Jus Nepal
आइतवार, कार्तिक २५, २०८१ | November 10, 2024 |

नजीर : अपराधप्रति पश्चाताप र हीनतावोध नगर्नेले सजायमा छुट नपाउने

कुनै एक व्यक्तिलाई अन्य प्रतिवादीहरूसँग यसलाई मार्नुपर्छ भनी मिटिङ बसी अन्य व्यक्तिहरूसमेतको संलग्नतामा मृतक आउने बाटो ढुकी मृतकलाई आएपछि मार्नुपर्छ भन्ने पूर्वयोजना र मनसायसहित मृतकलाई खुकुरीजस्तो धारिलो हतियारले एकपटक मात्र नभई पटकपटक प्रहार गरेको र मृतकको मृत्यु भयो भन्ने कुराको यकिन गरेर मात्र मृतकलाई घटनास्थलमा छोडी गएको परिवेशबाट प्रतिवादीको आपराधिक मनसाय आपराधिक कार्यमा परिणत भएको स्पष्ट देखिने । आफूले गरेको कार्यप्रति कुनै पनि पश्चाताप र हिनताबोध महसुस नगर्ने प्रतिवादीले केवल अदालत सामु अपराध गरेको तथ्यमा साबिती रही गरेको बयानका आधारमा मात्र निजलाई कानूनबमोजिमको सजायमा छुट दिनुपर्छ भन्नु युक्तिसङ्गत नहुने । अपराध घटाई घटनाको बारेमा स्वीकार गरी अदालतलाई मैले सहयोग गरेँ भनेको आधारमा मात्र अदालतले अपराधकर्तालाई सजायमा छुट दिँदै जाने हो भने एकातर्फ त्यस्ता अपराधकर्तालाई पुन: समाजमा गएर अर्को अपराध गर्नलाई प्रेरित गरेसरह हुन्छ भने अर्कोतर्फ अपराधबाट पीडामा परेका व्यक्तिहरूको न्याय प्राप्ति र आत्मसन्तुष्टिमा पुग्न सक्ने चोटको नजरअन्दाजसमेत गर्न नसकिने । यसबाट समाजमा पर्नसक्ने असरलाई समेत कम आँकलन गर्न नमिल्ने ।

निर्णय नं. ११२२१ – कर्तव्य ज्यान

भाग: ६५ साल: २०८० महिना: चैत्र अंक: १२, फैसला मिति :२०७९/०५/२८, सर्वोच्च अदालत, संयुक्त इजलासमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल

माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ

मुद्दा:- कर्तव्य ज्यान, (०७३-CR-०००२)

फैसला

न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :

धादिङ जिल्ला, दार्खा गा.वि.स. वडा नं. १ पातालभिर स्थित पूर्वमा राउतेदेखि दार्खा जाने पैदल बाटो, पश्चिममा दार्खा खोला, उत्तरमा ओडारे ढुङ्गा, दक्षिणमा अग्लो ढिस्को यति चार किल्लाभित्र मृतक शिव थापाको लास रहेको, मृतक लासको दायाँँ हातको पञ्जा छुट्टिएको, गर्धनको मुनि धारिलो हतियार प्रहार गरी लागेको ५ वटा चोट, चिउँडोमुनि ४ इन्च लम्बाइ २ इन्च चौडाइ रूद्र घण्टीमा ३ इन्च लम्बाइ साढे २ इन्च चौडाइ भएको धारिलो हतियारले काटेको घाउ रहेको, मलद्वार सामान्य रहेको भन्नेसमेत बेहोराको लास प्रकृति मुचुल्का ।

धादिङ जिल्ला, दार्खा गा.वि.स. वडा नं. १ स्थित पूर्व बाघखोर जंगल, पश्चिम दार्खा खोला, उत्तर दक्षिणमा राउतेबाट दार्खा जाने बाटो यति चार किल्लाभित्र घटनास्थलदेखि अन्दाजी १५० मिटर उत्तरतर्फ साल बिसौनाको चौतारा भन्ने ठाउँमा मिमि लेखिएको चाउचाउको खोल थान २, सो खोलबाट ५७ इन्च पर फुटेको सिसाको टुक्राहरू भेटिएको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का ।

मिति २०६७।७।१ गते मेरो भाइ शिव थापा मगरलाई धादिङ जिल्ला, दार्खा गा.वि.स. वडा नं. ६ बस्ने राजेन्द्र वि.क.समेतका मानिसहरूले धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेको हुँदा निजहरूउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको भगवान थापाको जाहेरी दरखास्त ।

1-Asphyxia (due to injury to trachea), 2-Head injury भन्नेसमेत बेहोराको मृतक शिव थापाको शव परीक्षण प्रतिवेदन ।

मिति २०६७।७।१ गते दार्खा अफिस एरियामा भलिबल हेर्न गएको अवस्थामा आशबहादुर तामाङसँग भेट भएपछि एउटा काम छ तिमी मसँग हिँड भनेपछि म निजसँग गई दार्खा खोलाछेउमा दुर्गाबहादुर, चन्द्रबहादुर तामाङ, धिरज तामाङसँग भेट भएपछि बिक्रमलाई गोली हान्न शिव थापाले लगाएको रहेछ । यसलाई बाँकी राख्न हुँदैन भनी विजय तामाङ र बिक्रम तामाङले हामीलाई पठाएको हो । बिक्रमलाई गोली हान्न लगाउनेले हामीलाई पनि बाँकी राख्दैन, यसलाई बाँकी राख्नु हुँदैन भनी सरसल्लाह गरी शिव थापा आउने बाटोमा गई लुकी बसी रक्सी चाउचाउ खाई बसेको अवस्थामा अन्दाजी पौने ६ बजेतिर शिव थापा आई चन्द्रबहादुर तामाङ, दुर्गा तामाङ र मसँग हात मिलाएर जान लागेपछि शिव थापा यही हो भनेर चिनाई चन्द्रबहादुर तामाङले पछाडिपट्टिबाट खुकुरीले हानेको हो । मृतक अैया भनी लडी बाटोबाट तल खस्न गएपछि चन्द्रबहादुर, म, दुर्गाबहादुर, आशबहादुर र धिरज पनि आई तलै गएपछि चन्द्रबहादुरले तँ पनि हान् भनेकोले मैले पनि निजलाई खुकुरीले हानेको हो । दुर्गाबहादुर, आशबहादुर र धिरजले हान्न उक्साएको र निजहरूले समेत हातपात गरी अब यो बाँच्दैन जाऔं भनी गएको हो । मसमेतले शिव थापाको हत्या गरेको हो भन्नेसमेत बेहोराको प्रतिवादी राजेन्द्र वि.क.ले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।

प्रतिवादी विजयबहादुर तामाङलाई देखाइन्छ, हेरी सनाखतसमेत गर्नुहोस् भनी मलाई विजयबहादुर गुरूङ देखाउँदा देखी पाएँ, चिने, जाने सनाखतसमेत गरिदिएँ भन्नेसमेत बेहोराको राजेन्द्र वि.क. को सनाखत कागज ।

प्रतिवादी चन्द्रबहादुर तामाङलाई देखाइन्छ, हेरी सनाखतसमेत गर्नुहोस् भनी मलाई चन्द्रबहादुर गुरूङ देखाउँदा देखी पाएँ, चिनेँ, जानेँ, सनाखतसमेत गरी दिएँ भन्नेसमेत बेहोराको राजेन्द्र वि.क.को सनाखत कागज ।

मिति २०६७।७।१ गते म ठाटी भन्ने स्थानमा बसेको अवस्थामा धिरज तामाङ त्यहाँ

आए । खुकुरी निकाली यो खुकुरी बोक् केही काम गर्नु छ भन्यो । धुनिखोलातर्फ घुम्न जाउँ भनी बाटोमा हिँड्दै गर्दा बिक्रमलाई गोली हान्न शिव थापाले लगाएको रहेछ यसलाई नमारी गाउँ शान्त हुँदैन भनेको छ, बिक्रम, विजय र मसमेत बसी मिटिङ गरी शिव थापालाई खतम गर्ने कुरा भएको छ । यसमा तपाइँले पनि साथ दिनुपर्छ भनेपछि मैले हुन्छ भनी धुनीको जंगलमा पुग्दा आशबहादुर, दुर्गाबहादुर र राजेन्द्र बसेका

रहेछन् । निजहरूसँग भेट भएपछि अब हामी पातालभिर जंगलमा जाने, शिव थापा त्यही बाटो भएर घर जान्छ भनी आशबहादुरले भनेपछि हामी सबैजनाले सल्लाह गरी पातालभिर जंगलमा गई रक्सी र चाउचाउ खाई बाटो ढुकी बसेको अवस्थामा शिव थापा त्यही बाटो भएर आएपछि हामीसँग हात मिलाएर अगाडि गएपछि राजेन्द्र वि.क. पछाडिबाट गएर निजको टाउकोमा हानेको र निज शिव थापा भिरबाट तल खसेपछि तल गएर निजको घाँटीमा काटी आशबहादुर, दुर्गाबहादुर र धिरजले यो बाँच्यो भने हामी सत्यानास हुन्छौं, नमारी छाड्नु हुँदैन भनी निजको शरीरमा हातपात गरेपछि निजको शरीर तलासी लिई अब मर्‍यो केही गर्न सक्दैन भनी घरतर्फ गएको हो भन्नेसमेत बेहोराको सुशिल भन्ने चन्द्रबहादुर तामाङले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६७।७।३ गते म आफ्नै पसलमा बसेको अवस्थामा शिव थापा मगरको लास जंगलमा छ भन्ने हल्ला चलेपछि खोज्न भनी दार्खा फेदीबाट जाँदा पातालभिर जंगलमा लास रहेको कुरा सुनी थाहा पाई पातालभिर जंगलमा जाँदा शिव थापाको लास फेला परेको हो । मृतक मगर जात भएको र म गुरूङ भएकोले अन्य जातिले छुन हुँदैन भनेपछि मगर जातिले लास उठाए, म आफ्नो घरतर्फ गएको हुँ । शिव थापाको हत्यामा मेरो संलग्नता छैन भन्नेसमेत बेहोराको प्रतिवादी विजयबहादुर गुरूङले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६७।७।३ गते कादुरी संस्थाबाट निर्माण गर्न लागेको दार्खा खोला पुल बनाउने र मानिसहरू बस्ने टहरा बनाउन काठ काट्न पातालभिर जंगलमा गई काठ लिएर आउँदै गर्दा मैले काठ बोकेको कारण मेरो छेउबाट गएका ३ जना केटाहरू मैले राम्रोसँग देखिनँ । माथि काठ बिसाएर बसेको अवस्थामा अन्य साथीहरूले चन्द्रबहादुर तामाङ, धिरज तामाङ, दुर्गाबहादुर तामाङ यताबाट गएका छन्, राजेन्द्र वि.क. र आशबहादुर तामाङ उताबाट आउँदै थिए, कता हिँडेका हुन् भनी भनेपछि मैले थाहा पाएको हुँ भन्नेसमेत बेहोराको मानबहादुर तामाङको कागज ।

मिति २०६७।७।१ गते मेरो पसलमा राजेन्द्र वि.क.समेतका ३/४ जना केटाहरू आएर ४ क्वाटर श्री रक्सी र मिमि चाउचाउ ३ वा ४ पाकेट लिएर गएका हुन् । मेरो पसल छेउमा भएको भलिबल खेल हेर्न आएको शिव थापासँग बिक्रम भन्ने टेकबहादुर तामाङ, आशबहादुर तामाङ र दुर्गा तामाङसमेतले वादविवाद गरेको भन्ने कुरा मैले सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको कमला सिंखडाको कागज ।

मिति २०६७।७।१ गते म काठ लिएर आउँदै गर्दा मेरो छेउबाट आशबहादुर तामाङ, धिरज तामाङ र चन्द्रबहादुर तामाङ मुखमा रूमाल बाँधी गएका

थिए । आशबहादुरलाई प्रस्ट चिनेँ, अन्य २ जना पनि रहेको पछि अन्य साथीहरूले भनेपछि थाहा पाएपछि र जाने क्रममा चोकबहादुर तामाङको घरमा रक्सी खान लाग्दा शिव थापा आएर १ बोतल रक्सीसमेत किनी दिएर गएका हुन् । पछि निजको मृतक लास फेला परेको कुरा थाहा पाई को कस्ले हत्या गरे भनी बुझ्दा आशबहादुर तामाङ, मनबहादुर तामाङ, धिरज तामाङ, दुर्गाबहादुर तामाङ र राजेन्द्र वि.क.समेतले कर्तव्य गरी मारेको भन्ने कुरा सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको सूर्यबहादुर गुरूङको कागज ।

मिति २०६७।७।१ गते दार्खा खोलाको पुल बनाउन लागेको अवस्थामा साढे ३ बजेतिर चन्द्रबहादुर तामाङ, धिरज तामाङ र दुर्गाबहादुर तामाङ मुखमा रूमाल बाँधेर पातालभिरको जंगलतर्फ गएका थिए । काममा व्यस्त भएकोले निजहरूको वास्ता गरिनँ । बेलुका घर फर्कने क्रममा चोकबहादुर तामाङको घरमा रक्सी खान लाग्दा शिव थापा त्यहाँ आएर मसमेतलाई एक बोतल रक्सी किनी दिएर निज आफ्नो घरतर्फ गएका थिए । मिति २०६७।७।३ गते शिव थापाको लास पातालभिरको जंगलमा फेला परेको र धारिलो हतियारले काटी मारेको मृतक लास देखेको हो । निजको हत्या को कसले गरे भनी बुझ्दा धादिङ जिल्ला, दार्खा गा.वि.स. वडा नं. ६ बस्ने राजेन्द्र वि.क., ऐ. वडा नं. ९ बस्ने साइँलो भन्ने दुर्गाबहादुर तामाङ, ऐ. बस्ने आशबहादुर तामाङ, चन्द्रबहादुर तामाङ, धिरज तामाङसमेतका मानिसहरूले खुकुरीले काटी हत्या गरेको भन्ने कुरा सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको वीरबहादुर तामाङको कागज ।

धादिङ जिल्ला, दार्खा गा.वि.स. वडा नं. ६ स्थित पूर्वमा सामूहिक आरन घर, पश्चिम नन्दराम सुनार वि.क.को घर, उत्तरमा टिकाराम सुनार वि.क.को घर, दक्षिणमा धनबहादुर सुनार वि.क.को घर यति चार किल्लाभित्र रहेको सेती सुनारको घरबाट खैरो देखिने जमेको पदार्थ लागेको, खिया लागेको, सिल्भरको बिँडको बिच भागमा बुट्टा भएको, पितलको काँजो भएको बिँडको भाग ४.२ इन्च र धारको भाग ८.६ इन्च भएको फलामबाट बनेको खुकुरी थान-१ फेला परेको भन्नेसमेत बेहेराको खानतलासी बरामदी मुचुल्का ।

धादिङ जिल्ला, दार्खा गा.वि.स. वडा नं. ८ स्थित पूर्वमा चोकबहादुर तामाङको घर, पश्चिममा काले तामाङको खेत, उत्तरमा काले तामाङको मूल घर, दक्षिणमा चोकबहादुर तामाङको खेत यति चार किल्लाभित्र रहेको मनबहादुर तामाङको घरबाट छालाले मोडेको काठको ११ इन्च लम्बाइ भएको खुकुरीको कालो दाप थान १, कालो काठको बिँडमा काँजो पितलबाट बनेको सानो चारकुने पासो भएको ६.२ इन्च लम्बाइ भएको बिँड र सेतो देखिने बुट्टा भएको धारको भाग १०.७ इन्च लम्बाइ भएको खुकुरी बरामद भएको भन्ने बरामदी मुचुल्का ।

मेरो घरबाट बरामद भएर आएको खुकुरी देखाउँदा देखेँ, चिनेँ, जानेँ, सनाखतसमेत गरिदिएँ भन्नेसमेत बेहोराको राजेन्द्र वि.क.को सनाखत कागज ।

मैले शिव थापालाई कर्तव्य गरी मारेको खुकुरी देखाउँदा देखेँ, चिनेँ, सनाखतसमेत गरिदिएँ भन्ने बेहोराको चन्द्रबहादुर तामाङको सनाखत कागज ।

म काठमाडौंमा थिएँ । मिति २०६७।७।१ गते दिउँसो ४:०० बजेको समयमा श्रीमान् शिव थापा टिका थाप्न भनी गाउँमा आएको बखत गाउँका केटाहरूसँग झगडा भयो भनी फोनबाट भन्नुभएको थियो । तपाइँ त्यहाँ नबस्नुस्, काठमाडौं आउनुहोस् भनेको थिएँ । त्यसपछि फोन सम्पर्क भएन । ऐ. ३ गते श्रीमान्‌को लास फेला परेको कुरा सुनी गाउँमा आई बुझ्दा राजेन्द्र वि.क., साइँलो भन्ने दुर्गाबहादुर तामाङ, आशबहादुर तामाङ, चन्द्रबहादुर तामाङ, धिरज तामाङसमेतका मानिसहरूलाई टेकबहादुर तामाङले मार्न लगाएको कुरा सुनी थाहा पाएको हुँ भन्नेसमेत बेहोराको नविना थापाको कागज ।

मृतक शिव थापालाई राजेन्द्र वि.क., साइँलो भन्ने दुर्गाबहादुर तामाङ, आशबहादुर तामाङ, चन्द्रबहादुर तामाङ, धिरज तामाङ र टेकबहादुर तामाङसमेतले मार्न लगाई मारेको हो भन्नेसमेत बेहोराको गोपीबहादुर थापा मगरको कागज ।

मिति २०६७।७।१ गते दार्खा गा.वि.स.मा भएको भलिबल प्रतियोगिता हेर्न गएका मृतक शिव थापासँग बिक्रम भन्ने टेकबहादुर तामाङ, राजेन्द्र वि.क., आशबहादुर तामाङ, दुर्गाबहादुर तामाङ, चन्द्रबहादुर तामाङ, रामशरण थापा, टिकाराम गुरूङ, फत्तबहादुर तामाङसमेतका मानिसहरूले वादविवाद गरी शिव थापालाई त्यहाँबाट उठाएर केहीपर लगी के के कुरा गरे थाहा भएन । दुवै पक्ष आएर शिव थापा त्यहाँ बसेपछि उल्लिखित मानिसहरू फत्तबहादुरको घरतर्फ गए । शिव थापाको हत्या भएपछि रामशरण थापा, टिकाराम गुरूङ, फत्तबहादुर तामाङ, आशबहादुर तामाङ, दुर्गाबहादुर तामाङ, राजेन्द्र वि.क., धिरज तामाङ र टेकबहादुर तामाङसमेत गाउँबाट भागी फरार छन् भन्नेसमेत बेहोराको फमकुमारी थापा मगर, कृष्णकुमारी थापा मगर, मनमाया गोतामेसमेतले मौकामा गरेको घटना विवरण कागज ।

प्रतिवादीहरू राजेन्द्र वि.क., चन्द्रबहादुर तामाङ, आशबहादुर तामाङ, दुर्गाबहादुर तामाङ, धिरज तामाङ, बिक्रम भन्ने टेकबहादुर तामाङ, विजय गुरूङ, फत्तबहादुर गुरूङ, टिकाराम गुरूङ, रामशरण थापा, मानबहादुर तामाङसमेतले मृतक शिव थापालाई कर्तव्य गरी मारी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत कसुर गरेको पुष्टि भएकोले प्रतिवादीहरू राजेन्द्र वि.क., चन्द्रबहादुर तामाङलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम, प्रतिवादीहरू आशबहादुर तामाङ, दुर्गाबहादुर तामाङ, धिरज तामाङ, बिक्रम भन्ने टेकबहादुर तामाङ, विजय गुरूङसमेतलाई ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम र प्रतिवादीहरू फत्तबहादुर गुरूङ, टिकाराम गुरूङ, रामशरण थापासमेतलाई ज्यानसम्बन्धी महलको १६ नं. बमोजिम एवं प्रतिवादी मानबहादुर तामाङलाई ज्यानसम्बन्धी महलको १७(१) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको अभियोगपत्र ।

मेरो दाइ नाताका बिक्रमबहादुर तामाङलाई गाउँको वेगबहादुर तामाङले गोली हानेछ । सो घटनाको छानबिन गर्न भनी प्रहरी चौकी दार्खामा निवेदन दिएकोमा छलफल हुँदा शिव थापाले झ्यासमिस गराइदिएको हुँदा प्रतिवादीमध्ये राजेन्द्र वि.क.ले मलाई भेटी शिव थापालाई बाँकी राख्न हुन्न भनेकोले राजेन्द्रले रक्सी र चाउचाउ किनी जंगलतिर गई चौतारामा बसी खाई चौतारामा बसिरहँदा त्यही बाटो हुँदै मृतक शिव थापा आए । शिव थापा र राजेन्द्रको वादविवाद भयो । राजेन्द्रले शिव थापालाई हातले हिर्कायो । शिवले फेरि राजेन्द्रलाई हातले हिर्काएकोले राजेन्द्रले खुकुरी निकाली शिवलाई हातमा हान्दा शिवको हात छिन्न पुग्यो । त्यसपछि टाउकोमा हाने, गर्दनमा हानेर लात्ती हानी बाटोबाट तल पुगे । त्यसपछि म गएर एकपटक खुकुरीले घाँटीमा हिर्काएर हामी दुवैजना आफ्नो घरतर्फ गएका हौं । सोबमोजिम म र राजेन्द्र मिली शिव थापाको हत्या गरेको हो । हामी २ जनाबाहेक अन्य कोही कसैको हत्यामा संलग्नता छैन भन्ने बेहोराको प्रतिवादी चन्द्रबहादुर तामाङले सुरू अदालतमा गरेको बयान ।

मेरो भिनाजु नाता पर्ने टेकबहादुर तामाङलाई वेगबहादुर तामाङले गोली हानेकोले कारबाही गरिपाउँ भनी प्रहरी चौकी दार्खामा निवेदन दिएकोमा शिव थापाले झ्यासमिस गराइदिएकोले मलाई त्यसै विषयमा रिस उठी साथी चन्द्रबहादुर तामाङ र मैले मेरो घरबाट खुकुरी निकाली निज शिव थापा मगर घर आउने बाटो ढुकी बस्यौं । मिति २०६७।७।१ गतेका दिन ३ बजेतिर शिव थापा घर जान भनी आए । मैले पहिला निजलाई हातले शरीरमा हिर्काएँ, त्यसपछि उसले मलाई हातैले हिर्काए । मलाई रिस उठेर आएपछि आफूले ल्याएको खुकुरी निकाली हिर्काउँदा उसले हातले छेक्दा हातमा लागी हात छिन्न पुग्यो । त्यसपछि फेरि पनि मलाई आइलागेकोले मैले घाँटीमा खुकुरीले हानेँ । उनी ढलेपछि चन्द्रबहादुरले पनि खुकुरीले हाने । मृतक ढली मरेकोजस्तो भएपछि हामी त्यहाँबाट घरतर्फ गएका

हौं । चन्द्रबहादुर तामाङ र म मिली शिव थापालाई कर्तव्य गरी मारेको हो भन्ने बेहोराको प्रतिवादी राजेन्द्र वि.क.ले सुरू अदालतमा गरेको बयान ।

मिति २०६७।७।१ गते म भलिबल खेलको गेम भएकोले हेर्न गएको थिएँ । करिब १ घण्टा हेरी घर आई बसेँ । त्यसको भोलिपल्ट शिव थापाको लास फेला पर्‍यो भन्ने कुरा हल्ला सुनी म पनि हेर्न गएँ । हेर्न जाँदा मृतक शिव थापाको मृतक शरीर परैबाट देखेँ । मगर जातिको लास भएकोले मैले छुने काम

भएन । निज शिव थापालाई को को भई हत्या गरे मलाई थाहा भएन भन्ने बेहोराको प्रतिवादी विजयबहादुर गुरूङले सुरू अदालतमा गरेको बयान ।

यसमा प्रतिवादीहरू राजेन्द्र वि.क. र चन्द्रबहादुर तामाङले साबिती भई बयान गरेको हुँदा निजहरूलाई पुर्पक्षको लागि थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु र प्रतिवादी विजयबहादुर तामाङको हकमा अ.बं. ४७ नं. बमोजिम साधारण तारेखमा राख्नु भन्ने बेहोराको सुरू धादिङ जिल्ला अदालतबाट मिति २०६८।१।८ मा भएको थुनछेक आदेश ।

मृतक शिव थापासँग मेरो राम्रो चिनजान

थियो । उनीसँग मेरो कुनै रिसइबी छैन । मिति यकिन थाहा भएन । घटना भएको दिन म घरभन्दा अन्य कहीँकतै गएको छैन । शिव थापाको हत्या भइसकेपछि मैले थाहा पाएको हो । म घटनास्थलमा गइनँ । म त्यतिबेला बिरामी भई बसेको थिएँ । शिव थापाको हत्या कसले गर्‍यो मलाई थाहा भएन । मसमेतले शिव थापालाई मार्नको लागि योजना बनाएको छैन भन्ने बेहोराको प्रतिवादी लोप्चन भन्ने टिकाराम तामाङले सुरू अदालतमा गरेको बयान ।

शिव थापालाई चिन्दछु । रिसइबी थिएन । घटना भएको दिन थाहा भएन । शिव थापाको लास प्राप्त भएको सुनेको हो, देखेको होइन । क्यामेराबाट लाससम्म देखेको हो । त्यसको २/३ दिन अगाडि घरमै थिएँ । मिति यकिन थाहा छैन । भलिबल खेलेको दिन वादविवाद भएको भन्ने मलाई थाहा छैन । बिक्रमलाई वेगबहादुरले गोली हानेको भन्ने पनि मैले सुनेको मात्र

हो । भलिबल खेल भएको ठाउँमा म २ दिनजति गएकोमा मृतक शिव थापालाई देखिनँ । मसमेतले मृतकसँग वादविवाद गरेको छैन । शिव थापालाई राजेन्द्र वि.क., चन्द्रबहादुर तामाङसमेतले कर्तव्य गरी मारेको भन्ने मैले राजेन्द्र र चन्द्रबहादुरलाई पक्राउ गरिसकेपछि थाहा पाएको हुँ । मैले देखेको छैन । मेरो सो हत्यामा कुनै संलग्नता छैन । मेरो घरमा बसेर मृतकलाई मार्ने योजना बनाएको भन्ने कुरा झुट्टा

हो । किन मलाई किटानी जाहेरी दिए मलाई थाहा छैन भन्ने बेहोराको प्रतिवादी फत्तबहादुर गुरूङले सुरू अदालतमा गरेको बयान ।

शिव थापा र म एउटै गाउँका मेरो जेठान नाताको मानिस हुन् । उनीलाई म राम्रोसँग चिन्दछु । भलिबल खेल भएको भन्ने मलाई केही थाहा छैन । शिव थापा गाउँमा गएकोसमेत थाहा छैन । एक्कासि कार्तिक ३ गते शिव थापाको लास फेला पर्‍यो भन्ने थाहा पाई घटनास्थलमा जाँदा लास देखेँ । लास हेर्दा कसैले कर्तव्य गरी मारेको जस्तो देखिन्थ्यो । मैले शिव थापालाई मार्न कुनै सहयोग गरेको छैन र मलाई थाहा पनि छैन । हाल आएर राजेन्द्र वि.क., चन्द्रबहादुर भन्नेले कर्तव्य गरी मारेको भन्ने सुनेको छु । अरू थाहा छैन भन्ने बेहोराको प्रतिवादी रामशरण थापा मगरले सुरू अदालतमा गरेको बयान ।

पछि ठहरेबमोजिम हुने गरी हाल यी प्रतिवादीहरू फत्तबहादुर गुरूङ, टिकाराम तामाङ र रामशरण थापा मगरसमेतलाई मुलुकी ऐन अ.बं. ४७ नं. बमोजिम साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने बेहोराको सुरू धादिङ जिल्ला अदालतबाट मिति २०६८।२।१ मा भएको थुनछेक आदेश ।

मिति २०६७।७।१ गतेका दिन धादिङ जिल्ला, दार्खा गा.वि.स.मा वडास्तरीय भलिबल प्रतियोगिताको कार्यक्रम थियो । म पनि भलिबल खेलाडी भएकोले खेल्न गएको थिएँ । सोही दिन भलिबल खेल भयो । खेल सकिएपछि बेलुका ५:३० बजेको समयमा म आफ्नो घरमा गएँ । मृतक शिव थापा कहाँ बस्ने मानिस हो म चिन्दिनँ । त्यस दिन शिव थापालाई मार्ने योजना गरेको मलाई थाहा छैन । शिव थापाको मृत्यु भयो भन्ने कुरा ४/५ दिनपछि थाहा पाएको हो । मैले मृतकको लास देखिनँ । मृतकलाई मार्ने कार्यमा म संलग्न छैन भन्ने बेहोराको प्रतिवादी धिरज गुरूङले सुरू अदालतमा गरेको बयान ।

शिव थापालाई को कसले मारेको हो मलाई थाहा छैन । मिति २०६९।७।३ गतेतिर लास भेटेको भन्ने सुनेको हो । लास मैले देखिनँ । धारिलो हतियार प्रयोग गरी मारेको भन्ने सुनेको हो । पछि गाउँमा बुझ्दा राजेन्द्र वि.क.र चन्द्रबहादुर गुरूङले खुकुरीले हानी मारेको भन्ने सुनेको हो । मेरो नाममा किन किटानी जाहेरी दिए थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादी बिक्रम भन्ने टेकबहादुर तामाङले सुरू अदालतमा गरेको बयान ।

मिति २०६७।७।१ गते दशैंमा मेरो श्रीमती कुवेतबाट आउने भनेको हुँदा म काठमाडौं जान भनी धादिङबेसीमा आएको थिएँ । घटना भएको मलाई थाहा भएन । भोलिपल्ट पत्रिका पढेपछि थाहा पाएको हुँ । घटनामा मेरो संलग्नता छैन । के कसरी घटना भयो मलाई थाहा छैन भन्ने बेहोराको प्रतिवादी दुर्गाबहादुर तामाङले सुरू अदालतमा गरेको बयान ।

मिति २०६७।७।१ गते भलिबल गेम हेर्न गएको थिएँ । घटनास्थलमा म थिइनँ । भोलिपल्ट आफ्नै कामले धादिङबेसीमा आई पत्रिका पढेपछि थाहा पाएको हुँदा भागी काठमाडौं गई बसेको हुँ भन्ने बेहोराको प्रतिवादी आशबहादुर तामाङले सुरू अदालतमा गरेको बयान ।

मिति २०६७।७।१ गते म गाउँमा थिइनँ । काठमाडौं गएको थिएँ । मिति २०६७ साल पौष २६ गते मात्र घरमा आएको हो । मृतक शिव थापालाई

चिन्दिनँ । जाहेरवालाले किन मेरो नाम राखी जाहेरी दिएको हो थाहा छैन भन्ने बेहोराको प्रतिवादी मनबहादुर तामाङले सुरू अदालतमा गरेको बयान ।

मिति २०६७।७।१ गतेदेखि ऐ. ७ गतेसम्म मेरो श्रीमान् मेरो घरमा नै छ । कहीँ गएको छैन । शिव थापाको हत्यामा मेरो श्रीमान्‌को संलग्नता छैन भन्ने बेहोराको साक्षी बमी थापाले सुरू अदालतमा गरेको बकपत्र ।

शिव थापाको हत्याको घटनामा प्रतिवादी आशबहादुर तामाङको संलग्नता छैन भन्ने बेहोराको साक्षी उर्मिला गुरूङले सुरू अदालतमा गरेको बकपत्र ।

शिव थापाको हत्याको घटनामा प्रतिवादीहरू विजयबहादुर गुरूङ, दुर्गाबहादुर तामाङ र धिरज गुरूङको संलग्नता छैन भन्ने बेहोराको साक्षी गोपाल गुरूङले सुरू अदालतमा गरेको बकपत्र ।

शिव शापाको हत्याको घटनामा प्रतिवादी फत्तबहादुर गुरूङको संलग्नता छैन भन्ने बेहोराको साक्षी इन्द्रबहादुर तामाङले सुरू अदालतमा गरेको बकपत्र ।

शिव थापाको हत्याको घटनामा प्रतिवादी टिकाराम तामाङको संलग्नता छैन भन्ने बेहोराको साक्षी हरिबहादुर तामाङले सुरू अदालतमा गरेको बकपत्र ।

शिव थापाको हत्याको घटनामा प्रतिवादी दुर्गाबहादुर तामाङको संलग्नता छैन भन्ने बेहोराको साक्षी सन्तबहादुर तामाङले सुरू अदालतमा गरेको बकपत्र ।

श्वास नली पूरै काटिएको र मस्तिष्कमा लागेको चोटको कारणले मृतकको मृत्यु भएको हो भन्ने डा.मोना दाहालले गरेको सुरू अदालतमा बकपत्र ।

प्रहरीसमक्ष गरेको कागज बेहोरा ठिक छ भन्ने बुझिएका मनमाया गोतामे, कृष्णकुमारी थापा, गोपीबहादुर थापा, फमकुमारी थापाले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी टेकबहादुर तामाङ, फत्तबहादुर तामाङसमेतका मानिसहरूको मिलेमतोमा राजेन्द्र वि.क. समेतले मेरो श्रीमान्‌को हत्या गरेको हो भन्ने बेहोराको मृतकको श्रीमती नविना थापाले सुरू अदालतमा गरेको बकपत्र ।

घटना आफैँले देखेको होइन । इलाका प्रहरी कार्यालयका कर्मचारीहरूसमेतको सहयोगमा खोजतलास हुँदा पत्ता लागेको हुँदा सोही बेहोराको जाहेरी दरखास्त दिएको हो भन्ने बेहोराको जाहेरवाला भगवान थापाले सुरू अदालतमा गरेको बकपत्र ।

प्रतिवादी बिक्रम भन्ने टेकबहादुर तामाङको पूर्वयोजना सल्लाहअनुसार प्रतिवादी आशबहादुर तामाङ, दुर्गाबहादुर तामाङ, धिरज तामाङसमेतको मिलेमतोमा प्रतिवादी राजेन्द्र वि.क., चन्द्रबहादुर तामाङ, बिक्रम बन्ने टेकबहादुर तामाङ, आशबहादुर तामाङ, दुर्गाबहादुर तामाङ र धिरज तामाङसमेतको संलग्नता रहेको देखिँदा निजहरूको कसुरअनुसार प्रतिवादीहरूमध्येका राजेन्द्र वि.क. र चन्द्रबहादुर तामाङलाई सर्वस्वसहित जन्मकैद, मुख्य वचन दिने प्रतिवादी बिक्रम भन्ने टेकबहादुर तामाङलाई १५ वर्ष कैद, प्रतिवादीहरूमध्येका आशबहादुर तामाङ, दुर्गाबहादुर तामाङ र धिरज तामाङलाई जनही ५ वर्ष कैद तथा प्रतिवादीहरूमध्येका फत्तबहादुर गुरूङ, टिकाराम तामाङ, रामशरण थापा, मनबहादुर तामाङ र विजय गुरूङको आरोपित कसुरमा संलग्नता पुष्टि हुने ठोस तथ्ययुक्त प्रमाण वादी नेपाल सरकारले पेस गर्न नसकेको हुँदा अभियोग दाबीबाट सफाइ पाउने ठहर गरी सुरू धादिङ जिल्ला अदालतबाट मिति २०७०।९।१६ मा भएको फैसला ।

शिव थापालाई मार्नुपर्छ भनी बिक्रम भन्ने टेकबहादुरसँग सल्लाह भई आशबहादुर तामाङले राजेन्द्र वि.क.लाई समेत सल्लाह दिएको र प्रतिवादी धिरज तामाङले आफ्नो साथबाट खुकुरी निकाली चन्द्रबहादुरलाई दिएको भन्ने कुरा प्रतिवादी राजेन्द्र वि.क. र चन्द्रबहादुर तामाङले अनुसन्धानको क्रममा गरेको बयानमा लेखाएको र प्रहरीमा कागज गर्ने सूर्यबहादुर गुरूङ, थीरबहादुर तामाङसमेतले कागज गर्दा यी प्रतिवादीहरू आशबहादुर, दुर्गाबहादुर र धिरज तामाङ मिति २०६९।७।१ का दिन मुखमा रूमाल बाँधेर जंगलतर्फ गएको भनी लेखाएको र सोही साँझ शिव थापाको हत्या गराएको कुरा फैसलामा स्वीकार गरी मार्नलाई वचन दिनेउपर लिनुपर्ने अभियोग माग दाबी मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) अनुसार सजाय ठहर गर्नुपर्नेमा माग दाबी बेगर ऐ. महलको १७(२) तर्फ लगी ५ वर्ष कैद गरेको नमिलेको, प्रतिवादी बिक्रम भन्ने टेकबहादुर तामाङ नै शिव थापा हत्याको मुख्य योजनाकार हुन् भन्ने कुरा मिसिल प्रमाणबाट देखिएको, निजलाई मार्नैपर्छ भनी प्रतिवादी टेकबहादुर तामाङ, धिरज तामाङ, विक्रम तामाङ मिटिङ बसी योजना बनाएको भनी प्रतिवादीमध्येका चन्द्रबहादुर तामाङको बयानबाट प्रस्टै खुलेको अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) नं. को अभियोग माग दाबीलाई ऐ. महलको १६ नं.मा लगी वचन दिने मुख्य मानिस हो भनी खुलिसकेको अवस्थामा कानूनबमोजिम ज्यान मार्नमा वचन दिने प्रतिवादी बिक्रम भन्ने टेकबहादुर (गोजे) तामाङलाई अभियोग माग दाबीअनुसार नगरी ऐ. महलको १६ नं. अनुसार १५ वर्ष कैद भएको त्रुटिपूर्ण फैसला बदरभागी छ । जाहेरी दरखास्तमै किटानी नाम उल्लेख भएका प्रतिवादी फत्तबहादुर तामाङ, टिकाराम तामाङ र रामशरण तामाङउपर बुझिएको मानिसहरूको कागजबाट भलिबल खेलाएको भनी उल्लेख भएको, दार्खा गा.वि.स. वडा नं. ७ स्थित अफिस एरियामा मृतक शिव थापासँग प्रतिवादी फत्तबहादुर तामाङ, टिकाराम तामाङ र रामशरण थापासमेतले विवाद गरेका र तत्‌पश्चात् फत्तबहादुरको घरमा गई मिटिङ गरेको र योजना बनाएको कार्य षड्यन्त्रभित्र पर्ने हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १६ नं. र मनबहादुर तामाङलाई ऐ. महलको १७(१) नं. अनुसारको सजायको मागदाबी लिएकोमा कागज गर्ने नविना थापा, गोपीबहादुर थापा, फमकुमारी थापा, कृष्णकुमारी थापा र मनमाया गोतामेसमेतले यी प्रतिवादीउपर शंका लाग्छ भनी घटनालाई पुष्टि गरिदिएको कागज आधारबाट दोषी ठहर्‍याउनुपर्नेमा अभियोग दाबीबाट सफाइ दिने गरी भएको सुरू फैसला बदर गरी अभियोग दाबीबमोजिम प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी नेपाल सरकारको तर्फबाट तत्कालीन पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।

यसमा सर्वस्वसहित जन्मकैद ठहरेका प्रतिवादी राजेन्द्र वि.क., चन्द्रबहादुर तामाङ, १५ वर्ष कैद सजाय हुने ठहरेका प्रतिवादी बिक्रम भन्ने टेकबहादुर तामाङको जनही १५ वर्षकै सजाय हुने ठहरेका प्रतिवादी आशबहादुर तामाङ, दुर्गाबहादुर तामाङ र धिरज तामाङको पुनरावेदन परे नपरेको पुनरावदन फाँट बुझी म्यादभित्र प्रतिवादीहरूको हकमा साधकतर्फ दर्ता गरी नियमानुसार पेस गर्नु भन्ने बेहोराको तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०७१।९।२० को आदेश ।

यसमा सर्वस्वसहित जन्मकैद ठहरेका प्रतिवादीहरू राजेन्द्र वि.क. र चन्द्रबहादुर तामाङ कैदमा रहेको र साधकको रोहमा ०७१-FJ-००५१ को साधकसमेत साथै पेस भएकोमा निज प्रतिवादीको तर्फबाट कानून व्यवसायी मुकरर भएको नदेखिँदा थुनामा रहेका निज प्रतिवादीहरू राजेन्द्र वि.क. र चन्द्रबहादुर तामाङको तर्फबाट प्रतिरक्षा गरिदिनका लागि यस अदालतका वैतनिक कानून व्यवसायीलाई पेसीको जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने बेहोराको तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०७१।१०।६ को आदेश ।

यसमा प्रतिवादीमध्येका राजेन्द्र वि.क. र चन्द्रबहादुरलाई सर्वस्वसहित जन्मकैद ठहरेकोमा निजहरूको हकमा मुद्दा साधकका रोहमा दर्ता हुन आएको र अन्य प्रतिवादीलाई दाबीअनुरूप सजाय नभएको उपर नेपाल सरकारको पुनरावेदन पर्न आएको देखिएकोले अ.बं. २०२ नं. प्रयोजनार्थ नेपाल सरकारलाई पेसीको जानकारी दिनुका साथै अनुपस्थित प्रतिवादीहरूका नाममा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु भन्ने बेहोराको तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०७१।११।१२ को आदेश ।

प्रतिवादीहरू राजेन्द्र वि.क. र चन्द्रबहादुर तामाङ (गुरूङ) को हकमा धादिङ जिल्ला अदालतले गरेको इन्साफ मनासिब देखिँदा साधक सदर हुने र अन्य प्रतिवादीहरूको हकमा सुरू धादिङ जिल्ला अदालतबाट मिति २०७०।९।१६ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने बेहोराको तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७२।३।२० मा भएको फैसला ।

धादिङ जिल्ला अदालतले फैसला गर्दा वेगबहादुरले गोली बिक्रमलाई हानेको र सो हान्न लगाउने शिव थापा रहेछ भनी अन्य उनाउ व्यक्तिको भनाइको भरमा बिना सबुद दोषी ठहर्‍याउन कदापि मिल्दैन । धादिङ जिल्ला अदालतले वेगबहादुरले गोली हाने नहानेको बारेमा केही नबुझी सोही जरिया बनाई म पुनरावेदकले मृतकप्रति कुनै वैरभाव नरहेको अवस्थामा मार्न लगाएको भनी अत्यन्त सतही र फितलो फैसला गरिएको छ, जुन सरासर कानूनविपरीत छ । म वारदातस्थलमा नरहेको मृतकको मृत्यु समाचारबाट सुनेको भनी अदालतमा रही सत्य बयान गरेकोतर्फ ध्यान नै नदिई जाहेरवाला मौकामा बुझिएका मानिस कोही कसैले मैले मार्न लगाएको भनी लेखाउनसम्म नसकेको अवस्थामा अदालत स्वयंले शंका गरी मलाई शंकाको भरमा दोषी ठहर गरी फैसला गर्नु कदापि मिल्ने होइन । धादिङ जिल्ला अदालतको फैसला अत्यन्तै आत्मनिष्ठ रूपले गरिएको हुँदा उक्त अन्यायपूर्ण फैसला उल्टी बदर गरी मलाई सफाइ हुने गरी न्याय इन्साफ पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी टेकबहादुर तामाङ (गोजे) को तर्फबाट तत्कालीन पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदनपत्र ।

प्रतिवादी बिक्रम भन्ने टेकबहादुर तामाङलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १६ नं. बमोजिम कैद वर्ष १५(पन्ध्र) हुने ठहर गरी सुरू धादिङ जिल्ला अदालतबाट मिति २०७०।९।१६ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर गरी तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७३।०१।६ मा भएको फैसला ।

म पुनरावेदकको मिति २०६७।७।१ मा भएको घटनामा कुनै संलग्नता छैन । मेरो संलग्नता रहे भएको भन्ने तथ्ययुक्त प्रामाणिक दस्ताबेज मिसिलसाथ पेस भई आएको अवस्थासमेत छैन । अदालत र स्वयं अनुसन्धान अधिकृतसमक्ष प्रतिवादी एवं बुझिएका व्यक्तिहरूको बयानबाट समेत खुलेको अवस्था छैन । केवल घटना हुनुभन्दा अघिल्लो दिनको सोही क्षेत्रमा भएको गोली काण्डको सन्दर्भलाई समावेश गरी मसमेतको संलग्नता रहेको भन्ने अनुमान गरिएको छ, जुन बिल्कुल गलत र असान्दर्भिक छ । ज्यानजस्तो फौजदारी मुद्दामा निश्चित किटानी तथ्ययुक्त प्रमाणको अभावमा दोषी ठहर गर्न मिल्दैन । प्रतिवादीमध्येका राजेन्द्र वि.क. ले अनुसन्धान अधिकृत र अदालतमा मिति २०६१।७।१ मा मृतक शिव थापालाई मार्नमा म र चन्द्रबहादुरदेखि बाहेक अन्य कसैको हात नरहेको भनी स्पष्ट र किटानी बकपत्र गरेको र मृतकको लास प्रकृति मुचुल्का एवं शव परीक्षण प्रतिवेदनबाट समेत बरामद भई आएको धारिलो हतियारबाटै टाउको, घाँटी र अन्य भागमा चोट लागेको भन्ने रहेको र बरामद भएको हतियारबाटै मृतकलाई प्रहार गरेको भनी स्पष्टै खुलेको अवस्था छ । जहाँ घटना घटेको छ, सो ठाउँमा राजेन्द्र वि.क. र चन्द्रबहादुर मात्र रहेको भन्ने भएबाट निजदेखि बाहेक अन्य कोही कसैको कुनै प्रकारको संलग्नता नरहेको प्रस्ट मिसिलबाट देखिएको छ । मार्ने कार्यमा संलग्न रहेको व्यक्तिले अन्य व्यक्तिको निर्देशनमा मारेको भन्नेसम्म उल्लेख गरेको छैन । यस्तो हुँदै नभएको तथ्यलाई जोडी निर्णयको आधार कायम गर्न मिल्दैन । पुनरावेदन अदालत पाटनबाट मृतकलाई मार्ने कुरामा मिटिङ बसेको भन्ने अप्रासङ्गिक तथ्यलाई कायम गरी भए गरिएको फैसला प्रमाण ऐन, २०३१ को दफा ३, ५४ को प्रतिकूल रहेको प्रस्ट छ । प्रत्यक्ष प्रमाणको अभावमा भनेको, सुनेको र अनुमानित कारणले मात्रै दोष म पुनरावेदकको काँधमा राख्ने कार्य बिल्कुल न्याय र विधिसङ्गत छैन । पुनरावेदन अदालत पाटनबाट मिति २०७३।१।६ मा फैसला हुँदा यसभन्दा पहिला दायर भएको अन्य प्रतिवादीहरू र नेपाल सरकारको तर्फबाट परेको पुनरावेदनमा यी प्रतिवादीसमेतलाई ज्यानसम्बन्धी महलको १६ नं. बमोजिम फैसला भइसकेको भन्नेसमेत उल्लेख भएको पाइन्छ । उक्त पुनरावेदनपत्रमा आफ्नो दाबी लिई आउने पुनरावेदकको हकमा मात्रै बोल्ने हो । त्यसले मेरो हकको प्रतिनिधित्व गर्न सक्दैन । प्रमाणको मूल्याङ्कनको आधारमा मुद्दाको फैसला हुनुपर्नेमा यसभन्दा अगाडि निर्णय भएको भनी गरिएको फैसला आफैँमा गलत र न्यायसङ्गत नहुँदा उक्त फैसला बदर गरी अभियोग माग दाबीबाट सफाइ पाउँ भन्नसमेत बेहोराको बिक्रम भन्ने टेकबहादुर तामाङ (गोजे) को तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।

यसमा सह-अभियुक्तहरूको बयानमा प्रतिवादी बिक्रम भन्ने टेकबहादुर तामाङको वारदातमा प्रत्यक्ष संलग्नता रहेको भन्ने खुल्न नआएको अवस्थामा निजलाई सजाय गर्ने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०७३।०१।०६ मा भएको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं. २०२ नं. को प्रयोजनार्थ महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७४।११।१५ को आदेश ।

मैले अनुसन्धान तथा अदालतसमेतमा बयान गर्दा कसुरमा साबित रही बयान गरी अदालतलाई सहयोग गरेको अवस्थामा मलाई कानूनबमोजिम मैले पाउने सयाजमा छुट हुने गरी फैसला हुनुपर्नेमा सोतर्फ कुनै विवेचना नै नगरी धादिङ जिल्ला अदालतबाट भएको फैसला नै सदर हुने ठहर गरी पुनरावेदन अदालत पाटनबाट मिति २०७२।३।२० मा भएको फैसला बदर गरी मलाई सजाय घटाई न्याय पाउँ भन्ने बेहोराको पुनरावेदक प्रतिवादी चन्द्रबहादुर तामाङ गुरूङको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।

प्रतिवादी बिक्रम भन्ने टेकबहादुर तामाङउपर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३(४) नं. बमोजिमको कसुरमा १३(४) नं. बमोजिम सजाय हुन अभियोग दाबी रहेकोमा उच्च अदालत पाटनबाट निजउपरको अभियोग दाबी परिवर्तन गरी घटाई ऐ.को १६ नं. बमोजिम कसुर कायम गरी सजाय गरेको अवस्था छ । यी प्रतिवादीउपर किटानी जाहेरी परेको, मृतक शिव थापासँग पूर्वरिसइवी रहेको, सोही कारण अन्य प्रतिवादीलाई भेला जम्मा गराई सरसल्लाह गरी योजना बनाई मृतकलाई मार्नुपर्छ भनी मुख्य भई वचन दिएको तथ्य अभियोग दाबीबमोजिम कसुर कायम भएका प्रतिवादी (सह-अभियुक्त) राजेन्द्र वि.क., चन्द्रबहादुर तामाङसमेतको बयान तथा बुझिएका मानिसहरूको भनाइसमेतबाट देखिएको छ । यी प्रतिवादीले ज्यान मार्ने काममा वा ज्यान मर्न सक्ने कुनै कुरामा मुख्य भई षड्यन्त्र गरी अरू कुनै त्यस्तो कार्य गर्न लगाएको मात्र नभई मृतकलाई मार्नमा मुख्य भई वचन दिएको अवस्था हो । मुख्य भई मार्नमा वचन दिने यी प्रतिवादीउपरको अभियोग दाबी आत्मनिष्ठ तर्कद्वारा परिवर्तन गरी घटाई भएको उक्त फैसला कानूनको व्याख्यामा गम्भीर त्रुटि भई बदरभागी छ ।

प्रतिवादीहरू आसे भन्ने आसबहादुर तामाङ, साइँला भन्ने दुर्गाबहादुर तामाङ, धिरज तामाङउपर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(४) नं. बमोजिमको कसुरमा ऐ. को १३(४) बमोजिम सजाय हुन अभियोग दाबी रहेकोमा उच्च अदालत पाटनबाट अभियोग दाबी परी कर्तव्य गरी घटाई ऐ. को १७(२) नं. बमोजिम कसुर कायम गरी सजाय गरेको अवस्था

छ । यी प्रतिवादीहरू वारदातस्थलमा उपस्थित भई मार्ने कार्यमा निजहरूको भूमिका रहेको तथ्यमा अदालत सहमत छ । यी प्रतिवादीहरूउपर किटानी जाहेरी रहेको, मौकामा बुझिएका गोपीबहादुर थापासमेतका मानिसहरूले यी प्रतिवादीहरूको संलग्न देखाई कागज गरेको, यी प्रतिवादीहरू पनि हातहतियारसहित वारदातस्थलमा रही मृतकको जिउमा हातपात र मृतकलाई मार्नुपर्छ नमारी छाड्नु हुँदैन भनी वचन दिएको तथ्य कसुर कायम भएका सहअभियुक्तहरूको बयानसमेतबाट खुलेको अवस्थामा ज्यान मार्नमा वचन दिने र वारदातस्थलमा गई मार्नमा संयोग पारिदिने यी प्रतिवादीहरूउपरको अभियोग दाबी परिवर्तन गरी घटाई भएको उक्त फैसला यस हदसम्म त्रुटिपूर्ण हुँदा बदरभागी छ ।

प्रतिवादी फत्ते भन्ने फत्तबहादुर गुरूङ, टिकाराम तामाङ, रामशरण थापा मगरले अभियोग दाबीबाट सफाइ पाएउपर हेर्दा निज प्रतिवादीहरूउपर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १६ नं. बमोजिमको कसुरमा ऐ. १६ नं. बमोजिम सजाय हुन अभियोग दाबी रहेकोमा उच्च अदालत पाटनबाट अभियोग दाबीबाट सफाइ पाउने ठहरी फैसला भएको अवस्था छ । यी प्रतिवादीहरूउपर किटानी जाहेरी परेको छ । मृतक शिव थापासँग भलिबल खेलेको स्थानमा यी प्रतिवादीसँग विवाद परेको भन्ने बुझिएका मानिसहरूको कागजसमेतबाट देखिन्छ । विवाद भएपश्चात् प्रतिवादीहरू फत्तबहादुर गुरूङको घरमा गई मिटिङ बसी योजना बनाई सोहीबमोजिम मृतक शिव थापाउपर आक्रमण गरी मृत्यु भएको तथ्य मिसिल संलग्न प्रमाणहरूबाट पुष्टि भइरहेकोमा समग्र मिसिल प्रमाणको विश्लेषण नगरी भएको उक्त फैसला त्रुटिपूर्ण हुँदा बदरभागी छ ।

प्रतिवादी मनबहादुर तामाङउपर मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(१) नं. बमोजिम सजाय दाबी रहेकोमा उच्च अदालत पाटनबाट सफाइ पाउन ठहरी फैसला भएको अवस्था छ । निजका सम्बन्धमा उच्च अदालतले निर्णयमा कुनै बेहोरा नै उल्लेख नगरी सफाइ पाउने ठहर गरेको फैसला त्रुटिपूर्ण छ । यी प्रतिवादीसमेत फत्तबहादुरको घरमा मिटिङमा भएको, प्रतिवादी चन्द्रबहादुर तामाङले मृतकलाई प्रहार गर्न प्रयोग गरेको खुकुरी यी प्रतिवादी मनबहादुरको भएको हुँदा निजले दिएको देखिएको, उक्त खुकुरीमा लागेको रगत यी प्रतिवादीले पखाली राखेको समेतका आधार प्रमाणहरूबाट यी प्रतिवादी मनबहादुर तामाङउपरको अभियोग दाबी पुष्टि भइरहेकोमा निजलाई सफाइ दिने गरी भएको उक्त फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सुरू अभियोगपत्र माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने बेहोराको पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।

ठहर खण्ड

नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी बिक्रम भन्ने टेकबहादुर तामाङ (गोजे) को तर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरू श्री दिनमणि पोख्रेल र श्री राधिका महतले सहप्रतिवादीहरू चन्द्रबहादुर तामाङ र राजेन्द्र वि.क.ले अदालतमा बयान गर्दा निजहरू दुईजना मिली शिव थापाको हत्या गरेका हौँ । हामी २ जनाबाहेक अन्य कोही कसैको हत्यामा संलग्नता छैन भनी बयान गरेको अवस्थालाई नजरअन्दाज गरी केवल अनुसन्धानका क्रममा पुनरावेदक प्रतिवादीहरूले गरेको बयानको भरमा मुख्य वचन दिने व्यक्ति करार गरी १५ वर्ष कैद हुने गरी गरेको फैसला न्यायसम्मत छैन । पुनरावेदक प्रतिवादीले नै मुख्य षड्यन्त्र गरी मृतकलाई मार्ने योजना बनाएको भन्ने तथ्य पुष्टि गर्ने खालका कुनै पनि परिस्थितिजन्य, वस्तुनिष्ठ प्रमाण वादीले पेस गर्न सकेको छैन । यस्तो अवस्थामा न्यूनतम सजायसमेत नहुनेमा सबैभन्दा माथिल्लो हदको सजाय हुने गरी सुरू जिल्ला अदालतबाट भएको फैसला नै सदर हुने ठहर गरी उच्च अदालत पाटनबाट भएको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला उल्टी गरी पुनरावेदक प्रतिवादी बिक्रम भन्ने टेकबहादुर तामाङ (गोजे) लाई अभियोग दाबीबाट सफाइ दिलाइपाउँ भनी गर्नुभएको बहस सुनियो ।

त्यस्तै प्रत्यर्थी वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री कैलास के.सी.ले यी पुनरावेदक प्रतिवादी बिक्रम भन्ने टेकबहादुर तामाङ (गोजे) मौकामा फरार रही म्यादमा हाजिर भई सुरू अदालतमा इन्कार रही बयान गरेको भए तापनि कसुर ठहर भएका सहअभियुक्त प्रतिवादी राजेन्द्र वि.क.ले मौकामा बयान गर्दा यी प्रतिवादीलाई गोली हान्न मृतकले लगाएको हुँदा यसलाई बाँकी राख्न हुँदैन भनी यी प्रतिवादीले पठाएको हो भनी पुनरावेदक प्रतिवादीलाई पोल गरेका छन् । कसुर ठहर भएका अर्का प्रतिवादी चन्द्रबहादुर तामाङले मौकामा बयान गर्दा मृतकलाई मार्ने कुरामा यी प्रतिवादीसमेत बसी मिटिङ गरेको भनी बयान गरेको देखिन्छ । मृतकको श्रीमती, जाहेरवाला र बुझिएका मानिसहरूको बकपत्रसमेतबाट यी पुनरावेदक प्रतिवादी निर्दोष छन् भन्ने विश्वासयोग्य कुनै पनि प्रमाण पुनरावेदकले पेस गर्न नसकेको अवस्थामा निजले अभियोग दाबीबाट सफाइ पाउनुपर्ने होइन । निजलाई सजाय ठहर गरी दुवै तहबाट भएको फैसला कानूनसम्मत भएकोले सोही फैसला सदर गरिपाऊँ । अन्य प्रतिवादीहरूको विरूद्घमा प्रमाणग्राह्य रहेका सम्पूर्ण प्रमाण कागजातको बाबजुद पनि प्रतिवादीहरूमध्येका फत्तबहादुर तामाङ, टिकाराम तामाङ, रामशरण थापा र विजय गुरूङलाई सफाइ दिने तथा प्रतिवादीहरूमध्येका चन्द्रबहादुर तामाङ र राजेन्द्र वि.क. बाहेकका अन्य प्रतिवादीहरूलाई अभियोग दाबीभन्दा कम सजाय हुने ठहर्‍याई सुरू जिल्ला अदालतबाट भएको फैसला नै सदर हुने ठहर गरी उच्च अदालत पाटनबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी निज प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

त्यस्तै पुनरावेदक प्रतिवादी चन्द्रबहादुर तामाङका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री दिनमणि पोख्रेलले पुनरावेदक प्रतिवादीले अनुसन्धानको क्रममा तथा अदालतसमेतमा बयान गर्दा कसुरमा साबित रही बयान गरी अदालतलाई सहयोग गरेको अवस्थामा निजलाई सजायमा छुट हुनुपर्नेमा सो नभएकोले निजको हक सजायमा केही छुट दिलाइपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।

पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् कानून व्यवसायीहरू र पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ताले गर्नुभएको बहस सुनी पुनरावेदनपत्रसहितको मिसिल संलग्न कागजातहरू अध्ययन गरी हेर्दा तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक वादी/प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ, सक्दैन ? भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी विक्रम भन्ने टेकबहादुर तामाङ (गोजे) ज्यान मार्नको लागि वचन दिने मुख्य मानिस हो भनी खुल्न आएको देखिँदा निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १६ नं. बमोजिम कैद वर्ष १५ (पन्ध्र) हुने ठहर्‍याई सुरू धादिङ जिल्ला अदालतबाट भएको फैसलामा निज प्रतिवादीले चित्त नबुझाई तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनरावेदन दिएकोमा सो अदालतबाट सुरू फैसला सदर हुने ठहर गरी भएको फैसलामा चित्त नबुझाई निज प्रतिवादीले यस अदालतमा पुनरावेदनपत्र पेस गरेको देखिन्छ । यसैगरी अनुसन्धान तथा अदालतसमेतमा बयान गर्दा कसुरमा साबित रही बयान गरी अदालतलाई सहयोग गरेको अवस्थामा मलाई कानूनबमोजिम मैले पाउने सजायमा छुट हुने गरी फैसला हुनुपर्नेमा सोतर्फ कुनै विवेचना नै नगरी सुरू अदालतबाट भएको फैसला नै सदर हुने ठहर गरी उच्च अदालत पाटनबाट मिति २०७२।३।२० मा भएको फैसला बदर गरी मलाई सजाय घटाई न्याय पाउँ भनी प्रतिवादी चन्द्रबहादुर तामाङले पुनरावेदनपत्र पेस गरेको देखिन्छ । यस्तै प्रतिवादीहरूको विरूद्घमा प्रमाणग्राह्य रहेका सम्पूर्ण प्रमाण कागजातको बाबजुद पनि प्रतिवादीहरूमध्येका फत्तबहादुर तामाङ, टिकाराम तामाङ, रामशरण थापा र विजय गुरूङलाई सफाइ दिने तथा प्रतिवादीहरूमध्येका चन्द्रबहादुर तामाङ र राजेन्द्र वि.क. बाहेकका अन्य प्रतिवादीहरूलाई अभियोग दाबीभन्दा कम सजाय हुने ठहर्‍याई सुरू जिल्ला अदालतबाट भएको फैसला नै सदर हुने ठहर गरी उच्च अदालत पाटनबाट भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी निज प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम नै सजाय गरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट समेत पुनरावेदनपत्र पेस हुन आएको देखियो ।

३. यसमा मिति २०६७।७।१ गते मेरो भाइ शिव थापा मगरलाई धादिङ जिल्ला, दार्खा गा.वि.स. वडा नं. ६ बस्ने राजेन्द्र वि.क.समेतका मानिसहरूले धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेको हुँदा निजहरूउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको जाहेरी परी अनुसन्धान भई प्रस्तुत मुद्दामा प्रतिवादीहरू राजेन्द्र वि.क., चन्द्रबहादुर तामाङ, आसबहादुर तामाङ, दुर्गाबहादुर तामाङ, धिरज तामाङ, बिक्रम भन्ने टेकबहादुर तामाङ, विजय गुरूङ, फत्तबहादुर गुरूङ, टिकाराम गुरूङ, रामशरण थापा, मानबहादुर तामाङसमेतले मृतक शिव थापालाई कर्तव्य गरी मारी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत कसुर गरेको पुष्टि भएकोले प्रतिवादीहरू राजेन्द्र वि.क. र चन्द्रबहादुर तामाङलाई ज्यानसम्बन्धीको दफा १३(१) नं. बमोजिम, प्रतिवादीहरू आसबहादुर तामाङ, दुर्गाबहादुर तामाङ, धिरज तामाङ, बिक्रम भन्ने टेकबहादुर तामाङ, विजय गुरूङसमेतलाई ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम र प्रतिवादीहरू फत्तबहादुर गुरूङ, टिकाराम गुरूङ, रामशरण थापालाई ज्यानसम्बन्धी महलको १६ नं. बमोजिम र प्रतिवादी मनबहादुर तामाङलाई ज्यानसम्बन्धी महलको १७(१) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेकोमा प्रतिवादीहरू राजेन्द्र वि.क. र चन्द्रबहादुर तामाङलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. सर्वस्वसहित जन्मकैद, प्रतिवादी बिक्रम भन्ने टेकबहादुर तामाङलाई ऐ. महलको १६ नं. बमोजिम १५ (पन्ध्र) वर्ष कैद, प्रतिवादीहरू आसबहादुर तामाङ, दुर्गाबहादुर तामाङ र धिरज तामाङलाई सोही महलको १७(२) बमोजिम ५(पाँच) वर्ष कैद हुने र प्रतिवादीहरू फत्तबहादुर तामाङ, टिकाराम तामाङ, मनबहादुर तामाङ, रामशरण थापा र विजय गुरूङले अभियोग दाबीबाट सफाइ पाउने ठहर गरी सुरू धादिङ जिल्ला अदालतबाट मिति २०७०।९।१६ मा भएको फैसला सदर हुने ठहर्‍याई तत्कालीन पुनरावेदन अदालत पाटनबाट अन्य प्रतिवादीहरूको हकमा मिति २०७२।३।२० मा र प्रतिवादी बिक्रम भन्ने टेकबहादुर तामाङको हकमा मिति २०७३।१।६ मा फैसला भएको

देखियो । मिसिल संलग्न जाहेरी दरखास्त, घटनास्थल तथा लास प्रकृति मुचुल्का, मृतकको शव परीक्षण प्रतिवेदन, प्रतिवादीहरू राजेन्द्र वि.क. र बिक्रम भन्ने चन्द्रबहादुर तामाङसमेतका प्रतिवादीहरूले अनुसन्धानको क्रममा र अदालतमा गरेको बयान एवं मौकामा बुझिएका जाहेरवालासमेतका मानिसहरूले अदालतसमक्ष गरेको बकपत्रसमेतबाट मृतक शिव थापाको मृत्यु कर्तव्यबाट भएको भन्ने तथ्यमा विवाद रहेन ।

४. मिसिल संलग्न प्रतिवादीमध्येका राजेन्द्र वि.क. र चन्द्रबहादुर तामाङको बयानसमेतबाट वारदातमा निजहरूबाहेक अन्य कोही कसैको कुनै प्रकारको संलग्नता रहेको तथ्य मिसिलबाट प्रस्ट नदेखिएको अवस्थामा आफूलाई वचन दिने मुख्य मानिसको रूपमा कसुर ठहर गरी सजाय भएको सुरू तथा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला नमिलेको हुँदा उक्त फैसला बदर गरी अभियोग दाबीबाट सफाइ पाउँ भन्ने पुनरावेदक/प्रतिवादी टेकबहादुर तामाङ (गोजे) को पुनरावेदन जिकिरको सम्बन्धमा विचार गर्दा, प्रतिवादीमध्येका राजेन्द्र वि.क.ले मौकामा र सुरू अदालतसमक्ष बयान गर्दा, “मिति २०६७।७।१ मा मृतक शिव थापालाई मार्नमा म र चन्द्रबहादुरदेखि बाहेक अन्य कसैको हात नरहेको” भनी स्पष्ट र किटानी बयान गरेको देखिन्छ । मृतकको लास प्रकृति मुचुल्का एवं शव परीक्षण प्रतिवेदनअनुसार धारिलो हतियारबाट निजको टाउको, घाँटी र अन्य भागमा चोट लागेको भन्ने देखिएको र बरामद भएको हतियारबाटै मृतकलाई प्रहार गरेको भन्ने तथ्य स्पष्ट खुलेको देखिन्छ ।

५. प्रतिवादीमध्येका राजेन्द्र वि.क.ले अनुसन्धानको क्रममा “प्रतिवादीहरू दुर्गाबहादुर, चन्द्रबहादुर तामाङ र धिरज तामाङसँग भेट भएपछि बिक्रमलाई गोली हान्न शिव थापाले लगाएको रहेछ । यसलाई बाँकी राख्न हुँदैन भनी विजय तामाङ र बिक्रम तामाङले हामीलाई पठाएको हो । बिक्रमलाई गोली हान्न लगाउनेले हामीलाई पनि बाँकी राख्दैन भनी सरसल्लाह गरी शिव थापा आउने बाटोमा गई लुकी, बसी शिव थापा आई चन्द्रबहादुर तामाङ, दुर्गा तामाङ र मसँग हात मिलाएर जान लागेपछि शिव थापा यही हो भनेर चिनाई चन्द्रबहादुर तामाङले पछाडिपट्टिबाट खुकुरीले हानेको हो । मृतक अइया भनी लडी बाटोबाट तल खस्न गएपछि चन्द्रबहादुर, म, दुर्गाबहादुर, आशबहादुर र धिरज पनि आई तलै गएपछि चन्द्रबहादुरले तँ पनि हान् भनेकोले मैले पनि निजलाई खुकुरीले हानेको

हो । दुर्गाबहादुर, आशबहादुर र धिरजले हान्न उक्साएको र निजहरूले समेत हातपात गरी अब यो बाँच्दैन जाऔं भनी गएको हो । मसमेतले शिव थापाको हत्या गरेको हो” भनी कसुरमा साबित हुँदै बयान गरेको पाइन्छ ।

६. यसैगरी अर्का प्रतिवादी चन्द्रबहादुर तामाङले मौकामा अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा धिरज तामाङले धुनिखोलातर्फ घुम्न जाउँ भनी बाटोमा हिँड्दै गर्दा बिक्रमलाई गोली हान्न शिव थापाले लगाएको रहेछ, यसलाई नमारी गाउँ शान्त हुँदैन भनेको छ । बिक्रम, विजय र म (चन्द्र) समेत बसी मिटिङ गरी शिव थापालाई खतम गर्ने कुरा भएको छ । यसमा तपाइँले पनि साथ दिनुपर्छ भनेपछि मैले हुन्छ भनी धुनीको जंगलमा पुग्दा आशबहादुर, दुर्गाबहादुर र राजेन्द्र बसेका रहेछन् । निजहरूसँग भेट भएपछि अब हामी पातालभिर जंगलमा जाने, शिव थापा त्यही बाटो भएर घर जान्छ भनी आशबहादुरले भनेपछि हामी सबैजनाले सल्लाह गरी पातालभिर जंगलमा गई रक्सी र चाउचाउ खाई बाटो ढुकी बसेको अवस्थामा शिव थापा त्यहीँ बाटो भएर आएपछि हामीसँग हात मिलाएर अगाडि गएपछि राजेन्द्र वि.क. पछाडिबाट गएर निजको टाउकोमा हानेको र निज शिव थापा भिरबाट तल खसेपछि तल गएर निजको घाँटीमा काटी आशबहादुर, दुर्गाबहादुर र धिरजले यो बाँच्यो भने हामी सत्यानास हुन्छौं, नमारी छाड्नु हुँदैन भनी निजको शरीरमा हातपात गरेपछि निजको शरीर तलासी लिई अब मर्‍यो केही गर्न सक्दैन भनी घरतर्फ गएको हो भनी निजले समेत कसुरमा साबित हुँदै बेहोरा लेखाएको पाइन्छ ।

७. प्रतिवादीहरू राजेन्द्र वि.क. र चन्द्रबहादुर तामाङले अदालतमा बयान गर्दा मृतकलाई आफूहरूले मात्र मारेको भनी बयान गरेको देखिए तापनि प्रतिवादी राजेन्द्र वि.क.ले अनुसन्धानको क्रममा गरेको बयानको स.ज. ५ मा “धिरज तामाङ, आसे र दुर्गा तामाङ शिव थापालाई मार्न भनी पहिला गएकोमा पछि हामीहरूले मारेको हो” भनी मृतकलाई मार्ने कुरामा धिरज तामाङ, आशबहादुर तामाङ र दुर्गा तामाङसमेतको सरसल्लाह रहेको र निजहरूले मृतकलाई मार्नको लागि संयोग पारिदिएको भन्ने कुरा पुष्टि हुन आएको देखिन्छ । त्यसै गरी अदालतमा आफूहरूले मृतकलाई मारेको हौं भनी साबित हुने प्रतिवादीहरूले मृतक शिव थापालाई मार्नुपर्ने कारणमा राजेन्द्र वि.क.को भिनाजु नाता पर्ने बिक्रम भन्ने टेकबहादुर तामाङलाई गोली हानेको विषयलाई शिव थापाले डिसमिस गराउनु रहेको भन्ने उल्लेख गरेबाट बिक्रम भन्ने टेकबहादुर थापालाई गोली हानेको विषयलाई डिसमिस गराएको भन्ने जरिया बनाई योजनाबद्घरूपबाट बाटो गौंडा छेकी धारिलो हतियारसमेत प्रयोग गरी आक्रमण गरेको अवस्था देखिन्छ । जरियाको रूपमा रहेको बिक्रम भन्ने टेकबहादुर तामाङ प्रस्तुत वारदातमा उपस्थित रहेको नदेखिए पनि प्रतिवादीहरूले मौकामा अनुसन्धान अधिकारीसमक्ष गरेको बयानबाट निज मुख्य भई षड्यन्त्र गर्ने र मार्न लगाउने कार्यमा संलग्न रहेको देखिएको छ । प्रतिवादी बिक्रम भन्ने टेकबहादुर तामाङको पूर्वयोजना सल्लाहअनुसार प्रतिवादी आशबहादुर तामाङ, दुर्गाबहादुर तामाङ, धिरज तामाङसमेतको मिलेमतोमा प्रतिवादी राजेन्द्र वि.क. र चन्द्रबहादुर तामाङसमेत मिली धारिलो हतियार प्रयोग गरी मृतक शिव थापालाई कर्तव्य गरी मारेको तथ्य मिसिल संलग्न कागजातबाट पुष्टि हुन आएको देखिन्छ ।

८. प्रतिवादीमध्येका चन्द्रबहादुर तामाङ र राजेन्द्र वि.क. दुवैले बिक्रम भन्ने टेकबहादुर तामाङसमेत बसी मृतक शिव थापालाई खतम गर्ने भनी मिटिङ बसेको भनी मौकामा बयान गरेबाट यी पुनरावेदक/प्रतिवादीको वारदातमा कुनै संलग्नता छैन भन्ने कुरा विश्वासयोग्य देखिँदैन । निज प्रतिवादीहरूले अदालतमा बयान गर्दा आफ्नो नाम उल्लेख नगरेको अवस्थामा मौकाको बयानमा आफ्नो नाम उल्लेख गरेको आधारमा आफूलाई घटनाको मुख्य योजनाकार ठहर गरी सजाय गरेको मिलेन भन्ने पुनरावेदक विक्रम भन्ने टेकबहादुर तामाङ (गोजे) को जिकिर दुवै प्रतिवादीहरूले घटनाको बारेमा सिलसिलेवाररूपमा मौकामा गरेको बयानबाट निजको जिकिर खण्डित भइरहेको परिप्रेक्ष्यसमेतबाट पुनरावेदकको जिकिर युक्तिसङ्गत देखिन आएन ।

९. प्रतिवादीहरूले मौकामा अनुसन्धान अधिकारीसमक्ष गरेको बयानलाई प्रमाणमा लिन मिल्छ वा मिल्दैन भन्ने सन्दर्भमा हेर्दा प्रमाण ऐन, २०३१ को दफा ९(२) मा उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनिः

(क) फौजदारी मुद्दामा कुनै अभियुक्तले निजलाई लगाइएको अभियोगको सम्बन्धमा अदालतबाहेक अन्यत्र व्यक्त गरेको कुरा अदालतले देहायबमोजिम ठहराएमा प्रमाणमा लिन हुन्छः

(ख) सो कुरा व्यक्त गर्दा अभियुक्त सचेत अवस्थामा र आफूले भनेको र गरेको कुरा बुझ्न सक्ने अवस्थामा थियो ।

(ग) निजलाई बाध्य गरी वा निज वा अरू कसैलाई यातना दिई वा यातना दिने धम्की दिई वा निजलाई आफ्नो इच्छा विरूद्घ सो कुरा व्यक्त गर्ने स्थितिमा पारी सो कुरा व्यक्त गरेको

होइन ।

(घ) सो अभियोगबारे कुनै सार्वजनिक अधिकारीले गर्ने कारबाहीको सम्बन्धमा यस्तो धम्की वा विश्वास पर्ने आश्वासन दिएको थिएन जसबाट निजले सो कुरा असत्य रूपमा व्यक्त गर्ने सम्भावना थियो र जुन धम्की वा आश्वासन कार्यान्वित गर्न सक्ने अधिकार र शक्ति सो अधिकारीलाई थियो भन्ने कुरा निजले युक्तिसङ्गत रूपमा विश्वास गरेको थियो ।” भन्ने उल्लेख भएको देखिन्छ ।

१०. उक्त कानूनी व्यवस्थाको रोहमा हेर्दा सहअभियुक्त चन्द्रबहादुर तामाङ र राजेन्द्र वि.क.ले मौकामा बयान गर्दा आफूहरू अचेत अवस्थामा रहेको, आफूले भनेको र गरेको कुराहरू बुझ्न नसक्ने अवस्थामा रहेको भन्ने उल्लेख गरेको देखिँदैन । यसैगरी आफूलाई बाध्य गरी वा निज वा अरू कसैलाई यातना दिई वा यातना दिने धम्की दिई वा निजलाई आफ्नो इच्छा विरूद्घ सो कुरा व्यक्त गर्ने स्थितिमा पारी सो कुरा व्यक्त गरेको भन्ने पनि देखिँदैन । प्रतिवादीहरूलाई सो कुरा व्यक्त गर्न सार्वजनिक अधिकारीले धम्की वा आश्वासन दिएको भन्ने कुरासमेत पुष्टि गरी अन्यथा साबित गर्न प्रतिवादीहरूले नसकेको अवस्थामा वारदातको सम्बन्धमा निजहरूले मौकामा सिलसिलेवाररूपमा खुलाई लेखाइदिएको बेहोरा प्रमाणमा लिन मिल्ने नै देखियो । साथै घटना विवरण कागज गर्ने व्यक्तिहरू फम कुमारी थापा मगर, कृष्णकुमारी थापा मगर, मनमाया गोतामेले मौकामा कागज गर्दा यी प्रतिवादी बिक्रम भन्ने टेकबहादुर तामाङसमेतले वादविवाद गरी मृतकलाई उठाएर केही पर लगेका हुन् भनी गरेको कागज बेहोरालाई अदालतमा गरेको बकपत्रबाट पुष्टिसमेत गरेको पाइन्छ । त्यस्तै यी प्रतिवादीको मिलेमतोमा मृतकको हत्या भएको हो भनी किटान गरी मृतकको श्रीमती नविना थापाले बकपत्र गरेको देखिन्छ । यसरी माथि उल्लिखित सम्पूर्ण तथ्यबाट यी पुनरावेदक प्रतिवादीलाई गोली हानेकै विषयबाट मृतकलाई मार्ने विषयमा मिटिङ बसी मृतकलाई मारेको भन्ने तथ्य ठहर हुनेमध्येका प्रतिवादीहरू राजेन्द्र वि.क. र चन्द्रबहादुर तामाङले गरेको बयान, मृतकको श्रीमती नविना थापा, जाहेरवाला र बुझिएका मानिसहरूले अदालतसमक्ष गरेको बकपत्रसमेतबाट यी पुनरावेदक प्रतिवादी बिक्रम भन्ने टेकबहादुर तामाङ (गोजे) कसुरदार रहेको पुष्टि हुन आयो । त्यसकारण यी पुनरावेदक प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १६ नं. अनुसारको कसुरमा सोही नं. बमोजिम १५ वर्ष कैद हुने ठहर गरी सुरू जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्‍याई तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७३।१।६ मा भएको फैसला कानूनसम्मत देखिएकोले प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

११. अब, अर्का पुनरावेदक प्रतिवादी चन्द्रबहादुर तामाङको पुनरावेदन जिकिरको सम्बन्धमा विचार गर्दा, यी पुनरावेदकले मौकामा अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा, “म निजको पछाडिबाट गएर खुकुरीले पछाडि टाउकोमा हिर्काएपछि निज अइया भनी तल बाटोमुनि खस्यो, अनि त्यहाँ गएर मैले घाँटीमा हानेपछि राजेन्द्रलाई पनि हान् भनेपछि निजले पनि हानेको हो । धिरज, दुर्गा, आसबहादुरले यो बाँच्यो भने हामी सत्यानास हुन्छौं भनेपछि निज बाँच्छ भनी फेरि २/३ चोटि मैले निजलाई खुकुरी प्रहार गरेको हो” भनी बेहोरा लेखाइदिएको देखिन्छ भने अदालतसमक्ष बयान गर्दा, “शिव थापा र राजेन्द्रको वादविवाद हुँदै जाँदा राजेन्द्रले खुकुरी निकाली शिवलाई हातमा हिर्काए शिवले फेरि राजेन्द्रलाई हातले हिर्काएकोले राजेन्द्रले खुकुरी निकाली शिवलाई हातमा हान्दा शिवको हात छिन्न पुग्यो । त्यसपछि टाउको, गर्दनमा हाने र लात्ती हानी बाटो तल पुगे । त्यसपछि म गएर एकपटक खुकुरीले घाँटीमा हिर्काएँ र हामी दुवैजना आफ्नो घरतर्फ गएका हौं । सोबमोजिम म र राजेन्द्र मिली शिव थापाको हत्या गरेका हौं” भनी उल्लेख गरेको देखिछ ।

१२. त्यसैगरी अर्का प्रतिवादी राजेन्द्र वि.क., चन्द्रबहादुर तामाङले पछाडिपट्टिबाट खुकुरीले हानेको हो । मृतक अइया भनी लडी बाटोबाट तल खस्न गएपछि चन्द्रबहादुर, म, दुर्गाबहादुर, आसबहादुर र धिरज पनि तलै गएपछि चन्द्रबहादुरले तँ पनि हान् भनेकोले मैले पनि निजलाई खुकुरी हानेको हो भनी अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरको र अदालतसमक्ष मैले पहिला निजलाई हातले शरीरमा हिर्काएँ, त्यसपछि उसले मलाई हातले हिर्कायो । मलाई रिस उठेर आएपछि आफूले ल्याएको खुकुरी निकाली हिर्काउँदा उसले हातले छेक्दा हातमा लागी हात छिन्न पुग्यो । त्यसपछि फेरि पनि मसँग आइलागेकोले मैले निजको घाँटीमा खुकुरीले हानेँ । उनी ढले, ढलेपछि चन्द्रबहादुरले पनि खुकुरी हाने । मृतक ढली मरेको जस्तो भएपछि हामी त्यहाँबाट घरतर्फ गएका हौं । चन्द्रबहादुर तामाङ र म मिली शिव थापालाई कर्तव्य गरी मारेको हो भनी कसुर गरेकोमा स्वीकार गरी बयान गरेको देखिन्छ । पोस्टमार्टम रिपोर्टसमेतबाट मृतकको मृत्यु धारिलो हतियारको प्रहारबाट भएको भन्ने देखिएको, प्रतिवादीहरू राजेन्द्र वि.क. र चन्द्रबहादुर तामाङ (गुरूङ) ले अनुसन्धान अधिकारीसमक्ष तथा अदालतसमक्ष गरेको साबिती बयानसमेतको आधारबाट यी पुनरावेदक प्रतिवादीले मृतक शिव थापालाई मार्छु भन्ने नियत राखी पूर्वतयारीसहित मार्ने कार्य सम्पन्न गरेको भन्ने तथ्य पुष्टि भएको देखिन्छ ।

१३. कुनै एक व्यक्तिलाई अन्य प्रतिवादीहरूसँग यसलाई मार्नुपर्छ भनी मिटिङ बसी अन्य व्यक्तिहरूसमेतको संलग्नतामा मृतक आउने बाटो ढुकी मृतकलाई आएपछि मार्नुपर्छ भन्ने पूर्वयोजना र मनसायसहित मृतकलाई खुकुरीजस्तो धारिलो हतियारले एकपटक मात्र नभई पटकपटक प्रहार गरेको र मृतकको मृत्यु भयो भन्ने कुराको यकिन गरेर मात्र मृतकलाई घटनास्थलमा छोडी गएको परिवेशबाट यी पुनरावेदक प्रतिवादीको आपराधिक मनसाय आपराधिक कार्यमा परिणत भएको स्पष्ट देखिन्छ । आफूले गरेको कार्यप्रति कुनै पनि पश्चाताप र हिनताबोध महसुस नगर्ने यी पुनरावेदक प्रतिवादीले केवल अदालत सामु अपराध गरेको तथ्यमा साबिती रही गरेको बयानका आधारमा मात्र निजलाई कानूनबमोजिमको सजायमा छुट दिनुपर्छ भन्नु युक्तिसङ्गत हुँदैन । अपराध घटाई घटनाको बारेमा स्वीकार गरी अदालतलाई मैले सहयोग गरेँ भनेको आधारमा मात्र अदालतले अपराधकर्तालाई सजायमा छुट दिँदै जाने हो भने एकातर्फ त्यस्ता अपराधकर्तालाई पुन: समाजमा गएर अर्को अपराध गर्नलाई प्रेरित गरेसरह हुन्छ भने अर्कोतर्फ अपराधबाट पीडामा परेका व्यक्तिहरूको न्याय प्राप्ति र आत्मसन्तुष्टिमा पुग्न सक्ने चोटको नजरअन्दाजसमेत गर्न सकिँदैन । यसबाट समाजमा पर्नसक्ने असरलाई समेत कम आँकलन गर्न मिल्दैन । तसर्थ, यी पुनरावेदक प्रतिवादी चन्द्रबहादुर तामाङलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ (१) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याई धादिङ जिल्ला अदालतबाट भएको फैसला सदर हुने ठहर्‍याई तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला अन्यथा देखिन आएन ।

१४. अब, वादी नेपाल सरकारको पुनरावेदन जिकिरको सम्बन्धमा विचार गर्दा, प्रतिवादी बिक्रम भन्ने टेकबहादुर तामाङले शिव थापालाई मार्नुपर्छ भन्ने आदेश दिएअनुसार आफूहरूले मृतक शिव थापालाई धारिलो हतियार प्रहार गरी मारेको हो भनी प्रतिवादीमध्येका राजेन्द्र वि.क. र चन्द्रबहादुर तामाङले अनुसन्धान अधिकारीसमक्ष बयान गरेको देखिन्छ । त्यसैगरी मृतक शिव थापालाई मार्नको लागि टेकबहादुर तामाङ, धिरज तामाङ, बिक्रम भन्ने टेकबहादुर तामाङसमेत मिटिङ बसेको भन्ने कुरा प्रतिवादीमध्येका चन्द्रबहादुर तामाङको बयानबाट खुल्न आएको देखिन्छ । मिसिल संलग्न प्रमाण कागजातबाट यी प्रतिवादी वारदातस्थलमा उपस्थित रहेको भन्ने नदेखिए पनि मृतक शिव थापालाई मार्ने योजना, षड्यन्त्रमा निजको संलग्नता रहे भएको देखिन आयो ।

१५. मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १६ नं. ले “ज्यान मार्ने काममा वा ज्यान मर्न सक्ने कुनै कुरामा मुख्य भई षड्यन्त्र गर्ने वा त्यस्तो काम गर्न लगाउनेलाई ज्यान मारेको रहेछ भने १० वर्षदेखि १५ वर्षसम्म कैद गर्नुपर्छ” भन्ने व्यवस्था गरेको देखिन्छ । उल्लिखित कानूनी व्यवस्थाअनुसार ज्यान मार्ने काममा वा ज्यान मर्न सक्ने कुनै कुरामा मुख्य भई षड्यन्त्र गर्ने वा त्यस्तो काम गर्न नहुने र त्यसो गरेबाट कसैको ज्यान मारेकोमा त्यस्तो व्यक्तिलाई १५ वर्षसम्म कैद हुनसक्ने देखिन्छ । माथि विवेचना गरिएका प्रमाणहरूबाट यी प्रतिवादी बिक्रम भन्ने टेकबहादुर तामाङ मृतक शिव थापालाई मार्ने कार्यको लागि मुख्य वचन दिने व्यक्तिका रूपमा रहेको र मार्ने योजनाको लागि बैठक बसेको भन्नेसमेत देखिँदा निजलाई सोही महलको १६ नं. बमोजिम कैद वर्ष १५ (पन्ध्र) सजाय गर्ने गरेको सुरू फैसलालाई सदर हुने ठहर गरी तत्कालीन पुनरावेदन अदालत पाटनबाट मिति २०७३।१।६ मा भएको फैसला अन्यथा देखिन आएन ।

१६. तत्काल अनुसन्धानको क्रममा कागज गर्ने सूर्य गुरूङ, वीरबहादुर तामाङले कागज गर्दा “मिति २०६९।७।१ गतेका दिन मुखमा रूमाल बाँधेर आसबहादुर तामाङ, दुर्गाबहादुर तामाङ र धिरज़ तामाङ पातालभिरको जंगलतर्फ गएको उल्लेख गरेको पाइन्छ । त्यसैगरी मिति २०६७।७।१ गते दार्खा अफिस एरियामा भलिबल हेर्न गएको अवस्थामा आसबहादुरसँग भेट भएपछि एउटा काम छ तिमी मसँग हिँड भनेपछि म निजसँग गई दार्खा खोलाछेउमा दुर्गाबहादुर, चन्द्रबहादुर तामाङ, धिरज तामाङसँग भेट भएपछि बिक्रमलाई गोली हान्न शिव थापाले लगाएको रहेछ, यसलाई बाँकी राख्न हुन्न भनी सरसल्लाह भई शिव थापा आउने ठाउँमा लुकी बसेको, चन्द्रबहादुर तामाङले पछाडिपट्टिबाट खुकुरी हानेको, मृतक अइया भनी लडी बाटोबाट तल खस्न गएपछि चन्द्रबहादुर, म, दुर्गाबहादुर, आसबहादुर र धिरज पनि आई तलै गएपछि चन्द्रबहादुरले तँ पनि हान् भनेपछि मैले पनि खुकुरी हानेको हो भनी प्रतिवादीमध्येको राजेन्द्र वि.क.ले अनुसन्धान अधिकारीसमक्ष बयान गरेको र अर्का प्रतिवादी चन्द्रबहादुर तामाङले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा धिरज तामाङले यो खुकुरी बोक्, केही काम गर्नुछ भनी धुनी खोलातिर घुम्न जाउँ भनेको र पातालभिर जंगलको बाटोमा पुग्दा आसबहादुर, दुर्गाबहादुर र राजेन्द्र बसेका रहेछन्” भनी उल्लेख गरेको पाइन्छ । यसरी यी दुई प्रतिवादीहरूको बयानबाट उक्त दिनको वारदातमा अन्य प्रतिवादीहरू धिरज तामाङ, आसबहादुर र दुर्गाबहादुरको समेत उपस्थिति रहेको भन्नेसम्म देखिन आउँछ । मिसिल संलग्न कागजातबाट यी प्रतिवादीहरूले मार्नको लागि हतियार प्रयोग गरेको भन्ने कुरा कहीँतैबाट खुल्न नआएको अवस्थामा निजहरूलाई समेत अभियोग दाबीअनुसार नै सजाय हुनुपर्दछ भन्ने नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

१७. अपराधमा साबिती भई बयान गर्ने प्रतिवादीहरू राजेन्द्र वि.क. र चन्द्रबहादुर तामाङले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा प्रतिवादीमध्येको फत्तबहादुर तामाङ, टिकाराम तामाङ, मनबहादुर तामाङ, रामशरण थापा र विजय गुरूङसमेतको संलग्नता रहेको भन्ने कुरा खुलाएको देखिँदैन । अनुसन्धान अधिकारीसमक्ष कागज गर्ने सूर्यबहादुर गुरूङ, वीरबहादुर तामाङले कागज गर्दा यी प्रतिवादीहरूलाई देखेको र यी प्रतिवादीको संलग्नता थियो भनी कहीँकतै उल्लेख गर्न सकेको देखिँदैन । मौकामा अनुसन्धान अधिकारीसमक्ष कागज गर्ने नविना थापा, गोपीबहादुर थापा, फमकुमारी थापा, कृष्णकुमार थापा र मनमाया गोतामेले शंका लाग्छ भनी गरेको कागजको भरमा शङ्काको आधारमा मात्र निजहरूलाई सजाय गर्नु फौजदारी न्यायको मान्य सिद्धान्त प्रतिकूल हुने हुँदा निज प्रतिवादीहरूले अभियोग दाबीबाट सफाइ पाउने ठहर गरी सुरू अदालतबाट भएको फैसला सदर हुने ठहर्‍याई तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला अन्यथा देखिन आएन । त्यसकारण प्रतिवादीहरू फत्तबहादुर तामाङ, टिकाराम तामाङ, मनबहादुर तामाङ, रामशरण थापा र विजय गुरूङलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन ।

१८. तसर्थ, माथि विवेचित आधार, कारण र प्रमाणसमेतबाट धादिङ जिल्ला अदालतबाट मिति २०७०।९।१६ मा भएको फैसला सदर हुने ठहर गरी तत्कालीन पुनरावेदन अदालत पाटनबाट अन्य प्रतिवादीहरूको हकमा मिति २०७२।३।२० र प्रतिवादी बिक्रम भन्ने टेकबहादुर तामाङ (गोजे) को हकमा मिति २०७३।१।६ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकार र पुनरावेदक प्रतिवादीहरू बिक्रम भन्ने टेकबहादुर तामाङ (गोजे) र चन्द्रबहादुर तामाङको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादी राजेन्द्र वि.क. र चन्द्रबहादुर तामाङलाई अभियोग दाबीबमोजिमको कसुरमा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद ठहरेकोमा मुलुकी अपराध संहिता, २०७४ को दफा ४०(२) मा “कुनै कसुरबापत सर्वस्वको सजाय हुने रहेछ भने यो संहिता प्रारम्भ भएपछि त्यस्तो कसुरमा सजाय गर्दा सर्वस्व हुने गरी सजाय गरिने छैन” भन्ने उल्लेख भएको हुँदा सो कानूनी व्यवस्थाबमोजिम निज प्रतिवादीहरूको हकमा सर्वस्व गरिरहन परेन । प्रतिवादीहरू राजेन्द्र वि.क. र चन्द्रबहादुर तामाङको हकमा सुरू अदालतमा कायम रहेको सर्वस्वको लगत कट्टा गर्नु भनी धादिङ जिल्ला अदालतमा लेखी पठाइदिनु र प्रस्तुत फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरी मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.तिलप्रसाद श्रेष्ठ

इजलास अधिकृत (शाखा अधिकृत) : हिरा डंगोल

इति संवत् २०७९ साल भाद्र २८ गते रोज ३ शुभम् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2024 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri