जेठ १२, काठमाडौं । तिमीसित मेरो खासै उठबस नभएको विषय धेरैलाई थाहा हुनुपर्छ, तर हामीबीचका केही विषय आज तिम्रो अनुपस्थितिमा लेख्नुपर्दा दु:ख लागेको छ । तिम्रो भाषामा तिमीले “इच्छामरण” रोज्यौ, यसमा गरिने कुनै पनि टिप्पणीको कुनै अर्थ छैन, तर पनि म व्यक्तिगत रुपमा धेरै दुखी छु । तिम्रो आत्माको चिरशान्तिको लागि कामना गर्दछु ।
१. सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएपछिको एक भेटमा मैले असन्तुष्टि व्यक्त गरेको थिएँ । तिमी आफू पनि खुला मनले सन्तुष्ट थिएनौ, तर तिम्रो एउटा तर्कबाट भने म प्रभावित भएको थिएँ, “शङ्करजी, सधैजसो महाजनहरुको वकिल भइयो, तर अब जनताको न्यायाधीश बन्न चाहन्छु” । तर त्यस्तो सपना कति पूरा गर्यौ भनेर कुनै लेखाजोखा गर्ने पक्षमा म छैन ।
२. न्यायाधीशमा आफूलाई “मिसफिट” पायौ । राजिनामा दियौ । Interest conflict को कारण स्थायी न्यायाधीशमा नियुक्ति प्रायः असम्भव रहेको पूर्वानुमान तिमीले गरिसकेको थियौ । कहिल्यै नहार्ने र गलत कुरासित सम्झौता नगर्ने तिम्रो स्वभावले तिमीलाई फेरि “पायोनियर ल फर्म” मा पुर्यायो । तिमी फेरि पनि रमाउने अभ्यासमा थियौ ।
३. “शङ्करजी, म तपाइले भनेजस्तै आस्थाको दास भएर न्यायाधीशमा नियुक्त भएको होइन, तर म झुठ बोल्दिन, हामी सबैको नियुक्ति निश्चय पनि कुनै न कुनै दलसितको नीकटस्थ सम्बन्ध र पहुँचकै कारणबाट भएको हो, तर मेरो भूमिकाको कारण मसित मेरो नीकटस्थ मानिएको दल पनि खुस छैन” । कहिल्यै चाकडी नगर्ने र Extreme arrogance स्वभावको कारण उप्रान्त कुनै पदमा निजको नियुक्ति सम्भव नरहेको कुरा पनि हामीबीच भयो । आफू जागिरे स्वभावको नहुँदा Chamber practice मै रमाउने तिम्रो अठोट मलाइ मन परेको थियो ।
४. हिमाल पत्रिकामा न्यायपालिका सम्बन्धमा आफ्नो लेख छापिएपछि पढेर समिक्षा गर्ननिमित्त फोन गर्यौ । तिमीले पठाएको फोटोकपी पढिसकेको केही दिनपछि तिमीले फेरि फोन गरेको थियौ । लामो संवाद भएको थियो । जागिरे मनोवृत्तिका Classical Judge बाट जनताले कहिल्यै न्याय पाउँदैनन् । काकतालीमा न्याय प्राप्त हुनु बेग्लै कुरा हो । यस्ता न्यायाधीशहरु अध्ययनशील हुँदैनन्, त्यसैले वर्तमान न्यायपालिकाको संरचनामा आमूल परिवर्तन आवश्यक छ भन्नेखालका तिम्रा तर्कहरु थिए । साथै तिमीले मसित मिलेर न्यायपालिकाको नयाँ मार्गचित्र तयार गर्ने प्रस्ताव गरेको थियौ ।
५. अकस्मात एउटा नरमाइलो र बेरसिलो प्रसङ्गले तिमीलाई नमज्जाले हल्लाई दियो । फोनमा तिमीले मलाइ भनेका थियौ, “हेर्नोस्न शङ्करजी, नेपाल बारको सम्मेलनले त Chamber practice पनि गर्न नपाउने निर्णय गरेछ नि । Vision नभएकाहरु बारमा पुगेपछि यस्तै अदूरदर्शी निर्णय गर्छन् । अरुको अनुभवलाई Cash गर्नुपर्नेमा उल्टा यिनीहरु प्रतिबन्ध लगाउँदै छन्” ।
मैले कुनै अनुसन्धानमा लाग्न वा Visiting Faculty मा अध्यापन गर्न सुझाव दिएको थिएँ । तिम्रो विचारमा लेखेर नेपालमा पेट पाल्न सकिँदैन । अनुसन्धान गर्न Project चाहिन्छ र त्यसको लागि चाकडी चाहिन्छ, तिम्रो विचारमा त्यस्तो चाकडी तिमी गर्न सक्दैनौ । Visiting Faculty Culture नेपालमा विकास भइनसकेको तिम्रो तर्कसित सहमत नहुने कुरै भएन ।
तर पनि मित्र, भरतराज उप्रेती हुनुको अर्थ र मूल्यमा तिमी नितान्त फरक परिचय बनेका थियौ । तिमी अझ खुल्नु पर्थ्यौ, दुःख लाग्यो, त्यसरी खुल्न नसकेका कुण्ठाहरु लिएर गयौ । आज यी हरफहरु कोरिरहँदा तिम्रो अभाव झनै महसुस गर्दैछु । तिम्रो आत्माको चिरशान्तिको लागि फेरि पनि परमात्मासित प्रार्थना गर्दछु !
भरतराज उप्रेतीको सक्झनामा शंकरकुमार श्रेष्ठ
समाजिक संजालवाट