काठमाण्डौ: प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी कार्यविधि कानूनलाई सरलीकृत र समयानुकूल बनाउनका लागि मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ वनाईएको हो । सोही ऐनको दफा १४१ ले प्रत्यर्थी अनुपस्थित भएमा पुनरावेदनको एकतर्फी सुनुवाई हुने व्यवस्था गरेको छ ।
१. दफा ४ को उपदफा ३ बमोजिम दिइएको सूचनाको म्यादभित्र प्रत्यर्थी उपस्थित नभएमा पुनरावेदन सुन्ने अदालतले पुनरावेदनको निर्णयको लागि कम्तीमा पन्ध्र दिन पछिको तारिख तोकी त्यस्तो तारिखको दिन पुनरावेदनको सुनवाई गरी निर्णय गर्न सक्नेछ ।
२. उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रत्यर्थीले दफा १४० को उपदफा ३ बमोजिम दिइएको सूचनाको म्यादभित्र उपस्थित हुन नसकेको कुनै मनासिब कारण देखाई उपदफा ९१० बमोजिम तोकिएको तारिख अगावै निवेदनपत्र दिएमा र त्यस्तो कारण मनासिब देखिएमा अदालतले निजको म्याद थामी उपदफा १ बमोजिम तोकिएको तारिखको दिन निजलाई उपस्थित हुने आदेश दिई पुनरावेदन उपरको सुनुवाई गरी मुद्दाको निर्णय गर्न सकिने कानूनी व्यवस्था गरेको छ ।
त्यसै गरि सोही ऐनको दफा १४२ ले तारिखमा बस्न नपर्ने अवस्थाको वारेमा व्यवस्था गरेको छ ।
१. पुनरावेदनको कारबाहीको सिलसिलामा तारिखमा बस्न नचाहेमा पुनरावेदक वा प्रत्यर्थीले सोही व्यहोराको निवेदन अदालतमा दिन सक्नेछ ।
२. उपदफा १ बमोजिम निवेदन परेकोमा पुनरावेदक वा प्रत्यर्थी खोजेको बेलामा उपस्थित हुने कागज गराई अदालतले निजको तारिख टुटाई दिन सक्नेछ । तर तारिखमा नरहेको पुनरावेदक वा प्रत्यर्थीले चाहेमा पुनरावेदनको सुनुवाईको लागि तोकिएको तारिखका दिन उपस्थित हुन सक्नेछ ।
३. यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पुनरावेदन सुनुवाई हुँदाका बखत पुनरावेदन उपर केही कुराबुझ्नुपर्ने वा कुनै प्रमाण दाखेल गराउनु पर्ने भन्ने अदालतलाई लागेमा त्यस्तो अवस्थामा पुनरावेदक वा प्रत्यर्थीलाई झिकाई तारिखमा राख्न सकिने व्यवस्था गरेको छ ।