Jus Nepal
मङ्लबार, माघ १, २०८१ | January 14, 2025 |

सानो हस्ताक्षर गरेर सम्बन्धलाई बिदा गरेपछि उसले निकैबेर त्यो कागज सुम्सुम्याइरही

 अधिवक्ता सविता विमली


अधिवक्ता: सविता विमली

‘अब म सम्बन्धबिच्छेद गर्छु’, उसले भनी । यसो भनिरहँदा उसको अनुहार सधैंको जस्तो थिएन । मसँग केहीबेर आँखा जुधाएपछि उसले अर्कैतर्फ आफ्ना नजर पु-याई । मैले हेरिरहें । एकपटक माथितिर हेरेर घुटुक्क गरी र मसँग बिदा भई । संभवतः उसले झार्ने गरेका आँसुको अन्तिम घुट्को थियो त्यो जसलाई उसले झारेकी थिई निलेकी थिई ।

आज उसका आँखामा देखिएको विश्वासले मलाई खुसी बनायो । ऊ यो निर्णयमा पुग्ली मैले पत्याएकी थिइन । उसलाई चिन्नुभन्दा अघि उसले पाउने गरेका यातना र लाञ्छनाहरूसँग परिचित भएकी थिएँ म । ऊ कसरी पचाइरहिछे यति धेरै अत्याचार ? त्यो मेरो अनुमानभन्दा बाहिर थियो ।

‘ऊसँग भेट हुँदा म चौध वर्षकी थिएँ, मेरो शरीर राम्ररी विकसित पनि भएको थिएन । छातीमा स्तन बढ्नुभन्दा पहिले ऊ बसेको हो मेरो मनमा ।’ लोग्नेबाट पाएका यातनाको फेहरिस्त सुनाइरहँदा उसले मलाई सुनाएकी थिई माथिका पङ्ति । उसले आफ्नै अनुहार जस्तो सुकुमारी प्रेम गरिरही । लोग्नेसँगको सहबासले तीन सन्तानकी आमा बनी । अरूसँगै सुतिरहेको लोग्नेलाई मध्यरातमा सहारा दिएर घर पु¥याई । माइतीसँग ढाँटिरही । अरूका अघि हाँसेरै पीर छोपी । यी सबैबाट आजित हुन उसलाई पन्ध्रौं वर्ष लाग्यो । लोग्नेलाई मान्छे बनाउन, आफ्नो बनाउन गरेका कोसिस व्यर्थ बने । अनि उसले यो निर्णय गरी ।

लोग्नेको मायामा संसार देख्ने ऊ यस अघिका भेटमा कहिल्यै यति आत्मविश्वासी देखिएकी थिइन । आज निर्णय गर्न सकेर खुसी भई उसको हिडाइको चालले यही बताइरहेको थियो । आफूभित्रका भावना, पीडा, दुख, आँसु, घृणा, क्षमा यी सबैका सीमा पार गर्न उसलाई प्रशस्त समय लाग्यो । हुनसक्छ, यो लामो समय उसको सहनशीलता र धैर्यको द्योतक हो । यही धैर्यको पनि त सीमा हुँदो हो । अन्ततः त्यो दिन आयो नै जसले उसलाई त्यो बोझिलो सम्बन्धबाट उन्मुक्ति दियो । एउटा सानो हस्ताक्षर गरेर सम्बन्धलाई बिदा गरेपछि उसले निकैबेर त्यो कागज सुम्सुम्याइरही ।

सम्बन्धभित्रका मिठासले जीवन फुलिरहेको यो समय त्यसभित्रका भयावहताले उत्तिकै निस्सासिंदो पनि छ ।

एकदिन आफ्नी नन्द लिएर मेरी विद्यार्थी आइपुगी । किशोर उमेरमै आफैंले रोजेको व्यक्तिसँग प्रणयमा बाँधिएकी उसकी नन्द युरोपको कुनै राष्ट्रमा झन्डै दश वर्ष बसेर फर्किएको पतिको उपेक्षाले मर्माहत भएकी थिई । बर्सौंपछि आएको लोग्नेले उसका लागि केही छुट्याएको थिएन । यति लामो प्रवास बसाइका सुःखदुःख बाँढेन । न सोध्यो केही न सुनायो । सँगै थुप्रै रात बिताएको कोठामा पनि पसेन । उसले जान्न चाही यी सबका कारण ।

उसले जानेका सबै उपाय अपनाई । लोग्नेको सानिध्य र पुरानो प्रेम सम्झिएर आज पनि उसका आँखा भिज्छन् । ऊ श्रीमतीलाई माया गर्दैन । यत्रो वर्षको कमाइ शून्य छ भन्छ । पहाडको पाखो कमाएर खा भन्छ । उसका आमाबाबु पाल भन्छ । यत्रो कलहमा परिवार भने मौन बसिदिएको छ ।

कहीं नपिटेरै पनि लोग्नेले दिएको पीडाका कारण ऊ यस्तरी थिलथिलो भएकी थिई कि उसका आँखामा सम्बन्धको कुनै ढुकढुकी बाँकी थिएन । ऊ चाहन्थी उसलाई विदेश जानबाट रोक्न । सकिन्छ भने विमानस्थलबाटै फर्काउन । लोग्नेको कमाइबाट बनेको घर उसकी नन्दको नाममा छ भन्थी ।

सम्बन्धबिच्छेद त संभवतः ऊ चाहन्छ नै । अंशमा पहाडको पाखो पाउनु र नपाउनुमा कुनै भिन्नता थिएन । सम्बन्धबिच्छेदको नेपाली कानुनको महलले सम्बन्धबाट अलग हुन चाहने दम्पतीलाई छुट्न मद्दत गरेको छ ।

सम्बन्धित पक्षको चल-अचल सम्पति दुवै दम्पतीलाई बाँढेको पनि छ । अदालतले फैसला त गर्छ नै तायदाती फाँटबारीमा उल्लेखित सम्पतिलाई उपयुक्त अंशियारहरूमा बराबर भाग पनि लगाइदिन्छ । हाम्रा अदालतका फैसलाहरू समयमा कार्यान्वित हुन सक्दैनन् । सकेका छैनन् । मानिसको थुप्रै उत्पादक समयलाई यही ढिलाइले खपत गरेको छ ।

सम्बन्धको विसर्जनसँगै नयाँ ढङ्गले जीवनलाई व्यवस्थित गर्न चाहने कतिपयको आशामाथि यस्ता ढिलाइले तुसारापात गर्दै आएको छ । उसले भने झैं उसको लोग्नेलाई रोक्न सक्ने अवस्था थिएन । मुद्धा नै हाल्दा पनि ऊ वारेस राखेर हिड्न सक्थ्यो । बर्सौं लडेर पनि उसले सुरुवाती पे्रमिल पति पाउने थिइन । पहाडको त्यही पाखोको टुक्रा हात पर्दो हो । त्यो त त्यसै पनि अनुत्पादक थियो केही नफल्ने । जो उसका लागि प्रयोजनहीन थियो । त्यो कमाएर खा त भनेकै थिए । त्यो पनि केही नफल्ने भएरै भनेका थिए । विदेशी पिआरधारी ऊ सम्पतिका तमाम स्रोत लुकाएर एकोहोरो श्रीमतीमाथि निर्मम प्रहार गरिरहेको थियो ।

मैले उसलाई मुद्धा हाल्ने सुझाव दिन सकिन । यो देखेर ‘यसले वकिल भएर नखाने भई’ केही साथीले भने पनि । उसको समय र पैसाको बर्बादी गराउन उचित लागेन, थिएन । म्याम भन्दै आएकी ऊ दिदी भन्दै गएकी थिई । यो कमाई मेरा लागि पर्याप्त थियो ।

केही वर्ष अगाडि नियमित कक्षा सकाइसकेकी विद्यार्थीले भाषाविज्ञान विषय बाँकी रहेकाले सहयोगको लागि सम्झिएपछि मैले नाइँ भन्न सकिन । यसभन्दा अघि चारपटकसम्मको परीक्षा विविध कारणले नदिइएको तथा दिइएकामा पनि असफल भएपछि सम्भवतः उनले मलाई सम्झेकी थिइन् । छोरीलाई अष्ट्रेलिया बिदा गर्ने चटारोमा रहेकी उनी अर्की छोरीलाई चिकित्सा विज्ञानमा भर्ना गर्ने व्यस्ततामा पनि अल्झिएकी थिइन् । सन्तानको प्रसङ्ग सुनेपछि सायद स्वाभाविक थियो मैले श्रीमानबारे पनि सोधें । ‘म्याम, म डिभोर्सी हुँ ।’ मेरो सहज प्रश्नमा असहज उत्तर आइदियो ।

‘कान्छी छोरी एक महिनाकी थिई जतिबेला मेरो डिभोर्स भयो । मैले सम्बन्धबिच्छेद नगरेको भए आज म र मेरा छोरीहरू यो अवस्थामा हुने नै थिएनौं ।’ उनले छुट्टिनैपर्ने अवस्थाका बारेमा बताइन् । तिन छोरीकी आमा उनकी कान्छी छोरी नै डाक्टरी पढिरहेकी थिई । छोरीको नागरिकताका लागि पनि तैंले मेरो अगाडि याचना गर्नैपर्छ भनेर बसेको लोग्नेको दम्भका अगाडि दुई वर्षसम्म लडेर बाबुको नाम राखे पनि छोरीहरूकै चाहनाबमोजिम आफ्नै थरमा नागरिकता लिन सफल भइन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारीका अगाडि सम्बन्धबिच्छेदको प्रमाणपत्र पेश गरेरै भए पनि उनले बाबुको थर बोकेर नहिंड्ने छोरीहरूको इच्छा पु¥याउन सफल भएको बताइन् । आफ्नै बुतामा सन्तानलाई सफलताका सिंढी उकालिरहेकी उनी आफ्नो व्यस्त कार्यतालिकाका बिच पनि विद्यार्थीका रूपमा क्याम्पसमा भेटिन्थिन् । उनको यो लगावले नै उनलाई यहाँसम्म ल्याइपु¥याएको निष्कर्ष निकाल्छु म ।

कानुन व्यवसायको सुरुवातमा मैले मस्यौदा गरेको पहिलो मुद्धा नै सम्बन्धबिच्छेदको थियो । निकै अगाडि परिवारबाट अंश लिएर छुट्टिएका जोइपोइ आपसमा मिलेनन् । असमझदारी यति बढ्यो कि आपसी विश्वास र सद्भाव लगभग समाप्तै हुन पुग्यो । यस्तो समय बेग्लै हुनु आवश्यक ठानियो । यसमा दोषी कोही थियो भने श्रीमान थिए । जो परिवारप्रति बेपर्वाह बन्न पुगेका थिए । यो मुद्धा उनैलाई हालिनुपर्ने थियो ।

उनका कमजोरी र करतुतलाई उल्लेख गरेर तयार गरिएको मस्यौदा भोलिपल्ट फेरिएको थियो र घरका बाआमा (सासुससुरा), विवाह भएर गएका बहिनी (नन्द)हरू, उहिल्यै छुट्टी भिन्न भएका भाइ(देवर)हरू समेत तानिएर आएका थिए । केही नगरे पनि तिनले वकिल कहाँ धाउँदै प्रतिउत्तर खेप्नुपथ्र्यो । तारिख धाउनुपथ्र्यो । मस्यौदा र यथार्थ फरक थियो । मैले विरोध गरें । ‘तिमी सिक्दैछ्यौ  जान्दिनौ ।

मुद्धा हाल्ने नै यसरी हो …….।’ एक व्यक्तिले गरेको गल्तीले परिवारका अन्य सदस्य अनाहकमा तानिने कुराले म तनावमा परेकै अवस्था बिच यो मुद्धा दर्ता भएन । त्यसपछिका यी केही वर्षमा सम्बन्धमा केही पालुवा लागे झैं पनि देखिएको छ । यो आफैंमा सुखद पक्ष हो । तर मलाई सबभन्दा खुसी मुद्धा दर्ता नभएर भयो । अनाहकमा अरूले दुख पाउनबाट बचेकोमा म अत्यन्त खुसी भएँ । कृषि विकास बैंकको जागिर । बढ्दै गरेका दुई छोरा । मासिक तलबले नै घर चलाउनुपर्ने बाध्यता र काठमाडौंको बसाइ । केही काम नगर्ने लोग्ने । कार्यलयबाट फर्किंदा मदिराको बोतल बोकेर फर्किनुपर्ने र हरेक दिन पिटाइ खानुपर्ने दैनिकी । यी सबका बिच पनि उनी चुप थिइन् । तर जब श्रीमानको बाह्य सम्बन्ध उत्कर्षमा पुगेको थाहा पाइन् अनि उनी दुई छोरा च्यापेर निस्किइन् ।

हातमा थियो जम्मा आठ हजार रुपियाँ । त्यही रकमले जीवनको दोस्रो मोडलाई सहज बनाउने कोसिस गरिन् । माइतमा आमासँग एउटा गलैंचा माग्दा नपाएको र परिवारभित्रैका दुई सदस्यसँग ऋण माग्दा नपत्याएपछि फेरि उनले कहिल्यै कसैसँग हात फैलाइनन् । बाबुआमाले दिने स्याहार, सुबिधा आफ्ना छोराहरूलाई एक्लै दिइन् । सत्र वर्षसम्म लोग्नेको कुटाइ खाएर एक्लो सङ्घर्षले माथि उठ्न थालेपछि पनि लोग्नेले पुनः दुख दिन नछाडेपछि उनले सम्बन्धबिच्छेदको प्रक्रिया अघि बढाइन् । जेठो छोराको विवाहपछि सम्बन्धबाट आधिकारिक बिच्छेदको प्रमाणपत्र उनको हातमा प-यो ।

‘राम्री थिएँ -उनी अद्यापि सुन्दर छिन्, उमेरकी थिएँ । विवाहकै प्रस्ताव कति आए । घुम्ने र केही समय (रात) बिताउने प्रस्ताव पनि केहीले राख्न भ्याए । अनेक किसिमले तौलने प्रयास गरे मानिसहरूले । विवाहको सत्र वर्षपछि मैले रोजेको बाटो सहज थिएन । काँडाहरू प्रशस्त थिए ।

केही आफ्नै र केही पराइ नै काँडाका स्वरूपमा थिए । समयले सबैलाई पन्छाइदियो ।’ उनी भन्छिन्  ‘मेरो लागि गर्ने कोही थिएन । मैले सकेको अरूलाई त गरें नै जसले मलाई गरेनन् र गर्न खोजेनन् तिनलाई पनि उत्तिकै प्रेमपूर्वक सहयोग गरें । आज कोही मैले तँलाई अप्ठ्यारोमा केही गरें भनेर उभिन्छ भने त्यसलाई फूलको माला नभएर सुनको माला लगाइदिन्छु ।’ उनले यसो भनिरहँदा उनको आवाजमा मिसिएको तेजले मलाई आकर्षित गर्छ । उनको यो स्वाभिमानलाई सलाम गर्न मन लाग्छ ।

गायक यम बरालसँगै रेडियो नेपालको स्वरपरीक्षामा ‘ग’ श्रेणीमा उत्तीर्ण भएकी उनले श्रीमानले परिवार र गायनमा एक छान्न विवश पारेपछि परिवार छानेकी थिइन् । दुवै छोराको गृहस्थी बसिसकेको छ । सेवानिवृत्त भएर फुर्सदिली बनेकी उनी नातिनी खेलाउँदै सारेगमप हारमोनियममा थिच्न चाहन्छिन् । फेरि गाउन चाहन्छिन् ।

छ या सात कक्षा पढ्दै गरेका बेला मेरी साथी एउटा तस्वीर बोकेर आई । तस्वीर उसका काका हजुरबुबाका छोराको फूलमालाको थियो । सोलुखुम्बु जिल्लाका चर्चित नेताकी बहिनीसँग उसका काका विवाह गर्दै थिए । प्रहरी निरीक्षकको जागिरे काकाको भन्दा पनि अग्लो डालकी काकीका गुलाबी गालाको सम्झना छ मलाई । अफिसमा आएका एक व्यक्तिको हुलिया केही अनौठो थियो । पौस महिनाको जाडोमा पनि उनले छाता ओढेका थिए । मलाई कसैले चिनाइदियो । उनको कथाले हतप्रभ भएकी मैले अर्कोपटक उनीसँग कुरा गरें ।

विवाहको केही वर्षपछि संयुक्त राष्ट्र संघीय मिसनमा पुगेका उनी फर्किंदा एक पद बढुवा भएर डिएसपी बने । यो बढुवासँगसगै उनको पोस्टिङ उपत्यका बाहिरको जिल्लामा भयो । सँगै कुनै अखबारमा छापियो कि त्यो ठाउँमा सरुवा भएर गएको डिएसपीलाई सफाया गरिंदैछ । परिवारमा कोहोलो मच्चियो । उनले जागिरबाट राजिनामा दिए र लागे अमेरिका । आठ वर्ष काम गरेर पैसा पठाए । अगाडि नै मिसनमा गएर आएको पैसाले भक्तपुर बालकोटमा घर जग्गा त जोडेकै थिए । अरू थुप्रै जग्गा जोडे । उनी फर्किन चाहन्थे । ‘राजा नआइस्योस, यहाँ फर्किने माहोल नै छैन, अझ हजुरलाई त खतरा छ’  श्रीमती भन्थिन् । उनले पत्याइरहे ।

आफ्ना साथीभाइ सबै नेपालमै छन् । परिवारका अन्य सदस्य पनि नेपालमै छन् । ममात्रै जान किन नहुने ? यही सोचेर आठ वर्षपछि उनी फर्किए । श्रीमानको आगमनले श्रीमतीलाई खुसी बनाएन । केही समयपछि नै उनले थाहा पाए कि अब उनीसँग श्रीमती, सन्तान र सम्पति केही बाँकी छैन । उनलाई यस्तो आघात प¥यो कि उनी मानसिक सन्तुलन गुमाउने अवस्थामा पुगे । परिवार र साथीभाइ सबैको सहयोग र सल्लाहमा उनी आफ्नो सम्पतिको खोजी गर्न थाले ।

यो खोजीका क्रममा एउटै चेकबाट ९० लाख झिकिएको यथार्थ मात्रै उनका सामु आएन उनले कमाएर पठाएको पैसाले किनिएका जग्गाहरू एउटै पनि बाँकी थिएनन् । सबै बेची सकिएका थिए । बेचेर आएको पैसा कहाँ छ ? त्यसको कुनै पत्तो थिएन । आफ्नो पोस्टिङसँगै प्रकाशित समाचार जसमा उनको सफाया गरिने कुरा उल्लेख थियो । अहिले आएर मात्रै उनले थाहा पाए कि त्यो समाचार पनि प्रायोजित रहेछ । असत्य रहेछ ।

करिब दुई पृष्ठ लामो बेचिएका जग्गाको सूची लिएर उनी हिडेका थिए । उनले बनाएर गएको घरजग्गा बेचिएको थियो । बच्चाहरू नजिक आएनन् । यसै समयमा उनलाई श्रीमतीले अंश मुद्धा हालिन् । उनले कमाएको त शून्यमा पुगेको थियो । बाबुले दिएको अलिकति जग्गा बाँकी थियो गाउँको । उनले आफ्ना र श्रीमतीका नामका जग्गा र कारोबार सबै उल्लेख गरेर प्रतिवाद त गरे । तर अदालतले श्रीमतीले गरेका बेइमानीप्रति केही बोलेन र उनले पाएको पैतृक सम्पतिबाट छोराछोरी र श्रीमतीलाई अंश दिनुपर्ने फैसला ग¥यो । उनी जिल्ला अदालतको फैसला फाटेको ब्यागमा च्यापेर फेरि धाइरहेका छन् । यो दृश्य अति नै बिझाउँदो छ ।

भूकम्पपछि ऊसँग मेरो पहिलो भेट थियो । ‘मैले विवाह गरें’ उसले भनी । उसलाई एकछिन निहारिसकेपछि पनि मैले पत्याउन सकिन । उसले आफूसँग दुइटा अप्सन रहेको र दोस्रो अप्सन रोजेको सुनाई । अब भने मैले नपत्याइरहन सकिन । केहीबेरमा नै पद्यकन्याको गेट अगाडि उसको दोस्रो अप्सनसँग भेट गराई । ती दुईको जोडी असाध्यै मिलेको थियो । नवदम्पतीलाई बधाई दिएर म फर्किएँ ।

२०६८ सालदेखि कास्की जिल्ला अदालतमा सम्बन्धबिच्छेदसहितको अंश मुद्धा खेपिरहेकी उसले दुषित मनसायप्रेरित मुद्धा लडिरहेर बस्नुभन्दा मुद्धा छाडेर अघि बढ्ने निर्णय भएको असमझदारीको अन्ततः सम्बन्धबिच्छेदमा पुगेर अन्त्य भयो । उसको वैवाहिक सम्बन्ध असफल हुनाको कारण सुनेर म छक्क र स्तब्ध मात्रै भइन यस्तो पनि हुँदोरहेछ भन्ने कुराले थुप्रै दिनसम्म चिन्तित पनि बनाएको थियो ।

‘अब श्रीमती छोडेर कहीं जान्न’ उसले लेख्यो । ‘जति कमाए पनि मान्छेलाई नपुग्ने रहेछ । अब यतै बसेर केही गर्छु ।’ केही महिना अगाडि फर्किएको उसको भर्खरै विवाह भएको हो । फेसबुकको भित्तामा उसको विवाहको तस्वीरमुनि मैले पनि शुभकामना लेखेकी थिएँ । यसरी शुभकामना दिन भ्याएको पहिलो विवाह थियो उसको । यसभन्दा अघि नै उसको वैवाहिक जीवन एकपटक टुङ्गिसकेको थियो । वैदेशिक रोजगारीमा रहेको उसका अघि श्रीमतीका यस्ता करतुतहरू आए कि ऊ फर्किन बाध्य भयो र श्रीमतीलाई सम्बन्धबाट सदाका लागि बिदा गर्र्यो । सधैंका लागि स्वास्नीमान्छेबाट विश्वास समाप्त भएको बताउने उसले पुनः स्वास्नीमान्छेसँग जीवन बिताउने कसम खाएको छ । अब छोडेर जान्न भन्ने भनाइले त्यही अविश्वास बोलेको पो हो कि ?

बाटोमा उभिरहेकी मलाई कहाँ जाने सोधेर लिफ्ट दिएकी उनले बानेश्वरदेखि अनामनगर भाटभटेनीसम्मको छोटो दूरीमा आफ्नो लामो कथालाई छोटकरीमै सुनाउन भ्याइन् । पढाउने सिलसिलामा भर्खरै पुगेको नयाँ शिक्षण संस्थामा भेटिएकी सहकर्मी उनको अंश मुद्धाले सर्वोच्च अदालतबाट निस्सा पाइसकेको छ । जीवनमा आएका सबै घटनाक्रमहरूलाई स्विकार्दै र सामान्यीकरण गर्दै अघि बढिरहेकी उनको व्यक्तित्वमा मैले अभिभावकीय विनम्रता महशुस गरेकी थिएँ यसभन्दा अघि नै । उनीसँगको यो कुराकानीसँगै मैले एक अर्की आत्मविश्वासी आमालाई पनि भेटें । गुनासोरहित जीवन बाँच्न कसरी सिक्छन् हँ मानिसहरू ? समयले मलाई छक्क पारिरहन्छ । साँच्चै! यसरी छक्क परिरहन म पनि असाध्य मन पराउँछु ।

हिमालपारिको जिल्लामा हुर्किएकी ऊ जतिसक्दो चाँडो विवाह गर्न चाहन्छे । त्यो पनि कानुनी । लामो समय प्रेम सम्बन्धमा रहेकी उसलाई त्यो सम्बन्धले खुसी बनाएन । यति लामो अवधिमा उसले प्रेमीमात्रै चिनी । उसको परिवारलाई चिन्ने र घुलमिल हुने अवसर पाइन । कोही एकै व्यक्तिको प्रेमले मात्रै जीवन अगाडि बढाउन सकिंदैन । परिवार पनि सँगै चाहिन्छ । यही निष्कर्षले उसलाई पुरानो र लामो सम्बन्ध विसर्जन गर्न लगायो ।

अहिले ऊ नयाँ सम्बन्धमा छे । छोटो समयमा नै ऊ प्रेमीको घरमा प्रिय बनिसकी । अब ऊ यसरी बस्न चाहन्न । यसलाई छिट्टै वैधता दिन लागिपरेकी छे । जन्मिएको वा नागरिकतामा उल्लेखित गाविसकै अविवाहित सिफारिस पत्र चाहिने भएकाले उसको यो अभीष्ट पूरा हुन केही समय लाग्नेछ ।

अनि थुप्रै सम्बन्धका तमसुकको चाङमा उसको एउटा नयाँ तमसुक थपिनेछ । जसरी सम्बन्धको उन्मुक्तिमा सुनिताले तमसुक सुम्सुम्याएकी थिई त्यसरी नै ऊ पनि सम्बन्धको पिरामिड उभ्याउन पाउने त्यो तमसुक सुम्सुम्याउँदी हो । सम्बन्धको गह्रुङ्गो बोझले थिचिएका मानिसका अनुहारहरू सम्झिन्छु । तिनले गर्न नसकेका निर्णयहरू र पिउन पनि नसकिरहेका आँसुहरूले माग गरेको तमसुक आँखाभरि आउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri