Jus Nepal
शुक्रबार, चैत्र ७, २०८१ | March 21, 2025 |

एक वर्षमा ७० हजार नेपालीलाई मुद्दा, सार्वजनिक अपराध र बैंकिङ कसूर बढ्यो

हत्या, बलात्कार, लागू औषध, सवारी ज्यान र वन मुद्दा धेरै

काठमाडौं – नेपाली समाजमा अपराधको स्तर कस्तो छ ? सामाजिक रुपमा अपराधका घटना बढिरहेका छन् वा घटेका छन् ? यी प्रश्नको जवाफले वर्तमान समाजको चरित्र उजागर गर्छ ।

महान्यायाधिवक्ताको कार्यालयले हालै राष्ट्रपतिसमक्ष बुझाएको वार्षिक प्रतिवेदन का आधारमा हेर्दा नेपालमा एक वर्षमा करिब ७० हजार मानिसहरु सरकारवादी मुद्दाका प्रतिवादी बनेका छन् । अर्थात एक वर्षमा ७० हजार नेपालीलाई मुद्दा लागेको छ ।

प्रतिवेदनअनुसार ७७ वटै जिल्ला सरकारी वकिलको कार्यालयबाट एक वर्षमा ४३ हजार ८२१ वटा मुद्दा चलाइएको छ । यी मुद्दामा ६७ हजार ३४२ जनालाई प्रतिवादी बनाइएको छ ।

त्यस्तै, जिल्ला सरकारी वकिलको कार्यालयले अनुसूची २ अन्तरगतका अपराधमा चलाएका मुद्दाको संख्या ९९० छ भने प्रतिवादीहरुको संख्या २ हजार २९३ छ ।

विशेष सरकारी वकिलको कार्यालयबाट ५६४ जनामाथि मुद्दा चलेको छ भने उच्च सरकारी वकिल कार्यालयबाट एक वर्षमा ८५ जनाविरुद्ध ३५ वटा मुद्दा दर्ता भएको महान्यायाधिवक्ता कार्यालयको तथ्यांक छ ।

यी सबै मुद्दाका प्रतिवादीहरुको संख्या जोड्दा ७० हजार २८४ हुन जान्छ ।

यो तथ्यांक सरकारीवादी फौजदारी मुद्दाको हो । देवानीतर्फका व्यक्तिवादी मुद्दामा एक वर्षमा कति मानिसलाई मुद्दा चल्यो भन्ने तथ्यांक यसमा समावेश छैन ।

कुन अपराध बढी ?

महान्यायाधिवक्ता कार्यालयको तथ्यांक हेर्दा सबैभन्दा बढी मुद्दा सार्वजनिक हित, स्वास्थ्य सुरक्षामा परेका छन् । यी कसूरमा ८ हजार ८७७ मुद्दा दर्ता भएकामा १२ हजार ७८९ जनालाई प्रतिवादी बनाइएको छ ।

दोस्रो नम्बरमा चेक अनादर लगायतका बैंकिङ कसूरमा बढी मुद्दा दर्ता भएको देखिन्छ । बैंकिङ कसूर अन्तर्गत वर्ष दिनमा ११ हजार २१२ जनालाई मुद्दा लागेको छ । यो कसूरमा दर्ता भएका मुद्दाको संख्या ११ हजार ६७ रहेको छ ।

पछिल्लो वर्ष तेस्रो ठूलो अपराधका रुपमा लागू औषध देखिएको छ । यो अपराधमा ७ हजार ५०४ जनाविरुद्ध मुद्दा चलेको छ ।

त्यस्तै चौथो ठूलो अपराधमा चोरी तथा डाका मुद्दा रहेको छ । यसमा ७ हजार २ सय जनालाई प्रतिवादी बनाइएको छ ।

पाँचौं ठूलो अपराधमा ज्यानसम्बन्धी मुद्दा परेको छ । यसमा २ हजार २९१ मुद्दामा ४ हजार ९७८ जनाविरुद्ध अभियोजन दर्ता भएको छ ।

त्यस्तै, गएको वर्ष बलात्कारका घटना पनि अत्यधिक देखिएका छन् । करणीसम्बन्धी ३ हजार १६७ मुद्दामा ३ हजार ५०४ जनालाई प्रतिवादी बनाइएको छ ।

हेर्नुहोस् महान्यायाधिवक्ता कार्यालयको तथ्यांक–

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved.