Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

गर्भको भ्रुण पनि कानुनले भनेकै दिनभित्र जन्मनु पर्ने

सम्बन्ध विच्छेद भयो भने २ सय ७२ दिनभित्र जन्मेको सन्तान मात्र पहिलाको पतिको हुने व्यवस्था वैज्ञानिक छैन किनकि गर्भ रहेको ९ सय ३० पछि पनि सन्तान जन्माउने महिलाहरु संसारमा ज्यूदै छन् |महिलाहरुको गर्भधारण गर्ने वा गर्भवती हुनेजस्तो प्राकृतिक नियमलाई पनि बर्तमान पुरुषप्रधान समाजले कृत्रिम कानुनमा बाध्ने प्रयास गरिरहेको छ भन्दा धेरैलाई अचम्म लाग्न सक्ला । गर्भ धारण गर्ने वा बच्चा जन्माउने काम पनि निश्चित दिनभित्र हुनुपर्छ भनी कानुनले दुव्र्यवस्थित गरेको छ भन्ने समेत धेरैलाई थाहा नहुन सक्छ ।

झापा गरामनीकी नीता सुब्बाले आफ्ना श्रीमान् हङकङ हिँडेको झन्डै एक वर्ष अथावा ४३ हप्तामा एक छोरीलाई जन्म दिइन । तर, समाज र कानुनले ढिलो बच्च जन्माएकोमा नीतालार्य यस आवस्थामै पनि माया गरेन । उनको पतिव्रता धर्ममाथि ठूलो प्रश्न उठायो । उनलाई त्यति बेला प्रसूति पीडाभन्दा त्यो प्रश्न बढी दुख्यो ।
सप्तरी, पातो गाविस वडा नं. ३ निवासी इन्द्रनारायण यादवकी श्रमती झुमा यादवले श्रीमान्को मृत्यु भएको १० महिनापछि एक छोरालाई जन्म दिएपछि अरुसँगै यौनसम्पर्क राखेको आरोपमा माइतीघर गई वस्न बाध्य भएको समाचार पनि गतवर्ष प्रकाशमा आएको थियो ।

हाम्रो समाजमा गर्भधारणपछि बच्चा प्रप्त हुने भनी भनिएको निश्चित समयभन्दा ढिलो सन्तान हुँदा महिलाले भोग्नु परेका समस्याहरु हुन् यी । तर, महिलाहरु त्यो निश्चित मानिएको समयभन्दा चाँडो बच्चा जन्मँदा पनि अव्यहारिक कानुन र समाजको अन्धविश्वासबाट उत्तिकै पीडित भएका छन् ।

झापाकै गोलधाप गाविस ९ का हर्क लिम्बूकी श्रीमति रुपा लिम्बूले विवाह गरेका सत महिना १३ दिनमै एक सन्तानलाई जन्म दिएपछि सँगै मर्ने , सँगै बाँच्ने कसम खाएकी आफ्नी श्रीमानसँग तुरुन्तै सम्बन्ध विच्छेद गर्नु परेको थियो । यद्यपि उक्त घटना शिक्षित समुदायमा भए पनि हर्क लिम्वूकै पक्षमा रह्यो ।

ती तीनवटै घटनाका पीडित नीता सुब्बा, झुमा यदव र रुपा लिम्बू पतिब्रताको सफाइ दिन जस्तोसुकै परीक्षा दिन पनि तयार छन् । तर, उनीहरु आफैँलाई थाहा छैन त्यस्तो कसरी भयो ?

समाजको गलत मान्यता र कानुनको प्राकृतिक नियमविपरित व्यवस्थाहरुका कारण त्यस्तो पीडा भोगेका महिलाहरुको कथा हाम्रो समाजमा र अदालतका कारवाही अनि मुल्तवीमा रहेका फाइलहरुमा भेटिन्छन् जो अहिले आफूलो जन्म दिएका सन्तानकै मायाले मात्र पनि आफूलाई जसोतसो बचाइराखेका छन् ।

सामान्यतया गर्भधारण भएको ९ महिना पूरा अवधिमा बच्चा जन्मने विश्वास हाम्रो समाजमा रहेको कारण त्यो आवधिभन्दा अधि वा पछि वच्चा जमेको अवस्थामा गर्भवती महिलाहरुप्रति विभिन्न लान्छनाहरु लाग्ने गरेको छ । त्यस्तो लान्छना लगाउन शिक्षित व्यक्तिह पनि पछि पर्दैनन् ।

कुनै कुने समाजमा सात महिनामा जनमने सन्तान अत्यन्तै कम बाँच्ने र बाँचनेमा त्यस्तो बच्चा एकदमै भाग्मानी हुन भन्ने अन्धविश्वास पनि रहिआएको छ । नेपालको काननी व्यवस्थाले पनि ठ्याक्कै सो समामाजिक अन्धविश्वासलाई संरक्षण गर्ने काम गरेको छ । तत्कालीन समयमा समाज सुधारको क्रान्तिकारी कदम मानिएको नयाँ मुलुकी ऐन २०२० सालमा कुनै पनि पनि महिलाको श्रीमान सँगसँगै रहेर छुटिएको दुई सय बहत्तर दिन अथवा ३८ हप्ता ६ दिन भित्र जन्मिएको सन्तान मात्र पहिलाको वा वास्तविक श्रीमान्को हुन्छ भन्ने मानिएको छ । मुलुकी ऐन २०२० को लोग्ने स्वास्नीको महल १२ को ३ नम्बरमा भनिएको छ । ऐन बमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद भएको मितिले दुई सय बहत्तर दिनभित्र जन्मेको बच्चा अन्यथा प्रमाणित नभएमा सो सम्बन्ध विच्छेद भएकै लोग्नेको ठहर्छ ।

सम्बन्ध विच्छेद भएको मितिले २ सय ७२ दिन भन्ने व्यवस्थाले २ सय ७३ औं दिन वा त्यसपछि जन्मने बच्चा पूर्वलोग्नेको वा सम्बन्ध विच्छेद भएको लोग्नेको मानिदैन ।
मेची अञ्चलकै प्रथम अधिवक्ता मुनकिरण डाँगी (कोइराला) का अनुसार अन्यथा प्रमाण्ति नभएमा भन्ने शब्दांशले पनि लोग्ने हितलाई मात्र समेटेको छ ।

उहाँका अनुसार बच्चा २ सय ७२ दिनभित्रै जन्मिए पनि सो दिनअघि नै वा २ सय ७२ दिनअघि नै श्रीमान नपुंसक आदि भएमा वा सन्तान उत्पादन क्ष्मता गुमाएमा सो बच्चा निज श्रमान्का् नभई अन्य अमुक व्यक्तिको हुनेछ भन्ने ठहर्छ । सोही कानुनी व्यवस्थालाई अझ कडा गर्न प्रमाण ऐनमा त्यस्ता मुद्दाहरुमा २ सय ७२ दिनभित्र जन्मेको सन्तान मात्र श्रीमान्का् हुने स्वतः अनुमान गर्ने व्यवस्था गरेको छ ।

प्रमाण ऐन २०३१ को दफा ६ को खण्ड घ मा आदालतले अनुमान गर्ने कुराहरु शीर्षकमा उल्लिखित छ, ‘ पति पत्नीकै वैवाहिक सम्बन्धविच्छेद भएको वा पतिको मृत्यु भएको मितिले २ सय ७२ दिनभित्र जन्मेको सन्तान सो पतिको सन्तान हो भनी आदालतले अनुमान गर्नेछ ।’

तर चिकित्सकहरु भने सन्तानोत्पादन सम्बन्धी विद्यमान सामाजिक र कानुनी दुवै धारणा ठीक नभएको बताउँछन् भने मानववाधिकारवादीहरु उक्त कानुनी मान्यताहरु संशोधन हुनु पर्ने राय व्यक्त गर्छन् ।

बच्चा गर्भ धारण भएको २ सय ७२ दिन भित्र अथाव ३८ हप्ता ६ दिनभन्दा पछि जन्मदैन र त्यस्तो भएमा त्यो वास्तविक श्रीमानको सन्तान होइन भन्ने सोचाइ पूर्णतः गलत भएको वादी गर्नुहुन्छ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा अरुणा उप्रेती ।

उहाँका अनुसार गर्भधारण भएको २ सय १० दिन वा सात महिनादेखि लिएर ४० हप्ताभन्दा बढी वा २ सय ९० दिन भित्र बच्चा सकुशल जन्मन सक्छ । अर्का प्रसूती रोग विशेषज्ञ डा शंकर प्रसाद हुजदार चिकित्सापरक दृष्टिले २ सय ७२ दिन भित्र जन्मेको बच्चा मात्र बैध मानिुनले कानुनले महिला उपर अन्याय गरको धारणा राख्नु हुन्छ । आमाको शरीर सानो भएमा रक्त अल्पता भएमा लगायतका कारणले छिटो बच्चा जन्मने बाहेक सामान्य अवस्थामा पनि २ सय ७२ दिन पछि पनि जन्मन सक्छ ।

एक वर्ष वा सो भन्दा ढिलो पनि बच्चा जनिमएको भन्ने सम्बन्धमा डा हुजदार भन्नुहुन्छ , हिसाब राख्न नजान्ने वा बिर्सने महिलाहरुले गर्भधारणको समय थाहा नभएर वा गर्भधारण नै भएको वा नभएको नबुझेर पनि त्यस्तो हुन्छ । तर केही समय अघि इटालीकी मारिया गार्जिया भन्ने एक महिलाले ३१ महिना वा झण्डै ३ वर्ष पेटमा गर्भ आएको समय पछि एकै पटक ६ सन्तान जन्माएकी थिइन् । उनका ४ छोरा र २ छोरी जन्मिएका थिए ।

त्यो उदाहरणलाई हेर्ने हो भने त हाम्रो कानुनले भने अनुसार उनको सम्बन्ध पहिला नै विच्छेद भएको भए २ सय ७२ दिन भित्र सन्तान नजन्मिएकोले बच्चा उनका श्रीमानका् होइन भन्ने स्थिति हुने थियो होला ।

त्यसैले गर्भभित्रको बच्चालाई कानुनले भनेकै समयमा नजन्मिएमा ऊ खास बाबुको हुने छैन भनी मान्छेले प्रकृतिलाई चुनौती दिएर भन्न मिल्छ र ? यस्ता अव्यवहारिक गर्भधारण र यौनसँग सम्बन्धित व्यवस्थालाई तत्काल हटाइनु पर्ने माग महिलाअधिकारवादीहरुले उठाउने गरे पनि व्यवस्थित भने हुन सकेको छैन ।  संचारिका समूह: महिला लेखमालालेखमाला

 लोचना शर्मा 

प्रतिक्रिया

One response to “गर्भको भ्रुण पनि कानुनले भनेकै दिनभित्र जन्मनु पर्ने”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri