्मको सजायको व्यवस्था गरिएको छ ।
परिच्छेद १९ को इलाजसम्बन्धी कसुर अन्तर्गत दफा २३१ मा बद्नियतपूर्वक चिकित्सकले उपचार गर्दा विरामीको मृत्यु भए वा अङ्गभङ्ग भए सोही अनुरुप कारबाही हुने उल्लेख छ । डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको घटनाहरु सार्वजनिक भइरहँदा त्यसलाई रोक्न ऐनले कडाइ गरेको हो । डाक्टरको लापरबाहीले विरामीको मृत्यु भएको पुष्टि भएमा त्यस्ता डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
यस्तै डाक्टरको लापरबाहीले कसैको ज्यान गएमा वा अंगभंग भएमा वा कुनै क्षति पुगेमा लापरवाही गर्ने डाक्टरले पीडितलाई क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था ऐनले गरेको छ । हाल प्रचलनमा रहेको मुलुकी ऐन २०२० मा उपचारमा लापरवाही गरेमा क्षतिपूर्तिको कुनै पनि व्यवस्था गएिको गिएन ।
यस्तै म्याद नाघेको औषधी बिक्री वितरण गरेमा १ वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था राखिएको छ । यदि म्याद नाघेको औषधीले क्षति भएमा क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था रहेको छ ।