Jus Nepal
शनिबार, माघ १२, २०८१ | January 25, 2025 |

अपराध कानूनका सिद्धान्त र नेपालको अपराध कानून

अपराध र अपराध कानून नभएको समाज सम्भव छैन भन्ने गरिन्छ । विश्वमा नै समाजमा अपराध कानूनले कतिपय मानवीय आचरण र व्यवहार (कार्य) लाई अपराध घोषित गर्ने र अपराध कानूनले नगर्नु भनेको कार्य नगर्न र गर्न भनेका कार्य गर्न सुझाउँछ ।

अपराध सधैं समाजिक शान्ति र हित विपरीत हुन्छन भन्ने मान्यता हुन्छ । जति पनि अपराध गरेको भनिएको अभियोग लागेको विषयमा राज्य आफैं अपराध गर्ने भनिएका व्यक्तिको विपक्षी भई अनुसन्धान, अभियोजन र सजायको कार्यान्वयन गर्दछ ।

राज्यले अपराध गर्ने  व्यक्तिलाई विपक्षी बनाई अभियजन र कानूनको कार्यान्वयन गर्ने भएता पनि हरेक अभियुक्तको न्यूनतम मानवअधिकारको पक्षमा पनि राज्य स्वयं सजग रहनु पर्छ भन्ने मान्यता छ ।

अपराध कानूनका सिद्धान्त अपराध र दण्ड व्यवस्थापनसँग सम्बन्धित आधारभूत सिद्धान्तहरू हुन्, जसले कानूनी प्रणालीमा अपराधको परिभाषा, अपराधीको दायित्व र न्याय सुनिश्चित गर्न प्रयोग गरिने प्रक्रियाहरूलाई मार्गदर्शन गर्छ ।

अपराध कानूनका सिद्धान्तहरु भन्नाले अपराध कानूनमा प्राय: विश्वमा नै सम्पूर्ण राज्यले अपराध नियन्त्रण गर्न बनाउने कानून, कार्यन्वयन गर्ने पक्ष र दण्डित गर्दाका सर्वमान्य प्रकृयाका पक्षहरुलाई बुझिन्छ । यसलाई सामान्यत: चार मुख्य आधारमा वर्गीकृत गर्न सकिन्छ ।

१. प्रतिशोधको सिद्धान्त (Retributive Theory)

  • यो सिद्धान्तले अपराधीलाई दण्ड दिएर पीडितलाई न्याय दिलाउनुपर्नेमा जोड दिन्छ ।
  • अपराधको स्वरूप र गम्भीरताका आधारमा समानुपातिक दण्ड दिनुपर्ने मान्यता राखिन्छ ।
  • यस सिद्धान्तको उद्देश्य “अपराध गरेपछि परिणाम भोग्नैपर्छ” भन्ने चेतना फैलाउनु हो।
  • दण्ड नै अपराध नियन्त्रणको मूल आधार हो भन्ने यस सिद्धान्तको मान्यता छ ।

२. निवारणको सिद्धान्त (Deterrent Theory)

  • यो सिद्धान्तले अपराध रोक्नका लागि अपराधीलाई कडा सजाय दिनुपर्छ भन्ने कुरा जोड दिन्छ ।
  • सजायको डरले भविष्यमा अपराध गर्न कसैले पनि हिम्मत नगर्ने विश्वास गरिन्छ ।
  • यस सिद्धान्तको उद्देश्यस समाजमा डर पैदा गरी अपराध कम गर्नु हो ।
  • उदाहरण- सार्वजनिक स्थलमा अपराधीलाई दण्डित गर्नु, दण्ड दिँदा सार्वजनिक गरिनु यसरी सामाजिक त्रासको अवस्था सृजना गरी अपराधका घटना न्यून गर्ने यस सिद्धान्तको मान्यता हो ।

३. सुधारको सिद्धान्त (Reformative Theory)

  • यस सिद्धान्त अनुरुप अपराधीलाई सुधार गरेर समाजमा पुन: समाजमा फर्काउने उद्देश्य राखिनुपर्छ ।
  • यो सिद्धान्तले अपराधीलाई अपराधप्रति प्रायश्चित, ग्लानी र मानवताबोध गराउने र सामाजिक प्राणीको भाव विकास गरी पुन: समाजमा पठाउनु पर्छ ।
  •  यसको उद्देश्य अपराधीको मानसिकता र जीवनशैली, भावना परिवर्तन गरी समाज अनुकुलको ब्यक्ति बनाउनु पर्छ भन्ने रहेको छ ।
  • अपराध गर्ने व्यक्तिलाई सुधारगृहमा राख्नु पर्छ, सुधारगृहमा राख्दा आवाश्यक शिक्षा र तालिम मार्फत सामाजिक  व्यक्तित्वको रुपमा विकास गर्नुपर्छ भन्ने मान्यता राख्दछ ।

४. निष्कासनको सिद्धान्त (Preventive Theory)

  • यस सिद्धान्तअनुरुप अपराध रोक्नका लागि अपराधीलाई समाजबाट अलग्गै राख्नु पर्छ र समाज अपराधीको त्रासरहित हुनु पर्दछ भन्ने मान्यता राख्दछ ।
  • यो सिद्धान्तले पुन: अपराध हुन नदिने उपायका रुपमा अपराधीलाई समाजभन्दा अलग र नियन्त्रणमा राख्नुपर्ने कुरामा जोड दिन्छ ।
  •  अपराध गर्न सक्ने सम्भावना भएका व्यक्तिलाई अपराध गर्ने नसक्ने गरी बन्देजको अवस्था सृजना गर्नु र समाजलाई त्रास रहित बनाउनु हो ।
  • उदाहरणका रुपमा आजीवन काराबासमा राख्नु, घरमै नजरबन्दमा राख्नु,सामाजिम पहुँचमा आउन नदिनु आदि ।

५. पुनर्स्थापनाको सिद्धान्त (Restorative Theory)

  • यो सिद्धान्त अपराधको कारणले भएका नोक्सानलाई परिपूरण गर्ने र पीडितलाई राहत दिने कुरामा केन्द्रित हुन्छ ।
  • अपराध गर्ने व्यक्तिलाई सजायभन्दा पनि पीडितलाई परेको क्षति, हानी वा गम्भीर क्षतिबाट माथि उठ्न आवश्यक र उचित काम गर्नु नै न्याय हो भन्ने मान्यता राख्दछ ।
  • पीडित, अपराधी र समाजबीच पुन: सन्तुलन कायम गरी अपराध नियन्त्रणको प्रयास गरिन्छ ।
  • अपराधबाट भएको क्षति पूर्ति गर्ने र न्यायको अनुभूति पीडितलाई दिलाउने वा यसलाई पीडित मैत्री न्याय पनि भनिन्छ ।
  • यस सिद्धान्तअनुरुप अपराध गर्ने  व्यक्तिलाई आर्थिक क्षतिपूर्ति, क्षमायाचना गराउने, सामुदायिक सेवामा संलग्न गराउने आदि हुन्छ ।

हरेक सिद्धान्तको आ-आफ्नो मान्यता भएता पनि अपराध कानूनका यी सिद्धान्तहरूले कानूनी प्रणालीलाई न्यायोचित, प्रभावकारी र मानवतावादी बनाउने उद्देश्य राखेको हुन्छ ।

विभिन्न देशहरूमा अपराध कानूनका उल्लेखित सिद्धान्तको प्रयोग गरेको पाइन्छ । तर, कुन सिद्धान्तलाई प्राथमिकता दिएको भन्ने पक्ष फरक-फरक पाइन्छ । हाल धेरै देशको अपराध कानूनमा सबै सिद्धान्तका उत्कृष्ट पक्षलाई पालना गरी मिश्रित अभ्यासमा रहेको पाइन्छ ।

नेपालको फौजदारी संहिता, २०७४ र फौजदारी कार्यविधि संहिता २०७४ र अदालती अभ्यासमा समेत यी सिद्धान्तहरुको व्यवस्था र अभ्यास देखिन्छ ।

फौजदारी संहिता, २०७४ मा निम्न दफामा उल्लेख भएका फौजदारी न्यायका सामान्य सिद्धान्तहरु छन :

दफा ६. कानून बमोजिमको काम कसूर नहुने : कानूनबमोजिम गर्नुपर्ने वा कानूनले क्षम्य मानेको कामलाई कसूर मानिने छैन ।

दफा ७. कानून बमोजिम बाहेक सजाय नहुने : कानूनले सजाय नहुने कुनै काम गरे बापत कुनै व्यक्ति सजायको भागीदार हुने छैन र कुनै पनि व्यक्तिलाई कसूर गर्दाको अवस्थामा कानूनमा तोकिएभन्दा बढी सजाय हुने छैन ।

दफा ८. तथ्यको भ्रममा परी गरेको काम कसूर नहुने : तथ्यको भ्रममा परी कानून बमोजिम गर्नु पर्ने वा क्षम्य मानिएको विश्वास गरी असल नियतले गरेको कुनै काम कसूर मानिने छैन । तर कानूनको अनभिज्ञतामा गरेको काम क्षम्य हुने छैन ।

दफा ९. एउटै कसूरमा दोहोरो सजाय नहुने : कुनै व्यक्ति बिरुद्ध अदालतमा एकै कसूरमा एक पटकभन्दा बढी मुद्दा चलाइने र सजाय गरिने छैन ।

दफा १०. स्वच्छ सुनुवाईबाट वञ्चित नहुने : कुनै व्यक्ति सक्षम अदालत वा न्यायिक निकायबाट हुने कारबाहीमा स्वच्छ सुनुवाईबाट वञ्चित हुने छैन ।

दफा ११. आफ्नो बिरुद्ध साक्षी हुन कर नलाग्ने : कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई आफ्नो बिरुद्ध साक्षी हुन कर लाग्ने छैन ।

दफा १२. कसूर प्रमाणित नभएसम्म कसूरदार नमानिने : कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई त्यस्तो कसूर गरेको प्रमाणित नभएसम्म कसूरदार मानिने छैन ।

दफा १३. बालबालिकाले गरेको काम कसूर नहुने : दश वर्ष उमेर नपुगेको बालबालिकाले गरेको कुनै काम कसूर मानिने छैन ।

दफा १४. होस ठेगानमा नरहेको व्यक्तिले गरेको काम कसूर नमानिने : कुनै काम गर्दाका बखत मानसिक अस्वस्थताको कारणले त्यस्तो कामको प्रकृति, गुण, दोष वा परिणाम बुझ्न नसक्ने गरी होस ठेगानमा नरहेको व्यक्तिले गरेको काम कसूर मानिने छैन ।

दफा १५. मञ्जुरी लिई गरेको काम कसूर नहुने : ज्यान लिने वा अङ्गभङ्ग गर्ने नियतले वा ज्यान जान वा अङ्गभङ्ग हुन सक्छ भन्ने थाहा भई गरेकोमा बाहेक कसैले अठार वर्ष माथिको कुनै व्यक्तिको मञ्जुरी लिई गरेको कुनै कामबाट त्यस्तो मञ्जुरी दिने व्यक्तिलाई कुनै क्षति पुग्न गएमा सो काम कसूर मानिने छैन ।

दफा १६. भलाइका लागि मञ्जुरी लिई गरेको काम कसूर नहुने : कसैले कुनै व्यक्तिको भलाईका लागि निजको मञ्जुरी लिई असल नियतले होसियारी साथ गरेको कुनै कामबाट त्यस्तो मञ्जुरी दिने व्यक्तिलाई क्षति पुग्न गएमा त्यस्तो काम कसूर मानिने छैन ।

दफा १७. भलाइका लागि संरक्षकको मञ्जुरी लिई गरेको काम कसूर नहुने : अठार वर्ष ननाघेको वा मानसिक अस्वस्थताको कारणले होस ठेगानमा नरहेको व्यक्तिको भलाइका लागि निजको संरक्षकले वा त्यस्तो संरक्षकको मञ्जुरी लिएर अरु कसैले असल नियतले होसियारी साथ गरेको कुनै कामबाट त्यस्तो व्यक्तिलाई कुनै क्षति पुग्न गएमा त्यस्तोे काम कसूर मानिने छैन ।

तर ज्यान जान वा अङ्गभङ्ग हुनबाट रोक्ने उद्देश्यले गरेकोमा बाहेक ज्यान जान सक्छ वा अङ्गभङ्ग हुन सक्छ भन्ने जानीजानी त्यस्तो कुनै काम गर्ने व्यक्तिले आपराधिक दायित्वबाट छुट पाउने छैन ।

दफा १८. भलाइका लागि मञ्जुरी नलिई गरेको काम कसूर नहुने : कुनै व्यक्तिको भलाइका लागि तत्काल कुनै काम नगरी नहुने भएको, त्यस्तो व्यक्ति कुनै कारणले त्यस्तो काम गर्न दिनको लागि तत्काल आफैं मञ्जुरी दिन नसक्ने अवस्थामा रहेको र निजको तर्फबाट मञ्जुरी दिन सक्ने संरक्षक पनि तत्काल उपलब्ध नभएको अवस्थामा निजको भलाइका लागि मञ्जुरी नलिएर पनि असल नियतले होसियारी साथ त्यस्तो काम गर्दा निजलाई कुनै क्षति वा हानि, नोक्सानी पुग्न गएमा त्यस्तो काम कसूर मानिने छैन ।

स्पष्टीकरण : दफा १६, १७ र यस दफाको प्रयोजनका लागि “भलाइ” भन्नाले :

(क) आर्थिक रुपमा प्राप्त लाभलाई जनाउने छैन,

(ख) ज्यान लिने वा मनासिब कारण विना अङ्गभङ्ग गर्ने नियतले गरेको कामलाई जनाउने छैन ।

दफा १९. मञ्जुरी लिएर गरेको भए पनि कसूर मानिने : दफा १५, १६ वा १७ मा जुनसुकै कुरा लेखिएको भएता पनि ती दफाहरुमा लेखिएको काम कानून बमोजिम अन्य कसूर मानिने भएमा त्यस्तो काम मञ्जुरी लिएर गरेको भए पनि कसूर मानिनेछ ।

दफा २० मञ्जुरी : मञ्जुरी मौखिक वा लिखित रुपमा वा इशारा वा आचरणद्वारा व्यक्त गर्न सकिनेछ ।

तर देहायका अवस्थामा दिइएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन :–

(क) तथ्यको भ्रममा परी वा कुनै किसिमको हानि, नोक्सानी हुन सक्ने डर, त्रासमा परी कुनै व्यक्तिले मञ्जुरी दिएको र त्यस्तो मञ्जुरी अनुसार काम गर्ने व्यक्तिलाई त्यस्तो मञ्जुरी त्यसरी दिइएको हो भन्ने कुरा थाहा भएमा वा निजले विश्वास गर्नु पर्ने कुनै मनासिब कारण भएमा,

(ख) मानसिक अस्वस्थताको कारणले आपूmले दिएको मञ्जुरीको गुण, दोष र परिणाम बुझ्न नसक्ने गरी होस ठेगानमा नरहेका बखत कुनै व्यक्तिले मञ्जुरी दिएकोमा,

(ग) अठार वर्ष ननाघेको बालबालिकाले मञ्जुरी दिएकोमा,

(घ) अनुचित प्रभावमा परी मञ्जुरी दिएकोमा ।

दफा २१. असल नियतले दिएको जानकारीबाट क्षति पुगेमा कसूर नहुने : कसैले कुनै व्यक्तिलाई निजको भलाइका लागि असल नियतले दिएको कुनै कुराको सूचना वा जानकारीबाट त्यस्तो व्यक्तिलाई कुनै क्षति पुग्न गएमा त्यस्तो काम कसूर मानिने छैन ।

दफा २२. डर त्रासमा परी गरेको काम कसूर नहुने : (१) कसैले जोखिमी हातहतियार वा विषालु वा विष्फोटक पदार्थ लिई कुनै व्यक्तिलाई निजले तत्काल कुनै काम नगरे निज वा निजको नजिकको नातेदारको ज्यान लिने वा शारीरिक अङ्गभङ्ग गराउने डर त्रास देखाएको र तत्काल त्यस्तो काम नगरे आफ्नो वा आफ्नो नजिकको नातेदारको ज्यान जान वा शारीरिक अङ्गभङ्ग हुन सक्ने खतरा छ भनी विश्वास गर्नु पर्ने मनासिब कारण भई त्यस्तो व्यक्तिले गरेको त्यस्तो काम कसूर मानिने छैन ।

तर देहायको अवस्थामा त्यस्तो काम कसूर मानिने छ :–

(क) ज्यान लिएको वा शारीरिक अङ्गभङ्ग गरेकोमा,

(ख) जवर्जस्ती करणी गरेकोमा,

(ग) राज्य बिरुद्धको कसूर गरेकोमा, वा

(घ) त्यस्तो काम गर्ने व्यक्ति आफैंले गर्दा वा आफूले कुनै काम गरेको कारणबाट निज त्यस्तो डर त्रासको अवस्थामा पुगेकोमा ।

(२) उपदफा (१) बमोजिम डर, त्रासमा पारी कसूर गराउने व्यक्तिलाई निज आफैंले त्यस्तो कसूर गरे सरह कानून बमोजिम सजाय हुनेछ ।

दफा २३. अन्य हानि, नोक्सानीबाट बचाउन असल नियतले गरेको काम कसूर नहुने : कसैलाई कुनै हानि, नोक्सानी हुने कुनै काम तत्काल नगरे आफ्नो वा अरु कसैको जीउ, ज्यान वा सम्पत्तिमा त्यसभन्दा ठूलो हानि, नोक्सानी हुने निश्चित भई आपराधिक नियत विना र संभावित ठूलो हानि, नोक्सानी रोक्ने वा टार्ने उद्देश्यले असल नियतले त्यस्तो हानि, नोक्सानी हुने काम गरेमा हानि पुग्न सक्छ भन्ने जानीजानी गरेको कारणले मात्र त्यस्तो काम कसूर मानिने छैन ।

दफा २४. निजी रक्षाको लागि गरेको काम कसूर नमानिने : (१) यस परिच्छेदको अधीनमा रही निजी रक्षाको अधिकार प्रयोग गर्दा भए गरेको कुनै काम कसूर मानिने छैन ।

(२) प्रत्येक व्यक्तिलाई आफ्नो वा अरु कसैको जिउ, ज्यान वा सम्पत्तिलाई कुनै गैर कानूनी क्षतिबाट बचाउने अधिकार हुनेछ ।

(३) यस दफा बमोजिम निजी रक्षाको अधिकार प्रयागे गर्दा तत्काल कुनै काम नगरेमा आफ्नो वा अरु कसैको जीउ, ज्यान वा सम्पत्तिलाई कुनै गैर कानूनी क्षतिबाट बचाउन सकिदैन भन्ने मनासिब विश्वास भएमा वा विश्वास गर्नु पर्ने मनासिब कारण भएमा मात्र प्रयोग गर्नु पर्नेछ ।

दफा २५. निजी रक्षाको अधिकारमा बन्देज : (१) दफा २४ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा वा कामका बिरुद्ध निजी रक्षाको अधिकार प्राप्त हुन सक्ने छैन :–

(क) कसैको जिउ वा सम्पत्तिमा गैर कानूनी क्षति पुर्‍याउने काम हुँदाका बखत त्यस्तो क्षतिबाट बचाउन तत्काल सार्वजनिक अधिकारीको संरक्षण वा मद्दत उपलब्ध हुने वा हुन सक्ने अवस्था भएकोमा,

(ख) जसको जिउ वा सम्पत्तिमा क्षति पुगेको हो त्यस्तो व्यक्तिले नै क्षति पुर्‍याउने व्यक्तिलाई उत्तेजित गरेको कारणबाट त्यसरी क्षति पुगेकोमा,

(ग) अदालतको फैसला वा आदेश अनुसार कुनै राष्ट्रसेवकले असल नियतले कुनै काम गरेकोमा,

(घ) कुनै राष्ट्रसेवकले आफ्नो पदीय अधिकारको प्रयोगमा असल नियतले कुनै काम गरेकोमा,

(‌ङ) कुनै राष्ट्रसेवकले आफ्नो पदीय अधिकारको प्रयोगमा असल नियतले दिएको निर्देशन अनुसार कसैले कुनै काम गरेकोमा ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा कुनै व्यक्ति निजी रक्षाको अधिकारबाट बञ्चित हुने छैन :–

(क) उपदफा (१) को खण्ड (ग) मा उल्लिखित काम गर्ने व्यक्ति राष्ट्रसेवक हो र निज अदालतको पैmसला वा आदेशानुसार काम गर्दैछ भन्ने कुरा जानकारी हुने वा विश्वास गर्ने मनासिब कारण नभएमा वा निजको परिचय वा सो काम गर्न पाएको अधिकारपत्र माग गर्दा पनि निजले आप्mनो परिचय नदिएमा वा त्यस्तो काम गर्न पाएको अधिकारपत्र नदेखाएमा,

(ख) उपदफा (१) को खण्ड (घ) मा उल्लिखित काम गर्ने व्यक्ति राष्ट्रसेवक हो भन्ने कुरा जानकारी हुने वा विश्वास गर्नु पर्ने मनासिब कारण नभएमा,

(ग) उपदफा (१) को खण्ड (ङ) मा उल्लिखित काम गर्ने व्यक्तिले त्यस्तो काम कुनै राष्ट्रसेवकको निर्देशनमा गरिरहेको हो भन्ने कुरा जानकारी हुने वा विश्वास गर्नु पर्ने मनासिब कारण नभएमा वा त्यस्तो निर्देशन अनुसार त्यस्तो काम गर्न लागेको हो भन्ने कुरा निजले जानकारी नदिएमा वा त्यस्तो काम गर्न अधिकारपत्र भएकोमा माग गर्दा पनि त्यस्तोे अधिकार पत्र नदेखाएमा ।

(३) दफा २४ वा यस दफा अन्तर्गत निजी रक्षाको अधिकार प्रयोग गर्दा त्यस्तो रक्षा गर्नको लागि आवश्यक पर्ने मनासिब बलभन्दा बढी बल प्रयोग गर्न सकिने छैन ।

दफा २६. ज्यान लिने अधिकार नहुने : (१) यस परिच्छेद बमोजिम निजी रक्षाको अधिकार प्रयोग गर्दा कसैलाई कसैकेा ज्यान लिने अधिकार हुनेछैन ।

(२) उपदफा (१) मा जुनसकै कुरा लेखिएको भए तापनि दफा २५ को उपदफा (३) को अधीनमा रही देहायको अवस्थामा निजी रक्षाको अधिकार प्रयोग गर्दा कसैको ज्यान गएकोमा त्यस्तो काम कसूर मानिने छैन :–

(क) आफूवा अरु कसैमाथि भएको आक्रमण बिरुद्ध तत्काल रक्षा नगर्दा आफ्नो वा अरु कसैको ज्यान जान वा आफूवा अरु कसैलाई गम्भीर चोट लाग्न वा अङ्गभङ्ग हुन सक्छ भन्ने मनासिब विश्वास भएमा,

(ख) जवर्जस्ती करणी गर्ने नियतले आक्रमण गरेको हो भन्ने मनासिब विश्वास भई वा जवर्जस्ती करणी गर्दाका बखत वा गरिसके पछि पीडितबाट तत्काल कुनै काम भएकोमा,

(ग) ज्यान मार्ने, बन्धक वा अपहरण गराउन मुक्ति रकम लिने, जवर्जस्ती करणी गर्ने, अङ्गभङ्ग गर्ने नियतले शरीर बन्धक लिएकोमा वा अपहरण गरेकोमा,

(घ) मानिस बस्ने, पूजा वा प्रार्थना गर्ने, सम्पत्ति राख्ने कुनै घर, पाल वा सवारी साधनलाई घेराबन्दी गरी, जोखिमपूर्ण हातहतियार प्रयोग गरी, आगो लगाई वा विष्फोटक पदार्थ प्रयोग गरी क्षति पुर्‍याउन खोजेकोमा,

(ङ) डाँकाको कसूर बिरुद्ध रक्षा गर्नु परेमा,

(च) कुनै व्यक्तिको वैयक्तिक सुरक्षा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रण भएको सङ्गठित संस्थाको सम्पत्ति वा सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि अधिकार प्राप्त अधिकारीको आदेशबाट खटिएको सुरक्षाकर्मीले त्यस्तो व्यक्ति वा सम्पत्ति बिरुद्ध भएको आक्रमण रोक्न तत्काल प्रतिकार गर्नु परेकोमा ।

दफा २७. मामुली हानि, नोक्सानी भएकोमा कसूर नहुने : साधारण समझको व्यक्तिले गरेको मामुली किसिमको हानि, नोक्सानीलाई कसूर मानिने छैन ।

दफा २८. बालबालिकाबाट गराएको कसूरमा उमेर पुगेकोलाई सजाय हुने : कसैले कुनै बालबालिकालाई फकाई, सिकाई वा प्रभावमा पारी कुनै कसूर गर्न लगाएको रहेछ भने त्यसरी कसूर गर्न लगाउने व्यक्तिलाई निज आफैले त्यस्तो कसूर गरे सरह सजाय हुनेछ ।

दफा २९. निरपेक्ष दायित्व (स्ट्रीक्ट लायविलिटि) हुने कसूरमा आपराधिक मनसाय परीक्षण नहुने : यस संहिता वा कानून बमोजिम निरपेक्ष आपराधिक दायित्व हुने कसूरमा त्यस्तोे कसूर मनसायपूर्वक गरेको हो वा होइन भन्ने कुरा परीक्षण हुने छैन ।

दफा ३०. सङ्गठित संस्थाबाट भएको कसूरमा काम गर्ने गराउनेको आपराधिक दायित्व हुने : कुनै फर्म, कम्पनी वा सङ्गठित संस्थाले यस संहिता वा कानून बमोजिम कसूर मानिने कुनै काम गरेको वा गराएकोमा जसले त्यस्तो काम गरे वा गराएको हो सोही व्यक्ति जिम्मेवार हुनेछ र त्यस्तो व्यक्ति किटान हुन नसकेमा फर्मको हकमा त्यस्ता काम गर्ने सम्बन्धित धनी वा हिस्सेदारहरु र कम्पनी वा सङ्गठित संस्था भए त्यस्तो काम गर्ने वा गराउने सञ्चालक, प्रबन्ध सञ्चालक, महाप्रबन्धक र त्यस्तो व्यक्ति पनि किटान हुन नसकेमा त्यस्तो संस्थाको कार्यकारी प्रमुखले आपराधिक दायित्व व्यहोर्नु पर्नेछ ।

दफा ३१. समूहबाट भएको कसूरमा सबै सदस्यलाई सजाय हुने : दुई वा दुईभन्दा बढी व्यक्तिको समूहबाट कुनै कसूर भएकोमा सो समूहका सबै सदस्यलाई त्यस्तो कसूरको सजाय हुनेछ ।

दफा ३२. अपराध पीडितलाई मुद्दाको कारबाहीको जानकारी र क्षतिपूर्ति पाउने हक हुने : (१) अपराध पीडितलाई आफू पीडित भएको मुद्दाको अनुसन्धान तथा कारबाही सम्बन्धी जानकारी पाउने हक हुनेछ ।
(२) अपराध पीडितलाई कानून बमोजिम सामाजिक पुन:स्थापना र क्षतिपूर्ति सहितको न्याय पाउने हक हुनेछ ।

Writer Image

मनिषा प्याकुरेल

लेखक मनिषा प्याकुरेल अधिवक्ता हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri