काठमाण्डौ: प्रत्येक अभियुक्तलाई आफूविरुद्ध पेस भएको अभियोग र प्रमाणका बारेमा जानकारी पाउने र खण्डन गर्दै आफ्नो भनाई राख्न पाउने अधिकार रहेको हुुन्छ । खास गरेर सरकारवादी फौजदारी मुद्दामा कुनै व्यक्तिको विरुद्धमा अभियोगपत्र दायर भएपछि आफूविरुद्धको अभियोगका सम्बन्धमा अदालतका न्यायाधीशसमक्ष अभियुक्तले आफ्नो भनाइ राख्ने प्रक्रियालाई बयान भनिन्छ । देवानी मुद्दा तथा दुनियाँवादी फौजदारी मुद्दामा प्रतिवादीले प्रतिउत्तर पत्रमार्फत आफुविरुद्ध लागेको आरोप खण्डन गर्ने पाँउनुपर्छ ।
सरकारवादी फौजदारी मुद्दामा आवश्यक कुरा जानकारी नगराई वा नसोधी बयान गराइएको अवस्थामा मुद्दाको कारवाही निष्पक्ष सुनुवाइको मापदण्डअनुसार नहुने भएकाले प्रतिवादीलाई बयान गराउनुपूर्व आवश्यक तयारी गरी उपयुक्त वातावरणमा बयान गराउनु पर्दछ ।
बयान गराउनु पूर्व ध्यान दिनुपर्ने कुराहरु:
(क) बयान लिने कार्यमा सम्बन्धित न्यायाधीश नै संलग्न हुनुपर्ने भएको र न्यायाधीशले अन्य मुद्दा पनि हेर्नुपर्ने भएकोले यी दुबै कार्यलाई व्यवस्थित रूपमा सम्पन्न गर्र्नको लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी निश्चित समयमा मात्र बयान गराउनु पर्ने व्यक्तिहरूलाई अदालतसमक्ष उपस्थित गराउनुपर्दछ ।
(ख) बयानका लागि मुद्दा हेर्ने न्यायाधीशसमक्ष सम्बन्धित मिसिल पेस गर्नुपर्दछ ।
(ग) बयान गराउनको लागि बयान गराउने सीप भएकोे दक्ष कर्मचारी खटाउनु पर्र्दछ ।
(घ) सम्बन्धित मुद्दाको अभियोग पत्र, बयान गराउने व्यक्तिलाई लगाइएको अभियोग, अनुसन्धान तहकीकातका सन्दर्भमा सङ्कलन गरिएका कागज प्रमाण राम्रोसँग अध्ययन गरी उक्त मुद्दामा नखुलार्ई नहुने विषयहरूको टिपोट गर्नुपर्दछ ।
(ङ) बयान गर्ने क्रममा आवश्यक पर्न सक्ने ऐन, नियम, कागजहरू तयारी अवस्थामा राख्नुपर्दछ ।
(च) बयान गर्ने व्यक्तिले कानून व्यवसायी राखेको भए निजको र बादी पक्षको कानून व्यवसायी उपस्थित गराउन भन्नुपर्दछ । बयान गर्ने व्यक्तिको कानून व्यवसायी नरहेको अवस्था भए आवश्यकताअनुसार निजलाई निशुल्क कानूनी सहायताको
रूपमा वैतनिक वकिलको सेवा उपलब्ध गराउनुपर्दछ ।
(छ) बालबालिका वा कानूनले बयान गर्दा संरक्षक आवश्यक पर्ने व्यक्ति भए समयमा नै निजको संरक्षक उपस्थित गराउने व्यवस्था गर्नुपर्दछ ।
(ज) बयान कक्षमा आवश्यकताअनुसार सुरक्षाको व्यवस्था मिलाउनुपर्दछ ।
(झ) शान्त वातावरणमा बयान लिने कार्य गर्न र बयानमा व्यक्त गरिएका कुरा अरूले सुन्न नपाउने व्यवस्था गर्न उपयुक्त हुने भएकाले मुद्दाका पक्ष, कानून व्यवसायी, सुरक्षाकर्र्मीलगायतका बयान कक्षमा बस्न पाउने व्यक्तिबाहेकका अन्य असम्बन्धित व्यक्तिहरूलाई बयान गराउनुपूर्व नै बयान कक्षबाट बाहिर पठाउनुपर्दछ । बयान कक्षमा रहन पाउने अन्य व्यक्तिलाई पनि हो हल्ला नगरी शान्त र अनुशासित रूपमा बस्न अनुरोध गर्नुपर्दछ ।
(ञ) बन्द इजलासबाट सुनुवाइ हुने मुद्दामा नियमानुसार इजलासमा रहन अनुमति प्राप्त व्यक्तिहरू मात्र बस्न पाउने गरी बन्द इजलासमा नै बयान गराउनुपर्दछ ।
(ट) बयान गर्ने व्यक्तिको परिचय खुल्ने कागज प्रमाण हेरी निज अभियोग पत्रमा प्रतिवादी कायम भएको व्यक्ति भए नभएको यकिन गर्नुपर्दछ र परिचय खुल्ने प्रमाण कागजको प्रतिलिपि मिसिलसाथ राख्नुपर्दछ ।
(ठ) बयान गर्ने व्यक्तिलाई बयान प्रक्रियाको बारेमा राम्रोसँग जानकारी गराउनुपर्दछ ।
(ड) बयान कक्षमा रहन अनुमति पाएका अन्य व्यक्तिहरूलाई बयान कक्षमा रहँदा पालना गर्नुपर्ने व्यवहार र मर्यादाका सम्बन्धमा बुझाउनुपर्दछ ।
(ढ) बयान गर्ने व्यक्तिले नेपाली भाषा बुझ्न वा बोल्न सक्ने नसक्ने कुराको यकिन गरी नसक्ने रहेछ भने दोभाषेको व्यवस्था गर्नुपर्दछ ।
(ण) बयान गर्नुपूर्व प्रतिवादीलाई हतकडी लगाइएको रहेछ भने सो फुकाल्न लगाउनुपर्दछ ।
बयान गराउँदाका अवस्थामा ध्यान दिनु पर्ने कुराहरू
(क) न्यायाधीशको प्रत्यक्ष रेखदेख, नियन्त्रण र संलग्नतामा बयान गराउने कार्य गराउनुपर्दछ । यसका लागि न्यायाधीश आफैँंले प्रश्न सोध्ने र निजले दिएको जवाफ कर्मचारीलाई लेख्न लगाउनुपर्दछ । लेखिएको जवाफ ठिक भए नभएको न्यायाधीशले जाँच गर्नुपर्दछ । जवाफ दिँदाको अवस्थामा न्यायाधीशले निजको शारीरिक हाउ भाउको अध्ययन गरेमा न्यायाधीशलाई निजको मनोविज्ञान वुज्न सहयोग पुग्दछ ।
(ख) बयान गराउँदा दोभाषेको सहयोग आवश्यक पर्ने भएमा सहयोग लिनुपर्दछ । नाबालक वा कुनै किसिमको रोग लागी होस ठेगानमा नभएको वा बौलाएको वा आँखा नदेख्ने वा बोल्न नसक्ने मानिसको बयान गराउँदा मुलुकी ऐन अदालती बन्दोबस्तको महलको २४ र २५ नंं. बमोजिमको प्रक्रिया पु¥याई संरक्षक वा हकवालासमेतलार्ई रोहवरमा राखी बयान गराउनुपर्दछ । यसरी दोभाषे, संरक्षक वा हकवालालाई रोहवरमा राखेको अवस्थामा सो बेहोरा जनाई निजहरूको पनि बयानमा सहीछाप गराउनुपर्दछ ।
(ग) बयान गराउँदा बयान गर्ने व्यक्तिलाई निजलाई लागेको अभियोग, मिसिलमा संलग्न भएका सम्पूर्ण कागज प्रमाणको बेहोरा पढेर सुनाउनुका साथै सो बारेमा निजले बुझ्ने भाषामा सम्झाउनु बुझाउनुपर्दछ ।
(घ) प्रतिवादीको नाम,थर,वतन,तिनपुस्ते,हुलिया,नागरिकता नम्बर,फोन नम्बर, इमेल ठेगानालगायतका व्यक्तिगत परिचयात्मक विवरण राम्रोसँग सोधी परिचयात्मक विवरण खुलेको नागरिकतालगायत कुनै प्रमाणको प्रतिलिपि मिसिलसाथ राख्नुपर्दछ । पेसा व्यवसाय गर्ने भए कहाँ कस्तो पेसा व्यवसाय गर्ने हो सोसमेत उल्लेख गर्न लगाउनुपर्दछ । मिसिल संलग्न कागज प्रमाण र अभियोगपत्रमा लेखिएको निजको व्यक्तिगत परिचयात्मक विवरण र निजले व्यक्त गरेको निजको व्यक्तिगत परिचयात्मक विवरण मेल नखाएमा कुन सहि हो सोसमेत सोधी यकिन गर्नुपर्दछ । अनुसन्धानको क्रममा गरेको बयानमा अदालत उल्लिखित वतनभन्दा फरक वतन अदालतमा बयान गर्दा भनेमा सोको बारेमा यकिन गरेर मात्र लेख्नुपर्दछ ।
(ङ) बयान गर्दा कुनै अभियुक्तले एकभन्दा बढी वतन देखाएको अवस्थामा निजलाई अदालतबाट जारी हुने म्याद सूचना कुन वतनमा पठाउनु पर्ने हो सो कुराको पनि सोधी जवाफ लिनुपर्दछ ।
(च) बयान गराउँदा कुनै अभियुक्तले एउटा वतन दिएकोमा पछि उक्त वतन परिवर्तन भएमा सो कुराको जानकारी अदालतलाई दिने बेहोराको प्रतिबद्धता पनि बयानका बखत प्रतिवादीबाट गराउनुपर्दछ र यसो नभएमा निजले पहिले दिएको वतनमा नै म्याद सूचनाहरू जारी हुने बेहोराको जानकारी पनि गराउनुपर्दछ ।
(छ) प्रतिवादी विदेशी नागरिक भएमा निजको नाममा म्याद सूचना पठाउने ठेगाना, निजको राहदानी वा सोसरहको परिचय पत्रको नम्बरसमेत खुलाउनुपर्दछ ।
(ज) निजउपर अन्य कसुरमा पनि मुद्दा चलिरहेको वा सजाय पाएको भए कुन कसुरमा कुन निकायमा मुद्दा चलिरहेको छ वा कहिले कुन निकायबाट सजाय पाएको हो सो कुराको पूरा विवरणसमेत उल्लेख गर्न लगाउनुपर्दछ ।
(झ) प्रतिवादीसँग धरौट जमानी माग गर्नुपर्ने अवस्थामा निजको आर्थिक सामाजिक हैसियतसम्बन्धी सूचना पनि आवश्यक पर्ने भएकाले सोसम्बन्धी प्रश्न पनि सोध्नुपर्दछ ।
(ञ) बयान गर्दा प्रतिवादी कसुरमा साबित भएको अवस्थामा निजले सो कसुर कहिले, कसरी को को संलग्न भई गरेको हो ?
सो कसुर गर्नुको उद्देश्य के थियो ? कसैको दबाब वा प्रभावमा परेर वा बाध्यात्मक परिस्थितिमा परेर कसुर गरेको भए के कस्तो दबाब, प्रभाव वा बाध्यात्मक परिस्थितिमा परेर कसुर गरेको हो सो कुरा स्पष्टसँग उल्लेख गर्न लगाउनुपर्दछ ।
(ट) प्रतिवादीले निजउपर लागेको अभियोग अस्वीकार गरी आफू निर्दोष भएको दाबी लिई इन्कारी बयान गरेमा निज के कति कारणले निर्दोष हो, निजविरुद्ध पेस गरेका प्रमाण के कति कारणले गलत हो सो राम्रोसँग उल्लेख गर्न लगाई निजउपर लागेको अभियोग गलत भएको प्रमाणित हुने प्रमाणहरू के के छन् भन्ने कुरा पनि सोधी जवाफ लिनुपर्दछ ।
(ठ) प्रतिवादीले व्यक्त गरेका कुरा अस्पष्ट भएमा आवश्यकताअनुसार थप प्रश्न सोधी स्पष्ट गराउन लगाउनुपर्दछ ।
(ड) प्रतिवादीले बयानका क्रममा व्यक्त गरेका कुराहरू एक आपसमा विरोधाभाषपूर्ण भएमा कुन कुरा सत्य हो सो स्पष्ट गर्न लगाउनुपर्दछ ।
(ढ) बयानका क्रममा प्रतिवादीले कुनै व्यक्तिको नाम उल्लेख गरेमा सो व्यक्तिको नाम, वतनलगायतका व्यक्तिगत परिचयात्मक विवरण स्पष्टरूपमा उल्लेख गर्न लगाउनुपर्दछ । यस्तै गरी कुनै स्थानको उल्लेख गरेमा सो स्थानको पूरा ठेगाना उल्लेख गर्न लगाउनुपर्दछ ।
(ण) प्रतिवादीले अनुसन्धानका क्रममा गरेको बयान र सङ्कलन भएका कागज प्रमाण सनाखत गराउँदा सो बयान र कागज प्रमाण तथा सोमा भएको बेहोरा खुलार्ई देखाई प्रश्न सोध्नुपर्दछ ।
(त)प्रतिवादीले साक्षी राख्न चाहेमा साक्षीको नाम, थर, वतनलगायतका व्यक्तिगत परिचयात्मक विवरण र आफ्नो पक्षमा कुनै प्रमाण पेस गर्न चाहेमा सो प्रमाणको विवरण र सो प्रमाण रहेको स्थानका बारेमा विस्तृतरूपमा उल्लेख गर्न लगाउनुपर्दछ ।
(थ) बयान कार्य समाप्त भएपछि प्रतिवादीलाई बयानको सम्पूर्ण बेहोरा पढेर सुनाई आवश्यक भएमा निजले बुझ्ने शैलीमा सो लेखेको बेहोराका सम्बन्धमा सम्झाउनु बुझाउनुपर्दछ ।
(द) बयान गराउन सुरु गरेकै दिन बयान कार्य सम्पन्न नभई बाँकी रहेमा सोही बेहोरा जनाई अर्को दिन बयान गराउनुपर्दछ ।
(ध) बयानका क्रममा प्रश्न सोध्दा एउटै प्रश्नमा सबै कुरा नसोधी कुरा फेरेर प्रश्न सोेध्नुपर्दछ ।
(न) बयान गराउँदा प्रतिवादीलाई झिझ्याउने, असान्दर्भिक प्रश्न सोध्ने, अपमानित गर्ने, अमर्यादित र अमानवीय व्यवहार गर्ने, ठट्टा मस्करी गर्ने, अनावश्यक सहयोग गर्ने, दिएको जवाफभन्दा फरक कुरा लेख्ने, शारीरिक र मानसिक यातना दिने कार्य गर्नु हुँदैन ।
(प) बाल बालिकाको बयान गराउनु पर्ने भएमा बाल बालिकासम्बन्धी ऐन र नियमले तोकेको कार्यविधिसमेत पूरा गर्नुपर्दछ ।
(फ) व्यक्तिगत परिचयात्मक विवरणको गोपनीयता कायम गर्नु पर्ने अवस्थाको मुद्दा रहेछ भने सोहीबमोजिम गोपनीयता कायम गराई बयान गराउनुपर्दछ ।
(ब) बयान कार्य समाप्त भएपछि प्रत्येक पानाको बन्द बन्दमा र केरमेर भएको ठाउँमा बयान गर्ने प्रतिवादीको सहीछाप गराई बयान लिने न्यायाधीशको समेत सहीछाप गराई अदालतको छाप लगाउनुपर्दछ ।
(भ) बयान कागजको अन्त्यमा बयान भएको मिति उल्लेख गर्नुपर्दछ ।