काठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ११७ ले मिलापत्र सम्वन्धि व्यवस्था गरेको छ । मुद्दाका पक्षहरुको मञ्जुरीले जुनसुकै अवस्थामा मिलापत्र गर्न सकिनेछ । तर सर्वसाधारणको ठगी वा सर्वसाधारणको सम्पत्तिको हानि, नोक्सानी वा वैदेशिक रोजगारी सम्बन्धी मुद्दामा प्रतिवादी र पीडित दुवैले मिलापत्र गराई पाऊँ भनी नेपाल सरकार समक्ष निवेदन दिएमा र त्यस्तो व्यहोरा मनासिब लागेमा नेपाल सरकारले त्यस्तो मुद्दामा सरकारी वकिल मार्फत मिलापत्र गराउन आदेश दिन सक्नेछ ।
दफा १२० ले मेलमिलाप हुन सक्ने अवस्थाको वारेमा व्यवस्था गरेको छ ।
१ अनुसूची–४ अन्तर्गतको कसूर सम्बन्धी कुनै मुद्दामा पक्षहरुको मञ्जुरी भएमा वा अदालतले त्यस्तो मुद्दा मेलमिलापको लागि पठाउन उपयुक्त ठानेमा पक्षलाई मेलमिलापकर्ता रोज्न लगाई र नरोजेमा अदालतले मेलमिलापकर्ता तोकी दिई त्यस्तो मुद्दा मेलमिलापको लागि जुनसुकै बखत र अवस्थामा पठाउने आदेश दिन सक्नेछ ।
२ उपदफा १ बमोजिम आदेश भएकोमा मुद्दाका पक्षहरु त्यस्तो मेलमिलापकर्ता समक्ष उपस्थित हुनु पर्नेछ ।
३ उपदफा २ बमोजिम पक्षहरु उपस्थित भएपछि मेलमिलापकर्ताले मेलमिलापको कारबाही सञ्चालन गरी पक्षहरु मिलापत्र गर्न मञ्जुर भए मिलापत्रको कागज तयार गरी अदालत समक्ष पेश गर्नु पर्नेछ ।
४ उपदफा ३ बमोजिमको कागज प्राप्त भएपछि अदालतले त्यस्तो मिलापत्रको कागज प्रमाणित गरिदिनु पर्नेछ ।
५ उपदफा ४ बमोजिम मिलापत्र भएमा अदालतले त्यस्तो मुद्दाका सम्बन्धमा तल्लो अदालतबाट भएको दण्ड, जरिबाना वा शुल्क पक्षहरुको मिलापत्र बमोजिम छुट दिन सक्ने व्यवस रहेको छ ।
त्यसै गरि सोही ऐनको दफा ११८ ले मिलापत्रको कार्यविधि सम्वन्धि व्यवस्था गरेको छ ।
१. दफा ११७ बमोजिम मुद्दामा मिलापत्र गर्न चाहेमा पक्षहरुले वादी दावीभित्र सिमीत रही मिल्न खोजेको व्यहोरा खुलाई दुवै पक्षले सहीछाप गरी अदालतमा संयुक्त निवेदन पेश गर्नु पर्नेछ ।
२. उपदफा १ बमोजिम मिलापत्र गर्ने व्यहोराको निवेदन अदालतमा पर्न आएमा अदालतले त्यस्तो निवेदन पढेर सुनाई त्यस बमोजिम राजिखुशीले मिलापत्र गर्न चाहेको हो वा होइन भनी त्यस्तो निवेदन पेश गर्ने पक्षहरुलाई सोध्नु पर्नेछ ।
३. उपदफा २ बमोजिम सोध्दा राजिखुशीले मिलापत्र गर्न चाहेकोहो भन्ने जवाफ पक्षहरुले दिएमा संयुक्त निवेदन पत्रमा उल्लेख भए बमोजिमका शर्तहरुको अधीनमा रही मिलापत्रको लिखत तयार गरी पक्षहरुको सहीछाप गराई मुद्दा हेर्ने न्यायाधीशले आफ्नो समेत सहीछाप गर्नु पर्नेछ ।
४. यस परिच्छेद बमोजिम मिलापत्र गर्दा वारेसनामा दिई मिलापत्र गर्ने अधिकार प्रदान भएकोमा बाहेक वारिस मार्फत मिलापत्र गर्दा त्यस्तो व्यहोरा उल्लेख भएको पक्षको छुट्टै वारेसनामा पेश गर्नु पर्नेछ ।