- लागू औषधको Manace लाई नियन्त्रण गर्ने उद्देश्यले विधायिकाले आफूमा भएको विधायिकी अधिकार प्रयोग गरी समाजको बृहत्तर हितलाई ध्यानमा राखी बनाएको कानूनलाई अन्यथा भन्न नमिल्ने ।
- फौजदारी अपराधमा अपराध भएको भन्ने तथ्य अर्थात् Corpus Delict पहिला वादीले प्रमाणित गरी त्यसपछि मात्र अभियोग लगाएको व्यक्तिले नै त्यस्तो अपराध गरेको भनी प्रमाणित गर्नुपर्ने ।
- कुनै व्यक्तिले लागू औषधको कारोवार गर्ने व्यक्तिलाई चिन्दैमा, कारोवार गर्ने व्यक्तिसँग आवजावत, उठबस गरी मित्रता कायम गर्दैमा त्यस्तो व्यक्ति पनि दोषी हुँदैन । त्यस्तो व्यक्तिका विरुद्ध ठोस सबूद प्रमाण भए मात्र मुद्दा चल्न सक्ने ।
- अपराध जतिसुकै गम्भीर, शंका जतिसुकै बलियो, चरित्र र चालचलन जतिसुकै खराब, गतिबिधि जस्तोसुकै शंकास्पद भएपनि यस्ता कुराहरूले प्रमाणको ठाउँ लिन नसक्ने ।
- फौजदारी अपराधमा व्यक्तिका विरुद्ध ठोस र शंकारहीत प्रमाण संकलन हुनुपर्छ तव मात्र राज्यले अभियोग लगाउन, मुद्दा चलाउन सक्छ यदि बिनाप्रमाण राज्यले कसैलाई फौजदारी अपराधको अभियोग लगाउँछ र त्यसको फलस्वरुप अभियुक्तले सफाइ पाउँछ भने त्यस्तोमा महान्यायाधिवक्ताले पुनरावेदन गरी अभियुक्तलाई हैरानी गर्न नहुने ।
निर्णय नं. ८२४३ – लागू औषध (ब्राउन सुगर)
भाग: ५१ साल: २०६६ महिना: माघ अंक: १०, फैसला मिति :२०६६/०५/१४ ७४९३, निर्णय नं. ८२४३, माघ, २०६६, अङ्क १०
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बलराम के.सी.
माननीय न्यायाधीश श्री सुशीला कार्की
न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(क) अन्तर्गत यस अदालतमा पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :—
जिल्ला कपिलबस्तु, कपिलबस्तु नगरपालिका वडा नं. २ स्थित टेक्सी स्टेण्डमा जि.क.व.न.पा. वडा नं. २ बस्ने सन्तोषकुमार कशौधन (गुप्ता) को साथबाट सुर्ती राख्ने डिब्बा भित्र लुकाई राखेको १५ पुडिया लागू औषध (ब्राउन सुगर) प्रहरीले फेला पारी वरामद गरेको भन्ने बरामदी मुचुल्का ।
मैले १०/१२ वर्ष अघिदेखि लागू औषध (ब्राउन सुगर) सेवन गर्न थालेको हुँ । सेवन गर्ने लत बसिसकेकाले खरीद गर्ने, सेवन गर्ने गरिरहेको थिएँ । यस्तैमा मिति २०६२।५।१३ गते क.व.न.पा. वडा नं. १ बस्ने सुल्लु कहारबाट रु. ८००।– मा २० पुडिया र अन्य कागजमा धुलो समेत गरी लागू औषध खरीद गरी साथमा लिई हिडिरहेको अवस्थामा मिति २०६२।५।१४ गते प्रहरीले फेला पारेका हुन् । मैले सो भन्दा पहिला गुठे पाण्डे (पण्डित) सँग मगाई सेवन गर्ने गर्दथें । मैले विक्री वितरण गर्दिन भन्ने समेत व्यहोराको प्रतिवादी सन्तोषकुमार कसौधनको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान कागज ।
जिल्ला कपिलबस्तु, कपिलवस्तु नगरपालिका वडा नं. २बहादुरगञ्ज चोकमा ऐ.१ बस्ने मंगरे खाँको साथबाट प्रहरीले एक पुडिया लागू औषध (ब्राउन सुगर) फेला पारी वरामद गरी लिई गएको भन्ने समेत व्यहोराको मंगरे खाँको बरामदी मुचुल्का ।
सन्तोषकुमार कसौधन र मंगरे खाँको साथबाट वरामद भएको लागू औषध (व्राउन सुगर) नमूनाको लागि राख्न मात्रा कम भएकोले वरामद पूरै परीक्षणको लागि पठाउन प्याक गरेको मुचुल्का ।
मैले २/३ महिना अघि देखि लागू औषध सेवन गर्न थालेको हुँ । मैले गुठे मुसलमानसँग खरीद गरी सेवन गर्ने गर्दथेँ । अन्य सेवन गर्नेहरूमा पप्पु बर्मा, अवधकिशोर कान्दु, राधेश्याम रैदास, प्रेमनारायण पाण्डे, राममिलन लोनिया, नन्दराम यादव, जमुनाप्रसाद यादव, वल्ली भन्ने अकवर अली पठान, राजेश शर्मा, जाकिर दर्जी समेतका व्यक्तिहरू छन् । मैले बिक्री वितरण गर्ने गर्दिन, सेवन मात्र गर्दछु भन्ने समेत व्यहोराको सुरेन्द्रकुमार श्रेष्ठको अधिकारप्राप्त अधिकारसमक्ष भएको बयान कागज ।
क.व.न.पा. वडा नं. १ स्थित नयाँ टोलमा ऐ.ऐ. बस्ने राजेश शर्मालाई प्रहरीले एक पुडिया लागू औषध (ब्राउन सुगर) सहित पक्राउ गरेका हुन् भन्ने समेत व्यहोराको वरामदी मुचुल्का ।
मैले लागू औषध (व्राउन सुगर) सेवन गर्ने गर्दछु । मैले क.व.न.पा. वडा नं. १ बस्ने कौशल कान्दुसँग खरीद गरी सेवन गर्ने गरेको छु । प्रति पुडियालाई रु ५०। पर्दछ, लागू औषध सेवन सञ्चय गर्नेहरूमा सन्तोषकुमार कशौधन, राम मिलन लोनिया समेतका मानिसहरू छन् भन्ने समेत व्यहोराको प्रमोद पाण्डेको बयान कागज ।
मैले आजभन्दा डेढ वर्षअघिदेखि क.व.न.पा. वडा नं. १ बस्ने कौशल कान्दूसँग लागू औषध खरीद गरी सेवन गर्ने गरेको हुँ । मैले कौशल कान्दुसँग खरीद गर्ने गरेको र अन्यलाई बिक्री वितरण गर्नेमा क.व.न.पा. वडा नं. १ बस्ने सुल्लु कहार र ऐ वडा नं. ९ बस्ने बब्बु खाँ समेतले बिक्री गर्ने गर्दै आएका छन् । मैले सेवन मात्र गर्दछु, बिक्री गरेको छैन भन्ने समेत व्यहोराको सुरजप्रसाद पाण्डेको बयान कागज ।
मैले ६ महिना अगाडिदेखि मेरो घर अगाडि बस्ने राजेशकुमार वर्माले यी लागू औषध बिक्री गरी मलाई प्रतिपुडिया रु. ५०।– दिए हुन्छ, तिमीले प्रतिपुडिया रु. ६०।– देखि रु. ८०।– सम्म बिक्री गर्नुपर्छ भनी दिएकाले मैले लागू औषध विक्री गर्न थालेको हो । मलाई प्रतिपुडिया १०/२० रुपैयाँ फाईदा हुन्थ्यो, मैले क.व.न.पा. वडा नं. २ बस्ने सन्तोषकुमार कसौधन र गुठे पण्डित भन्ने रविन्द्र मिश्र लगायत २।३ जनालाई विक्री गरेको हुँ भन्ने समेत व्यहोराको ओमप्रकाश कहारको बयान कागज ।
मैले लागू औषध सेवन गर्ने क्रममा खरीद गरी साथमा भएको लागू औषध १०।२० रुपैयाँ फाइदा भएमा बिक्री वितरण पनि गर्ने गर्दछु । मैले कौशल गुप्ता र वब्बु खाँ सँग खरीद गरेको लागू औषधमध्ये एक पुडिया मेरो साथबाट प्रहरीले वरामद गरेको हो भन्ने समेत व्यहोराको मंगरे खाँको बयान कागज ।
मैले आज भन्दा ४ वर्ष अघि देखि लागू औषध सेवन गर्दै आएको छु । मैले क.व.न.पा. वडा नं. २ बस्ने राजेशकुमार वर्मा, पप्पु कहार, दुर्गेश शर्मा समेतबाट खरीद गरी सेवन गर्ने गर्दथेँ । अन्यलाई बिक्री वितरण र सेवन गर्नेमा कौशल कान्दू (गुप्ता) वव्वु खाँ समेतका व्यक्ति हुन् भन्ने समेत व्यहोराको मनोजकुमार कौशलको बयान कागज ।
मैले आजभन्दा ४।५ वर्ष अघिदेखि लागू औषध सेवन गर्न थालेको हुँ । मैले बिक्री वितरण गर्दिन, आफैले सेवन गर्नको लागि साथमा लिई हिड्ने, सेवन गर्ने गर्दछु । मेरो साथबाट वरामद भएको एक पुडिया लागू औषध मैले कपिलवस्तु न.पा. वडा नं. १ बस्ने मञ्जू कहारसँग खरीद गरेको हुँ । निजबाट २ पुडिया खरीद गरेकोमा एक पुडिया सेवन गरी सकेको र साथमा एक पुडिया भएकोले प्रहरीले फेला पारी वरामद गरेको हो । बजारमा लागू औषध बिक्री वितरण गर्नमा मञ्जू कहार, सुल्लु भन्ने शम्भु कहार, अनवर मनिहार, गुठे पाण्डे, बब्बु भन्ने अजमल खाँ, कौशल कान्दु, पप्पु कहार, दुर्गेश वर्मा, राजेशकुमार वर्मा, पराग भन्ने राजेश कशौधन समेत विक्री वितरण सञ्चय र ओसारपसार गर्ने गर्दछन् भन्ने समेत व्यहोराको राजेश शर्माको बयान कागज ।
मैले लागू औषध (व्राउन सुगर) गुडे भन्ने रविन्द्र मिश्रबाट खरीद गरी सेवन गर्दै आएको थिएँ । मैले बिक्री वितरण गर्ने गरेको छैन । लागू औषध विक्री वितरण गर्नेमा राजेशकुमार वर्मा, दुर्गेश बर्मा, पप्पु कहार, ओमप्रकाश कहार, सुल्लु कहार, मञ्जू कहार, कौशल गुप्ता, बब्बु खाँ र गंगाराम कहार समेतले बिक्री वितरण गर्ने गर्दै आएका छन् भन्ने समेत व्यहोराको प्रतिवादी पप्पु वर्माको वयान कागज ।
मैले आजभन्दा २ वर्ष अघिदेखि लागू औषध सेवन गर्न थालेको हुँ । हालसम्म राजेशकुमार बर्मा, पप्पु कहार, दुर्गेश बर्मा र सुल्लु कहारसँग खरीद गरी सेवन गर्ने गरेको छु । मैले खरीद बिक्री गर्ने गरेको छैन भन्ने समेत व्यहोराको राधेश्याम रैदासको वयान कागज ।
मैले भैंसीको दूध बिक्री गर्ने क्रममा कपिलवस्तु न.पा. वडा नं. २ बस्ने राजेशकुमार बर्माको घरमा दूध ल्याई निजलाई दिने गर्दै आएको थिएँ । निज राजेशले यो चिज खानुपर्छ राम्रो हुन्छ भनी लागू औषध सेवन गर्न सिकाई दिएकाले मैले निजलाई दिएको दूधको रुपैयाँबाट कट्टा हुने गरी प्रतिपुडिया रु. ५०।– मा खरीद गरी सेवन गर्ने गर्दै आएको थिएँ भन्ने समेत व्यहोराको नन्दराम यादवको बयान कागज ।
मैले आजभन्दा ७।८ महिना अघिदेखि लागू औषध सेवन गर्दै आएको छु मैले हालसम्म गुठे भन्ने देवेन्द्रप्रसाद मिश्र, सुल्लु, राजेश वर्मा, दुर्गेश बर्मा, पप्पु कहार, कौशल कान्दू (गुप्ता) सँग खरीद गरी सेवन गर्ने गरेको छु, बिक्री वितरण गरेको छैन भन्ने समेत व्यहोराको जाकिर दर्जीको बयान कागज ।
मैले आजभन्दा २ वर्ष अघिदेखि किरानाका सामान खरीद बिक्री गर्ने क्रममा राजेश बर्मासँग सम्पर्क भएको र घरमा मानिसहरू आई कागजको पुडियामा लागू औषध हो भनी लैजाने खाने गरेकोले मैले पनि सेवन गर्न थालेको हुँ । मैले हालसम्म निज राजेश बर्मा, दुर्गेश वर्मा, पप्पु कहार, सुल्लु कहार, मञ्जू कहार, कौशल कान्दू, गुठे भन्ने देवेन्द्र मिश्र र बब्बु भन्ने अजमल खाँबाट रु. ५०।– देखि रु. १००।– सम्म प्रति पुडिया खरीद गरी सेवन गर्ने गरेको छु भन्ने समेत व्यहोराको व्रम्हभुषण भन्ने प्रेमनारायण पाण्डेको बयान कागज ।
मैले आजभन्दा १ वर्ष अगाडिदेखि लागू औषध सेवन गर्न थालेको हुँ । मैले हालसम्म सुल्लु कहार र पप्पु कहारसँगबाट पटक–पटक खरीद गरी सेवन गरी आएको थिएँ । मेरो साथमा सेवन गर्नेमा कमलेश भन्ने बृजविहारी शुक्ला, वजरंगी पाण्डे, सन्तोषकुमार कसौधन र गंगाराम कहार समेत हुन् । गंगाराम कहारले बिक्री वितरण पनि गर्दछन् भन्ने समेत व्यहोराको जमुनाप्रसाद यादवको बयान ।
जिल्ला कपिलवस्तु न.पा. वडा नं. १ स्थित ऐ. ऐ. ३ बस्ने पराग भन्ने राजेश कशौधनको शरीर खान तलासी लिँदा १ पुडिया लागू औषध ब्राउन सुगर फेला परेको भन्ने वरामदी मुचुल्का ।
मैले आजभन्दा ४ वर्ष पहिलादेखि लागू औषध सेवन गर्दै आएको छु । यस्तैमा सेवन गर्नको लागि मिति २०६२।७।१ गते मञ्जू कहारनीको घरमा गई १ पुडिया लागू औषध खरीद गरी फर्की आइरहेको अवस्थामा प्रहरीले फेला पारी वरामद समेत गरी ल्याएका हुन् । मैले हालसम्म निज मञ्जू कहारनी, सुल्लु भन्ने शम्भु कहार, राजेश बर्मा, गुठे भन्ने देवेन्द्र मिश्रसँग खरीद गरी सेवन गर्दै आएको छु । सेवन गर्नेमा सन्तोषकुमार कशौधन समेतका थुप्रै साथीहरू छन् भन्ने समेत व्यहोराको पराग भन्ने राजेश कसौधनको वयान कागज ।
मैले आजभन्दा ५।६ वर्ष पहिलादेखि लागू औषध सेवन गर्न थालेहो हुँ । मैले हालसम्म पप्पु कहार, मञ्जू कहारनी, अनवर मनिहार, मंगरे खाँ, राजेशकुमार वर्मा, दुर्गेश बर्मा समेतबाट खरीद गरी सेवन गर्ने गरेको छु । मजदूरी गरेको पैसाले खरीद गरी सेवन गर्न नपुग्ने भएकाले मञ्जू कहारनीको लागू औषध मैले र सरोज थापाले बिक्री गरिदिएपछि निजले सेवन गर्ने लागू औषध दिई सोही सेवन गर्दै आएको थिएँ भन्ने समेत व्यहोराको कुन्का भन्ने सरोज कहारको बयान कागज ।
मैले आजभन्दा ७।८ महिना अघिदेखि लागू औषध सेवन गर्न थालेको हुँ । मैले शुरुमा दुर्गे वर्मासँगबाट खरीद गरी सेवन गर्न थालेँ र हाल अनवर मनिहार, राजेश वर्मासँग खरीद गरी सेवन गर्ने गरेको छु । बिक्री वितरण गर्नेमा अन्य सुल्लु भन्ने शम्भु कहार, मञ्जू कहारनी, मंगरे खाँ, सरोज थापा, कुन्का भन्ने सरोज कहार, गुठे भन्ने देवेन्द्र मिश्र र गंगाराम कहार समेतले बिक्री वितरण गर्ने गर्दछन् भन्ने समेत व्यहोराको बब्बु भन्ने अजमल खाँको वयान कागज ।
मैले आजभन्दा ६।७ वर्ष अघिदेखि लागू औषध सेवन गर्न थालेको हुँ । मैले हालसम्म सुल्लु कहार, मञ्जू कहारनी, मनोज कौशल, राजेश वर्मा र कौशल कान्दूसँग लागू औषध ब्राउन सुगर खरीद गरी सेवन गर्ने गर्दै आएको थिएँ भन्ने समेत व्यहोराको अवधकिशोर कान्दूको बयान कागज ।
मैले आजभन्दा ५।६ वर्ष अघिदेखि लागू औषध सेवन गर्न थालेको हुँ र हालसम्म मैले राजेश बर्मा, पप्पु कहार, सुल्लु भन्ने शम्भु कहार, मञ्जू कहारनीसँगबाट खरीद गरी सेवन गर्ने गरेको छु भन्ने समेत व्यहोराको वल्ली भन्ने अकवर अली पठानको वयान कागज ।
मैले आजभन्दा ३ वर्ष अघिदेखि लागू औषध सेवन गर्न थालेको र हालसम्म सुल्लु भन्ने शम्भु कहार, मञ्जू कहारनी, पप्पु कहार, गुठे भन्ने देवेन्द्र मिश्र समेतबाट खरीद गरेको छु र मञ्जू कहार र सुल्लु भन्ने शम्भु कहारले बिक्री गर्न भनी दिएको लागू औषध बिक्री गरिदिने गर्दथेँ भन्ने समेत व्यहोराको कौसल कान्दू (गुप्ता)को बयान कागज ।
प्रतिवादीहरू नन्दराम यादव, राजेश वर्मा, पराग भन्ने राजेश कसौधन, कुन्का भन्ने सरोज कहार, लिख्खु भन्ने राजेश वर्मा, कौशल कान्दू (गुप्ता), सुल्लु भन्ने शम्भु कहार, दुर्गेश वर्मा, पप्पु कहार, राजेशकुमार वर्मा, सरोज थापा, गुठे भन्ने देवेन्द्र मिश्र, वजरंगी पाण्डे, कमलेश भन्ने बृजबिहारी शुक्ला, गंगाराम कहार, अनवर मनिहार, वव्वु भन्ने अजमल खाँ, मञ्जू कहारनी, सूर्यनारायण पाण्डे, सुरज पाण्डे, राधेश्याम रैदास, सुरेन्द्रकुमार श्रेष्ठ, वल्ली भन्ने अकवर पठान, पप्पु वर्मा, अवध किशोर कान्दू, जाकिर दर्जी, मनोजकुमार कौशल, सन्तोषकुमार कसौधन, राम मिलन लोनिया, प्रमोद पाण्डे, चिन्का भन्ने ओमप्रकाश कहार र शम्भुनारायण पाण्डेको घर खानतलासी गर्दा अपराधमा प्रमाण लाग्ने कुनै चिजवस्तु फेला नपरेको भन्ने अलग–अलग खान तलासी मुचुल्का ।
प्रतिवादीहरू सन्तोषकुमार कसौधन, मंगरे मुसलमान, राजेश बर्मा र पराग भन्ने राजेश कसौधनको साथबाट बरामद भएको दशीको सामान परीक्षणको लागि पठाइएकोमा भौतिक सबूद नं. १ मा हिरोईन पाइएन र भौतिक सबूद नं. २, ३ र ४ मा हेरोइन पाइएको छ भन्ने परीक्षण प्रतिवेदन ।
मिसिल संलग्न प्रहरीको प्रतिवेदन जाहेरी, लागू औषध (ब्राउन सुगर) वरामदी मुचुल्का, पक्राउमा परेका प्रतिवादीहरूको वयान कागज, परीक्षण, प्रतिवेदन, वस्तुस्थिति मुचुल्काका मानिसहरूको भनाइ समेतबाट विरुद्ध खण्डका उल्लिखित प्रतिवादीहरू मध्ये सन्तोषकुमार कसौधनको साथबाट अवैध लागू औषध (ब्राउन सुगर) फेला परेकाले वरामद गरी निजलाई आवश्यक कारवाहीको लागि पेश गरेको छु भन्ने प्र.ना.नि. नेत्रबहादुर थापाको प्रतिवेदन जाहेरी परी अनुसन्धान कारवाही शुरु भएको प्रस्तुत मुद्दामा मैले अगाडिदेखि नै लागू औषध (ब्राउन सुगर) खरीद गरी सेवन गर्ने गरेकोमा मिति २०६२।५।१३ गते सुल्लु कहारबाट रु. ८००।– मा २० पुडिया र खाली धुलो समेत खरीद गरी ल्याएको थिएँ, सो मध्ये सोही दिन ५ पुडिया सेवन गरी अन्य वाँकी १५ पुडिया साथमा लिई हिडेको अवस्थामा मिति २०६२।५।१४ गते प्रहरीले पक्राउ गरी मेरो साथबाट वरामद गरेका हुन् । मैले लागू औषध (ब्राउन सुगर) बब्बु खाँ, कौशल कान्दू, पप्पु कहार, दुर्गेश वर्मा, अनवर मनिहार, मंगरे मुसलमान समेतबाट खरीद गर्छु भन्ने समेत व्यहोराको पक्राउमा परेका सन्तोषकुमार कसौधनको साविती बयान, त्यस्तै गरी पक्राउमा परेका अन्य लिखु भन्ने राजेश शर्मा, मंगरे खाँ, बब्बु भन्ने अजमल खाँ, कौशल कान्दू, चिन्का भन्ने ओमप्रकाश कहार समेतले अवैध लागू औषध (व्राउन सुगर) खरीद गरी बिक्री वितरण सञ्चय र सेवन समेत गरेमा सावित भई बयान गरेका र अन्य फरार रहेका प्रतिवादीहरू सुल्लु भन्ने सम्भु कहार, राजेश कुमार वर्मा, पप्पु कहार, दुर्गेश वर्मा, मञ्जू कहारनी, अनवर मनिहार, सरोज थापा, गुठे भन्ने देवेन्द्र मिश्र, गंगाराम कहार समेतलाई निजहरूले अवैध लागू औषध (ब्राउन सुगर) खरीद बिक्रीको कारोवार गर्ने व्यक्ति हुन् भनी पोल गरेको समेत देखिएको, अनुसन्धानको क्रममा बुझिएका वस्तुस्थिति मुचुल्काका मनाउ रंगरेज समेतका मानिसहरूले सन्तोषकुमार कसौधन, बब्बु भन्ने अजमल खाँ, कौशल कान्दू, मंगरे खाँ, चिन्का भन्ने ओमप्रकाश कहार, राजेश शर्मा समेतका यी प्रतिवादीहरू र फरार रहेका सुल्लु भन्ने शम्भु कहार समेतका प्रतिवादीहरू लागू औषध (ब्राउन सुगर) बिक्री वितरण, ओसार पसार, सञ्चय र सेवन समेत गर्ने व्यक्तिहरू हुन् भनी किटानीसाथ लेखाई दिएको देखिनुका अतिरिक्त अन्य प्रतिवादीहरू मनोजकुमार कौसल समेतले लागू औषध सेवन मात्र गर्छन् भनी लेखाई दिएको देखिएको र लागू औषध सेवन गरेमा निज प्रतिवादी मनोजकुमार कौसल समेत सावित भै वयान कागज गरेको पाइएको साथै प्रतिवादहिरू मध्ये सन्तोषकुमार कसौधन (गुप्ता), मंगरे खाँ, राजेश शर्मा र पराग भन्ने राजेश कसौधनको साथबाट अवैध लागू औषध (ब्राउन सुगर) वरामद भएको, परीक्षण प्रतिवेदनबाट वरामद भएको लागू औषध (ब्राउन सुगर) मा हिरोइन पाईएको छ भनी लेखी आएको ।
जहाँसम्म प्रतिवादीमध्येका मंगरे खाँको साथबाट वरामद भएको लागू औषध (ब्राउन सुगर) मा हिरोइन नपाईएको भनी परीक्षण प्रतिवेदनमा उल्लेख भए पनि स्वयं प्रतिवादी मंगरे खाँ आफूले लागू औषध (ब्राउन सुगर) खरीद बिक्री सञ्चय र सेवन समेत गरेकोमा साबित भई बयान कागज गरेको, सो कुरालाई वस्तुस्थिति मुचुल्कामा मानिस र अन्य प्रतिवादीहरूले पोल गरी बयान कागज गरेको समेत देखिन आएबाट बिरुद्ध खण्डमा उल्लिखित प्रतिवादीहरू मध्ये सुल्लु, भन्ने शम्भु कहार, राजेशकुमार बर्मा, पप्पु कहार, दुर्गेश बर्मा, मञ्जू कहारनी, मंगरे खाँ, बब्बु भन्ने, अजमल खाँ, कौशल कान्दू (गुप्ता), चिन्का भन्ने ओम प्रकाश कहार, सन्तोषकुमार कसौधन, अनवर मनिहार, सरोज थापा, गुठे भन्ने देवेन्द्र मिश्र, गंगाराम कहार, लिख्खु भन्ने राजेश शर्मा समेतका जना १५ ले अवैध लागू औषध (ब्राउन सुगर) खरीद बिक्री ओसार–पसार सञ्चय समेतको कारोबार समेत गरी लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (घ), (ङ), (च) ले निषेधित कार्य गरेको देखिन आएकोले सो कार्य कसूर गरेमा उल्लिखित प्रतिवादीहरू सुल्लु भन्ने शम्भु कहार समेतका जना १५ लाई ऐ ऐनको दफा १४(१) (छ)१ अनुसार सजाय हुन र अन्य प्रतिवादीहरू सुरेन्द्रकुमार श्रेष्ठ, सुरज पाण्डे, अवध किशोर कान्दु, प्रमोद पाण्डे, वल्ली भन्ने अकवर अली पठान, प्रेमनारायण पाण्डे, पप्पु वर्मा, मनोजकुमार कौशल, पराग भन्ने राजेश कसौधन, कुन्का भन्ने सरोज कहार वजरंगी पाण्डे ददन भन्ने सूर्यनारायण पाण्डे, शम्भुनारायण पाण्डे, बृज बिहारी शुक्ल समेतका जना १९ मध्ये पक्राउमा परेका उल्लिखित प्रतिवादी सुरेन्द्रकुमार श्रेष्ठ समेतले अवैध लागू औषध (ब्राउन सुगर) सेवन गर्दै आएकोमा अधिकारप्राप्त अधिकारीसमक्ष स्वयं साबिती भै अन्य फरार कमलेश भन्ने बृज बिहारी शुक्ल समेत लाई पोल गरी बयान गरेको देखिन आएको र सो कुरालाई वस्तुस्थिति मुचुल्काका मानिसले समेत पुष्टि गरी कागज गरिदिएको समेतबाट निज उल्लिखित प्रतिवादीहरू सुरेन्द्र श्रेष्ठ समेतका जना १९ ले अवैध लागू औषध (ब्राउन सुगर) सेवन गरी लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(छ) ले निषेधित कार्य गरेको देखिँदा निज प्रतिवादी सुरेन्द्रकुमार श्रेष्ठ समेतका उल्लिखित जना १९ लाई ऐ. ऐनको दफा १४(१)(ङ) बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग दावी ।
मिति २०६२।५।१८ गतेका दिन प्रहरीले मलाई लागू औषध सेवन गर्छस् भनी घरबाटै समातेका हुन् । मैले ३।४ वर्ष अघि लागू औषध सेवन गर्ने गरेको तर हाल सेवन गर्दिन भन्ने समेत व्यहोराको प्रतिवादी जाकिर दर्जीले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।
मलाई मिति २०६२।५।१८ गते केही काम छ हिंड् भनी प्रहरीले जिल्ला प्रशासन कार्यालय अगाडिबाट समाती लगेका हुन् मैले लागू औषध खरीद बिक्री ओसार–पसार केही गर्दिन, कहिले काँहीँ सेवन मात्र गर्छु भन्ने समेत व्यहोराको प्रतिवादी सुरेन्द्रकुमार श्रेष्ठले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।
मैले ५।६ वर्ष अगाडि मञ्जू कहारनी, पप्पु कहार, कमला कहार, समेतका मानिसहरूसँग लागू औषध खरीद गरी सेवन गर्ने कार्य गर्थें हाल मैले लागू औषध सेवन गर्दिन भन्ने समेत व्यहोराको प्रतिवादी कुन्का भन्ने सरोज कहारले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।
मैले लागू औषध सेवन गर्दिन, मौकामा भएको बयान कागजको व्यहोरा मेरो होइन । प्रतिवादी सुरेन्द्रकुमार श्रेष्ठले म समेतले लागू औषध सेवन गर्ने भनी किन बयान गरे मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी अवधकिशोर कान्दूले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।
मैले लागू औषध विक्री वितरण सेवन समेत केही गर्दिन । मौकामा भएको वयान कागजको व्यहोरा मेरो स्वैच्छाले भएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी कौशल कान्दू (गुप्ता) ले शुरु कपिलबस्तु जिल्ला अदालतमा गरेको बयान ।
मैले लागू औषध बेचविखनको कारोवार तथा सेवन समेत केही गर्दिन । मौकामा भएको बयान कागजको व्यहोरा मेरो स्वेच्छाले भएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी चिन्का भन्ने ओमप्रकाश कहारले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।
मसँगबाट लागू औषध ब्राउन सुगर वरामद भएको होइन । मौकामा भएको बयान कागजको व्यहोरा मेरो स्वेच्छाले भएको होइन । मैले लागू औषध खरीद विक्री तथा सेवन समेत गर्दिन भन्ने समेत व्यहोराको प्रतिवादी मँगरे खाँले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।
मैले ४।५ वर्ष अगाडि कौशल कान्दू, राजेश बर्मा, दुर्गेश वर्मा, पप्पु कहार, मञ्जू कहारनी, पाँडे कहारसँग लागू औषध खरीद गरी सेवन गर्ने गर्थेँ तर हाल सेवन पनि गर्दिन भन्ने समेत व्यहोराको प्रतिवादी सुरज पाण्डेले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।
मैले एक वर्ष अगाडि एकपटक मनोज कौशलसँग लागू औषध किनेर खाएको हुँ । हाल मैले लागू औषध सेवन गर्दिन । मौकामा भएको बयान कागजको व्यहोरा मेरो स्वैच्छाले भएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी राम मिलन लोनियाले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।
मैले २ वर्ष अघि लागू औषध खाने गर्थेँ, हाल औषधि उपचार गराई खान छोडेको छु, मैले लागू औषध सम्बन्धी कुनै कार्य गर्दिन भन्ने समेत व्यहोराको प्रतिवादी मनोजकुमार कौशलले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।
मैले लागू औषध सेवन गर्दिन, मौकामा भएको बयान कागजको व्यहोरा मेरो स्वैच्छाले भएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी नन्दराम यादवले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।
मेले ५।६ वर्ष अघि लागू औषध सेवन गर्थेँ, तर हाल सेवन विक्री वितरण केही पनि गर्दिन भन्ने समेत व्यहोराको प्रतिवादी वल्ली भन्ने अकवर अली पठानले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।
मैले लागू औषध कहिल्यै पनि सेवन गरेको छैन । म समेतले लागू औषध सेवन गर्ने गरेको भनी सहप्रतिवादी सुरेन्द्र श्रेष्ठले किन लेखाए मलाई थाहा छैन । मौकामा भएको बयान कागजको व्यहोरा मेरो स्वेच्छाले भएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी पराग भन्ने राजेश कशौधनले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।
म समेतले लागू औषध सेवन गर्ने गरेको भनी सहप्रतिवादी सन्तोषकुमार कसौधनले किन पोल गरे मलाई थाहा छैन । मैले लागू औषध सेवन गर्दिन भन्ने समेत व्यहोराको प्रतिवादी प्रमोद पाण्डेले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।
मैले गाँजा खाने गर्छु, लागू औषध केही पनि खाँदिन । प्रहरी समक्ष भएको बयान मेरो स्वेच्छाले भएको होइन । अभियोग दावीबाट सफाइ पाउनु पर्छ भन्ने समेत व्यहोराको जमुनाप्रसाद यादवले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।
मैले ५।६ वर्ष अघिदेखि लागू औषध (ब्राउन सुगर) खान सिकेकोमा १ वर्ष देखि खान छाडेको छु, सन्तोष कसौधन, मनोज कौशल, पराग भन्ने राजेश कसौधनसँग किनेर खाने गर्थेँ । मैले लागू औषध वेचविखन गर्दिन । प्रहरीसमक्ष भएको बयान मेरो स्वेच्छाले भएको होइन भन्ने समेत व्यहोराको राधेश्याम रैदासले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।
मैले लागू औषध सेवन तथा वेचविखन केही गर्दिन । म समेतले लागू औषध वेचविखन गर्ने गरेको भनी सुरेन्द्र श्रेष्ठले किन लेखाए मलाई थाहा छैन । प्रहरी समक्ष भएको बयान मेरो स्वेच्छाले भएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी लिख्खु भन्ने राजेश शर्माले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।
मैले लागू औषध सेवन विक्री वितरण केही पनि गर्दिन । प्रहरी समक्ष भएको बयान मेरो स्वैच्छाले भएको होइन । मैले अभियोग दावीबमोजिमको कसूर गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादी बब्बु भन्ने अजमल खानले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।
मैल ३ वर्ष अघि लागू औषध ब्राउन सुगर खाने गर्थेँ, हाल सेवन गर्दिन । म समेतले लागू औषध ब्राउन सुगर सेवन गर्ने गरेको भनी सहप्रतिवादी सुरेन्द्रकुमार श्रेष्ठ समेतले किन बयान गरे मलाई थाहा छैन । प्रहरी समक्ष भएको बयान मेरो स्वैच्छाले भएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी प्रेमनारायण पाण्डेले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।
मैले डेढ वर्ष अघि देखि औषध सेवन गर्न थालेको भए पनि हाल सेवन गर्दिन । मनोज कौशलले दिएको हुँदा खाएको हुँ । म आफूले किनेर खाएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी पप्पु वर्माले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।
मैले २०५८ साल अघि लागू औषध सेवन गर्ने गरेको भए पनि सो पछि गराएको उपचार पश्चात् सेवन गर्न छाडेको छु । म समेतले लागू औषध खरीद विक्री सेवन गर्ने गरेको भनी सहप्रतिवादीहरू राजेश कसौधन, जमुनाप्रसाद यादव तथा राम मिलन लोनियाले किन वयान गरे मलाई थाहा छैन । मबाट लागू औषध (ब्राउन सुगर) वरामद भएको होइन । प्रहरी समक्ष भएको बयान मेरो स्वैच्छाले भएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी सन्तोषकुमार कसौधन गुप्ताले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।
प्रतिवादी गंगाराम कहार, कमलेश भन्ने बृज विहारी शुक्ला, राजेशकुमार वर्मा, पप्पु कहार, गुठे भन्ने देवेन्द्र मिश्र, वजरंगी पाण्डे, शम्भुनारायण पाण्डे, अनवर मनिहार, मञ्जू कहार, दुर्गेश वर्मा, ददन भन्ने सूर्यनारायण पाण्डेले शुरु म्यादै गुजारी हाजिर नभै वसेका रहेछन् ।
प्रतिवादी सुरेन्द्र श्रेष्ठले पोल गरेकाले नन्दराम यादवलाई प्रहरीले पक्राउ गरेका हुन् । निज लागू औषध (ब्राउन सुगर) सेवन गर्ने मानिस होइनन् भन्ने समेत व्यहोराको प्रतिवादी नन्दराम यादवका साक्षी समयप्रसाद शुक्लाले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बकपत्र ।
तिवादी सुरेन्द्र श्रेष्ठले पोल गरेकाले जमुनाप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेका हुन् । निज लागू औषध (ब्राउन सुगर) सेवन गर्ने मानिस होइनन् भन्ने समेत व्यहोराको प्रतिवादी जमुनाप्रसाद यादवका साक्षी पिंगल कुर्मीले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बकपत्र ।
ओमप्रकाश कहारलाई प्रतिवादी सन्तोषकुमार कसोधनले पोल गरेकाले निजलाई प्रहरीले पक्राउ गरेको हो । निज ओमप्रकाश कहारले आरोपित कसूर गरेका छैनन् । निर्दोष हुँदा सफाइ पाउनुपर्छ भन्ने समेत व्यहोराको प्रतिवादी चिन्का भन्ने धमालु कहारले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बकपत्र ।
मनोजकुमार कौशलले लागू औषध सेवन गर्दैनन् भन्ने समेत व्यहोराको प्रतिवादी मनोजकुमार कौशलको साक्षी वुधई कहारले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बकपत्र ।
राममिलन लोनियाले लागू औषध सेवन गर्दैनन्, निजको चाल चलन राम्रो छ भन्ने समेत व्यहोराको प्रतिवादी राममिलन लोनियाको साक्षी खेलावन कहारले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रेमनारायण पाण्डेले लागू औषध सेवन गर्दैनन् भन्ने समेत व्यहोराको प्रतिवादी प्रेमनारायण पाण्डेका साक्षी दिनानाथ बनियाले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बकपत्र ।
प्रमोद पाण्डेले लागू औषध सेवन गर्दैनन् । निजको चाल चलन राम्रो छ भन्ने समेत व्यहोराको प्रतिवादी प्रमोद पाण्डेका साक्षी जसई पासीले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको वकपत्र ।
अवध किशोर कान्दूलाई सुरेन्द्रकुमार श्रेष्ठले पोल गरेको कारण निज समातिएका हुन् । निज लागू औषध सेवन गर्दैनन् भन्ने समेत व्यहोराको प्रतिवादी अवधिकिशोर कान्दूको साक्षी अजित मुसलमानले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको वकपत्र ।
सुरज पाण्डेलाई सन्तोषकुमार कसौधनले पोल गरेकाले पक्राउ गरेका हुन् । निज सुरज पाण्डेले लागू औषध सेवन गर्दैनन् भन्ने समेत व्यहोराको प्रतिवादी सुरज पाण्डेका साक्षी राजु चौहानले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको वकपत्र ।
अकवर अली पठानले लागू औषध सेवन गर्दैनन् । निज निर्दोष छन् भन्ने समेत व्यहोराको प्रतिवादी वल्ली भन्ने अकबर अली पठानका साक्षी मेहदी हसन खाँले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको वकपत्र ।
सहप्रतिवादी बब्बु भन्ने अजमल खाँ ले मलाई समेत लागू औषध वेचविखन गर्ने भनी किन पोल गरे थाहा छैन । मैले लागू औषध वेचविखन तथा सेवन केही गर्दिन भन्ने समेत व्यहोराको प्रतिवादी सरोज थापाले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।
मैले लागू औषध वेचविखन तथा सेवन केही गर्दिन । मैले लागू औषध वेचविखन गर्ने गरेको भनी सह–प्रतिवादीहरूले गरेको बयान झूठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादी सुल्लु भन्ने शम्भु कहारले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बयान ।
सरोज थापाको चालचलन राम्रो छ, निजले अभियोग दावीबाट सफाइ पाउनुपर्छ भन्ने समेत व्यहोराको प्रतिवादी सरोज थापाको साक्षी सर्जु भुजेलले अदालतमा गरेको वकपत्र ।
सुल्लु भन्ने शम्भु कहारले लागू औषध (ब्राउन सुगर) वेचविखन समेत केही गर्दैनन् भन्ने समेत व्यहोराको प्रतिवादी सुल्लु भन्ने शम्भु कहारका साक्षी कमला कहारले शुरु कपिलवस्तु जिल्ला अदालतमा गरेको बकपत्र ।
मगरे खाँबाट बरामद भएको वस्तु ब्राउन सुगर नभएको र प्रतिवादी चिन्का भन्ने ओमप्रकाश कहारबाट लागू औषध बरामद नभएको समेतका कारणबाट निजहरूले सफाइ पाउने ठहर्छ । प्रतिवादी सन्तोषकुमार कसौधन (गुप्ता) समेतका प्रतिवादीले पोल गरेका आधार समेतबाट शम्भु कहारले लागू औषध बिक्री बितरण गरेको देखिन आएकोले निजलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ को उपदफा (१)(छ)(१) बमोजिम ५ वर्ष कैद र रु. ५०००।–(पाँच हजार) जरीवाना हुने र अभियोग माग दावीबमोजिम लागू औषध (ब्राउन सुगर) सेवन तर्फ मागदावी भएका सुरेन्द्रकुमार श्रेष्ठ, सुरज पाण्डे, अवधकिशोर कान्दू, प्रमोद पाण्डे, वल्ली भन्ने अकवर अली पठान, नन्दराम यादव, जमुनाप्रसाद यादव, राधेश्याम रैदास, जाकिर दर्जि, राममिलन लोनिया, प्रेम नारायण पाण्डे, पप्पु वर्मा, मनोज कुमार कौशल, पराग भन्ने राजेश कसौधन, कुन्का भन्ने सरोज कहार, समेतका प्रतिवादीहरूलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ को उपदफा (१)(ङ) बमोजिम रु. १०,०००।– (दश हजार रुपैयाँ) जरीवाना गर्नुपर्ने र उपर्युक्त बाहेकका अन्य प्रतिवादीहरूलाई अभियोग माग दावीबमोजिम गर्नुपर्ने हुँदा र फरार रहेका प्रतिवादीहरू राजेशकुमार वर्मा, पप्पु कहार, दुर्गेश वर्मा, मञ्जू कहारनी, अनवर मनिहार, गुठे भन्ने देवेन्द्र मिश्र, गंगाराम कहार, वजरंगी पाण्डे, ददन भन्ने सूर्य नारायण पाण्डे, शम्भुनारायण पाण्डे र कमलेश भन्ने वृज विहारी शुक्लका हकमा अ.वं. १९० नं. बमोजिम मुल्तवी राखिदिनु पर्ने र अभियोग माग दावीमा लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(छ)(१) बमोजिम सजायको मागदावी भएका मध्ये आरोपित कसूरबाट सफाइ पाएका मगरे खाँ र चिन्का भन्ने ओम प्रकाश कहार वाहेकका अन्य प्रतिवादीहरू सरोज थापा, सुल्लु भन्ने शम्भु कहार, सन्तोषकुमार गुप्ता कसौधन, कौशल, कान्दू, (गुप्ता), लिख्खु भन्ने राजेश शर्मा, बब्बु भन्ने अजमल खाँ समेतका प्रतिवादीहरूलाई लागू औषध (नियन्त्रण) ऐन ,२०३३ को दफा १४(१)(छ)(१) बमोजिम ५(पाँच) वर्ष कैद र रु. ५०,०००।– (पाँच हजार रुपैयाँ) जरीवाना गर्नुपर्ने हुँदा उपर्युक्त बमोजिम कैद र जरीवाना समेत गर्नुपर्ने ठहर्छ भन्ने समेत शुरु कपिलवस्तु जिल्ला अदालतको मिति २०६३।११।१ को फैसला ।
प्रतिवादी मगरे खाँबाट बरामद भएको पदार्थ परीक्षण गर्दा ब्राउन सुगर नदेखिए तापनि निजले मौकाको अनुसन्धानमा लागू औषध बरामद भएकोमा सनाखत गरी लागू औषध सेवन तथा बिक्री वितरण समेत गर्ने गरेको भनी साविती बयान दिएकोले अभियोगदावी ठहर गर्नुपर्नेमा सो बमोजिम नगरी सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण छ । प्रतिवादी चिन्का भन्ने ओमप्रकाश कहार अनुसन्धान अधिकारीसमक्ष कसूरमा साविती भई बयान गरेकाले निजलाई पनि लागू औषध विक्री वितरण एवं सञ्चय गरेकोमा सजाय हुनुपर्नेमा सफाइ दिएको मिलेको नहुँदा निजहरूका हकमा उल्टी गरी अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
अरु अभियुक्तले पोल गरेको र प्रहरीमा सावित भएका आधारमा मलाई सजाय गर्ने गरेको शुरुको फैसला नमिलेकोले उल्टी गरी सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी कौशल गुप्ता कान्दूको पुनरावेदन पत्र ।
यसमा सजाय ठहर भएका अन्य प्रतिवादीहरूको पुनरावेदन नपरेको र पुनरावेदक वादीका तर्फबाट पनि केवल २ जना प्रतिवादीका उपर मात्र पुनरावेदन परेको देखियो । त्यसमध्ये प्रतिवादी मगरे खाँ का हकमा विचार गर्दा निज अनुसन्धान अधिकारीसमक्ष कसूर गरेको भनी सावित भएको पाइन्छ । निज सरहकै अन्य प्रतिवादीले पनि निजलाई पोल गरेको देखिन्छ भने निजको साथबाट लागू औषध भनिएको बस्तु फेला परेको देखिन्छ । निजले बयान गर्दा यही फेला परेकै मध्येका चिजबस्तुलाई लागू औषध भनी विक्री गर्ने गरेको देखिन्छ । साथै प्रमाणका व्यक्ति जाकिर दर्जी, प्रेमनारायण समेतका व्यक्तिले किटान गरी अपराध गरेको देखाएका छन् । यस अवस्थामा निजलाई निर्दोष भन्न मिलेन । जाँच गरिएको वस्तु लागू औषध नभए पनि लागू औषध (नियन्त्रण) ऐन २०३३ को संशोधित दफा १७(क) ले मुल अपराधमा हुने सजायको आधा सजाय हुने व्यवस्था भएकै पार्इँदा निजले लागू औषधिको खरीद बिक्री कारोवारको अपराध गरेकै हुँदा लागू औषध (नियन्त्रण) ऐन २०३३ को दफा ४ को देहाय (घ) को कसूरमा ऐ दफा १४(१) (घ)(१) बमोजिम ५ वर्ष कैद र रु. ५,०००।– जरीवाना हुनसक्ने अवस्था हुँदा ऐ दफा १७(क) ले आधा सजाय अर्थात् २ वर्ष ६ महिना कैद र जरीवाना रु. २५००।– हुन्छ, निजलाई सफाइ दिएको फैसला मिलेको देखिएन ।
अर्का प्रतिवादी चिन्का भन्ने ओमप्रकाशका हकमा निजबाट लागू औषध फेला परेको देखिँदैन । निजलाई सफाइ दिएको मिलेकै देखियो भने पुनरावेदक प्रतिवादी कौशलकुमारका हकमा विचार गर्दा निज प्रहरी समक्ष बयान गर्दा सावित देखिए पनि निज सरहकै प्रतिवादी चिन्का भन्ने ओमप्रकाशलाई सफाइ दिएको हो । त्यस्तै यी प्रतिवादीबाट पनि लागू औषध खरीद बिक्री कारोवार गरेको भनेको दशी बस्तु केही फेला परेको देखिएन, यस अवस्थामा निजलाई प्रहरी सावितीको भरमा सजाय गर्नु न्यायोचित नहुँदा निजलाई सजाय गरेको मिलेको देखिएन । निजलाई सफाइ हुनुपर्ने देखियो ।
अतः माथि लेखिएबमोजिम शुरु कपिलवस्तु जिल्ला अदालतको मिति २०६३।११।१ को फैसला उल्टी भई प्र. कौशल कान्दू गुप्तालाई सफाइ र मगरे खाँलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय (घ) को कसूरमा ऐ को दफा १४(१)(छ)(१) र १७(क) बमोजिम २(दुई) वर्ष ६(छ) महिना कैद र रु. २५००।– (दुई हजार पाँच सय) जरीवाना हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालतको २०६५।१।३० को फैसला ।
पुनरावेदन अदालत बुटवलको फैसला त्रुटिपूर्ण भएकोले बदरभागी छ । प्रतिवादी मगरे खाँ का हकमा निजले मौकाको अनुसन्धानमा निजबाट लागू औषध बरामद भएकोमा सनाखत गरी लागू औषध सेवन तथा विक्री वितरण समेत गर्ने गरेको भनी साविती बयान गरेकोमा निज लागू औषध विक्री वितरण गर्ने व्यक्ति हुन् भनी प्रतिवादीहरू सन्तोष कुमार कसौधन, पप्पु वर्मा, सरोज कहार, अजमल खान, कौशल गुप्ता, जाकिर दर्जी, नारायण पाण्डेले गरेको साविती सहितको पोल एवं बारामदी मुचुल्का समेतबाट प्रतिवादी मगरे खाँको अनुसन्धान अधिकारीसमक्षको बयान समर्थित भइरहेको छ ।
प्रतिवादी चिन्का भन्ने ओमप्रकाश कहारको हकमा निजको साथबाट लागू औषध बरामद भएको नदेखिए तापनि निजले मौकामै पक्राउ परी अनुसन्धानका क्रममा श्रृंखलाबद्ध तथ्य खुलाई आफूले लागू औषध सेवन गर्ने गरेको तथा त्यसको विक्री वितराण एवं सञ्चय समेतमा संलग्न रहेको भनी अनुसन्धान अधिकृत समक्ष बयान गरेको तथा कसूर ठहर भएको प्रतिवादी पप्पु वर्मा, सन्तोषकुमार कशौधन, समेतले यी प्रतिवादीसँग लागू औषध खरीद गर्ने गरेको भनी खुलाएका वस्तुनिष्ठ तथ्यबाट कसूर पुष्टि भै रहेको अवस्थामा छ ।
प्रतिवादी कौशल कान्दू गुप्ताका हकमा निज प्रतिवादीले अनुसन्धानमा गरेको तथ्ययुक्त सावितीबाट निजउपरको कसूर पुष्टि भएको तथा कसूर ठहर भएका पप्पु वर्मा, सन्तोषकुमार कशौधनले मौकामा गरेको बयान व्यहोराबाट समेत समर्थित भएको छ ।
अतः उल्लिखित अवस्थामा प्रमाणको उचित विश्लेषण नगरी पुनरावेदन अदालत बुटवलबाट मगरे खाँका हकमा कम सजाय गर्ने गरेको र ओमप्रकाश कहार र कौशल कान्दू गुप्तालाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण भएकोले सो बदर गरी अभियोग दावीबमोजिम सजाय गरी पाउन अनुरोध गरिन्छ भन्ने समेत व्यहोराको नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।
प्रतिवादी मगरे खाँको पुनरावेदन परेको नदेखिएको भन्ने रहेछ ।
उल्लिखित प्रमाणहरूको विद्यमानता छँदाछँदै पुनरावेदन अदालतबाट प्रमाणको मूल्याङ्कन तथा विवेचना नगरी भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला उल्टी गरी प्रतिवादीलाई अभियोग दावीबमोजिम सजाय हुनुपर्छ भनी गर्नुभएको बहस समेत सुनियो ।
२. उल्लिखित कागज प्रमाणहरूको अध्ययन तथा बहस सुनी निर्णयतर्फ विचार गर्दा प्रतिवादी मगरे खाँलाई २ वर्ष ६ महिना कैद र रु. २५००।– जरीवाना हुने तथा प्रतिवादीहरू ओमप्रकाश कहार र कौशल कान्दू गुप्तालाई सफाइ दिने ठहर्याएको पुनरावेदन अदालत बुटवलको २०६५।१।३० को फैसला मिले नमिलेको के रहेछ ? त्यसैमा निर्णय दिनुपर्ने देखियो ।
३. यसमा प्रतिवादी मध्येको मगरे खाँ भन्नेबाट १०० मिलिग्राम लागू औषध वरामद भएको भन्ने मिति २०६२।५।१८ को बरामदी मुचुल्काबाट देखिन्छ । वरामदी मुचुल्का हेर्दा मगरे खाँ बाट मात्र लागू औषध वरामद भएको देखिन्छ । वरामद भएको वस्तु मिति २०६२।७।९ मा केन्द्रीय प्रहरी बैज्ञानिक प्रयोगशालामा परीक्षण भएको देखिन्छ । उक्त बैज्ञानिक प्रयोगशाला परीक्षणको प्रतिवेदन मिति २०६२।७।११, च.नं. ७८५ बाट प्राप्त भएको देखिन्छ । परीक्षणबाट अपराधसम्बन्धी पदार्थ/चिज वा वस्तु भनी वरामद गरिएको पदार्थ लागू औषध नभई उक्त बस्तुमा हेरोइन पाइएन भन्ने देखिन्छ । लागू औषध नियन्त्रण ऐन, २०३३ ले लागू औषध साथमा राख्न नहुने, सञ्चय गर्न नहुने, कारोवार गर्न नहुने, विक्री व्यवहार गर्न नहुने, आयात निर्यात गर्न नहुने, वितरण गर्न नहुने, सेवन गर्न नहुनेदेखि लिएर ओसार पसार सम्मका सम्पूर्ण कारोवारलाई प्रतिबन्ध लगाई लागू औषध नियन्त्रण ऐन, २०३३ ले लागू औषध भनी परिभाषा गरेको पदार्थ वा वस्तुलाई नै Criminalize गरेको देखिन्छ । लागू औषधको सेवन स्वास्थ्यका लागि घातक र खतरानाक पदार्थ हो । एकपटक लागू औषधको सेवनमा Addict भएपछि त्यसबाट मुक्त हुन वडो कठिन हुन्छ । लागू औषधको सेवनले, सेवन गर्नेलाई मात्र होइन सेवन गर्नेको परिवार, समाज र राष्ट्रलाई नै असर गर्दछ । लागू औषधको सेवनले समाजका सिर्जनशिल युवा पिडीलाई बढी असर पुर्याएको इतिहास साक्षी छ । त्यसैकारणले गर्दा लागू औषधलाई Criminalize गर्न अन्तर्राष्ट्रिय रुपमा नै राष्ट्रहरू सँगठित भई Multilateral convention बनी सदस्य राष्ट्रहरूले Convention मा पक्ष भएको कारण र आफ्नै Domestic Requirement का लागि नै पनि सबै राष्ट्रले लागू औषधलाई Criminalize गर्ने आ–आफ्नो कानून बनाएको हो । प्रायः संसारका सबै राष्ट्रले लागू औषध सम्बन्धी कानूनमा कडा सजायको व्यवस्था समेत गरेको पाइन्छ ।
४. लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १७क ले लागू औषध भनी नक्कली लागू औषध कारोवार गर्नेलाई पनि Criminalize गरेको देखिन्छ । उक्त दफा १७क यस प्रकार छ:—
दफा १७क : लागू औषधको विश्वास पारी अन्य पदार्थको कारोवार गर्नेलाई सजाय :
लागू औषध वाहेकको अन्य कुनै पदार्थलाई लागू औषध भन्ने विश्वासमा पारी त्यस्तो कारोवार, बेचविखन, निकासी पैठारी, सञ्चय, उत्पादन समेतको कार्य गर्ने व्यक्ति वा गिरोहलाई सो अपराध गरेवापत हुने सजायको आधा सजाय हुनेछ ।
५. सरसर्ती हेर्दा लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा २ ले लागू औषध भनी परिभाषा गरेको वस्तुलाई मात्र Criminalize गरेको छ । ऐनको उद्देश्य नै लागू औषध वाहेक नक्कली लागू औषध पदार्थलाई समेट्ने होइन । प्रश्न आउन सक्छ । जब नक्कली लागू औषध पदार्थ समाज वा सेवन गर्नेलाई घातक पनि हुँदैन र नक्कली लागू औषध पदार्थको कुनै बजार नै हुँदैन भने त्यस्तोमा पनि आधा सजाय गर्ने व्यवस्था के Just Law हो र ? भन्ने प्रश्न पनि कताकता देखिन्छ । तर लागू औषधको Manace लाई नियन्त्रण गर्ने उद्देश्यले विधायिकाले आफूमा भएको विधायिकी अधिकार प्रयोग गरी समाजको बृहत्तर हितलाई ध्यानमा राखी बनाएको कानूनलाई अन्यथा भन्न मिल्दैन ।
६. प्रतिवादीबाट नक्कली लागू औषध जसलाई प्रयोगशाला परीक्षण प्रतिवेदनबाट हेरोइन नदेखिएको भन्ने देखिन्छ, सो बस्तु आफैमा Harmful होइन तर यहाँ प्रतिवादीको Mens Rea र Conduct महत्त्वपूर्ण देखिन्छ । प्रतिवादीले बयान गर्दा आफूले लागू औषध सेवन गर्ने गरेको भनेको देखिन्छ । सेवन गर्नेले सञ्चय गर्दछ, सञ्चय गर्नेले कारोवार गर्दछ, कारोवार गर्नेले किनवेच ओसारपसार गर्दछ र ओसार–पसार गर्नेले विक्री वितरण पनि गर्दछ । नक्कली लागू औषधलाई लागू औषध भनी कारोवार गर्नेले मौका पायो भने सक्कली लागू औषध पनि कारोवार गर्न सक्छ भने खरीद गर्नेले त झनै लागू औषध भनेर नै खरीद गर्छ । यसको रोकथामको लागि विधायिकाले सक्कली लागू औषध भनी नक्कली लागू औषधको कारोवारलाई पनि Criminalize गर्नुको उद्देश्य फौजदारी न्यायको मान्य सिद्धान्तअनुसार कार्य (Action) दोषी होइन मनसाय दोषी हुन्छ भन्ने फौजदारी न्यायको मान्य सिद्धान्तअनुसार नक्कली लागू औषध भनी कारोवार गर्नेलाई आधा सजाय हुने व्यवस्था गरेको देखिन्छ ।
७. अतः प्रतिवादी मगरे खाँ बाट नक्कली लागू औषध १०० mg वरामद भएको शंकारहित प्रमाणबाट प्रमाणित भएको हुँदा प्र. मगरे खाँलाई लागू औषध (नियन्त्रण) ऐन २०३३ को दफा १७क अनुसार आधा सजाय गरेको फैसला मिलेको देखिँदा सदर हुन्छ ।
८. अव अन्य प्रतिवादीद्वय चिन्का भन्ने ओमप्रकाश कहार र कौशल कान्दू गुप्ताका हकमा विचार गर्दा यी दुई प्रतिवादीहरूलाई लागू औषध नियन्त्रण ऐन २०३३ को दफा ४ को देहाय (घ), (ङ), (च) को कसूर गरेको भन्ने आरोपमा दफा १४(१)(छ)(१) को सजाय माग गरेको देखिन्छ । दफा १४(१)(छ)(१) अनुसार कसूर प्रमाणित भएमा ५ देखि १० वर्ष कैद र पाँच हजार देखि २५ हजार रुपैयाँसम्म जरीवानाको सजाय हुन सक्छ । निज प्रतिवादीद्वय अदालतमा बयान गर्दा अभियोगमा पूरै इन्कार भई बयान गरेको देखिन्छ । निजहरूमध्ये कौशल कान्दू गुप्ताको वासस्थान र शरीर समेत खानतलासी गरेको देखिन्छ भने प्रतिवादी चिन्का भन्ने ओमप्रकाश कहारको वासस्थानमा खानतलासी गरेको देखिन्छ । खानतलासी गर्दा निजहरूको वासस्थान र साथबाट पनि लागू औषध वरामद भएको देखिँदैन । यी दुई प्रतिवादीहरू प्रहरी समक्ष बयान गर्दाको साविती वाहेक कुनै प्रमाण देखिँदैन ।
९. लागू औषधको अपराध गम्भीर अपराध हो यसमा विवाद भएन । लागू औषधको अपराध एक देशभित्र मात्र र सीमित रहन पनि सक्छ र Transnational र Transborder दुबै अपराध पनि हुन सक्छ । यो अपराध International Dimension को हुन्छ । लागू औषधको कारोवार सँगठित रुपमा मात्र नभई यसले Cortel को राय पनि लिएको देखिन्छ । यस्तो अपराध गिरोहबाट सञ्चालित हुन्छ यसमा पनि विवाद भएन । यस्तो अपराधमा Money Laundering धन्दा समेत हुन्छ । लागू औषध नियन्त्रण ऐन अन्तर्गतको यस्तो गम्भीर अपराध लागू औषधलाई हेरी सफाइ पाउने यी दुई प्रतिवादीका विरुद्ध अन्य प्रमाण जस्तै अदृश्य गोप्य क्यामेरा CCTV को प्रमाण, खरीद गर्ने भनी बनेको Decoy Agent सँगको भेटवार्ता वा प्रतिवादीहरूले लागू औषधको गिरोहका अन्य सदस्यसँग कुरा गरेको Interception आदि अन्य केही प्रमाण छ कि भनी हेर्दा सफाइ पाएका उक्त दुई प्रतिवादीको हकमा केवल प्रहरी समक्षको Confessional statement साविती बयान बाहेक अन्य केही प्रमाण देखिँदैन । प्रहरी समक्षको साविती बयान अन्य स्वतन्त्र प्रमाणको अभावमा प्रमाण होइन । तैपनि यी दुई प्रतिवादीउपर ऐनको दफा ४ को देहाय (घ), (ङ), (च) को अभियोग लगाएको देखियो ।
१०. लागू औषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गतको अपराध सरकारी मुद्दा सम्बन्धी ऐन २०४९ को अनुसूची १ मा समावेश भएको हुँदा सो मुद्दा प्रहरीद्वारा अनुसन्धान हुन्छ । सरकारी वकीलद्वारा अभियोग लगाइ मुद्दा दायर गरिन्छ । प्रहरी यस्तो मुद्दाको लागि वादी राज्यको Agent को हैसियतले अनुसन्धान गर्दछ । हामीकहाँ फौजदारी मुद्दामा Miranda Warning लाई Introduce गरेको छैन । Miranda warning को व्यवस्था Introduce गर्ने हो भने Miranda warning का चार शर्तको पूरा र पालना गरेपछि मात्र प्रहरी समक्षको बयानले केही हदसम्म मान्यता पाउन सक्ला । प्रहरीको हैसियत वादीको अनुसन्धानकर्ता भएको कारण प्रहरीले गराएको बयानको अन्य स्वतन्त्र प्रमाणले समर्थन नभएमा प्रहरीको बयानको आधारमा मात्र सजाय गर्न मिल्दैन भन्ने कुरा फौजदारी न्यायको मान्य सिद्धान्त हो ।
११. ICCPR को धारा १४(३)(e) महत्वपूर्ण छ । धारा १४(३) (e) मा To examine, or have examined, the witness against him and to obtain the attendance and examination or witnesses on his behalf under the same conditions as witnesses against him; भन्ने छ । फौजदारी मुद्दामा बादीबाट अभियुक्त विरुद्ध साक्षी प्रमाण पेश गर्ने कार्य हाम्रो जस्तो Accusatorial Adversarial System of Prosecution को महत्वपूर्ण पक्ष हो । वादीले पेश गरेको अभियोग पत्रमा मुद्दा चलाइएको अभियुक्त विरुद्ध कुनै प्रमाण नै छैन भने प्रमाण बिनाको अभियोग कस्तो हुने ? हाम्रो प्रमाण ऐन, २०३१ को दफा २५ को व्यवस्थाले पनि अभियुक्त उपरको अभियोग प्रमाणद्वारा प्रमाणित गर्नुपर्छ भनेको हो । २०२८ सालको हिरापासी विरुद्ध विरुद्ध नेपाल सरकार भएको डाँका मुद्दामा यस अदालतले स्वतन्त्र प्रमाणको अभावमा अभियुक्तको प्रहरी समक्षको साविती बयानको कानूनी मान्यता नहुने वारेमा व्याख्या समेत गरिसकेको छ । यत्ति हुँदाहुँदै पनि प्रतिवादीद्वय चिन्का भन्ने ओमप्रकाश कहार र कौशल कान्दु गुप्तालाई कुनै पनि प्रमाणको अभावमा केवल आफू समक्षको साविती बयानको आधारमा मात्र मुद्दा चलाएको देखियो । प्रहरी आफैले प्रतिवादीद्वयको वासस्थान खानतलासी गर्ने, खानतलासी गर्दा अपराधसँग सम्बन्धित लागू औषध वरामद नभएपछि र अन्य कुनै स्वतन्त्र प्रमाण नभएको अवस्थामा पनि केवल प्रहरी समक्षको साविती बयानलाई मात्र आधार मानी मुद्दा चलाउने कार्यलाई अव यस अदालतले गम्भीरताका साथ लिनुपर्छ । यस्तो Prosecution लाई यस इजलासले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३५(२) को दुरुपयोग र सरकारी मुद्दा सम्बन्धी ऐन २०४९, प्रमाण ऐन, २०३१ को दफा २५ र ICCPR को धारा १४ र फौजदारी न्यायको मान्य सिद्धान्तविपरीतको Peosecution ठहर गर्दछ । फौजदारी अपराधमा वादीले अपराध भएको भन्ने तथ्य अर्थात् Corpus Delict पहिला प्रमाणित गर्नुपर्छ त्यसपछि मात्र आफैले अभियोग लगाएको व्यक्तिले नै त्यस्तो अपराध गरेको भनी प्रमाणित गर्नुपर्छ । तर प्रस्तुत मुद्दामा त प्रतिवादीद्वयले अपराध गरेको भन्ने प्रमाण नहुनु त छँदैछ यी प्रतिवादीहरूको हकमा कुनै लागू औषधको कारोवार भएको भन्ने नै प्रमाण देखिँदैन । यी प्रतिवादीका विरुद्ध सो अभियोग ज्यादै हचुवाका भरमा र ज्यादै गैरजिम्मेवारीपूर्ण तरिकाले अभियोग लगाएको देखियो ।
१२. प्रमाण ऐन, २०३१ को दफा २५ मा फौजदारी मुद्दामा कसूर प्रमाणित गर्ने भार वादीमा रहन्छ भनी कसूर प्रमाणित गर्ने कानूनी कर्तव्य वादीलाई तोकेको छ । हाम्रो जस्तो Accusatorial System of Persecution भएको प्रणालीमा यो मान्यसिद्धान्त नै हो । स्वतन्त्र प्रमाणको अभावमा बादीले अभियोग नै लगाउन नहुने मात्र होइन स्वतन्त्र प्रमाणको अभावमा सरकारी वकीललाई अभियोग लगाउने अधिकार नै हुँदैन भन्ने कुरा प्रमाण ऐन, २०३१ को दफा ३, दफा ४ र मुलुकी ऐन अ.वं. १८४क बाट स्पष्ट देखिन्छ ।
प्रमाण ऐन, २०३१ को दफा ३ यस प्रकार छ ः—
दफा ३. प्रमाण बुझ्न हुने कुराहरू : अदालतले मुद्दामा ठहर गर्नुपर्ने कुरा र त्यस्तो कुरासँग सम्बद्ध कुराको मात्र प्रमाण बुझ्न हुन्छ ।
स्पष्टीकरणः “सम्बद्ध कुरा” भन्नाले मुद्दामा ठहर गर्नुपर्ने कुरालाई प्रमाणित वा खण्डन गर्न सहायता हुने कुरालाई सम्झनु पर्छ ।
१३. दफा ३ मा ठहर गर्नुपर्ने कुरा र त्यससँग सम्बन्धित कुराको प्रमाण बुझ्न हुन्छ भन्ने छ । यहाँ प्रमाण बुझ्न हुन्छ भनेको मुद्दामा प्रमाण हुन्छ भनेको हो । स्पष्टीकरणमा सम्बद्ध कुरा भन्नाले मुद्दामा ठहर गर्नुपर्ने कुरालाई प्रमाणित गर्ने वा खण्डन गर्ने कुरालाई जनाउँछ भनिएको हुँदा अदालतमा दर्ता हुने मुद्दामा सबूद प्रमाण हुनुपर्छ भन्ने स्पष्ट गर्दछ । दफा ४ को अवस्थामा पनि प्रमाण आवश्यक पर्दछ । तर दफा ४ को अवस्थामा अदालतले प्रमाण बुझ्न पर्दैन भनेको हो । त्यसैगरी अ.वं. १८४क को हाम्रो व्यवस्था भनेको अमेरिका लगायत विकसित राष्ट्रमा भएको मुद्दाको कारवाही सुरु गर्न अगाडि हुने Pre Trial Conference को व्यवस्था हो । हाम्रो अदालती बन्दोवस्तको महलको १८५क को Equivalent को Pre Trial Conference मा अदालतको अमूल्य समय बचाउन र न्याय छिटो छरितो र सुलभ तरिकाले पक्षहरूलाई उपलब्ध गराउने उद्देश्यले मुद्दाको Trial शुरु गर्नु अगाडि दुई पक्षहरू भेला भई आ–आफ्नो कानून व्यवसायी साथ आ–आफ्नो जिकीरको प्रमाणको आधारमा कति हदसम्म एक अर्काले स्वीकार गरी दावी छाड्ने वा समर्पण गर्ने भन्ने छलफल गरिन्छ । हाम्रो त्यतिबेला बनेको अ.वं. १८४क मा पनि प्रतिउत्तर परेपछि जव अदालतमा दुई पक्षको एकै दिन भेट हुन्छ । दुई पक्षको रोहवरमा अदालतले मुख मिलेमा तुरुन्तै फैसला गर्ने र मुख नमिलेमा मुख नमिलेको कुरामा मात्र प्रमाण बुझ्न तारेख तोक्ने स्पष्ट व्यवस्था भएको देखिन्छ । यसबाट नै चाहे त्यो व्यक्तिवादी हुने मुद्दा होस् चाहे त्यो सरकारवादी हुने फौजदारी मुद्दा होस् जुनसुकै र जो सुकै वादी हुने मुद्दा भएपनि बिना सबूद प्रमाण मुद्दा गर्न हुँदैन भनेको बुझिन्छ । अव यस प्रश्नमा हेर्दा प्रस्तुत मुद्दामा अभियुक्तद्वय ओमप्रकाश र कौसल कान्दू (गुप्ता) केबल प्रहरी समक्ष मात्र सावित भएको देखिन्छ । निजहरूको साथबाट लागू औषध बरामद भएको देखिँदैन । निजहरूका विरुद्ध कुनै प्रत्यक्षदर्शी गवाह छैन, देखिँदैन । निजहरूका विरुद्ध कुनै Documentary Evidence देखिँदैन । निजहरूका विरुद्ध लागू औषध कारोवार गरेको वा लागू औषधको धन्दामा संलग्न भएको भन्ने बैंकिङ कारोवार देखिँदैन । निजहरूका विरुद्ध कुनै Decoy Agent वा Voice Interception आदि केही प्रमाण देखिँदैन । यस्तो अवस्थामा कानूनले सरकारी वकीललाई अभियोग लगाउने अधिकार प्रदान गर्दैन ।
१४. लागू औषध एउटा गम्भीर अपराध हो यसमा विवाद हुँदैन । कुनै व्यक्तिले लागू औषधको कारोवार गर्ने व्यक्तिलाई चिन्दैमा, लागू औषध कारोवार गर्ने व्यक्तिसँग आवजावत, उठबस गरी मित्रता कायम गर्दैमा प्रमाणको अभावमा त्यस्तो व्यक्ति पनि दोषी हुँदैन । त्यस्तो व्यक्तिका विरुद्ध ठोस सबूद प्रमाण हुनु पर्दछ तब मात्र मुद्दा चल्न सक्दछ । अपराध जतिसुकै गम्भीर, शंका जतिसुकै वलियो, चरित्र जतिसुकै खराब, गतिबिधि जस्तोसुकै शंकास्पद र चालचलन जतिसुकै खराब भएपनि यस्ता कुराहरूले प्रमाणको ठाउँ लिन सक्तैन । फौजदारी अपराधमा व्यक्तिका विरुद्ध ठोस र शंकारहित प्रमाण संकलन हुनुपर्छ तव मात्र राज्यले अभियोग लगाउन मुद्दा चलाउन सक्छ यदि विनाप्रमाण राज्यले कसैलाई फौजदारी अपराधको अभियोग लगाउँछ र त्यसको फलस्वरुप अभियुक्तले सफाइ पाउँछ भने त्यस्तोमा पनि महान्यायाधिवक्ताले पुनरावेदन गरी अभियुक्तलाई हैरानी गर्न हुँदैन ।
१५. मुद्दामा प्रमाणका सम्बन्धमा Witeness are weighted not counted भनिन्छ । सबूद प्रमाणको नम्बर गनिदैन सबूद प्रमाण नै लिइन्छ । मुद्दामा एउटै मात्र भएपनि यदि त्यो प्रमाण शंकारहित र ठोस प्रमाण हो भने त्यस्तो प्रमाणको आधारमा पनि दावी प्रमाणित हुन सक्छ । तर यस मुद्दामा प्र. ओमकार र प्र. कौशल कान्दू (गुप्ता) विरुद्ध विनाप्रमाण अभियोग लगाएको देखियो । प्रमाण ऐन, २०३१ को दफा ३ को व्यवस्थाले प्रत्येक मुद्दामा प्रमाण ऐन, २०३१ को परिच्छेद ३ को दफा ९ र दफा २४ वाहेकका अन्य दफा तथा अन्य सम्बद्ध परिच्छेदअन्तर्गतका प्रमाण हुनपर्छ भनेको हो । प्रस्तुत मुद्दामा यी प्रतिवादीका सन्दर्भमा अपराध भयो भएन भन्ने कुरा नै स्थापित नभएको अवस्थामा विनाप्रमाण अभियोग लगाउने कार्य त्रुटिपूर्ण हुनुका साथै नेपाल राज्यको Prosecutional Power को दुरुपयोग समेत भएको देखियो । अतः उपरोक्त कारणले गर्दा प्रतिवादीद्वय ओमप्रकाश कहार र कौशल कान्दू (गुप्ता) लाई सफाइ दिएको पुनरावेदन अदालत बुटवलको फैसला मिलेकै देखिँदा सदर हुन्छ ।
१६. नेपालको अन्तरिम संविधान २०६३ को धारा १२(२) मा कानूनबमोजिम वाहेक कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरण हुन नहुने व्यवस्था भएको छ । सरकारी मुद्दा सम्बन्धी ऐन २०४९ को दफा ४, ७, १२, को व्यवस्था हेर्दा स.मु.स. ऐन २०४९ ले नै पनि Evidence oriented investigation र Evidence Supported Prosecution गर्नुपर्छ भन्ने देखिन्छ । अ.वंं १८४क, प्रमाण ऐन, २०३१ को दफा ३, ४, २५, ICCPR 1966 को धारा १४ तथा फौजदारी न्यायको मान्य सिद्धान्तअनुसार हाम्रो Prosecution System Accusatorial System भएकोले यस्तो Accusatorial System मा अनुसन्धान अधिकारीसमक्ष दिएको साविती बयान प्रमाण हुन नसक्ने हुँदा राज्यले सबूद प्रमाणको अभावमा कसैलाई पनि अभियोग लगाउन सक्दैन । यदि बिना सबूद प्रमाण अभियोग लगाई मुद्दा चलाउँदै जाने हो भने राज्यको Agent को हैसियतले संविधानको धारा १३५(२) बमोजिम नेपालको महान्यायाधिवक्तालाई प्राप्त Prosecutional Power Prosecution मा प्रयोग भएको नभई Persecution भएको पर्ने हुन्छ ।
१७. नागरिकहरूलाई आफू विरुद्ध लागेको अभियोग स्वतन्त्र, सक्षम र निष्पक्ष अदालत अर्थात् Independent, Impartial र Competent अदालतबाट सुनुवाई हुन पाउने हक प्राप्त भएको हुँदा विना प्रमाण अभियोग लाग्न सक्दैन । विना प्रमाण राज्यले कसैलाई पनि अभियोग लगाउन हुँदैन । जाहेरी दर्खास्त पर्न आयो, अनुसन्धानका लागि हिरासतमा पनि लिइयो भन्दैमा अभियोग लगाउने वर्तमान प्रचलन र मानसिकताबाट मुक्त हुनपर्छ । यसरी अभियोग लगाई मुद्दा चलाउँदै जाने हो भने वास्तविक अपराधी छुट्न र निर्दोष व्यक्ति अभियुक्त बन्न सक्छ । यसतर्फ प्रहरी प्रमुख र महान्यायाधिवक्ता दुबैको ध्यानाकर्षित हुनुपर्छ । यस्तो नहोस् भनेर नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३५ (२) मा अभियोग लगाउने अधिकार संविधानले महान्यायाधिवक्तालाई दिएको हो ।
१८. यस मुद्दामा कुनै पनि प्रमाण संकलन नगरी प्र. ओमप्रकाश कहार र कौशल कान्दु गुप्ताका विरुद्ध अपराध भए नभएको भन्ने सम्म पनि प्रमाण शंकलन नगरी केवल प्रहरी समक्षको साविती बयान को आधारमा मात्र मुद्दा चलाएको देखियो । Blak’s Law Dictionary मा Malicious Prosecution भनेको “A Judical Proceeding Instituted against a person out of the prosecutors malice and ill will with the intention of injuring him without probable cause to sustain if the process and proceedings being regular and formal but not justified by the facts. भनेको देखिन्छ । Malicious prosecution हुन दुई अवस्था विद्यमान हुनपर्छ ।
(क) अभियुक्तउपर सरकारी वकीलको Malice र ill will र
(ख) अभियोग अदालतमा Sutstain गर्न सक्तैन भन्ने ज्ञान ।
१९. प्रस्तुत मुद्दालाई Maliciuos Prosecution भनेको होइन तर प्रतिवादीद्वयका विरुद्ध कुनै प्रमाण नै नभई मुद्दा चलाए पनि यस मुद्दामा Maliciuos Prosecution को लागि आवश्यक पर्ने दुई अवस्थामध्ये अभियुक्तउपर सरकारी वकीलको Malice र ill will विद्यमान देखिँदैन तर सो अवस्था वाहेक प्रस्तुत मुद्दा प्रमाणको अभावमा अभियोग अदालतमा Sustain गर्न सक्तैन भन्ने अवस्था भने विद्यमान छ । विना प्रमाण यसरी मुद्दा चलाउनु हुँदैन । सरकारी वकीलले सबूत प्रमाणको अभावमा यसरी मुद्दा चलाउने र पुनरावेदन गर्ने परम्परा बन्द गर्नुपर्छ । प्रतिवादीद्वय उपर मुद्दा चलाउने यस्तो निर्णय एवं कार्यलाई धारा १३५(२) को अधिकारको स्वैच्छाचारीपूर्वक प्रयोग गरेको मान्नुपर्छ र यस्तो कार्य Rule of Law कै विपरीत भएको मान्नुपर्छ । अनुसन्धान अधिकारी समक्षको साविती बयानको आधारमा मात्र अभियोग लगाई मुद्दा चलाउने बर्तमान प्रणाली र प्रचलन अर्थात् प्रहरी समक्षको साविती बयान अर्थात् Confessional Statement Oriented Prosecution लाई सुधार गरी हाम्रो संबैधानिक व्यवस्था, ICCPR १९६६ को व्यवस्था र फौजदारी न्यायको मान्य सिद्धान्तअनुसार Evidence Oriented Investigation र Evidence Supported Prosecution गर्न वर्तमान प्रणालीमा सुधार गर्नु भनी प्रहरी महानिरीक्षक र महान्यायाधिवक्तालाई ध्यानाकर्षण गर्न लेखी पठाउनू । तसर्थ उल्लिखित आधार र कारणहरूबाट वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुगन सक्दैन । प्रस्तुत फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई मुद्दाको दायरीको लगत काटी मिसिल नियमानुसार गर्नु ।
इति संवत् २०६६ साल भदौ १४ गते रोज १ शुभम्