Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

फौजदारी न्यायका सामान्य सिद्धान्तहरु र यसको व्याख्या

काठमाण्डौ: मुलुकमा कानून तथा व्यवस्था कायम गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्न, विभिन्न धार्मिक तथा साँस्कृतिक समुदायबिचको सुसम्बन्ध तथा शान्ति कायम गर्न, फौजदारी कसूर निवारण र नियन्त्रण गर्न र तत्सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल फौजदारी कसूर सम्बन्धी संहिताको व्यवस्था गर्न नेपालको संविधान २०७२ को को धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका-संसदले मुलुकी अपराध संहिता ऐन, २०७४ बनाई मिति २०७४।६।३० गते प्रमाणीकरणभएको हो ।

सोही ऐनको परिच्छेद -२ ले फौजदारी न्यायका सामान्य सिद्धान्तहरु सम्वन्धि व्यवस्था गरेको छ । ऐनको दफा ६ ले कानून बमोजिमको काम कसूर नहुने उल्लेख छ । कानून बमोजिम गर्नु पर्ने वा कानूनले क्षम्य मानेको कामलाई कसूर मानिने छैन । दफा ७ ले कानून बमोजिम बाहेक सजाय नहुने कुनै काम गरे बापत कुनै व्यक्ति सजायको भागी हुने छैन र कुनै पनि व्यक्तिलाई कसूर गर्दाको अवस्थामा कानूनमा तोकिएभन्दा बढी सजाय हुने छैन ।

त्यस्ै गरि दफा ८ ले तथ्यको भ्रममा परी गरेको काम कसूर नहुने व्यवस्था गरेको छ । तथ्यको भ्रममा परी कानून बमोजिम गर्नुपर्ने वा क्षम्य मानिएको विश्वास गरी असल नियतले गरेको कुनै काम कसूर मानिने छैन । तर कानूनको अनभिज्ञतामा गरेको काम क्षम्य हुने छैन । दफा ९ मा एउटै कसूरमा दोहोरो सजाय नहुने उल्लेख छ । कुनै व्यक्ति बिरुद्ध अदालतमा एकै कसूरमा एक पटकभन्दा बढी मुद्दा चलाइने र सजाय गरिने छैन । दफा १० मा स्वच्छ सुनुवाईबाट वञ्चित नहुनेः कुनै व्यक्ति सक्षम अदालत वा न्यायिक निकायबाट हुने कारबाहीमा स्वच्छ सुनुवाईबाट वञ्चित हुने छैन ।

दफा ११ मा आफ्नोबिरुद्ध साक्षी हुन कर नलाग्नेः कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई आफ्नो बिरुद्ध साक्षी हुन कर लाग्ने छैन । दफा १२ मा कसूर प्रमाणित नभएसम्म कसूरदार नमानिने उल्लेख छ । कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई त्यस्तोकसूर गरेको प्रमाणित नभएसम्म कसूरदार मानिने छैन । दफा १३ मा बालबालिकाले गरेको काम कसूर नहुने उल्लेख छ । दश वर्ष उमेर नपुगेको बालबालिकाले गरेको कुनै काम कसूर मानिने छैन ।

त्यस्तै दफा १४ होस ठेगानमा नरहेको व्यक्तिले गरेको काम कसूर नमानिने व्यवस्था गरेको छ । कुनै काम गर्दाका बखत मानसिक अस्वस्थताको कारणले त्यस्तो कामको प्रकृति, गुण, दोष वा परिणाम बुझ्न नसक्ने गरी होस ठेगानमा नरहेको व्यक्तिले गरेको काम कसूर मानिने छैन । दफा १५ मा मञ्जुरी लिई गरेको काम कसूर नहुनेः ज्यान लिने वा अङ्गभङ्ग गर्ने नियतले वा ज्यान जान वा अङ्गभङ्ग हुन सक्छ भन्ने थाहा भई गरेकोमा बाहेक कसैले अठार वर्ष माथिको कुनै व्यक्तिको मञ्जुरी लिई गरेको कुनै कामबाट त्यस्तो मञ्जुरी दिने व्यक्तिलाई कुनै क्षति पुग्न गएमा सो काम कसूर नमानिने उल्लेख छ ।

दफा १६ ले भलाईका लागि मञ्जुरी लिई गरेको काम कसूर नहुने र कसैले कुनै व्यक्तिको भलाईका लागि निजको मञ्जुरी लिई असल नियतले होसियारी साथ गरेको कुनै कामबाट त्यस्तो मञ्जुरी दिने व्यक्तिलाई क्षति पुग्न गएमा त्यस्तोकाम कसूर मानिने छैन । दफा १७ ले भलाईका लागि संरक्षकको मञ्जुरी लिई गरेको काम कसूर हुने छैन । अठार वर्ष ननाघेको वा मानसिक अस्वस्थताको कारणले होस ठेगानमा नरहेको व्यक्तिको भलाईका लागि निजको संरक्षकले वा त्यस्तो संरक्षकको मञ्जुरी लिएर अरु कसैले असल नियतले होसियारी साथ गरेको कुनै कामबाट त्यस्तो व्यक्तिलाई कुनै क्षति पुग्न गएमा त्यस्तो काम कसूर मानिने छैन । तर ज्यान जान वा अङ्गभङ्ग हुनबाट रोक्ने उद्देश्यले गरेकोमा बाहेक ज्यान जान सक्छ वा अङ्गभङ्ग हुन सक्छ भन्ने जानीजानी त्यस्तो कुनै काम गर्ने व्यक्तिले आपराधिक
दायित्वबाट छुट पाउने छैन ।

त्यस्तै ऐनको दफा १८ ले भलाईका लागि मञ्जुरी नलिई गरेको काम कसूर नहुने उल्लेख गरेको छ । कुनै व्यक्तिको भलाईका लागि तत्काल कुनै काम नगरी नहुने भएको, त्यस्तो व्यक्ति कुनै कारणले त्यस्तो काम गर्न दिनको लागि तत्काल आफै मञ्जुरी दिन नसक्ने अवस्थामा रहेको र निजको तर्फबाट मञ्जुरी दिन सक्ने संरक्षक पनि तत्काल उपलब्ध नभएको अवस्थामा निजको भलाईका लागि मञ्जुरी नलिएर पनि असल नियतले होसियारी साथ त्यस्तो काम गर्दा निजलाई कुनै क्षति वा हानि, नोक्सानी पुग्न गएमा त्यस्तो काम कसूर नमानिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri