कानून व्ववसायीलाई धेरैले सोधिरहेको पाइन्छ- मेरो विवाह दर्ता छैन, सँगै बस्दाबस्दै शारीरिक सम्पर्क भयो र शिशुको जन्म मेत भइसक्यो, अब के हुन्छ ?
कतिपय मानिसहरुको विवाह दर्ता नभएकै कारण आमा र बच्चाले कयौं कानूनी अधिकार प्राप्त गर्न समेत समस्या भइरहेको छ ।
सामान्यतया विवाह सार्वजनिक गर्नुपर्छ वा गोप्य गर्नु गराउनुहुँदैन भन्ने कानूनी व्यवस्था छ । तर, विवाह सार्वजनिक नगराई गोप्य राखेको वा विवाह दर्ता नभएको अवस्थामा के विवाह नै मानिँदैन त ?
यस सम्बन्धमा हाम्रो कानूनले विवाह जुनसुकै किसिमले भएको भए पनि सार्वजनिक गर्नु, गराउनुपर्ने व्यवस्था गरेको छ ।
यदि कसैले विवाह गोप्य नै राखेको अवस्थामा पनि केही अवस्थामा विवाह भएको मानिने कानूनी प्रावधान छ ।
देवानी संहिता २०७४ को दफा ६९ को उपदफा २ मा विवाह भएको सार्वजनिक गर्नुपर्ने वा गोप्य राख्न नपाइने भन्ने व्यवस्था छ भने दफा ७४ मा कुनै महिला-पुरुषको शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह भएको मानिने व्यवस्था छ ।
तर, जुनसुकै अवस्थामा शिशुको जन्म भएकै कारणबाट मात्र विवाह भएको मानिँदैन ।
कुन अवस्थामा शिशुको जन्म भइसकेको भए पनि विवाह मानिँदैन त ?
देवानी संहिता २०७४ को दफा ७४ को उपदफा २ मा केही अवस्थामा शिशुको जन्म भएको भए पनि विवाह नमानिने व्यावस्था छ ।
जबरजस्ती करणी बाट गर्भधारण भई शिशु जन्मिएमा बिहे भएको मानिँदेन ।
त्यसैगरी, हाडनाता करणीमा सजाय हुने नातामा शारीरिक सम्पर्क भई शिशुको जन्म भएमा पनि बिहे भएको मानिँदैन ।
२० बर्ष नपुग्दै शिशु जन्मिएको भएमा र बहु विवाह कायम हुने अवस्थामा बच्चाको जन्म भइसकेको भए पनि विवाह भएको मानिँदैन ।
विवाह बदर हुन महिलाको मन्जुरी हुनुपर्ने
शिशुको जन्म भइसकेको अवस्थामा जन्मिने बच्चालाई असुरक्षित बन्न नदिन कानुनमा अन्य केही व्यबस्थाहरु समेत छन । जसले कानून बमोजिम विवाह नमानिने वा बदर हुने अवस्थामा समेत शिशुलाई सुरक्षित राख्न मदत गरेको छ ।
संहिताको दफा ७३(२) मा यदि कसैको पनि विवाह मन्जुरी नभई, हाडनातामा, उमेर नपुगी र पहिले विवाह भई वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा विवाह भएको भए पनि मान्यता नपाउने वा बदर हुने प्रावधान कानूनमा छ । यो अवस्थामा समेत शिशु जन्मिसकेको भएमा महिलाको मन्जुरी भएमा मात्र विवाह बदर हुनसक्ने कानूनी ब्यबस्था रहेको छ ।
जन्म भइसकेको शिशुको हकमा असर नपर्ने
कानून विपरीत विवाह भई विवाह बदर भएमा वा बदर गराएमा जन्म भईसकेको शिशुको कानुन बमोजिमको हकमा कुनै पनि असर भने पर्दैन ।
संहिताको दफा ७५ मा दफा ७२ बमोजिम विवाह वदर भएमा वा दफा ७३ बमोजिम विवाह वदर गराएमा त्यस्तो विवाहबाट जन्मिसकेको वा दफा ७४ को उपदफा (२) को अवस्थामा जन्मिएको शिशुको कानून बमोजिमको हकमा कुनै असर पर्ने छैन कानूनी प्रावधान छ ।
विवाह गर्न, गराउन नहुने अवस्था
एकअर्कालाई पति पत्नी स्वीकार्न नमानेको वा विवाहमा मन्जुरी नभएको, हाडनातामा, उमेर नपुगी र पहिले विवाह भई वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पुरुष वा महिलासँग विवाह गर्न वा गराउन हुँदैन ।त्यसैगरी पुरुष वा महिलालाई झुक्याई विवाह गर्न वा गराउन हुँदैन ।
शरीरमा मानव रोग प्रतिरोधक क्षमता नष्ट गर्ने जीवाणु (एच.आई.भी) वा हेपाटाइटिस बी रहेको वा यस्तै प्रकृतिका निको नहुने कडा रोग लागेको, यौनाङ्ग नभएको, नपुङ्सक भएको वा सन्तान उत्पादन गर्ने क्षमता नभएको प्रमाणित भैसकेको, पूर्ण रूपमा बोल्न वा सुन्न नसक्ने, पूर्ण रूपमा दृष्टिविहीन वा कुष्ठ रोगी भएको, होस ठेगानमा नरहेको, विवाह भैसकेको, गर्भवती भएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार ठहरी अदालतबाट सजाय पाएको अवस्थामा झुक्याई विवाह गर्न गराउन हुँदैन ।
झुक्याई विवाह गरेको कारणबाट मर्का पर्ने व्यक्तिले त्यस्तो विवाह बदर गराउन सक्छ । साथै, झुक्याई विवाह गर्ने वा गराउनेबाट पीडितले क्षतिपूर्ति दाबी गर्न सक्ने ब्यवस्था छ ।