मेनुका थापा
जीवनमा कत्राकत्रा दुस्खका पहाडहरू सजिलै पार गरियो। कति समस्या आए डर लागेन। आँधी आउँदा डराइनँ, भुइँचालो जाँदा डराइनँ। तर आज आमाको बारेमा लेख्न खोज्दा किन हो किन डर लागिरहेछ !
आमाको बारेमा लेख्न भनी कपी र कलम समातेँ। तबमात्र मैले बुझेँ, आमाको बारेमा लेख्न कति गाह्रो रहेछ १ कलम समात्छु, घोरिन्छु केही शब्द लेख्छु। आफ्नै लेखाइ चित्त बुझ्दैन लेख्छु र फेरि च्यात्छु।
खोइ, किन यस्तो डाहा, छटपटी भइरहेछ मलाई १ किन सरर लेख्न सकिरहेकी छैन। अरू बेला कहिल्यै यस्तो भएको थिएन। फाट्टफुट्ट समय मिलाएर कुनै न कुनै विषयमा लेखिरहन्थे।
मलाई यस्तो सकस त कहिल्यै भएको थिएन। नेपाली समाजले बोल्नसमेत हिच्किचाउने यौन र यौनकर्मीको बारेमा मैले निर्धक्क कलम चलाएको थिएँ तर आज ‘आमा’ को बारेमा लेख्न पसिनै छुट्यो।
दुई अक्षरले बनेको आमा शब्द सुन्दा साँच्चै कति शीतल छ, कति सरल छ, तर बुझ्दा सानोतिनो दिमागले यसको गहिराइ भेट्न नै मुस्किल छ।
आमाका बारेमा थुप्रै पुस्तक लेखिएका छन्, असंख्य गीत कोरिएका छन्। फिल्म बनेका छन्। सयौं भनाइहरू संग्रृहीत छन्। यसमध्ये मलाई एउटा भनाई बारबार मेरो मानसपटलमा आइरहन्छ।
एउटा बच्चाले आमाको काँधमा आफ्नो टाउको राख्दै सोध्यो, आमा तपाईं मलाई कहिलेसम्म यो काँधमा निदाउन दिनुहुन्छरुु तब आमाले भनिन्,’मलाई अरूले आफ्नो काँधमा नउठाएसम्म तिमीलाई म मेरै काँधमा सुताइरहन्छु।’
हो, प्रेम अन्धो हुन्छ। यस्तै अन्धो प्रेम गरेकी हुन्छिन्, एउटी आमाले आफ्नो सन्तानलाई। आफ्नो आँखाले नदेखीकन नै भ्रूण अवस्थादेखि नै अधिक प्रेम गरेकी हुन्छिन्। त्यस्तै प्रेम थियो, मप्रति मेरी आमाको पनि।
मेरी आमा मेरो लागि चर्को घामको शीतल छाहारी थिइन् त दर्के पानीको भरपर्दो छाता अनि कठ्यांग्रिने जाडोमा न्यानो सिरक।
उनी नै थिइन्, संघर्ष र चुनौतीमा दरिलो साथी। उनको साथ र हात छुटेको वर्षौं भयो। तैपनि म मेरी स्वर्गीय आमाले दिएको आशीर्वादको बाटोमा छु।
उहाँ मलाई बारम्बार भन्नुहुन्थ्यो,’आफ्नो लागि त कीराफट्यांग्रा पनि बाँच्छ, हामी मानव १ मानव जातिले अरूको लागि बाँच्न सक्नुपर्छ।’
मेरी आमाले भने जस्तै म आज अरूको लागि बाँच्ने कोसिस गरिरहेकी छु।
…
म आफैंलाई आमा भनी बोलाउने रहर पुगेको छैन, तर पनि आज अचानक म कसैको आमा भएकी छु। हुन त जस्ले नौ महिना कोखमा राखेर जन्मायो, हुर्कायो त्यसैलाई आमा भनिन्छ।
‘आमा’ भन्ने शब्दले यही नै बुझाउँछ तर बढ्दो आधुनिकीकरण र उदारवाद उन्मुख समाजको प्रभावले अहिले आमाको परिचयरपरिभाषा थप परिष्कृत हुँदै गएको छ।
आजको युगले सन्तान जन्म दिँदैमा आमा भइँदैन, उक्त सन्तानलाई भाग्य दिन सक्यो भने वा जीवनदर्शन दिन सक्यो भने मात्रै आमा भइन्छ भन्ने कुराको प्रमाणित गरेको छ र जन्म दिनेभन्दा कर्म दिने महान् हुन भन्ने कुरा अकाट्य भएको छ।
मलाई आजको स्थानसम्म आइपुग्नको लागि मेरा शिक्षा दिने गुरुआमा, मलाई जन्मदिने आमाको जति महत्त्व छ, त्यति नै महत्त्व छ मैले टेकेको धर्ती र मलाई सद्कर्म सिकाउने कर्मदाताको।
त्योभन्दा ज्यादा महत्त्व छ, मलाई आमाको रूपमा जन्माउने सन्तानहरूको। एउटी आमाले सन्तान जन्माएर आमा बनेजस्तै, सन्तानले पनि आमा जन्माउने रहेछन्। हो, म ति नै मेरा सयौं अबोध सन्तानबाट जन्मिएकी आमा हुँ।
मलाई हिजो मेरी आमाले जन्माइन्, मेरो परिचय छोरी भयो। हुर्कंदै जाँदा मेरो परिचय नारीमा बदलियो र अहिले अविवाहित आमाको रूपमा बदलिएको छ। समय परिवर्तनशील छ।
समयसँगसँगै हाम्रा विचारहरू र परिचयहरू पनि परिवर्तन हुँदै जाँदा रहेछन्। म आफैंलाई आमा चाहिएको थियो। पीडामा निर्धक्क रुने काखको खोजीमा थिएँ। अचानक म त मैले नजन्माएका सन्तानको लागि रुने काख पो बनेछु।
प्राय ‘आमा’भन्ने शब्दले नौ महिनासम्म गर्भवती भएर आफ्नो छाती चुसाएर कसैलाई सास भरिदिने महिला वा कपाल फुलेकी, उमेर र व्यवहारमा पाको देखिएकी महिलाको आकृति आँखासामु आउँछ। मसँग न त गर्भवती हुनुपर्दाको अनुभव छ ऊ न त व्यवहार र उमेरले नै पाको हुँ।
तैपनि आज कसैकी आमा भएकी छु। मेरो हृदयमा बात्सल्यता जन्मजात नै छ। मलाई जन्म दिने मेरी आमाले प्राण त्यागेपछि उनीद्वारा नै प्राण भरिएकी मलाई जीवन धान्न धौ(धौ पर्यो।
समयले जता डोर्यायो त्यतै लुखुरलुखुर डोरिने क्रममा २०६० सालमा रक्षा नेपाल नामक सामाजिक संस्थाको जन्म भयो र त्यो संस्थाको अध्यक्ष अर्थात् आमाको भूमिका मैले नै निभाउनुपर्ने आवश्यकता रह्यो।
रक्षा नेपाललाई जन्माएको आज ११ वर्ष पूरा भएको छ। यो ११ वर्षको दौरानमा तीता, मीठा, आरोह(अवरोह थुप्रै अविस्मरणीय पलहरू मेरा मानसपटलमा शिलालेख भएर उभिएको छ।
आजको दिनमा बाध्यताले शरीर बेच्न विवश महिला, यौनजन्य हिंसाको सिकार भएकी किशोरी एवं बलात्कारबाट मानसिक र शारीरिक रूपमा विक्षिप्त बनेका बालबालिकाको आमा बन्ने सौभाग्य पाएकी छु मैले।
…
संस्थागत कामको सिलसिलामा २०६२ सालमा काठमाडौंको कुनै एउटा कुनामा रोगले थलिएको एउटी ५५ वर्षीया महिलासँग भेट भयो। उनी आफू र आफ्नो बच्चा पाल्नको लागि कानुनले बर्जित गरेको देहव्यापार गर्दिरहिछन्।
उमेर छउन्जेल उनले आफ्नो शरीर परपुरुषलाई सुम्पेर पैसा कमाइन्। त्यो पैसाले तीन छोराछोरीलाई राम्रो बोर्डिङ स्कुलमा पढाइछिन्। पछि छोराछोरी जान्ने बुझ्ने भएपछि आमाले शरीर बेच्ने काम पो गर्दी रहिछन् भन्ने थाहा पाएर उल्टै आमालाई तथानाम गाली गरेर थुक्दै घरबाट निकालिदिएछन्।
तिनै सन्तानलाई खुसी दिनको लागि आफ्नो सर्वस्व गुमाएकी र तिनै तीन सन्तानको शरीर सुरक्षित राख्नको लागि आफ्नो शरीरलाई लिलाम गरेकी यी ५५ वर्षीया आमाको दर्दनाक व्यथा सुन्दा मर्माहत भएँ।
ती सन्तानलाई धिक्कार्दै मैले उनलाई उपचारको लागि वीर अस्पताल पुर्याएँ। रगतको परीक्षणबाट थाहा भयो, उनी एचआईभी संक्रमित भएकी रहिछन् र त्यही संक्रमणले उनी थला परेकी रहिछन्। विस्तारै उनी ओछ्यानबाट उठ्न सक्ने भइन्, हिँडडुल गर्न सक्ने भइन्। मैले उनको लागि केही गर्न सकिनँ। त्यही अस्पतालसम्ममात्रै पुर्याउन सकेँ।
मलाई हिजो मेरी आमाले जन्माइन्, मेरो परिचय छोरी भयो। हुर्कंदै जाँदा मेरो परिचय नारीमा बदलियो र अहिले अविवाहित आमाको रूपमा बदलिएको छ। समय परिवर्तनशील छ।
समयसँगसँगै हाम्रा विचारहरू र परिचयहरू पनि परिवर्तन हुँदै जाँदा रहेछन्। म आफैंलाई आमा चाहिएको थियो। पीडामा निर्धक्क रुने काखको खोजीमा थिएँ। अचानक म त मैले नजन्माएका सन्तानको लागि रुने काख पो बनेछु।
त्यही साल आमाको मुख हेर्ने दिन उनी खबरै नगरी बिहानै मेरो अफिसमा आइन्। अञ्जुलीभरि सयपत्री फूल बोकेकी उनले त्यो फूल मेरो शिरमा छर्कदै भनिन्,’सडकमै प्राण पखेरु उड्न लागिसकेकी मलाई हजुरले उठाएर अस्पताल पुर्याउनु भो माया र इज्जत दिनु भो। हजुरको यो गुण म कहिल्यै बिर्सने छैन। आजदेखि हजुर मेरो आमा ! मलाई सयौं वर्ष बाँच्ने आशीर्वाद दिनुहोस्।
मेरी आमा समान उमेरकी महिलाले आमा खुवाउने औंसीको दिन मलाई नै आमा भनी पुकार्दै आश्रुधारा बगाएको त्यो क्षण मैले कहिल्यै भुल्न सकेकी छैन।
उनले आमा भनेर सम्बोधन गर्दा पहिलो पटक मलाई अलिक अप्ठेरो लागेजस्तो, लाज लागेजस्तो भएको थियो तर त्यसपछि सबैले मलाई आमा नै भनी बोलाउन थाले। अहिले त कर्मचारी साथीहरूले समेत आमा भन्न रुचाउँछन्। मलाई बानी पनि परिसक्यो।
साँच्चै आमा भन्ने शब्दमा अचम्मको शक्ति हुने रहेछ। त्यही शक्तिकै कारणले होला यी यौनजन्य हिंसापीडित सन्तानको न्याय र भविष्यको लागि निडर भएर उभिने हिम्मत आएको छ।
दुई वर्षको बालिकादेखि ६० वर्षीया वृद्धसम्मले आमा भनी सम्बोधन गर्दा मेरी आमा छैनन् भन्ने नै बिर्सन्छु। आजको घडीमा उनीहरू मेरा आमा बनेका छन् अनि म उनीहरूकी आमा।
…
रक्षा नेपालको संस्थापक तथा एक सामाजिक अभियन्ताको नाताले रेडियो, टीभी, एफएम, पत्रपत्रिकामा थुप्रै अन्तर्वार्ता दिएकी छु। मेरो अन्तर्वार्ता लिनुहुने मित्रले विवाह कहिले गर्नुहुन्छरु भन्ने प्रश्न कहिल्यै छुटाउँदैनन्।
मेरा शुभचिन्तक मित्रलाई मात्र होइन म अविवाहित बसें भनेर मेरो दाजु र दिदीहरूलाई पनि चिन्ता छ। बिहे गरेन भने मरेपछि पिण्ड खान पाइँदैन रे १ आफ्नै कोखबाट बच्चा जन्माएन भने नारी हुनुको अर्थ छैन रे १
सारा दुनियाँले मलाई जे जसरी मूल्यांकन गरोस् त्यो दुनियाँको जिम्मा। मैले नजन्माएका सन्तानले आमा भनेर बोलाउनेबित्तिकै म आफूलाई पूर्ण नारी ठान्छु। मलाई संसारका कुनै पनि सुख, सुविधा, सम्बन्ध फिक्का लाग्छ। मेरो लागि यौनजन्य हिंसा पीडितको आमा हुन पाउनु नै गर्वको विषय हो।
अहिले एउटै घरको छतमा ओत लाग्ने हामी सबै गरेर ४० जना छौं। तर यो घरमा ओत लाग्न नपाएका तर तालिममा सहभागी भएर नयाँ जीवनको बाटोतर्फ उन्मुख भएका नौ सयजना ठूला छोरीहरू घर बाहिर छन्।
तिनीहरू सबै एकै ठाउँमा अटाउने ठूलो घरको कल्पनामा छु म। भगवानरूपी मेरा शुभचिन्तकले एक दिन त्यो सपना पनि साकार पारिदिनुहुनेछ भन्ने विश्वास छ।
आजभोलि म रक्षा नेपालकी जननी कम, रक्षा नेपालका सन्तानको जननी ज्यादा भएकी छु। यिनीहरूको लालनपालन र शिक्षादीक्षाको लागि मैले कुनै सरम र लान्छनाको परवाह गरेकी छैन र गर्दिनँ पनि, किनकि मलाई राम्रोसँग थाहा छ, आमा भनिन जति सजिलो छ त्यति नै गाह्रो छ आमा बनिन। त्यसैले त तारादेवीको स्वरको गीत मेरो मनमस्तिष्कमा गुञ्जिरहन्छ, ‘आमा भएर बोकी हेर सन्तानका पीरहरू…’
रगतको नातामात्र आफ्नो हुन्छ र सत्य हुन्छ भन्ने कुरा गलत लाग्छ मलाई। त्यस्तै आफूले जन्म दिँदैमा आफ्नोपन हुन्छ भन्ने पनि मिथ्या लाग्छ। सोचाइ र बुझाइ त मान्छेअनुसार आआफ्नै हुन्छन्, यदि आफूले जन्म दिँदैमा आफ्नोपन हुन्थ्यो भने मैले यो ३२ वर्षे उमेरमै सयौंको आमा बन्ने सौभाग्य कसरी पाउथेँ?
…
भनिन्छ, करोडपति मान्छे पनि आमाबिना गरिब नै हुन्छ। तसर्थ मेरा भावनाका सन्तान, कर्मका सन्तान र म, गाँस, बास, कपासको लागि हात फैलाउनु परे पनि दुस्खी छैनौं, किनकि हामी आफैं एकअर्काको अभिभावक हौं ! आमा हौं।
कहिलेकाहिँ मेरो अनुहार मलिन देख्यो भने सबैभन्दा पहिले मेरा सन्तानको मुटु दुख्छ, मेरो आँखामा आँसु देखियो भने पुछिदिनको लागि सानादेखि ठूलासम्मको तँछाडमछाड हुन्छ।
अनि मलाई पनि उनीहरू बिरामी भए भने, उनीहरूलाई केही अभाव भयो भने कता कता छटपटी हुन्छ, मन भतभती पोल्छ। मेरा छोरीहरू कोही सामूहिक बलात्कारको सिकार भएका छन् त कोही कलिलो उमेरमै टुक्रिएका छन्।
कोही आफ्नै घरभित्र अस्मिता लुटाउन विवश छन् त कोही दैनिक रूपमा दर्जनौंले बलात्कार गरेर क्षत्विक्षत भएका छन्। यसरी मानसिक र शारीरिक रूपमा आफन्तबाट लुटिएका र टुक्रिएकाहरूको मनमा विश्वास र भरोसा भर्न सक्नु नै मेरो सफलता हो।
मेरो एउटै इच्छा छ, आफन्तबाटै लुटिएका सम्पूर्ण सन्तानको आमा बन्न सकुँ। जसको कोही छैन उसको म छु भन्न सकुँ र यदि मेरो रगतले यो धर्तीमाता हाँस्न सक्छिन् भने मेरो सम्पूर्ण जीवन माता बचाउने बाटोमा उत्सर्ग गर्न सकुँ।
लेखिका रक्षा नेपालकी अध्यक्ष हुन् ।