Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

यौनजन्यहिंसा कहिले सम्म ?

Kalpana Kharelजति महिलाहिंसा र महिला अधिकारका चर्को बहस चल्दै छ उति नै हिंसात्मक घटनाहरु घटिरहेका छन् । जति मिडियामा महिलाहिंसा अर्थात् बलात्कारको समाचार छरपस्ट हुन्छन्, उति नै क्रूर प्रकृतिका कहाली लाग्दा घटना घटिरहेछन् । पवित्र धार्मिक स्थलदेखि बालगृह र पाठशालासम्म यौनजन्यहिंसा भइरहेका छन् र तिनमा विशेष गरी महिलाप्रति दुव्र्यवहार हुँदै छ । यस्तो स्थितिबाट समाजको कुनै पनि संस्था प्रायः अछुतो छैन । बेलाबेलामा महिलाप्रति हुने यौनजन्य, हिंसात्मक घटनामा धर्मगुरुहरुको पनि नाम सुनिँदै आएको छ ।

उनीहरु पनि यस प्रकारका घटनामा पतित भएको यथार्थ बाहिरिएको छ । सरस्वतीको मन्दिर तथा ज्ञानको भण्डार मानिने पाठशालामा पनि आफ्नै शिक्षक अर्थात् गुरुबाट बालिकाहरु यौनजन्य क्रियाकलापको सिकार भएको घटना बाहिरिएकै अवस्था छ । अबोध बालगृहहरुबाट पनि यौनजन्य हिंसात्मक घटना घटेका समाचार सुनिन्छ । विश्वासै गर्न नसकिने आफ्नै घरपरिवारभित्रै आफ्नै बाबु लगायत अन्य परिवारबाट पनि महिलाहरु बलात्कार भएका प्रशस्त घटनाहरु आउँछन् र बेलामौकामा देखिएको पनि छ । अनजान बालिकादेखि ८० वर्षका वृद्ध महिलासम्मले यौनपिपासुहरुसँग जोगिएर बस्न निक्कै असहज अवस्था छ ।

हाम्रो समाज पुरुषप्रधान हुनाले पुरुष र महिलाको सामाजिक पारिवारिक र धार्मिक अवस्था एकसमान छैन । त्यसलाई विचार गर्दा पुरुषले महिलाप्रति अत्याचारपूर्वक यौनमा संलग्न गराउन खोजेको वा बाध्य पारेको पाइन्छ । त्यही विषयलाई नै यस लेखमा विषय बनाउन खोजिएको छ । हाम्रो समाजको अवस्था हेर्दा पुरुषलाई इच्छा लाग्यो भने महिलामाथि अत्याचार गरेर भए पनि स्वार्थ सिद्ध गर्ने र महिलालाई इच्छा भए पनि नभए पनि सहन बाध्य हुनुपर्ने अवस्था छ । महिलाहिंसा अर्थात् यौनजन्य हिंसात्मक दर्दनाक घटनाले हाम्रो समाजमा महिलालाई पीडा थपिदिएको छ तर त्यति मात्रे नभएर सिङ्गो समाजलाई नै कालो धब्बा लागाइदिएको छ । यस्ता घटनाले महिलालाई पीडित बनाएको मात्रै होइन भद्रभलादमी पुरुष महानुभावहरुलाई पनि लज्जित तुल्याइएको छ ।

Male violenceपटकपटकको यौनजन्य हिंसात्मक घटनाले त यौनपिपासुहरुलाई मानवको स्थानमा सुरक्षित राख्न नसकेर दानवको स्थान दिएको छ । समाजमा एक्ला विधवा महिलाहरुमाथि यौनपिपासुहरुको गिद्धेदृष्टि अझै नजिक परेको देखिन्छ । समाजमा एकल महिलाको एक्लोपनको फाइदा उठाउने गिद्धे नजरहरुको कुनै कमी छैन । एकल महिलाहरुलाई जोगिएर हिँड्न वर्षौदेखि कठिनाइ भएको तितो यथार्थ स्पष्ट छ । यसबाट समाजका युवा वृद्ध बालबालिका सबै पीडित छन् र लज्जित पनि छन् । चाहे कुनै समारोहको भिडभाड होस् अथवा सार्वजनिक बसको भिड होस्, त्यस्ता भिडभाडमा महिलाहरुलाई अपमानित हुने गरी महिलाहरुको संवेदनशील अङ्गतिर हात पुर्याउने अथवा त्यसको विरोध गर्दा अपमानित हुने गरी बोल्ने गरेको देखिन्छ । यस्तो पीडादायी अवस्था कहिलेकाहीँ त आफैँले पनि भोगिन्छ । कहिलेसम्म महिलाहरुले यस्ता यौनजन्य हिंसात्मक दुराचारी क्रियाकलाप खेप्नुपर्ने हो रु

विश्वका प्रायः धेरैजसो ठाउँहरुमा केटाले केटीलाई प्रेम प्रस्ताव राख्ने चलन चल्ती छ । कसैले कसैलाई मन पराउनु प्राकृतिक गुण हो र मन पराउन पाउनुपर्छ । किनभने मानिस चाहे पुरुष होस् वा महिला यौनको चाहना प्राकृतिक हो ।

 कोही कसैलाई मन पर्छ भन्दैमा अर्को पक्षको इच्छा र चाहना नबुझी एकोहोरो आफ्नै मात्र भावना लाद्न खोज्ने प्रवृत्ति पनि हाम्रो समाजमा निक्कै देखिन्छ । यदि आफ्नो पक्षमा चाहेको व्यक्ति प्राप्त नभएको खण्डमा विभिन्न किसिमको मानसिक तनाव दिने, बदनाम गरिदिने, आजभोलि त झनै सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरिदिने, ब्ल्याकमेल गर्ने गरेको देखिन्छ ।

यो एक किसिमको नेपाली महिलाहरुले खेप्नुपरेको साँढे मिचाइँ अर्थात् हिंसात्मक क्रियाकलाप हो । जति समाज शिक्षित हुँदै गए तापनि अरुको भावनाको कदर गर्न नजान्ने मानसिकतामा परिवर्तन आउन नसक्नु ठुलो बिडम्बना हो । विकसित मुलुकतिर कसैले पनि कसैसँग कुनै पनि चिजको प्रस्ताव राख्दा, अर्को व्यक्तिको चाहना र इच्छाअनुरुप मात्र कुरा अघि बढ्छ । नो र एस भन्ने शब्दको बढी प्रायोग हुन्छ । कुनै पनि व्यक्तिले कसैसँग प्रस्ताव राख्दा नो भनेदेखि कुरै सकियो, एस भनेदेखि कुरा अगाडि बढ्छ । तर हाम्रो मुलुकतिर नो भन्दा भन्दै पनि जबरजस्ती मिचाइँ हुन्छ यो हिंसात्मक नै हो । आखिर यस्तो प्रवृत्ति कहिलेसम्म रु

केही दिन अघि मात्र निक्कै चर्चामा आएको अर्को घटना भूतपूर्व कृषि मन्त्रीले महिलामाथि सार्वजनिक स्थलमै देखाएको पशुव्यवहारले समाजमा कस्तासम्म नीच मानिस छन् भनेर छर्लंग पारेको छ । मन्त्रीले महिलाको अपमान गरे त्यो महिलाको पक्षमा भएको अपमान हो तर मन्त्री भन्ने पद त महिलाको मात्रै होइन त्यो देशको पद हो । त्यसले नाघेको गरिमाको सीमाले देशको इज्जतमा कलङ्क लागेको अनुभव गर्न सकिन्छ । कृषिमन्त्री घटनाका एक पात्र मात्र हुन् । यहाँ हाम्रो समाजमा कैयौँ कृषि मन्त्री पराजुलीको मानसिकताको बिगबिगी छ । कैयौं कृषि मन्त्री पराजुलीको मानसिकताबाट महिलाहरुले यौनजन्य हिंसाको सिकार हुनु परिरहेको छ । हरेक महिलाहरुले आफ्नो अस्मिता जोगाएर हिँड्न मुस्किल परिरहेको अवस्था छ ।

कानुनी रुपमा केटाले केटीलाई सिधै नराम्रो दृष्टिकोणले अर्थात् नराम्रो नजरले हेरे पनि अपराध मानिएको छ । तर कहाली लाग्दो बलात्कारको घटनादेखि विभिन्न ठाउँमा महिलाहरुले भोग्नु परेको यौनजन्य हिंसात्मक क्रियाकलापले कानुनलाई नै चुनौती दिएको स्पष्ट हुन्छ । महिलाहिंसा तथा महिला अधिकार, महिला स्वतन्त्रता एवं महिला हकहितका लागि भनेर खोलिएको सरकारी तथा गैरसरकारी सङ्घ९संस्था च्याउ उम्रेको जस्तै प्रशस्तै छन् । महिला अधिकारकर्मी पनि प्रशस्तै छन् । तर महिलाका कथाव्यथा अझै झनै दर्दनाक अवस्थामै छ । महिला अधिकार तथा महिला हिंसा, महिला स्वतन्त्रताको नारा तारे होटलको सेमिनार र अन्तरक्रिया, गोष्ठी, भाषणमा सीमित छ । व्यवहारमा भने शून्य छ । हरेक वर्ष हिलाहिंसाको निमित्त ठुलो रकम बालुवामा पानी हाले समान स्वाहा भएको छ । उपति भने शून्य छ ।

सर्वप्रथम त महिलाका हकहितका निमित्त दरो कडा कानुन बन्न सकिरहेको छैन । जति बनेका कानुन कागजमामात्र सीमित छन्, कार्यान्वयन गर्ने निकाय मौन छ । अपराधीहरु फितलो कानुनको फाइदा उठाइरहेका छन् १ मानवअधिकार हनन भएका घटनाहरुले त अन्तर्राष्ट्रिय मानव अधिकार आयोगले पनि खासै हाम्रो मुलुकमा उपलब्धि गरेको देखिँदैन । अहिलेको समयको मानिसमा पाप, धर्म र मानवता भन्ने चेतनाको कमी भएको देखिन्छ । अझ चेतनाको कमी भन्नु भन्दा पनि यस प्रवृत्तिलाई हेल्चेक्र्याइँ बढेको भन्न सकिन्छ । जति ठूलाबढा र पहुँच भएका हुन्छन् उति नै गतिछाडा र उति नै हेपाहा प्रवृत्ति देखिन्छ । समाजमा अन्याय बढेरको देशमा भ्रष्टाचार बढेको यसैलाई भन्न सकिन्छ । भ्रष्टाचार केवल आर्थिक हिनामिना मात्रै होइन । चरित्र भ्रष्ट हुनु पनि चारित्रिक भ्रष्टाचार नै हो । भ्रष्टाचारको अभियोगीलाई दण्ड दिने अधिकार विशेषतः राज्यको हो । राज्यले नै ठूला र पहुँचवालालाई कारबाही गर्दैन भने राज्य शक्तिहीन भएको मान्नुपर्छ । अझ मन्त्री र ओहोदावाल ने संलग्न हुन्छन् भ्रष्ट आचरणमा भने कसलाई के भन्ने । जबसम्म महिलाप्रति सम्मानको भावना र हेर्ने दृष्टिकोणमा प्ररिवर्तन हुँदैन, तबसम्म महिलामाथि गरिने विभेद र हिंसात्मक घटना अन्त्य हुँदैन

यौनजन्य हिंसा बढ्नुमा हाम्रो समाज यौनशिक्षाबाट वञ्चित हुनु पनि एउटा कारण हो । आज विश्वले विकासको शिखर चुमिरहँदा हाम्रो समाज यौनजन्य हिंसाको दलदलमा फसिरहेको छ । दिनदिनै हिंसात्मक घटना बढ्नुमा आध्यात्मिक ज्ञानको कमी अर्को कारण हो । समाज क्रूर बन्दै गएको छ । दस वर्षे सशस्त्र जनयुद्धमा अनगिन्ति दर्दनाक कहाली लाग्दा अपराधहरु भए, त्यसैको मनोवैज्ञानिक असर अहिले हाम्रो समाजले भोगिरहेको छ । समयमै राज्यले विधिको शासनको प्रत्याभूति दिलाउन नसकेको खण्डमा स्थिति अझै भयावह हुनेछ । त्यसका निम्ति कानुन वा नियम बनाएर मात्रै पुग्दैन । जति धेरै जिम्मेदार ठाउँको व्यक्ति दोषी भेटियो उसलाई उति नै शक्तिशाली कारबाही गर्ने व्यवस्था र प्रतिबद्धता हुनुपर्यो र त्यसको कार्यान्वयन पनि हुनुपर्छ । त्यति भएपछि मात्रै महिला अस्मिता सुरक्षित हुन्छ । पुरुषको मर्यादा सुरक्षित हुन्छ र राष्ट्रको गरिमा सुरक्षित हुन्छ । आफूसँग वा आफ्नो राज्यसँग जे छ त्यसको पहिले सुरक्षा भएपछि उन्नति र वृद्धि त समयमा हुँदै जान्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri