Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

निर्णय गर्ने अधिकार र शक्ति बाँडफाँडको सन्तुलित प्रयासनै पुरुषत्व हो

Equality responsibilityपुष ५, काठमाण्डौ । ‘पुरुषत्व भनेको एउटा पुरुषले कतिवटी महिलासंग यौन सम्बन्ध राख्न सक्छन् भन्ने होइन ।

कुनै महिला र पुरुषलाई शारीरिक वा अन्य प्रकारको बलको आधारमा तर्साएर आफू बलियो ठहरिन खोज्नु पनि पुरुषत्व होइन । न कि, आफू कति धेरै दुस्ख र दर्द सहेर बहादुर देखिनु पुरुषत्व हो । अरु माथि हिंसा गरेर श्रेष्ठ ठहरिन खोज्नु पनि पुरुषत्व होइन, वा यौनिक आधारमा पनि पुरुषत्वको व्याख्या गर्न सकिंदैन ।’

पुरुषत्व भनेको, ‘आदर र वरावरीमा आधारित सम्बन्ध हो । हिंसाको विरुद्ध आवाज उठाउनु हो । सहयोग माग्न सक्ने हिम्मत हो । निर्णय गर्ने अधिकार र शक्ति बाँडफाँडको सन्तुलित प्रयास हो ।

अनि आफ्ना वरिपरिका विविधता र अधिकारका कुरालाई आदर र सम्मानका गर्न सक्ने व्यवहार हो ।’उपरोक्त भनाइहरू यो पंक्तिकारको होइन, यो त लैङ्गिक समानताका लागि पुरुष सहभागितामा विश्वास राखेर अगाडि बढिरहेको पुरुषहरूको सञ्जालको भनाइको सार हो । सञ्जालको उक्त विश्वासले अहिले विश्वका धेरै देशहरूमा जरो गाड्दैछ ।

यो चेतनशील सञ्जालको सुरुआतको कथा कम पीडादायी छैन, सन् १९८९ को डिसेम्बर ६ तारिखका दिन क्यानडाको ‘इकोल पोलिटेक्निक युनिभर्सिटी इन मन्ट्रियल’मा त्यहीँ पढ्ने एउटा पुरुष विद्यार्थी आएर चौधजना महिला सहपाठीहरूलाई गोली हानेर हत्या गर्‍यो । त्यस हत्या कान्डले पूरै देशका वासिन्दालाई हतप्रभ बनाइदियो र हिंसाको त्यस्तो भयावह रुपवारे सोच्न बाध्य बनाइदियो ।

त्यसैको फलस्वरुप सन् १९९१ मा केही पुरुषहरूले सामूहिक रुपमा महिलामाथि हुने हिंसाको विरुद्ध आवाज उठाउने निधो गरे । त्यो आवाजलाई निरन्तरता दिंदै उनीहरूले हरेक वर्ष महिलामाथि हुने हिंसाको विरुद्धमा जनचेतना जगाउन ‘सेतो रिबन’ अभियान चलाए, जुन अभियान नोभेम्वर २५ देखि डिसेम्वर ६ सम्म विभिन्न कार्यक्रमका साथ चलाउन थालियो । त्यो सेतो रिबन लगाउनुको अर्थ, ‘महिला र वालिका माथि कहिल्यै पनि हिंसा गर्दिन, हिंसालाई बढावा दिन्न र हिंसा भएको देखेको खन्डमा चूप लागेर बस्दिन’ भनेर वाचा गर्नु थियो ।

हिंसाका विरुद्ध आवाज उठाउने यो समूहलाई विश्वका अन्य देशका उस्तै विचार राख्ने समूहहरू साथै, यूएन वीमेनको पनि साथ बढ्दै गयो र यो एउटा बलियो सञ्जालको रुपमा फैलिंदै गयो । नेपालमा पनि यो सञ्जाल ‘मेनइङ्गेज एलायन्स नेपाल’को नाममा सन् २००७ देखि काम गरिरहेको छ ।

नेपालस्थित उक्त सञ्जालले गत मंसिर १० गते काठमाडौंमा राष्ट्रिय भेला गरेर ‘२०१५ देखि २०१७’ सम्मको रणनीतिक योजना अगाडि ल्याएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि सम्माननीय प्रधान न्यायाधीश कल्याण श्रेष्ठले, महिला सानो र पुरुष ठूलो (Inferiority / SuperIorIty) भन्ने सोचलाई सबैतिर संस्थागत हुन दिएको कारणले महिलाले महिलाले नहारेको र नब्यहोरेको कुनै क्षेत्र छैन भन्दै ‘मानवताको सार्वभौमिकता हुनुपर्छ’ भन्नुभयो । उहाँको भनाइ अनुसार, ‘भेदभावको सोच आफैंमा हिंसा हो ।’

हुन पनि मानिसहरूको मन र मस्तिष्कमा महिलामाथि हुने र गरिने हिंसालाई यति दह्रो रुपमा जरो गाडेको छ कि, त्यसलाई अवचेतन मनले हिंसा नै ठान्दैन, जसको फलस्वरुप समाजमा यसको पीडा महिलाले मात्रै होइन कि, पुरुषले पनि भोगिरहनु परेको हुन्छ ।

उदाहरणका लागि, हामी हाम्रा सन्तान हुर्काउँदा नै विभेद गरिरहेका हुन्छौं । हामी छोराहरूलाई रुन नहुने, बलियो हुनुपर्ने, कडा रुपमा प्रस्तुत हुनुपर्ने विचार लादेर एक हिसावले हिंश्रक रुपमा प्रस्तुत हुन उत्प्रेरित गरिरहेका हुन्छौं । अर्कोतर्फ, छोरीहरूलाई सहनसील हुनुपर्ने, विस्तारै बोल्नुपर्ने, हाँस्न नहुने आदि आदि शिक्षा दिइरहेका हुन्छां ।

यसै सन्दर्भमा, ‘म्यास्कुलिनिटी’को बारेमा सोधकार्य गर्नु भएका डाक्टर सञ्जीव उप्रेती भन्नुहुन्छ, ‘पुरुष र महिलालाई Macro and Micro लेभलमै भिन्न व्यवहार गरिन्छ ।’ त्यो व्यवहार उनीहरूको लागि प्रयोग हुने भाषा लगायत हरेक कुराले विभेदपूर्ण रहेको हुन्छ । डाक्टर उप्रेतीका अनुसार, पुरुषलाई समाजले त्रासैत्रासमा बाँच्न बाध्य पारेको छ । उ ‘नामर्द’, ‘जोइटिङ्ग्रे’, ‘दलाल’ आदि जस्ता शव्द आफू माथि प्रयोग हुने डरले पनि दवावमा बाँच्न बाध्य हुन्छ, त्यसले गर्दा उ बढी आक्रामक हुन्छ । सानैदेखि पुरुषको मनस्थिति, घर, प्रकृति, युद्ध जताततै जित्नुपर्छ भन्ने बनाइदिएको छ, जसको कारण यदि उ त्यस्ते भूमिकामा डगमगायो भने आफ्नो पुरुषत्व प्रमाणित गर्न पनि महिलामाथि हिंश्रक भएर देखापर्दछ र स्वास्नी कुट्छ ।

डक्टर उप्रेतीको विचारमा दक्षिण एशियामा त्यस्ता हिंश्रक विचार नराख्ने ‘वैकल्पिक पुरुषहरू’ जस्तै, गान्धी, बुद्ध, महावीर, सुफी आदिको उदाहरण दिएर पुरुषहरूको सकारात्मक भूमिका बढाउन सकिन्छ । उहाँ भन्नुहुन्छ, ‘हाम्रो देशमा नराम्रो भूकम्प आयो, त्यस्तो होइन वास्तविक भूकम्प विचारमा आउनुपर्छ, तब मात्र केही हुन्छ ।’

‘मेनइङ्गेज एलायन्स नेपाल’ सायोजक कपिल काफ्लेका अनुसार महिला माथि हुने हिंसाले पुरुषलाई नै हानी पुर्‍याइरहेको हुन्छ । यसबाट घर परिवार तथा भविष्यमा जन्मिने सन्तान समेतलाई असर पुर्‍याइरहेको हुन्छ ।

गोरखा सामूदायिक अध्ययन केन्द्रका अध्यक्ष विशेश्वर कट्टेल भन्नुहुन्छ, ‘पुरातन सामाजिक संस्कृतिले जेलिएको हाम्रो समाजमा लैङ्गिक समानताको मुद्दा पेचिलो अवस्थामा छ । यसका लागि समुदायस्तरमा नै चेतनामा परिवर्तन गर्न जरुरी छ । चेतना जति सामाजिक संरचनासंग सम्बन्धित छ, त्यति नै आत्मनिर्भरतासंग पनि सम्बन्धित छ । त्यसैले एकाँकी ढंगले अगाडि बढेर यसको निकास निस्किदैन वा परिणाम प्राप्त गर्न सकिंदैन । त्यसैले आत्मप्रशिक्षित वा स्वशिक्षित भएमात्र यो अभियान सफल रहन्छ, होइन भने नारामा मात्र सीमित रहन्छ ।’

लैङ्गिक चेतना जगाउने वा यसमा पुरुष संलग्नता गराउने भन्ने कुरा सेमिनार वा गोष्ठीले मात्र गर्न सकिने भन्ने कुरा हुदै  होइन । अर्को महत्वपूर्ण कुरा, पुरुषहरू महिलाका शत्रु पनि होइनन्, न कि, पुरुषहरू महिलाका प्रतिवादी हुन् । न त महिला, न पुरुष, दुबै वर्ग एक अर्का विना पूर्ण हुन्छन् । यहाँ त केवल, ‘पुरुषवादी सोच’को मात्र कुरा उठाइएको हो ।

जबसम्म यस आन्दोलन या अभियानमा लाग्नेहरूको मनमा लैङ्गिक चेतनामूलक विषयक अध्ययन र अन्तक्र्रियाहरूबाट आफूभित्रको कमजोरी र अज्ञानता तथा पूर्वाग्रह स्पष्ट हुँदैनन् । महिलाहरू सम्बन्धि अन्तर्राष्ट्रिय कानून एवा त्यसप्रतिको दायित्वको बारेमा सिकेका कुराहरू आन्तरिकीकरण गरिंदैनन्, तबसम्म यो विषय बौद्धिक विलासिताको वस्तु मात्रै भएर रहन्छ । अहिलेकै उदाहरण दिनुपर्दा पनि जो पुरुषहरू सञ्जालमा रहेर सेमिनार कोठाभित्र महिला अधिकारको कुरा उठाउँछन्, उनीहरू नै कोठा बाहिर निस्कने बित्तिकै, ‘फलानीले किन थर फेरेर हिंडि, त्यसलाई कानून कसरी लगाउन सकिन्छ रु’ भनेर हिंडेका उदाहरण भेटिन्छ ।

त्यसैले, सभा सम्मेलनमा ‘भलाद्मी’ देखिन मात्रै ‘असल पुरुष’ नबनौ, आफ्नो सोच र मानसिकतामा परिवर्तन ल्याऔं । संख्या बढाउन मात्रै ‘लैङ्गिक समानताका लागि पुरुष सहभागिता सञ्जाल’ मा सामेल हुने होइन कि, सारभूत सहभागिता बढाऔं  आशा गरौ , कुनै दिन पुरुष साथी, पार्टनर, नातेदार आदिबाट महिलाहरूले आफ्नो जीवनमा कुनै प्रकारको हिंसात्मक घडीबाट गुज्रन नपर्ने समाज निर्माण होस् । साघु साप्ताहिक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri