काठमाण्डौ: मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २२ ले डर त्रासमा परी गरेको काम कसूर नहुने व्यवस्था गरेको छ । सोही ऐनको उपदफा १ मा कसैले जोखिमी हातहतियार वा विषालु वा विष्फोटक पदार्थ लिई कुनै व्यक्तिलाई निजले तत्काल कुनै काम नगरे निज वा निजको नजिकको नातेदारको ज्यान लिने वा शारीरिक अङ्गभङ्ग गराउने डर त्रास देखाएको र तत्काल त्यस्तो काम नगरे आफ्नो वा आफु नजिकको नातेदारको ज्यान जान वा शारीरिक अङ्गभङ्ग हुन सक्ने खतरा छ भनी विश्वास गर्नु पर्ने मनासिब कारण भई त्यस्तो व्यक्तिले गरेको त्यस्तो काम कसूर नमानिने उल्लेख छ ।
तर देहायको अवस्थामा त्यस्तो काम कसूर मानिने छ ।
क) ज्यान लिएको वा शारीरिक अङ्गभङ्ग गरेकोमा,
ख) जवर्जस्ती करणी गरेकोमा,
ग) राज्य बिरुद्धको कसूर गरेकोमा, वा
घ) त्यस्तो काम गर्ने व्यक्ति आफैले गर्दा वा आफुले कुनै काम गरेको कारणबाट निज त्यस्तो डर त्रासको अवस्थामा पुगेकोमा ।
र उपदफा १ बमोजिम डर, त्रासमा पारी कसूर गराउने व्यक्तिलाई निज आफैले त्यस्तो कसूर गरे सरह कानून बमोजिम सजाय हुने व्यवस्था संहिताले गरेको छ ।