यतिबेला त्रिभुवन विश्वविद्यालय अन्तरगत कानूनको स्नातकोत्तर तह (एलएल.एम.) को पढाइका लागि प्रवेश परीक्षाको तयारी धमाधम भइरहेको छ ।
नेपाल ल क्याम्पसमा एलएल.एम.को कोटा थोरै रहेको र भर्ना हुन चाहने विद्यार्थीको संख्या अधीक भएकाले हरेक वर्ष तीब्र प्रतिस्पर्धा हुने गरेको छ ।
यसवर्षको प्रवेश परीक्षा पुस २० गते हुने त्रिवि डीन कार्यालयले जनाएको छ ।
एलएलएम इन्ट्रान्सको तयारी गरिरहेका विद्यार्थीहरु के पढ्ने होला र कसरी पढ्ने होला भनेर आत्तिने गरेको पाइन्छ । कतिपयले प्रवेश परीक्षाको पाठ्यक्रम नपाएर अल्मिलिने गरेको समेत पाइन्छ । अर्कोतिर प्रवेश परीक्षाको तयारी कक्षाहरु पनि निजी क्षेत्रबाट हुने गरेको पाइन्छ, जहाँ विद्यार्थीहरु ५ हजार रुपैयाँसम्म तिरेर पढिरहेका छन् ।
प्रवेश परीक्षामा के–के सोधिन्छ ?
एलएल.एम.को प्रवेश परीक्षामा पढ्नुपर्ने खास विषय भनेको विधिशास्त्र हो । बी.एल., एलएल.बी. वा बी.ए.एलएल.बी. मा १०० पूर्णांकको विधिशास्त्र पढिएको हुन्छ, सो विषय नै एलएल.एम. प्रवेश परीक्षाको मुख्य पाठ्यक्रम हो भन्दा फरक पर्दैन । तर, डिप्लोमामा पढेको विधिशास्त्रमाथि अरु बढी मिहनेत भने गर्नै पर्ने हुन्छ ।
एलएलएम प्रवेश परीक्षामा सोधिने प्रश्नपत्र–
वस्तुगत प्रश्न – ५० नम्बर
विषयगत लामो प्रश्न– २० नम्बर (एउटा)
विषयगत छोटा प्रश्नहरु– १० नम्बर (५/५ नम्बरका दुईवटा)
सिर्जनात्मक लेखन– २० नम्बर । (अनिवार्य अंग्रेजीमा लेख्नुपर्ने)
जम्मा– १०० नम्बर ।
माथिका प्रश्नहरुमध्ये ५० नम्बरको वस्तुगत प्रश्नमा अलि बढी मिहेनत गर्नुपर्ने हुन्छ । त्यसमा उही विधिशास्त्र र त्यसका स्कुलहरुबारे प्रश्नहरु आउँछन् । विधिशास्त्रको किताब राम्रोसँग पढ्ने र स्कुलबारे जानकारी हासिल गर्ने हो भने त्यसैबाट वस्तुगत प्रश्नहरुको समाधान निकाल्न सकिन्छ । यसबाहेक पुराना प्रश्नपत्रहरुको नमूनासम्बन्धी किताबहरु किनेर करिब १ हजार प्रश्न अध्ययन गर्नु उचित हुन्छ ।
विधिशास्त्रको लामो प्रश्न २० नम्बरको आउँछ, जसमा विधिशास्त्रको परिभाषा र स्कुलहरुबारे सोधिन्छ । विश्लेषणात्मक विधिशास्त्र, प्राकृतिक विधिशास्त्र, समाजशास्त्रीय स्कुल लगायत सबै स्कुलहरुको राम्रोसँग अध्ययन गरिनु आवश्यक छ ।
१० नम्बरका दुईवटा छोटा प्रश्नहरुमा चाहिँ भोगाधिकार, स्वामित्व लगायतका विधिशास्त्रको डिप्लोमाको पाठ्क्रममा समाविष्ट विषयहरुबाटै सोध्ने गरिन्छ ।
२० नम्बरको सिर्जनात्मक लेखन तपाईको अंग्रेजीको स्तर जाँच्नलाई सोधिने प्रश्न हो ।
बाँकी ३० नम्बरका तीनवटा विषयगत प्रश्नहरुमा भने नेपालीबाटै लेखन पाइन्छ ।