जाजरकोट । जिल्ला अदालत जाजरकोटले विभिन्न मातृभाषा बोल्ने र नेपाली भाषा राम्रो सँग बुझ्न नसक्ने सेवाग्राहीका लागि दोभाषे सेवा उपलब्ध गराउने भएको छ । अदालतले दोभाषेका लागि दरखास्त आह्वानसमेत गरेको छ।
अदालतले न्यायमा समान पहुँच पुर्याउने उद्देश्यले अंग्रेजी, मगर, हिन्दी र सांकेतिक भाषा अनुवाद गर्न सक्ने दोभाषेहरुको सुची तयार गर्न लागेको जनाएको छ ।
जिल्ला अदालतले सूचना जारी गर्दै दोभाषे सेवा प्रयोग सम्बन्धी निर्देशिका २०७२ को दफा ४ बमोजिम योग्यता पुगेका इच्छुक उम्मेदवारहरुलाई १५ दिनभित्र निवेदन दिन आह्वान गरेको छ ।
दोभाषेका लागि आवश्यक योग्यता मौखिक रुपमा उल्था गर्ने भाषा राम्रोसँग लेख्न र बोल्न जान्ने हुनुपर्ने भनिएको छ । साथै सरकारी कामकाजको नेपाली भाषा पनि राम्रोसँग बोल्ने र लेख्न जान्ने हुनुपर्ने भनिएको छ ।
दोभाषेको पारिश्रमिक तोकिए बमोजिम हुने अदालतले जनाएको छ।