काठमाण्डौ: मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ४५ ले बालबालिकालाई हुने सजाय सम्वन्धि व्यवस्था गरेको छ । उपदफा १ मा कानून बमोजिम कसूर ठहरिने कुनै काम गर्ने व्यक्तिको उमेर त्यस्तो काम गर्दाका बखत दश वर्ष पुगेको रहेनछ भने निजलाई कुनै सजाय हुने छैन ।
त्यसै गरि उपदफा २ मा दश वर्ष वा दश वर्षभन्दा माथि र चौध वर्षभन्दा कम उमेर भएको व्यक्तिलाई कैदको सजाय गर्दा बढीमा छ महिनासम्म कैदको सजाय गर्न वा कैद नगरी बढीमा एक वर्षसम्म सुधार गृहमा राख्न सकिनेछ । त्यस्तै उपदफा ३ मा चौध वर्ष वा चौध वर्षभन्दा माथि र १६ वर्षभन्दा कम उमेरको व्यक्तिले कैदको सजाय हुने कुनै कसूर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई कानून बमोजिम हुने सजायको आधा सजाय हुनेछ ।
ऐनको उपदफा ४ ले सोह्र वर्ष वा सोह्र वर्षभन्दा माथि र अठार वर्षभन्दा कम उमेरको व्यक्तिले कैदको सजाय हुने कुनै कसूर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई कानून बमोजिम हुने सजायको दुई तिहाई सजाय हुने व्यवस्था गरेको छ ।