कैलालीको टीकापुरमा अमरेशकुमार सिंह, राजेन्द्र महतो र उपेन्द्र यादवले जातीय/क्षेत्रीय हिंसा भड्काउन गरेको उत्तेजनात्मक आमसभाको १३ औ दिन तथा सोही स्थानमा थारु आन्दोलनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका वरिष्ठ अधिकृत र डेढ वर्षीय अबोध बालकको नियोजित हत्या भएको तेस्रो दिन ‘थारु पहाडी भाइभाई; सद्भाव भड्काउनेलाई बाइबाई, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, हिमाल पहाड तराई कोही छैन पराई । सुदुरपश्चिमेलीहरुले माइतीघरदेखी संविधानसभा भवन नयाँ वानेश्वरसम्म निकालिएको ‘सामाजिक सद्भाव र्याली’मा लेखिएका शब्द हुन यी ।
माइतीघर मण्डेलाबाट नयाँ वानेश्वरसम्म गरीएको सद्भाव र्यालीमा सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने सभासद्, कर्मचारी, बुद्धिजीवी, कानून व्यावसायी, सबैजसो राजनैतिक दलका भातृ संगठन, विद्यार्थी तथा काठमाण्डौँमा बस्ने सारा सुदुरपश्चिमेलीहरुको सहभागीता थियो ।
नेपाली जनताको इतिहाँसदेखी संविधानसभाबाटै संविधान निर्माण गर्ने सपना पुरा हुनै लाग्दा केही निहित स्वार्थ बोकेका नेता तथा संगठनहरुले देशमा जातीय, क्षेत्रीय द्धेष फैलाउने, जनतालाई हिंसाको राजनीतिमा आउन उक्साउने, भड्काउने तथा जनताको ज्युधनको सुरक्षार्थ खटिएको सुरक्षा निकायमाथी नै प्रहार हुन थालेपछि सामाजिक एकता कायम गरी आपसी भाइचारा र मेलमिलापको माहोल सबैतिर बनाउन सुदुरपश्चिमेलीहरुले यो सद्भाव र्यालीको आयोजना गरेका हुन् ।
जहाँसम्म सुदुरपश्चिम, कैलालीको दर्दनाक र सर्मनाक घटना छ, यो सुनियोजित, व्यवस्थित र पुर्वतयारी विना नै आकस्मिक रुपमा हुन पुगेको घटना हो भन्न सकिने आधार कहिँकतै देखिदैन । डेढ वर्षीय नाबालक सहित आठ जना सुरक्षाकर्मीको सामुहिक हत्याको अनुसन्धान गर्न गठित देवीराम शर्मा नेतृत्वको समितिले सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई ‘मुख्य दोषी’ ठहर गरीसकेको छ ।
कुरा कैलाली कञ्चनपुरको मात्रै होइन, राज्यबाट सारा सुदुरपश्चिम सदियौँदेखि उत्पीडनको शिकार हुँदै आएको छ । कर्णाली पुल नबन्दासम्म सो पारीको क्षेत्र नेपालसंग प्रत्यक्ष रुपमा जोडिएको थिएन । भारतमा मजदुरी गर्ने, आउने, फेरी त्यहिँ जाने यहाँको नियमित प्रक्रिया थियो जुन परिणाममा केहि घटेको भएपनि अहिलेपनि कायम छ । पञ्चायतकालमा बढीमा २ प्रतिशत बजेट दिएर थचारियो सुदुरपश्चिम र गणतन्त्रकालमा जातीय वीउ रोपेर भष्म पारीदैछ सुदुरपश्चिम ।
हाल नेपालमा झण्डै २१ प्रतिशतको हाराहारीमा गरिबी छ तर सुदुरपश्चिमको बाजुरामा ६४ं.१ प्रतिशत, दार्चुला र बझांगमा ५३ प्रतिशत जनसंख्या निरपेक्ष गरीबीको रेखामुनी रहेको छ । यो कुनै मनगढन्ते तथ्यांक नभई विश्व वैंकको सहयोगमा नेपाल सरकारले सन् २०१३ मा गरको एक अर्को अनुसन्धानको निष्कर्ष हो ।
पञ्चायतीहरु विकास विरोधी र पश्चगामी भएर सुदुरको विकास चाएनन् हामीले मान्यौँ तर गणतन्त्रका ठेकेदारहरुले सुदुरपश्चिमका लागी गौरब गर्न लायक के गरे ? एउटा विश्वविद्यालय माग्नलाई दश÷दश दिन आन्दालन गर्नुपर्यो, सडकमा टायर बाल्नुपर्यो, आवागमन ठप्प पार्नुपर्यो, त्यति नगर्दासम्म सुदुरपश्चिमका आवाज न सरकारले सुन्छ न राजनैतिक दल र त्यसको नेतृत्वले ।
केही नेताको निहित स्वार्थसिद्ध गर्नकै लागी पछिल्लो चरणमा विगत ५०० वर्षदेखि एकैसाँथ मिलेर बसेका थारु पहाडी समुदायबीच हिंसा, भाँडभैलो र अराजकता मच्चाउने नालायक हर्कत हुँदैछ, त्यसैका विरुद्ध हो सुदुरपश्चिमेलीहरुको सामाजिक, साँस्कृतिक सद्भाव र्याली । जातीय दंगाफसाद गरी देशलाई गृहयुद्ध तथा जातीय युद्धको संघारमा पुर्याउने कथित स्वार्थीहरुको विरुद्ध अब सबैले सामाजिक सद्भाव कायम राख्न आ–आफ्नो ठाँउबाट उठ्नु जरुरी भइसकेको छ ।
उक्त र्यालीमा संविधानसभा सदस्य, युवासंघ नेपाल तथा विभिन्न पार्टीका प्रतिनिधीहरुले आ–आफ्नो भनाई राखेका थिए । र्यालीमा बोल्नुहुँदै सभासद माननीय कर्णबहादुर थापाले जनताको संविधान निर्माणको यस घडीमा कसैले पनि एक अर्काप्रति जातीय वा क्षेत्रीय द्धेष फैलाउने अधिकार कसैलाई नभएको बताउनुभयो ।
हो, अब जातीय क्षेत्रीय सद्भाव विगार्नेलाई मात्रै होइन, उत्तेजक भाषण गर्ने समेतलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्छ । नेपालमा आन्तरिक मामिलामा भारतको आशिर्वाद लिन गयौं भन्नुको तात्पर्य के हो ? नेपालको भत्ता खाने अनि काम चाही भारतको छत्रछायामा गर्नेहरुले नै देशमा भाँडभैलो र अराजकता निम्त्याउन अद्दत छन । सबैले बुझ्नुपर्दछ कि सबै मधेशी दक्षिणको आशिर्वाद लिँदैनन, सबै थारु समुदाय टीकापुर काण्ड मच्चाउन लागिपरेका होइनन । वर्षौदेखि कैलाली कञ्चनपुरमा थारु पहाडी समुदाय माघी पर्वमा थारु भाषामै संगसंगै रमाएरहन्छन भने गौरा पर्वमा समेत थारु समुदायको सहभागिता उत्तिकै उत्कर्षपुर्ण हुन्छ ।
विगतमा तराईको समथर भाग जति एउटै प्रदेश हुनुपर्ने र पछिल्लो सिमांकनले प्रदेश नं. २ दिएपछि फेरी उत्तरी सिमानासंग जोड्नुपर्ने माग गरीएको छ । यसो गर्दा नि नहुने उसो गर्दा नि नहुने मधेशवादी दलको मनसाय संघियताविरोधी हो वा एउटै भाषा संस्कृति, लवाइखवाई रहनसहन तथा आर्थीक सामाजिक स्तर समान भएको सुदुरपश्चिमलाई एउटै क्षेत्रमा राखिनुपर्छ भन्ने मान्यता संघियताविरोधी ? अहिले सुदुरपश्चिमको मौजुदा संरचना नौ जिल्लाकै रहनुपर्छ भन्ने ठुलो आवाजलाई संघियताविरोधीको उपमा दिइदैछ ।
अब को संघियता विरोधी र को संघियता पक्षधर मुल्यांकन गर्न गाह्रो छैन । कैलाली कञ्चनपुर लगायत तराईका जिल्लामा कमैया मुक्तिको अभियान सञ्चालन गर्ने शेरबहादुर देउवा, सामरीक हिसाबले पनि उत्तर दक्षिण सिमांकन उपयुक्त हुन्छ भन्ने भीम रावल र जनताको जातीय मुद्धाभन्दा वर्गीय मुद्धा ठुलो हो, यसलाई पहिला हल गरीनुपर्छ भन्ने लेखराज भट्ट संघियताविरोधी भए नेपालबाट तराईलाई विखण्डनगरी अलग देश बनाउने, जनतालाई घरेलु हातहतियार, भाला लिई अर्को समुदायलाई मार्ने र सो अभियानमा मरे ५० लाखसंगै सन्तती वृति उपलब्ध गराई देशमा जातीय नरसंहार मच्चाउने अमरेशकुमार, राजेन्द्र महतो र उपेन्द्र यादव को हुन ? सबैले समयमै चिन्नु र बुझ्नु जरुरी छ ।
भदौ ७ गत्ते टीकापुरमा जे नहुनु थियो त्यो भैसक्यो अब उप्रान्त त्यस्ता घटना हुन नदिन र सामाजिक, साँस्कृतिक एकताका लागी हामी सबैले लागिपर्नु जरुरी छ । विगतमा अखण्ड सुदुरपश्चिम र अखण्ड थारुवानको माग सहित एक अर्काप्रति भिड्न तयार सुदुरपश्चिमेलीहरुको सामाजिक सद्भाव र्याली सामाजिक भाईचारा र एकताको एक उत्कृष्ट कदम हो । नेकपा एमाले सामाजिक सद्भावको कार्यक्रम सुरु नै गरीसकेको छ, यो कार्यलाई सबैले साँथ दिएर अगाडी बढाइनुपर्छ । सद्भाव कायम राख्ने नाममा जनताका जायज मागहरु निष्तेज पारीनुहुन्न तर जातीय क्षेत्रीय सद्भाव भड्काउने घृणित कृयाकलाप भने पुर्णतया बन्द गरीनुपर्छ । होइन भने देशमा नाइजेरीयाको इबोनी राज्यमा भुमी विवादमा एकैचोटी सयौँ जना मारीएका घटना नदोहोरिएला भन्न सकिन्न ।
त्यसैले कैलालीको टीकापुर घटनापछि सुदुरपश्चिमेलीहरुले काठमाण्डौमा निकालेको सामाजिक सद्भाव -याली सिको गर्नु सबैका लागी सार्थक र समय सान्दर्भिक हुनेछ । पंक्तिकार सुदुरपश्चिमको स्थायी बासिन्दा भएकोले मेरो व्यक्तिगत तर्फबाट समेत ‘थारु पहाडी भाईभाई – सद्भाव विथोल्नेलाई बाईबाई’ ।