गैह्र सरकारी रुपमा सामाजिक हितका कामहरु जति पनि हुन्छन, प्रायको आर्थिक स्रोत सहयोग तथा चन्दा संकलन नै हुने गर्दछ । तर सबै परोपकारी वा मानविय र सामाजिक हितकालागि गरीने काम मात्र सहयोग वा चन्दा उठाईदैन । राजनैतिक समुहहरु पनि बिभिन्न बाहानामा चन्दा उठाउन सक्रियनै रहेका पाईन्छन । त्यस्तै डुल्दै जति जसले दिन्छ त्यति उठाउदै हिडने र माग्दा राम्रा कामहरु सुनाउने तर पछी आफै धनिहुने वा ब्यक्तिगत खर्च गर्ने चलन पनि हाम्रो समाजमा उतिकै छ ।
चन्दा उठाउनु गैह्रकानुनी कार्य हो । चन्दा सम्बन्धी व्यवस्था गर्न बनेको चन्दा ऐन, २०३० ले चन्दा संकलन वा चन्दा उठाउनमा प्रतिबन्ध लगाएको छ । नेपाल सरकारको पूर्व स्वीकृति लिई धार्मिक, परोपकारी वा अन्य सार्वजनिक कार्यको लागि कसैले स्वेच्छाले दर नतोकी चन्दा लिन दिन बाहेक कुनै व्यक्ति वा सरकारी वा गैर सरकारी कार्यालय वा संस्थाले कसैबाट चन्दा उठाउन वा लिन हुँदैन भन्ने प्रष्ट कानुनी प्रावधान छ ।
तर नेपाल सरकारको पूर्व स्वीकृति लिई धार्मिक, परोपकारी वा अन्य सार्वजनिक कार्यको लागि कसैले स्वेच्छाले दर नतोकी चन्दा लिन दिन सकिने छ । चन्दा समिती गठन गरी गठित कुनै अञ्चलस्तरीय समितिबाट खास गरी शैक्षिक, सामाजिक, संस्था तथा अन्य विकास कार्यको लागि ऐन अनुसार बनेको नियममा तोकिए बमोजिम खर्च गर्ने गरी चन्दा उठाउन सकिनेछ ।
चन्दा उठाउन कसैले आवश्यक नै देखेका सरकार समक्ष खबर गर्नुपर्दछ । चन्दा उठाउन आवश्यक र उपयुक्त देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी स्थानीय उद्योग वाणिज्य संघ तथा शैक्षिक संघ संस्था समेतको प्रतिनिधित्व हुने गरी बढीमा एघार सदस्यहरु रहेको चन्दा संकलन समिति गठन गर्न सक्नेछ ।
यसरी बनेको समितिले चन्दा उठाउनको लागि चन्दाबाट उठाउनु पर्ने रकम र उक्त रकम कसरी उठाउने भनी निश्चित गरेपछि र उठेको रकम खर्च गरिने कार्य वा योजनाको सम्बन्धमा विस्तृत विवरण खोली नेपाल सरकारको स्वीकृतिको लागि पेश गरी स्वीकृति प्राप्त भएपछि मात्र कानुनी रुपमा चन्दा उठाउन पाईन्छ । चन्दा उठाउँदा चन्दा रसीद छपाई रसीदको आधारमा मात्र चन्दा उठाउनु पर्छ । त्यस्तै रसीदमा छाप्ने छापाखानाको नाम र ठेगाना पनि छापिएको हुनुपर्छ । त्यस्तै रसीदमा क्रमसंख्या र तिना तीन प्रतिहरु अनिवार्य रुपमाहुनुपर्छ, जस मध्य एक प्रति चन्दा दातालाई, एक प्रति चन्दा संकलनकर्ता संग र एक प्रति महालेखा परिक्षकको कार्यालयमा पठाउनु पर्ने कानुनी ब्यबस्था छ । प्रत्येक रसीदमा आधिकारीक छाप र हस्ताक्षर हुनुपर्छ । जम्मा भएको रकम नेपाल राष्ट्र बैंक वा कुनै वाणिज्य बैंक वा माल वा कोष तथा तहसील कार्यालयमा जम्मा गरी खाताको सञ्चालन गर्नैपर्छ ।
यस्ता तोकिएका नियमहरुको पालना नगरी चन्दा उठाउने जो कोही गैह्रकानुनी हुन । साथै सजाय पाउने अपराधी नै हुन । त्यसैले जथाभाबि चन्दा उठाउदै हिड्नेलाई सहयोग गर्नु मात्र नभई सम्पुर्ण जानकारी सोध्ने गर्ने पनि हरेक नागरीक को कर्तब्य हो । कानुन बमोजिम तोकीएका उल्लेखित नियमहरुको बर्खिलाप हुने गरी वा करकाप गरी चन्दा उठाउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ र त्यसरी उठाइएको चन्दाको रकम समेत निजबाट सरकारी बाँकी सरह असूल उपर गरिनेछ ।