Jus Nepal
शनिबार, माघ १२, २०८१ | January 25, 2025 |

न्यायाधीश प्रकाश वस्तीको अन्तर्वार्ता (अर्काइभ) : कानूनी अनलाइन चलाउने मेरो पनि इच्छा थियो

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको यसै साता निधन भयो । निष्ठावान् न्यायाधीशको पहिचान बनाएका वस्तीमाथि अस्थायी न्यायाधीशकै रुपमा अवकाश दिएर ठूलो अन्याय गरिएको चर्चा हुने गरेको छ ।

पूर्वन्यायाधीश वस्तीसँग ०७१ साल भदौ ११ गते नेपालकानून डटकमका लागि हामीले अन्तरंंग वार्ता गरेका थियौं । उक्त अन्तरवार्ता प्रकाशित भएको नेपाल कानून डटकमले पनि दुर्भाग्यवस निरन्तरता पाउन सकेन ।

त्यसबेला न्यायाधीश वस्तीसँग हरिप्रसाद मैनाली र राम तिवारीले गरेको कुराकानी अहिले पनि सान्दर्भिक हुने ठानेर जसनेपाल डटकममा पुनःप्रकाशन गरिएको छ–

न्यायाधीश प्रकाश वस्ती गोर्खा जिल्लामा जन्मिएर जीवनको सम्पूर्ण पक्ष कानून र न्यायसँग सम्वन्धित क्षेत्रमा बिताउने ब्यक्ति हुनुहुन्छ । उहाँ ३२ वर्ष कानून ब्यवसायमा सक्रिय हुनुहुन्थ्यो । २१ वर्ष कानून अध्यापन पेशामा रहनु भयो । नेपाल वार एशोसिएसनको निर्विरोध महासचिवका रुपमा कार्य गर्नुभयो । कानून पत्रिकाको १८ वर्षसम्म प्रधानसम्पादकको मुख्य भुमिकामा रहेर कार्य गर्नुभयो ।

उहाँ ०६५ माघ ९ गते सर्वोच्च अदालतमा अस्थायी न्यायाधीश भई  न्याय सम्पादनमा रहनुभयो । ०७० चैत्र २९ गते सर्वोच्च अदालतमा रहेको अस्थाई सेवावाट उहाँलाई अवकास दिइयो । उहाँ ५ वर्षको न्याय सेवामा ४ वर्ष उत्कृष्ट न्यायाधीशका रुपमा रहनुभयो । उहाँ वर्षभरिका बढी मुद्दा छिन्ने न्यायाधीशका रुपमा रहनु भयो । तर, नेपालको इतिहासमा नै न्यायाधीश नियुक्तिको विषय चरम विवादमा परेका बेला उहाँले अवकाश पाउनुभयो ।

न्यायपालिका र त्यहाँ हुने गरेका कतिपय सकारात्मक र अस्वच्छ खेल लगायत न्यायपालिकालाई चुस्त दुरुस्त बनाउन के गर्नु पर्ला भन्ने लगायतका विषयमा नेपाल कानून पत्रिकाका लागि हरिप्रसाद मैनाली र राम तिवारीले गरेको कुराकानी-

नेपालको संविधानले परिकल्पना गरेको जुन न्यायपरिषद् छ, संविधानको परिकल्पना र परिषदको कामको तादाम्य मिलेको छ कि छैन ?

नयाँ संविधानमा ११ सदस्यीय नयाँ न्यायपरिषद्को गठनका बारेमा सहमति बनिसकेको छ र न्यायपरिषद्ले गरेका कार्यहरू गम्भीर विवादमा परेको कुरा सर्वविदितै छ । यो सबै किन भइरहेको छ भन्ने कुरा स्वयम् न्यायपरिषद्ले र यसको मूल्याङ्कन गर्नेहरूले सहजै बुझ्ने कुरा हो । यदि कसैले आफ्नै घरमा आगो लगाई जलाउँछ र समाप्त पार्छ भने उसले जस वा अपजस के पाउने भन्ने विषय बोलिरहन पर्दैन ।

वर्तमान न्यायपरिषद्को औचित्य संवैधानिक दृष्टिकोणबाट स्वतन्त्र ढंगले गठित परिषद् र उक्त परिषदमार्फत नियुक्त न्यायाधीशहरू स्वतन्त्र र सक्षम हुन्छन्, जसले स्वतन्त्र न्यायपालिकाको औचित्यता स्थापित गर्छन् भन्ने हो  । तर न्यायपरिषद्को भूमिका संविधानको मनसायसँग मेल नखाएकै हो  त ?

कुनै पनि संस्था आफैमा असल हुँदैन । न खराब नै । त्यसका सञ्चालक व्यक्ति जो-जो सहभागी हुन्छ, त्यही नै जवाफदेही हुन्छ । संस्था अमूर्त चिज हो । राम्रो नेतृत्व दिए राम्रो बन्छ, नराम्रो भए परिणाम सही आउने कुरै रहेन । तसर्थ न्यायपरिषद् आफैमा खराब संरचना होइन । तर, त्यसका सञ्चालक र जिम्मेवार व्यक्तिकै कारणबाट त्यसको सफलता र असफलताको निर्क्यौल हुने गर्दछ ।

न्यायपरिषद्को विषयमा म आफूले बोल्ने विषय पूर्वाग्रही भएर आएको भन्ने पनि हुन सक्ला । किनकि म स्वयम् लगायत राम्रो आचरण भएका र क्षमतावान ११ जना न्यायाधीशहरू न्यायपरिषद्बाटै पीडित भएका पक्ष हौं । उदाहरणका लागि न्यायाधीश नियुिक्तमा मापदण्डको रटान लगाइयो तर मापदण्ड कसैलाई ल्याउन वा कसैलाई हटाउन आवश्यकताअनुसार ल्याउने र परिवर्तन गर्ने अभ्यास रहेको छ ।

मेरै सवालमा कुरा गर्ने हो भने मापदण्डकै कुरा गरियो । पछिल्लो समयमा म पनि फालिएँ र मापदण्ड पनि फालियो । सेवा अवधि पाँच वर्ष नभइकन न्यायाधीश बन्न मिल्दैन भन्ने मापदण्ड ल्याइयो । त्यसको तर्क के राखिएको थियो भने पाँच वर्ष नपुगेका न्यायाधीशको पेन्सन तलब सुविधालगायत ग्यारेन्टी नहुने हुँदा त्यसले घुस खान्छ र न्यायसम्पादनमा बाधा सिर्जना हुन्छ । तर मेरो हकमा त लागू भएन नि । मेरो हकमा पाँच वर्ष सेवा गरेता पनि न न्यायाधीशका लागि योग्य बनें, न त पेन्सन तलब सुविधाका लागि । तसर्थ यी सबै न्यायपरिषद्ले ल्याएका मापदण्ड कसैलाई न्यायाधीश बनाउन वा नबनाउनकै लागि थिए भन्ने कुरामा शंका रहँदैन ।

किन यस्तो गरिन्छ त ?

यस्तो हुनुका पछाडि हामीमा रहेको इमान्दारिताविहीन व्यवहार र आचरण नै हो, जो व्यक्तिगत र निहित व्यक्तिहरूको इच्छा र स्वार्थमा केन्द्रित रहेको छ । अन्य मुलुकका राजनैतिक कानूनी र अन्य अभ्यासलाई हेर्ने हो भने उनीहरू आदिमकालका बाँदरबाट मानिसको रूपमा रूपान्तरण भए र अझ उच्च उत्कृष्टताको खोजीमा छन् भने हामी बाँदरबाट केही मानिसको रूपमा विकसित अवस्थालाई पुन बाँदरकै प्रवृतिमा विकास गरिरहेका छौं ।

अहिले जुन नयाँ न्यायपरिषद्को प्रस्ताव आएको छ, जसमा संसदबाट समेत २ जना प्रतिनिधि रहने भन्ने रहेको छ, यसले के स्वतन्त्र न्यायपालिकाको न्यायाधीश नियुक्तिको प्रक्रियामा संसदीय हस्तक्षेप रहने स्थिति त रहन्न ?

पुनरावेदन अदालतका न्यायाधीशहरूको नियुक्ति भयो । न्यायाधीशहरू पार्टी कार्यालयमा धन्यवाद ज्ञापन गर्न गए, कतिले अनौपचारिक कृतज्ञता ज्ञापन गरे, त्यो हस्तक्षेप हो कि होइन ? पार्टीले यो यो व्यक्तिलाई न्यायाधीश बनाउने भनी सिफारिस गरेको त रहेछ नि । त्यस्तै, वर्तमान न्यायपरिषद्को संरचनागत र गठनको हिसाबमा स्वतन्त्र न्यायपालिकाको अवधारण विपरीत भन्न मिल्दैन । तर, महत्वपूर्ण कुरा त्यहाँ भएका व्यक्तिहरूको कार्य र इमान्दारिता नै हो । इमान्दारिता रहे कोही र कुनै संस्थाको प्रतिनिधित्वले यसमा खासै असर पार्दैन । हामीमा भएको चरित्र गल्ती गर्ने तर त्यसलाई स्वीकार नगर्ने र गल्तीलाई निरन्तरता दिँदै जाने जुन छ सबैभन्दा ठूलो समस्याको विषय नै यही हो ।

त्यसोभए सबै समस्या हाम्रो आचरण नै हो त ?

हो, हाम्रो समाजका बुद्धिजीवी भनाउँदा मैले भन्ने गरेको शब्द बाबु (बाम बुद्धिजीवी), काबु (कांग्रेस बुद्धिजीवी) लगायत विभिन्न दलगत बुद्धिजीवीहरू आफू संलग्न भएको पार्टीले गरेका जुनै पनि कार्यलाई उत्कृष्ट देख्छौं र अरूले गरेका सही कार्यहरूसमेत पाच्य हुँदैन । यो पनि हाम्रो समाजको पछौटेपनको एउटा प्रमुख पक्ष हो ।

हिजो न्यायपरिषद् स्वतन्त्र थियो र अब आउनेले स्वतन्त्र भएर काम गर्न पाउँदैन कि भन्दा पनि नयाँ बन्ने न्यायपरिषदमा कस्ता व्यक्ति आउँछन् र उनीहरूको आचरण कस्तो रहन्छ भन्ने कुराले नै यसको औचित्य र स्वतन्त्र न्यायपालिकाको औचित्यता पुष्टि गर्ने हुने हुन्छ ।

अहिलेसम्म न्यायपालिकामा न्यायाधीश नियुक्ति हुनका लागि न्यायपरिषद्का प्रत्येक सदस्यलाई कण्ठ हुने र न्यायाधीश नियुक्तिको १ नम्बरको वास्तविक मापदण्ड जन्म मिति हो भन्ने कुरा चर्चामा छ, यो वास्तविक हो वा होइन ?

वास्तवमा पहिला यस्तो थिएन र यो छ पनि नभनौं । मसँग घटेकै घटना चाहिँ के छ भने म रोलनम्बर ५ को न्यायाशीश थिएँ । मलाई तपाई केही तल बस्नुहोस् भनी प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले भन्नुभयो । उहाँले मलाई बारम्बार फकाउनुसमेत भयो । यस्तो तलमाथि भइरहन्छ, तपाई प्रधानन्यायाधीश भइहाल्नु हुन्छ । दुई दिन भए पनि हुने नै हो, न्यायाधीश भए पनि प्रधानन्यायाधीश भए पनि गर्ने फैसला नै हो ।

यो कुरा मैले सार्वजनिक गरेपश्चात पनि उहाँसँग मेरो जम्काभेट भयो । तर, उहाँ मसँग केही बोल्न सक्नु भएन । उक्त कुरा भनेको थाहा पाउने व्यक्ति साक्षी डा. रामकृष्ण तिमल्सिना हुनुहुन्छ । मलाई उहाँ (प्रधानन्यायाधीश) ले बोलाउनु भएको थियो । म गएँ । उहाँको मन्दिरमा बसेर कुरा गरिरहेका थियौं । कुरा हुँदाहुँदै डा. तिमल्सिना आउनुभयो र दामोदरप्रसाद शर्माले उउ…ल अर्को न्यायाधीशको उमेद्वार आउनुभो भन्नुभयो । मलाई उहाँले सम्झाइरहेको हुँदा डा. तिमल्सिनालाई मेरो मन्दिर घुमेर आउनुहोस् भनी पठाउनुभयो र मलाई धेरै सम्झाउनु भयो । मैले भनें, जो व्यक्तिले आफूलाई न्याय गर्न सक्दैन, उसले अरूलाई न्याय दिन सक्दैन ।

मैले मेरो वास्तविक अवस्थाकै आधारमा व्यवहार गर्न भनें । अर्को प्रसंगमा के चोलेन्द्रभन्दा मुनि गएर बस्ने त म भन्दा उहाँले त्यत्रो मुनि त होइन भन्नुभयो । यो कुरा कसैले भनेको होइन, मलाई मनमा लागेर तपाईंंलाई भनेको हो तपाई रातभरि सोच्नुहोस् अनि मलाई भन्नुहोस् भन्नुभयो । यो कुरा डा. तिमल्सिनाले समेत सुन्नुभएको छ त्यसपश्चात मैले सोच्नुपर्ने कुरा नै के छ र भनेर निस्किएँ ।

त्यसभन्दा अगाडि पनि गोपालभन्दा तल बस्न भन्दै प्रस्ताव गरिएको थियो । यी यावत कुराले तपाईंले उठाउनुभएको जन्ममितिको कुरा गलत हो भन्न सकिन्न । त्यसपश्चात उपेन्द्रकेशरी न्यौपानेलाई मैले फोन गरें र उहाँले पनि तपाईं हरिहर दाहालभन्दा तल बस्नुहोस् न भनेर भन्नुभयो । मैले पनि प्रक्रिया र स्वभाविक मूल्याङ्कनमा दिने भए जिम्मेवारी देऊ नत्र म नै त्यहाँ हुनैपर्छ भन्ने पनि केही छैन भन्दै कसैले भनेका कुरा नसुनी बसेकै कारण पनि मेरो आफ्नो स्थायी नियुिक्तको सवालमा समस्या परेको हो ।

त्यस्तै, म एउटा रमाइलो घटना सुनाउँछु ।

सर्वोच्चमा प्रधानन्यायाधीशले सपथ खाएर आए पश्चात पहिलो दिन प्रधानन्यायाधीशले सर्वोच्चका सबैलाई एकै ठाउँ बोलाएर निर्देशन दिने वा सुझाउने चलन छ । श्रीमान मीनहादुर रायमाझी भएका बेलाको कुरा हो । त्यसैक्रममा गोपाल पराजुली पुनरावेदनका न्यायाधीश पनि त्यहाँ आउनुभयो । उहाँ मसँगै बस्नु भयो । कार्यक्रम चलिरहेको थियो । प्रधानन्यायाधीश बोलिरहनु भएको थियो । म  प्रधानन्यायाधीशतर्फ ध्यान केन्द्रित गरिरहेको थिएँ ।

उहाँले मलाई अप्रासङ्गिक प्रश्न सोध्नुभयो – श्रीमान, तपाईलाई सुगर छहै ? कति न थाहा नै भए जस्तो गरेर ! मैले छक्क पर्दै र प्रधानन्यायाधीशतिर ध्यान दिँदै उता नहेरी ‘छैन’ भनें । पराजुली केही बोल्नुभएन । केहीबेरमा पुन: अर्को प्रश्न गर्नु भो – त्यसो भए प्रेसर त होला है ? मैले झन चित खाएँ र उता हेर्दै नहेरी भनिदिएँ- छैन । उहाँले अचम्म मान्दै हँअ.. भन्नुभयो । म झन चकित परिरहेको छु के र किन सोधेको होला भनेर । अनि पुनः अर्को प्रश्न गर्नु भो- त्यसो भए युरिक एसिड त पक्कै छ । मैले उता नै नहेरी छैन भनिदिएँ । झन भस्कनु भयो ।

जव कार्यक्रम सकिएर बाहिर आइयो । त्यहाँ मैले एकजना मेरै क्लासमेट सर्वोच्चको न्यायधीश हुनुहुन्थ्यो, उहाँलाई यस्तो-यस्तो भयो भनेर सोद्धा उहाँले भन्नु भो तपाई भर्खर आउनु भाछ, यहाँ जुनियरले घरमा बिहान बेलुकै सिनियर मरिहालोस् भनेर धुप हाल्ने अनि यहाँ आएर चिल्लो घस्ने संस्कार धेरैमा छ । यस्ता कति छन् कति बुझ्दै जानुहुन्छ ।  म आवक भएँ ।

भनेपछि न्यायाधीश नियुक्तिको प्रक्रिया नै न्यायपूर्ण छैन भने अदालतबाट न्यायको के अपेक्षा गर्न सकिएला त ?

न्यायाधीश नियुक्तिमा समस्या नभएको भन्न सकिन्न । त्यो स्पष्ट नै छ । यी अस्वच्छ खेलबाहेक अरू पनि धेरै छन् यस्ता घटना । तपाई तयार बन्नुहोस् न, म सारा बेहोर्न तयार छु भन्नेसमेत आउँदा रहेछन् ।

मलाई एउटा ठूलो पत्रिकाकै पत्रकारले नै भन्नुभयो कि तपाईंलाई स्थायी गर्ने, प्रधानन्यायाधीश बनाउने जिम्मा मेरो भयो, म खर्च गर्छु भन्ने ठेकेदारसमेत आएका थिए । हुन त उनले गर्न सक्थे वा सक्दैन थिए मलाई थाहा छैन ।

रामप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश हुँदा एकजना अदालतको स्टाफ सेक्सन अफिसर उहाँको श्रीमतीकोमा भेट्न गएछन् र भनेछन्– ‘म्याडम, श्रीमान् अलिक अप्ठ्यारोमा हुनुहुन्छ, भविष्यको जोहो पनि गर्नु पर्दछ, ७/८ महिना पछि त श्रीमान् पनि हिँडिहाल्नु हुन्छ, केही पनि गर्न पर्दैन, काम म खोजेर ल्याउँछु, न्यायाधीश मै भन्छु त्यो हालिदिनु पर्छ, अलि अलि भविष्यको त जोहो गर्नै पर्छ म्याडम’ भनेर भनेछ । रामप्रसाद श्रीमानले उक्त कर्मचारीलाई भोलिपल्ट नै हुम्ला सरुवा गरिदिनुभएको थियो । उसले त्यसको केही दिनमा नै राजीनामा गर्‍यो  ।

एउटा भेटमा रामप्रसाद श्रेष्ठ श्रीमानले मसँग भन्नुभयो– बुझ्नु भो वस्ती श्रीमान्, त्यो व्यक्ति राम्रो मान्छे हो, सरुवा गर्नु हुन्न भनेर मलाई कसले-कसले भन्यो नाम सुन्नुहुन्छ ? उहाँले मलाई नाम टिपाउनुभएको छ, त्यो उहाँको अनुमतिविना म भन्दिनँ । यी यावत कुराले त न्यायालयभित्रका गतिविधि र न्यायाधीश नियुक्तिका विषय के रहेछन् भन्ने त प्रष्टै हुन्छ । तर यसको सीमा र हद पनि नेतृत्व र उसको कुशलता वा अकुशलताले नै निर्धारण गर्दछ ।

म न्यायाधीश स्थायी हुने क्रममा मेरो भाइलाई गएर के भनियो भन्दा तेरो दाजु इडियट रैछ, हामीसँग मिल्यो भने तेरो दाजु खरबपति हुन्छ, तँ अरबपति हुन्छस् । भाइले यस्तो कुरा आएको भनी सुनाएपश्चात मैले भनें, ‘आइन्दा यस्तो कुरा नगर म आधा पेट खान्छु, । मेरी ९२ वर्षकी आमाको १ थोपा रगत खानु र घुस खानु मेरो लागि उस्तै हो । त्यही कुरामा अडिग रहे‌ं र खाना पाइन भने बरू मागेर खान्छु नि भनेर पठाइदिएँ । मैले मेरो सेवा अवधिभर एक दाम पनि खाइनँ ।

यस्ता कुराले न्यायलयभित्र कसलाई कुन रोल नं. मा राख्ने, कसलाई प्रधानन्यायाधीश बनाउने विषयमा बढो ठूलो कूटनीतिक खेल हुन्छ । यसलाई सिन्डिकेट भने पनि फरक पर्दैन । र, यसमा प्रयोग हुने पात्रलाई चाहिँ बिचौलिया भनिँदो रहेछ।

तपाई पनि त मुछिनुभाको होला नि कुनै यस्ता विषयमा ?

हेर्नुहोस, मैले इमान्दारितापूर्वक कार्य गरें । यो मेरो पक्ष हो । तर, मेरो नाममा नै कसैले खाइदिएको पो छ कि ? त्यो पनि एउटा शंकाf गर्ने ठाउँचाहिँ हुँदो रहेछ ।

एकपटकको घटना मसँग सम्वन्धित छ, योे पनि यो प्रकाशित गर्नुभए हुन्छ –

मुद्दा ठूलो थिएन । तारेखमा छोड्नुपर्ने थियो । फायलका आधारमा छोड्न मिल्ने पनि थियो । छोड्ने निर्णय पनि भयो । त्यसका लागि मुद्दाको पक्षवाट वकिल महादेव यादव, शम्भु थापा र बोर्णबहादुर कार्की आउनुभएको थियो । अनि मैले पनि सुनें, एउटा हल्ला चलाइयो कि छोडाउनलाई सर्वोच्चमा १७ लाख रुपैयाँ खर्च भयो ।

त्यसमा अर्को न्यायाधीशलाई आधा दिए तापनि मैले आधा खाएको देखियो नि त । त्यसपश्चात मैले बोर्णबहादुर कार्कीलाई भटेरै भनें- वोर्णजी, मैले १ पैसा खाएको छैन । यदि मेरो नाममा पैसा असुल भएको छ भने म फिर्ता गराइदिन्छु । म पत्रकार सम्मेलन गरेर भए पनि फिर्ता गराइदिन्छु भनें ।

पछि जो १७ लाख रुपैयाँ खर्च गरेको भनिरहेका थिए, तिनैले नै यो केही भएको होइन भन्न थाले । कुरो त्यतै मिलाए ।

यस्तो रमाइलो तितोसत्य पनि मसँग अनुभव छ । मैले पक्षकै कानून व्यवसायीलाईसमेत बोलाएरै उक्त कुरा गरेको हुँ र वस्ती श्रीमान्ले खाएकै हो भनेमा म फिर्ता गराइदिन्थे ।

ए ए, भनेपछि अरू श्रीमानहरुले पैसा लिएर फैसला गर्ने चलन छ र ?

त्यो त मलाई थाहा नै भएन । कसैले मैले यति लिएको छु भन्ने कुरा पनि भएन । आफू आफ्नो काममा लागिन्थ्यो, त्यो थाहै भएन । तर, एउटा मैले पाएको अदालतमा नै बढी आदर्शका र सिस्टम बसाउनुपर्छ भन्दै हिंड्नेहरू नै सबैभन्दा बढी गलत गरेको मैले अनुभव गरेको पनि छु ।

तपाईंलाई न्यायालयमा रहेको समयमा गरेको कुनै कार्य छ, जसले तपाईंलाई ग्लानि भएको छ ?

मैले एउटा कुरा मानेकोमा मलाई खेद छ । अनुसन्धानका लागि एक विकृतिविहीन न्यायपालिकासम्बन्धी अध्ययन गर्ने एक कमिटी बनेको थियो । श्रीहरि अर्यालको नेतृत्वमा । म पनि त्यसमा थिएँ । त्यस अध्ययनमा मान्छेको नाम थिएन तर प्रवृत्ति सबै थियो । बाहिरबाट जे देखिन्छ नि अदालत, त्यो हुँदै होइन । अदालतको भित्री रूप अर्कै छ । मुनिपट्टि धुलै धुलो भए तापनि माथि सुन्दर कार्पेट हालेजस्तै मात्रै छ न्यायपालिका । जब आन्द्राभुँडी निस्कन्छ कि के हुन्छ, थाहा छैन ।

उक्त कमिटीको रिपोर्ट तयार भयो । उक्त रिपोर्ट हेरेपछि खिलराज रेग्मीले सबै कुरो नराखौं, कार्यान्वयन गर्ने हामीले नै हो, अनि सबै कुरा मनमा राखे भैगो नि, किन लेख्ने ? किन पब्लिक गर्ने ? भन्नु भयो । त्यसपश्चात त्यसको ४ भागको ३ भाग छाँटियो । मैले पनि यो कुरा मानें । यसमा मलाई अझ पनि ग्लानि छ ।

न्यायपालिकाभित्र कति भ्रष्टाचार हुन्छ ? कसरी हुन्छ ? र, विकृतिहरू कसरी मौलाउँदै छन् भन्ने कुराको खोज गरिएको थियो । मसँग एकप्रति त छ तर त्यो औपचारिक प्रकाशन बन्न सकेन ।

न्यायपालिकाको यस्तो अवस्थाबाट निकास र स्वच्छ न्यायालयको स्थापनाको बुँदागत पक्ष के के हुन सक्दछन् त ?

वर्तमान समयमा अदालतप्रतिको आस्था अत्यन्तै कमजोर भएको छ । जसले गर्दा कुनै पनि उत्कृष्ट न्याय सम्पादनमा समेत कसैले विश्वास नगर्ने वातावरण बनेको जस्तो देखिन्छ । यी सबै कुरा म संयमित भएर बोलेका कुरा हुन् । मसँग प्रमाण छन् र न्यायालयको सबै पक्ष नजिकबाट हेर्ने अवसर पाएको छु ।

मैले मेरा दुई सपनामध्येमा न्यायपालिकासँग सम्बन्धित जुन विकृतिविहीन न्यायपालिकाको रिपोर्ट थियो, त्यसलाई कार्यान्वयन गर्ने र अदालतबाट नै एउटा नियमित कानूनी समाचार प्रकाशित गर्ने समाचार अनलाइन शुरु गर्ने । जो तपाईंहरूले सुरुवात गर्नुभएको रहेछ, मलाई पनि खुशी लाग्यो ।निरन्तरता र प्रभावकारिताका लागि शुभकामना छ मेरो ।

सबै कुराकानीले  अदालतभित्र सबै खराब छ भन्ने भान पर्‍यो होला । तर, अदालतले राम्रा काम पनि गरेको छ र राम्रा मान्छेहरू पनि छन् । हाल अदालत टिकेको पनि यिनै केही राम्रा मान्छेकै कारणले हो  र टिक्छ पनि । यस्तै विषयको उजागर गर्ने उद्देश्य मेरो थियो ।

राम्रा भनिएका मान्छेलाई काम गर्न कत्तिको चुनौतिपूर्ण छ ?  तिनले आफू स्थापित भएर न्यायालयलाई सुधार गर्न सम्भव छ कि छैन त ?

राम्रा मान्छेलाई काम गर्न चुनौतिपूर्ण छ । नराम्रो पक्षको पल्ला भारी हुँदै गएकोमा दुःखी पनि छु । न्यायपालिकाको नेतृत्व र अन्य क्षेत्रबाट समेत सकारात्मक वातावरण नबनाई अघि बढेमा न्यायपालिका ठूलो जोखिममा छ । समयमा चेत नफिरे धुरुधुरु रुनुको विकल्प रहँदैन । तर, राम्रा मान्छेले न्यायालयमा न्यायपालिकाको साख बचाउने गरी आफूलाई स्थापित गर्ने विषयमा म आशावादी छु । अहिले नै अनियन्त्रित अवस्थामा भने छैन ।

तपाई  न्यायपालिकामा रहँदा तपाईंको ५ वर्षको सेवा अवधिमा ४ वर्ष उत्कृष्ट न्यायाधीशका रूपमा रहनु भयो र तपाईंको प्रभावकारिता देखिएको समेत छ । तर, पनि तपाई स्थायी न्यायाधीश बन्न किन अयोग्य हुनुभयो ?

म मात्र नभई मलाई निकाल्नका लागि अन्य राम्रा न्यायाधीशहरूसमेत बाहिरिनु परेको वास्तविकता छ । जसका कारणबारे माथि नै भनिसकेको छु । म बेस्ट थिएँ त भन्दिनँ तर म बेइमान र अयोग्य चाहिँ थिइनँ र होइन ।

स्वतन्त्र न्यायपालिका बनाउने  अभियानमा सहयोग पुग्ने गरी कुनै कुरा  ? जसले न्यायापालिकालाई सकारात्मक बनाउन सहयोग पुर्‍याओस्…

न्यायपालिकालाई धरासायी बनाउन कुनै तत्वको आँखा लाग्या छ । मेरो विषय महत्वपूर्ण होइन । मापदण्डका नाममा हामीले नियुक्ति नदिएर २३ जनालाई घर पठायौं । ११ जना पुनरावेदनका मुख्य न्यायाधीश छन् । हामीले चाहेको भए तिनीहरू सर्वोच्च आउँथे, जो अत्यन्त कुशल र न्यायपालिकाका सम्पत्ति थिए । तिनीहरू आएको भए जो अहिले छन् यी हुँदैन थिए ।

३५।४० वर्षको अनुभव भएका र राज्यले करोडौं लगानी गरेर क्षमतावान बनाएका त्यस्ता न्यायाधीशहरूलाई गहलत्याउनु न्यायाधीश नियुक्तिमा मापदण्डका नाममा मनपरी छ भन्ने नै हो ।

मेरो त एक व्यक्तिको विषय, यी सबैजना पीडितका अगाडि गौण नै हुन्छ मेरो विषय । केशरीराज पण्डित, उहाँलाई मैले नै नम्बर दिनुपर्‍यो भने मलाई ४० दिँदा उहाँलाई ६० दिन्छु । केशवप्रसाद मैनाली, लोकेन्द्र मल्लिक, एकराज आचार्य लगायत यिनीहरूलाई जानाजान नियोजित रूपमा हटाइयो ।

अनि अर्को समस्या, जो लोकसेवा पास गरेर आएका व्यक्तिहरू छन्, उनीहरू जिल्ला न्यायाधीश हुन धौधौ हुने, त्यही परीक्षामा फेल हुने तर सर्वोच्चमा न्यायाधीश हुनेसम्मका मापदण्ड बनाइए । यस्ता पक्षलाई हेर्दा वास्तवमा नै क्षमताका आधारमा न्यायाधीश बनाउने कुरामा कुनै विश्वास नगरिएको नै हो । को ल्याउनु पर्ने हो, त्यसअनुरप मापदण्ड बनाउने कस्लाई हटाउनु छ त्यस्तै बनाउने । न्यायाधीश जसले लामो समय न्याय दिने काम गरे, यिनीमाथिको अन्याय कसले खोज्ने र कहाँ गएर खोज्ने ?

तपाईंले एउटा तत्वका बारेमा कुरा गर्नु भयो, त्यो तत्व नेपाली कि विदेशी ?

त्यो म किटान गरेर नभनौं । त्यसको रूप जस्तो पनि हुन सक्दछ । नेपालका बलिया संस्थाहरूलाई ध्वस्त बनाउने एउटा अभिष्टका साथ काम गर्ने जुन तत्वहरू छन्, तिनीहरू क्रियाशील छन् । यहाँ कसैलाई दोष दिनेभन्दा पनि खेल्ने र भूमिका प्रदान गर्ने काम त हामीबाट नै भएको हो नि ।

श्रीमानले भनेको कुरा, श्रीमान खिलराज रेग्मी प्रधानमन्त्रीका रूपमा नियुक्तिसँगै विकास भएको हो ?

यो जे पनि हुन सक्छ र त्योभन्दा पहिलाबाट नै यो सक्रिय थिएन भन्न सकिन्न । यी सबै घटनाले न्यायपालिकाको अनास्था विकास गरेको छ र गर्न खोजिएको पनि यही हो । यसले त न्यायपालिकाको मर्यादा नै खस्किरहेको छ नि । मेरो चिन्ता नै यही हो । अहिले पनि यो कुरालाई बचाएर लग्ने अवस्था भने जीवितै छ । तर यसको अर्थ यस्तो नलागोस् कि मलाई न्यायाधीश बनाएपछि सब ठीक हुन्छ, यो होइन । मेरो त कथा नै सकियो । त्यहाँ जुनियर भएर जाने कुरा भएन । सिधै प्रधानन्यायाधीश दिने कुरो आएन ।

मैले अघि नै भनें, अदालतमा राम्रा मान्छे छन् । मेरो अनुभवका आधारमा न्यायपालिकाभित्र  जिम्मेवार हैसियतमा रहेकाहरू, जो योग्य छन्, ती इमान्दार छैनन्, जो इमान्दार छन् ती योग्य छैनन् । योग्य र इमान्दार दुबै भएकाहरु ज्यादै थोरै छन् । न्यायालय खास तिनै ज्यादै थोरैबाट चलिरहेको छ ।

घुस्याहा जति छन् तिनमा लाज, घीन, सर्म, पाप, डर केही छैन । लाज परित्याग गरेको व्यक्तिले संसारै जित्छ भन्ने एउटा श्लोक नै छ नि ‘एकां लज्जाम् परित्यज्य सर्वत्र विजयी भवेत्’ त्यस्तै भएको छ । म मूल्यमान्यताको पक्षमा हुने हुँदा पहिले नै स्थायी हुन आएको प्रस्तावसमेत सामान्य रूपमा लिएको थिएँ । तर पनि मलाई नै प्रक्रिया र योग्यताको प्रपञ्च लगाइयो र हुँदाहुँदै हटाइयो पनि ।

तपाईंलाई लागेका अन्य कुरा केही छन् कि ? राज्यले तपाईंको क्षमतालाई अब कसरी प्रयोग गरोस् भन्ने लागेको छ ?

न्यायाधीश बनेर सेवा गरेपश्चात हामीमा पनि कानूनले नै केही सीमा निर्धारण गरिदिएको छ । हामी कानूनी बहसमा जान पाउँदैनौं । मैले गर्न मिल्ने भनेको जम्मा मानवअधिकार आयोगको अध्यक्षको जिम्मेवारी । हुन त म न्यायाधीश भएर काम गरुञ्जेल न्यायसम्पादनमा कति योगदान गर्न सकें, त्यो मूल्याङ्कन मैले गर्ने होइन । तर वास्तवमै यसै जिम्मेवारीका कारण सार्वजनिक र सामान्य जीवनयापन गर्ने पक्ष पनि गुमाएको छु ।

म एउटा रमाइलो समस्या सुनाउँछु –

म एकदिन डिल्लीबजार जानलाई घर आगाडिबाट माइक्रो बसमा चढें । माइक्रोको पछाडि बसेको एकजना मानिसले ठूलो स्वरमा वस्ती श्रीमान् नमस्कार भन्यो । त्यो मान्छे को हो, म चिन्दिनँ । कयौं मुद्दा फैसला गरिएको छ । जस्तै सही फैसला भए तापनि मुद्दाको हार्ने पक्षलाई त ठीकै भयो भन्ने त लाग्दैन । मलाई पिट्छ कि के गर्छ, पूरै डर लाग्यो ।

बारम्बार मेरा बारेमा तपाईंजस्तो मान्छे प्रधानन्यायाधीश हुनुपर्ने, तपाईंजस्तो मान्छेलाई निकाले है लगायत भन्दै कुरा गर्न थालेपश्चात माइक्रोको ड्राइभरले समेत फर्केर हेर्न थाल्यो । सबै मलाई नै हेरिरहेका थिए । प्रशंसा गर्न थालेपश्चात डर चाहिँ हरायो ।

त्यसपश्चात म लैनचौरमा अरू नै यात्रुले रोकेको मौका पारेर ओर्लिएर हिंड्दै गएँ । त्यस दिनबाट म सार्वजनिक यातायात चढ्न छोडें ।

म सार्वभौम राज्य नेपालको सर्वोच्च अदालतको पूर्वन्यायाधीश त हो नि  । म त्यो इज्जतमा दाग लगाउन चाहँदिनँ । मैले राज्यलाई इज्जत गर्छु । हिँडेर गए त बरु कसैले नचिन्ने । मास्क लगायो, हिंड्यो । ठाउँमा पुगेपछि खोल्यो ।

अन्त्यमा के भन्नु छ कि ?

म आफूले सेवा गरेको न्याय क्षेत्र जनताको मन जित्न सक्ने, सबैको विश्वासको केन्द्रको रुपमा विकास होस भन्न चाहन्छु । यो नै मेरा ठूलो सन्तुष्टिको पक्ष हुने छ । यी जे जति कुराहरु ब्यक्त गरें, यो न्यायपालिकालाई कमजोर बनाउन नभई त्यहाँको विकृतिको अन्त्य होस् भन्ने नै हो ।

तपाईहरुले सम्झेर आइदिनुभयो यस्मा धन्यवाद छ । तपाईहरुले गरेजस्तो कानूनी अनलाइन चलाउने मेरो पनि इच्छा थियो । तपाईहरुले शुरु गर्नु भएछ, राज्यलाई योगदान गर्ने काम जसले गर्दा पनि राम्रो नै हो, प्रगतिको कामना गर्दछु ।


हरिप्रसाद मैनाली/राम तिवारी

जस नेपाल डट कम नेपालको पहिलो डिजटल लिगल जर्नल हो । यहाँले कानूनसम्बन्धी लेख रचनाहरु पठाउन सक्नुहुनेछ । Email- jusnepal81@gmail.com

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri