Jus Nepal
बिहिबार, माघ १०, २०८१ | January 23, 2025 |

खेतवारी बाँझो राख्नेलाई दण्ड, जरिवाना कति सान्दर्भिक ? प्रकाश श्रेष्ठ

 प्रकाश श्रेष्ठ मेरिल्याण्ड , अमेरिका

प्रकाश श्रेष्ठ मेरिल्याण्ड , अमेरिका

आर्थिक वार्ष २०७३।७४ को लागी बजेट मा नेपाल सरकारले विभिन्न क्षेत्रको प्रभावकारीरुपमा विकास गर्न बजेटको घोषणा गरेको छ । सरकारको निती तथा कार्यक्रमले निर्दिष्ट गरेका विकास योजनाहरुलाई कार्यान्वयन गर्नलाई, विभिन्न सामाजिक, शैक्षिक, प्रशासनिक, कृषि, उद्योग, विद्युत सामाजिक सुरक्षा लगायत विभिन्न क्षेत्रहरुलाई समेट्ने गरि समग्र सामाजिक क्षेत्रको उत्थान एवं आर्थिक क्षेत्रको उत्पादन एवं उत्पादकत्व वृद्धी गराई कल्याणकारी राज्य र समाजको निर्माण गर्नको लागी आवस्यक बजेटको व्यवस्था गरेको देखिन्छ ।

बजेटले कतिपय विगतमै योजना र निरन्तरता दिएको र वजेट विनियोजन गरिएको भएता पनी पनि केही विषय र शिर्षक नितान्त नयाँ र परिवर्तनशिल आयाम भएको अनुमान गर्न सकिन्छ । खासगरि सामाजिक सुरक्षा भत्ताको रुपमा वृद्ध, अशाय, विधुवा, अपांगलाई मासिकरुपमा दिईदै आएको रकममा दोव्वर बनाईनु, स्थानिय निकाय गा.वि.स. र नगरपालिकालाई दिईने विकास बजेट दोव्वर बनाईनु, कर्मचारीको तलव वृद्धि गरिनु, भुकम्पबाट क्षति भएको भौतिक संरचनाको पुननिर्माण एवं पुनर्स्थापनका लागी आवस्यक बजेटको व्यवस्था, स्वास्थ्य वीमा कार्यक्रमको थालनी जस्ता कुरा तत्काल जनताले चासो दिने जनसरोकारको विषय हुन । त्यस्तै निर्वाचन पुर्वाधार विकास कोष र सांसद विकास कोषमा भएको वृद्धि पनि अप्रत्यक्ष जनसरोकारको विषय नै हुन ।

हुनत विभिन्न महत्वकंक्षी योजना सहित विकास लक्ष्य राखी आएको बजेटलाई सर्वसाधरण जनताले चासोको रुपमा हेरेको पाईन्छ । नेपालका प्रधानमन्त्री के.पी. ओलीले बोल्दै आएका विकास निर्माणका महत्वकांक्षी ठानिएका विषयहरु तुहिन विस्थापित गरि झोलुंगे पुल बनाउने जो पुराहुने चरणमा रहेको छ भने, छोटो समयमा नै लोडसेडिङ मुक्त गर्ने, आफ्नै लगानीमा फास्ट ट्राक निर्माण गर्ने, रेल मार्ग निर्माण, विद्युतिय बस संचालन, समुन्द्रमा नेपाली झण्डा अंकित पानी जहाज संचालन, पाईपलाईनबाट खाना पकाउने ग्याँस सप्लाई, लुम्विनीमा पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माण गर्ने लगायतका चर्चित विकासका पक्षहरुलाई सम्वोधन गर्दै वजेट विनियोजन गरिएको छ ।

खासगरि कृषिजन्य उत्पादनलाई वृद्धि गर्न र सीमान्तकृत वर्गलाई विकासको मुलधारमा ल्याउन समेत आवस्यक पहल गर्न खोजेको बजेटले संकेत गरेको छ । बजेटमा उल्लेख भए अनुसार विभिन्न क्षेत्रबाट रोजगारी सृजना गरि करिव ४ लाखको हाराहारीमा युवाहरुलाई रोजगारी दिन खोजिएको पनि बताईएको छ ।

बजेटमा विनियोजन गरिएको व्ययलाई पुरा गर्न आवस्यक रकम जुटाउन तय गरिएको आयको स्रोत अन्तर्गतको राजस्व संकलन तर्फ भने त्यति धेरै विशेष ध्यान पुग्न नसकेको हो भन्ने देखिन्छ । विशेषतः आयकर, भ्याट, अन्तशुल्क, भन्सार शुल्क लगायतको प्रत्यक्ष एवं अप्रत्यक्ष करहरु संकलन गर्ने क्रममा त्यति धेरै कठोर नभई उदारपन देखाईएको छ जस्तो की कुनै पनि व्यवसायीले १ करोड सम्मको कारोवार गर्छ भने त्यसले व्यवसायको आम्दानी, खर्चको लेखापरिक्षण गर्नु नपर्ने साथै उक्त व्यवसायीले आम्दानीको स्वघोषणा गरि कर दाखिला गर्न मिल्ने, त्यस्तै कर छुटको दायरा पनि गत सालको भन्दा बढी दिईनुले अनुमान गरे जति राजस्व संकलन हुन कठिन हुन सक्छ भन्नेमा आशंका गर्न सकिन्छ ।

पेट्रोलियम पदार्थको विक्री मुल्यमा प्रतिलिटर पाँच रुपियाँ थप गरेर त्यसबाट आउने रकमबाट जलविद्युत आयोजन संचालन गर्ने योजनाले गर्दा स्वतः विभिन्न क्षेत्रमा मुल्य वृद्रि हुने देखिन्छ । पेट्रोलियम पदार्थमा मुल्य वृद्रि हुँदा ढुवानी र यातायातका पक्षमा भाडा बढ्ने जसले गर्दा उत्पादन लागत बढ्ने र वस्तुको मुल्य बढ्ने हुन्छ ।

त्यस्तै कर्मचारीको तलवमा भएको २५ प्रतिशतको वृद्धि सँगै वस्तु तथा सेवाको मुल्य बढ्ने संभावना रहन्छ । तसर्थ उपयुक्त मौद्रिक निती एवं मुल्य वृद्धि नियन्त्रण सम्बन्धी संयन्त्रहरुको उचित नियमन हुन नसक्ने हो भने लक्ष्यीत गरिएको मुद्रास्फीति भन्दा बढि मुद्रास्फीति हुने संभावना देखिन्छ ।

यसरी समग्रमा बजेटले आशावादी विकासको मार्ग पहिल्याउन खोजेको देखिन्छ तापनि कतिपय वितरणमुखी एवं सस्तो लोकप्रियता कमाउन खोजेको त हैन भन्ने आभाष हुने गर्दछ । त्यस्तै अहिलेको बजेटले कृषि, वन, पशुपंछी पालनलाई पनि बढि महत्वको साथ हेरेको छ । पक्कै पनि कृषिप्रधान देश भन्दै आएको मुलुकमा कृषि क्षेत्रमा आधुनिकरण हुन नसक्ने र कृषिजन्य उद्योगको विकास र विस्तार हुन नसक्ने हो भने देशको आर्थिक विकास एवं कुल राष्ट्रिय उत्पादन र प्रतिव्यक्ती आय वृद्रि गर्न सकिदैन । हाल अधिकांश युवाहरु देश भित्रै रोजगारीको प्रयाप्त अवसरको अभावको कारण वैदेशिक रोजगारीमा झण्डै ४० लाख भन्दा बढि युवाहरु भारत बाहेक अन्य मुलुकमा जान बाध्य भएका छन् । जसले गर्दा देशका विभिन्न स्थानका कतिपय ठाउँका खेती योग्य जमिन विना उपयोग बाँझै राखेको पनि देखिन्छ ।

घरपरिवारमा काम गर्न सक्ने धेरै पुरुष जति वैदेशिक रोजगारीमा गएका कारण गाउमा उपलब्ध जनशक्तिले कृषि कार्यलाई निरन्तरता पुर्ण रुपमा दिन नसकेको र गाउँघरमा कृषि काम गर्ने कृषि मजदुरहरुको समेत अभावले गर्दा गाउँघर तिर अधिकांश खेतबारी बाँझै राख्नु पर्ने बाध्यता छ ।

पर्याप्त मलजल, खनजोत, गोडमेल गर्ने, सिंचाई गर्ने, बाली लगाउने र भित्राउने जस्ता कामहरु गर्नको लागी कृषि जनशक्ती पर्याप्त मात्रामा पाउन नसकेका कारण आफ्नो परिवारले सक्ने जति खेतीपाती गर्ने गरेको पाईन्छ । पहिला पहिला खेतीपाती गरेर कमाएर खाने व्यक्तीहरुले जग्गा बन्दगी, ठेक्का वा भाँडामा पनि लिने गर्दथे भने आजकल त्यसरी जग्गा कमाएर खाने व्यक्तीहरु समेत पाईदैन, तिनीहरु समेत विदेशमा रोजगारीको लागी गएको पाईन्छ ।

यस्तो किसिमको समस्या जगजाहेर हुँदाहुँदै हालै सरकारले बजेटमा व्यवस्था गरे अनुसार अव उप्रान्त खेतीयोग्य जमिन खेती नगरी बाँझै राखेमा उक्त जग्गाबाट अनुमानित उत्पादनको कुल आम्दानीको २५ प्रतिशत सरकारले जरिवाना लिने उल्लेख गरिएको छ ।

यो कुरा कति सम्म व्यवहारिक होला यो चर्चाकै विषय हो । खेतीयोग्य जमिन बाँझो राख्नु राम्रो होईन् तापनि खेतीपातीको काम गर्ने जनशक्ती अभाव भएपछि बाध्यताले पनि जमिन बाँझै राख्नु पर्ने अवस्थाको वाध्यता उत्तीकै चुनौतिको रुपमा रहेको छ । यसलाई समाधान गर्न कि त वैदेशिक रोजगारमा गएका व्यक्तीहरुलाई फर्काउने माहोल हुनु पर्यो । भन्नुको अर्थ कि त उपयुक्त रोजगारीको व्यवस्था देश भित्रै उपलव्ध गर्न सक्नु पर्यो र विदेशमा रोजगारी गर्ने व्यक्तीहरु फर्कन तयार हुनु पर्यो ।

अझै कृषिलाई आय आर्जनको मुख्य पेशाको रुपमा लिन सक्ने गरि आवस्यक सेवा सुविधा उपलव्ध हुन सक्नु पर्यो त्यसो हुनसकेमा विदेश गएका युवा फर्केर कृषि पेशा अपनाउन पनि सक्छन् भने अर्को तर्फ थप नयाँ युवाहरु समेत विदेश नगईकन सोही कृषि पेशानै अपनाउन सक्छन् ।

तर विडम्वना के छ भने कृषि पेशा अपनाएर जीवन गुजारा चलाउन सकिने स्थिती छैन । सिंचाईको अभाव, मलखाद, विउविजन, कृषि प्राविधिक सेवाको अभाव, आधुनिक कृषि औजार एवं उपकरणको अभाव, उचित बजारको अभाव, वस्तुको उचित बजार मुल्य पाउने कम संभावना, कृषि विमा एवं सुरक्षाको अभाव जस्ता थुप्रै समस्याहरु हाल सम्म पनि कृषि क्षेत्रमा विद्यमान रहेका छन् । फलस्वरूप कृषिलाई अर्थोपार्जनको व्यवसायिक पेशाको रुपमा ग्रहण गर्न सकिने परिस्थिती नभएका कारण युवाहरु कृषि कार्य प्रति आकर्षित देखिदैनन् ।

तसर्थ तत्काल देश भित्रै आकर्षक रोजगारीको अवसर र सोही अनुसार आम्दानीको व्यवस्था नहुन्जेल विदेशमा गएका युवाहरु वैदेशिक रोजगारी छोडेर आउने संभावना देखिदैन । त्यसैले सरकारले हालै बजेटमा समावेश गरेर जमिन खाली राखेर बालीनाली नलगाउने वा खेतीपाती नगर्नेलाई जुन जरिवाना वा दण्ड गर्ने भनेको छ जुन त्यती व्यवहारिक र परिस्थिती सुहाउँदो देखिदैन । हालकै परिस्थितीमा उक्त प्रावधान लागु गर्न खोज्नु सरासर निमुखा कृषकहरु माथी अन्याय हुन्छ ।

धेरै जग्गा जमिन भएको र कृषि जनशक्ती पनि प्रयोग गर्न सक्ने साथै उक्त जग्गा जमिनमा अन्य सर्वसाधरण कृषकहरुले समेत खेतीपाती गर्न तत्पर रहदाँरहदै यदी नियतवसनै जग्गा बाँझो राखेको पाईएमा त्यस किसिमको दण्ड वा जरिवाना गर्नु मनाशिव होला । अन्यथा खेतीपाती गर्ने चाहना हुँदा हुँदै र प्रसस्त जग्गा जमिन नहुँदा नहुँदै पनि भएको थोरै जमिनमा पनि खेतीपाती गर्न नसकेर बाँझै राखिएको छ भने त्यस्ता व्यक्रीहरु वा परिवारहरुलाई जरिवाना लगाईनु वास्तवमा न्याय संगत व्यवहार हुन सक्दैन । अतस् यस किसिमको जुन प्रावधान ल्याईएको छ यसलाई पुनर्विचार गर्नु आवस्यक देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri