Jus Nepal
शनिबार, माघ १२, २०८१ | January 25, 2025 |

हृदयाघात कसरी हुन्छ ?

डा. ओममूर्ति अनिल : कोरोनरी आर्टरीभित्र रक्तप्रवाह अचानक बन्द भएमा हृदयाघात हुन्छ । समयमै पुनः रक्तप्रवाह नभएमा उक्त कोरोनरी आर्टरीबाट रक्तसञ्चार हुने मुटुको मांसपेशी मरेर जान्छ । यस्तो भएमा असर परेको मुटुको उक्त भागले काम गर्न छाड्छ र मुटु सधैंका लागि कमजोर हुन जान्छ ।

Hart Attacतर, अत्यन्तै डरलाग्दो अवस्था त्यो बेला उत्पन्न हुन्छ, जब अचानक रक्तसञ्चारमा अवरोध भएर मुटुभित्र रसायनको अस्थिरता हुन्छ । यसले मुटुको चालमा परिवर्तन ल्याउँछ । यसलाई एरिद्मिया भनिन्छ । यसले गर्दा मुटुको चाल अत्यन्तै कम वा बढी भएर बिरामीको अचानक मृत्यु हुन सक्छ । विभिन्न अध्ययनका अनुसार हृदयाघात भएको आधाभन्दा बढी मानिसको मृत्यु अस्पताल पुग्नु अगावै भइसक्छ । हृदयाघात भएको पहिलो २४ घण्टा ज्यादै जोखिमपूर्ण मानिन्छ । किनभने अत्यधिक मृत्यु २४ घण्टाभित्रै हुनेगर्छ ।

हृदयाघात भएको कसरी थाहा पाउने ?

हृदयाघात अकस्मात हुने रोग भएकाले छाती दुख्ने तथा यससंग संबन्धित अन्य लक्षण पनि अचानक नै सुरु हुन्छन् । छातीको बीच भागमा वा बायाँतिर दुख्नु वा पोलेको जस्तो अनुभव हुनु, छातीमा दबाब महसुस गर्नु वा मन्द मन्द दुखिराख्नु जस्ता लक्षण देखा पर्न सक्छन् । छाती दुख्नुको संगै अरु लक्षण जस्तै, पसिना आउनु, वाकवाकी लाग्नु, उल्टी हुनु, डर लाग्नु, छटपटी बढ्नु, मुटु ढुकढुक हुनु, रिंगटा लाग्नु आदि समस्या छन् भने हृदयाघात भएको सम्भावना झन् प्रबल हुन्छ ।


हृदयाघातका कारण भएका बिरामीमा यस्ता लक्षण देखिनासाथ यथाशिघ्र आकस्मिक सुविधा भएको अस्पताल पु¥याई इसिजि गराइहाल्नुपर्छ । लक्षणको आधारमा हृदयाघातको शंका भएका एस्प्रिन औषधिको ३०० मिग्रा घरमै दिन मिल्छ ।

हृदयाघातको सुनौलो घण्टा (गोल्डेन आवर्स)

हृदयाघात भएको बिरामीले छाती दुखेको १२ घण्टाभित्रै अस्पताल पुग्नुपर्छ । आवश्यक उपचार समयमै पाउँदा बन्द भएको रक्तनलीमा पुनः रक्तसञ्चार हुने सम्भावना बढी हुन्छ । रक्तप्रवाह समयमै पुनः सञ्चालन भएमा मुटुका मांसपेशी निष्कृय हुनबाट जोगिन्छन् । छाती दुखेको ३ घण्टाभित्र अस्पताल पुगेर आवश्यक उपचार हुन पाएमा कोरोनरी आर्टरीमा रक्तप्रवाह गराउन सकिने सम्भावना बढी हुन्छ । छाती दुख्न थालेपछि जति चाँडो अस्पताल पुगेर उपचार गराउन सकिन्छ, त्यति नै धेरै मुटुको मांसपेशी जोगाउन सकिन्छ ।


छाती दुखेको १२ घण्टापछि रक्तप्रवाहलाई सुचारु गर्न सकिने सम्भावना कम हुन्छ । त्यसैले छाती दुखेको १२ घण्टापछि अस्पताल पुगेमा असर परेको मुटुको मांसपेशी निष्कृय भइसकेको हुन्छ । यस्तो अवस्थामा उपचार गरेर बन्द भैसकेको रक्तनलीलाई खोले पनि केही फाइदा नहुन सक्छ । त्यसैले छाती दुखेको २४ घण्टापछि अस्पताल पुगेर एन्जिओप्लास्टी गरेमा पनि फाइदा हुने सम्भावना न्युन हुन्छ ।
अस्पतालको इमर्जेन्सीमा गरिने जाँचहरु
हृदयाघातको शंका भएको बिरामीलाई तुरुन्तै इमर्जेन्सीको खाटमा सुताएर इसिजी गर्नुपर्छ । अस्पताल पुगेको १० मिनेटभित्रै उपलब्ध चिकित्सक वा मुटुरोग विशेषज्ञले इसिजि हेरिसकेको हुनुपर्छ । इसिजी बाहेक सामान्य रगतको जाँच र ट्रोपोनिन भन्ने रगतको जाँच पनि गरिन्छ । यो जाँचले चिकित्सकले हृदयाघात भएको वा नभएको पुष्टि गर्न सक्छन् । हृदयाघातको निदान विशेषगरी लक्षणका आधारमा र इसिजी या ट्रोपोनिनको रिपोर्टअनुसार गरिन्छ ।

हृदयाघातको प्रमुख उपचार
बन्द भएको कोरोनरी आर्टरीलाई खोल्नु र रक्तप्रवाहलाई पुनः सन्चालन गर्नु नै हृदयाघातको प्रमुख उपचार हो । रक्तप्रवाहलाई जति सक्दो चाँडो र पूर्ण रुपमा सञ्चालन गर्नु महत्वपूर्ण कदम मानिन्छ । बन्द भएको नलीलाई दुई तरिकाले खोल्न सकिन्छ । प्रथमः औषधि र दोस्रो एन्जिओप्लास्टी । कुन बिरामीलाई औषधि र कुनलाई एन्जिओप्लास्टी उपचार गर्ने हो, यसको निर्णय उपचारमा संलग्न चिकित्सकले धेरै कुरामा विचार गरेर गर्नुपर्ने हुन्छ ।

एन्जिओप्लास्टी भन्नाले कोरोनरी आर्टरीमा तार छिराएर बेलुन र स्टेन्टको मद्दतले रक्तप्रवाह सुचारु गर्ने भन्ने बुझिन्छ । औषधिले आर्टरीमा भएको क्लटलाई पगालेर रक्त प्रवाह सुचारु गर्छ । दुवै तरिकाको आ–आफ्नै फाइदा र बेफाइदा हुने भएकाले उपचारमा संलग्न विशेषज्ञले नै आफ्नो बिरामीको लागि उपयुक्त तरिका छान्ने गर्छन् । तर, सुविधा भएको ठाउँमा एन्जिओप्लास्टी नै सर्वोत्तम उपचार मानिन्छ । कुनै कारणवश एन्जिओप्लास्टी गर्न नमिल्ने अवस्था भएमा बिरामीलाई औषधिद्वारा नै उपचार गरिन्छ ।


भइसकेपछि के–के सावधानी लिनुपर्छ ?


उपचारका बारेमा : चिकित्सकको सल्लाहअनुसार नै औषधि खानुपर्छ । आफ्नै इच्छाले मात्र कम गर्नु, बढाउनु वा खाँदैं नखानुले अर्को हृदयाघात निम्त्याउन सक्छ । चिकित्सकको सल्लाहअनुसार इसिजी, इकोकार्डियोग्राफी र पोटासियमको जाँच समय समयमा गराइराख्नुपर्छ ।


शारीरिक गतिविधिका बारेमा : शारीरिक गतिविधि सामान्य रुपले कति दिनमा गर्ने हो, सो कुराको जानकारी चिकित्सकसंग लिनुपर्छ । बिरामीले बिस्तारै बिस्तारै प्रतिदिन गतिविधि बढाउँदैं लैजानुपर्छ र लगभग २, ३ हप्तापछि अफिस जाने या सामान्य कार्य गर्न सक्नेहुन्छ । हेभी एक्सरसाइज गर्नुहुँदैंन । यसका बारेमा आफ्नै मुटुरोग विशेषज्ञसंग छलफल गर्नुपर्छ ।


यौनक्रिया र गाडी चलाउनेबारे : यौनक्रियामा संलग्नता र गाडी चलाउने काम ३ हप्तापछि गर्न मिल्छ । तर, यसबारे पनि डाक्टरको सल्लाह लिनुपर्छ ।
खानाका बारेमा : खानामा नुन, चिनी र चिल्लो कम गर्नुपर्छ । सागपात र फलफुल बढी खानुपर्छ । खाना खाएपछि तुरुन्तै हिड्नु हुँदैंन । खाना थोरै–थोरै बरु धेरैपटक खान मिल्छ । मुटु रोगीले दिउँसो खाना खाएपछि एकछिन भएपनि सुत्नु वा आराम गर्नु जरुरी छ ।


धूमपान र मदिरा सेवनका बारेमा : हृदयाघात भइसकेका व्यक्तिले एउटासमेत चुरोट सेवन गर्न मिल्दैन । अरुले सेवन गरेको धुवाँले पनि नराम्रो असर गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri