Jus Nepal
शुक्रबार, माघ ११, २०८१ | January 24, 2025 |

सामाजिक मुद्दा र वैदेशिक रोजगार : समाजको ध्यान जाओस्

वर्षायाममा नेपाली समाज बाढी पहिरोले जति खल्बलिन्छ, त्यतिनै गरिबी र बेरोजगारीले पनि हाम्रो समाज आक्रान्त बनेको छ । यही आक्रान्तलाई केही भए पनि मल्हम पट्टी गर्ने ध्येयले वैदेशिक रोजगारीमा जाने युवाको लाम हेर्दा ठूलठूला सभामा भेला भएका जनसमूह जस्तै देखिन्छ ।

Sunira Mainali

सुनिरा मैनाली

गरिबी र बेरोजगारीको अन्त्य गर्न भन्दै विदेशिनेको संख्या दिनहुँ १५ सयका दरले हुने गरेको सरकारी तथ्याङ्क छ । विदेशिनु बाध्यता वा रहर जे भए पनि यसले नेपाली समाजलाई चाहिँ निक्कै खल्बलाएको पाइन्छ । वैदेशिक रोजगारीले गर्दा हाम्रो समाजमा विभिन्न समस्याहरु उत्पन्न भएका छन् जसले सामाजिक सन्तुलन बिगारेको जानकारहरु बताउँछन् ।

झापा जिल्ला अदालतको पछिल्लो तथ्यांक हेर्ने हो भने ४८ प्रतिशत मुद्दाहरु पारिवारिक घटनासँग सम्बन्धित छन् । जिल्ला अदालतमा पुरानो १२ सय ५० र नयाँ १९ सय ९५ गरि ३२ सय ४ मुद्दामा १४ सय ७७ मुद्दा पारिवारिक रहेका जिल्ला अदालतले जनाएको छ । जसमध्ये वि।सं २०७० चैत मसान्तसम्म जिल्ला अदालतले नौँ सय ४१ मुद्दा फछ्र्यौैट गरेको छ भने पाँच सय ३६ मुद्दा फैसला हुन बाँकी थिए । उक्त समयमा पारिवारिक मुद्दामा सम्बन्ध विच्छेदका सात सय ७४ मुद्दामा एक सय ८७ मुद्दा फैसला हुन बाँकी थिए ।

त्यस्तै अंश मुद्दा पाँच सय ९४ परेकोमा दुई सय ८८ मुद्दा फैसला भएका थिएनन् । यस्तै बहुविवाहमा ४५ मुद्दामा १९ मुद्दा, अपुतलीमा ३३ मुद्दा मध्ये २६ मुद्दा जारी मुद्दा १५ रहेकोमा १० र मानाचामलका मुद्दा १४ रहेकोमा चार फैसला हुने क्रममा रहेका अदालत स्रोतले जानकारी दिएको छ । यीमध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा रहेको तथ्याङ्कले देखाउँछ ।

Foreign journeyवैदेशिक रोजगारीका कारण युवाले घर छाडे पछि सामाजिक सन्तुलन बिग्रिएको सम्बन्धमा झापा बारका अध्यक्ष अमृत बुढाथोकी वैदेशिक रोजगारीका कारण सम्बन्ध बिच्छेदका मुद्दाहरु बढेका बताउँछन् । विदेश जाने कतिपय श्रीमानहरु घर फर्कंदा आफूले कमाएर पठाएको रकम र सम्पतिसँगै श्रीमती र छोराछोरी भेटाउँदैनन् । यस्तै श्रीमती विदेशिएकी भए घरमा लोग्नेले अर्कैसँग उठबस थालेर परिवार नै भताभुङ्ग हुने गरेकाले समाधानका लागि सम्बन्ध बिच्छेदका मुद्दा बढेका हुन् ।

सधैको अभाव, कतै रोजगारीको व्यवस्था नभएपछि आफ्नो घरबार घितो राखेर नेपालका हजारौं युवा वैदेशिक रोजगारीमा गएका छन् । तिनले आफ्नो वयस्क जीवन श्रम शिविरमा खर्चेर जीवनको उत्तरार्धमा मिठो मसिनो खाने, राम्रो लाउने, सुखसगैँ पारिवारिक जीवन जीउने सोचमा हुन्छन् । तर उनीहरुको आशा घर फर्केपछि निराशामा बदलिने गरेको पाइन्छ ।

श्रीमान र छोराछोरीलाई छोडेर विदेशिएकी कुनै युवती घर फर्किंदा छोराछोरी फुटपाथमा हुन्छन् त, आफूले कमाएर पठाएको पैसा लिएर श्रीमान अर्कैसँग घरजममा भेटिन्छन् । यस्तो घटना श्रीमती छोडेर विदेशिएका श्रीमानहरु नेपाल फर्किंदा श्रीमतीलाई नयाँ घरजम गरेको भेटेका थुप्रै उदाहरणहरु हाम्रो समाजमा भेटिन्छन् । बार अध्यक्ष बुढाथोकीको माथिको विश्लेषणलाई ती उदाहरणले प्रष्ट्याएको पाइन्छ ।

वैदेशिक रोजगारीमा युवाको बढ्दो आकर्षणका कारण यस्ता मुद्दाको संख्या पनि बढेको झापा बार अध्यक्ष बुढाथोकीको विश्लेषण छ । वैदेशिक रोजगारीमा गएका अधिकांश युवा वैवाहिक जीवनमा बाँधिएर विदेश गएकाले घरमा यस्तो समस्या उब्जिएको हो । झापा जिल्ला अदालतमा दर्ता भएका मुद्दाको तथ्याङ्क नै यो अनुपातमा छ भने अदालतसम्म पुग्न नसकेका घटनाहरुको कुनै लेखाजोखा छैन । यस्तो घटना परिवारमा नै मिलाउने सामान्य प्रचलन रहेकाले बाहिर आउन नसकेको समाजशास्त्रका प्राध्यापक सुशिल खनाल बताउँछन् ।

वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्सले मुलुकलाई ठूलो आर्थिक टेवा पुगिरहेको सन्दर्भमा यिनै युवाको निजी जीवनको यस्तो कहालिलाग्दो पाटोका बारेमा धेरै मानिस बेखबर छन् । समाजले यो सन्दर्भलाई पनि अब केलाउनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri