ललितपुर जिल्लाको दक्षिणकाली नगरपालिकास्थित एक शिक्षकको आश्रयमा हुर्किएको म एक बेवारिसे हुँ । नाता खुलेका कोही मानिसहरु नभएको र परिवारजनको संरक्षकत्व नपाएको एक टुहुरो, अनागरिक हुँ म ।
कानुनले १६ बर्ष नपुगेको वा पुगे पनि नागरिता लिन नआएकाहरु अनागरिक हुँदैनन् भन्छ रे । त्यस्ता मानिसले कुनै दिन नागरिकता माग्न गएमा पाउँछन् भन्ने सुनेको छु । तर, म १६ बर्ष पुगेर नागरिकता लिन जाँदा पनि टुहुरो भएकै कारण अहिलेसम्म अनागरिक बन्न बाध्य छु । नागरिक हुनका लागि योग्य बन्न सकिनँ ।
मलाई थाहा छैन, म कहिलेदेखि, कसरी टुहुरो भएँ ? अबोध अवस्थादेखि नै आमाबुवाको संरक्षणविहीन बनेँ । आमाको सम्झना अलिअलि भएता पनि त्यो निकै धमिलो छ ।
मेरो पानी भरिएको मस्तिष्क जब केही कुरा सुनेर सम्झन सक्ने भयो, त्यतिबेला म दक्षिणकाली नगरपालिकामा थिएँ ।
मैले थाहा पाऊँदा मेरी आमासँग बिताएको बाल्यकाल आफूलाई अलिअलि सम्झना छ । सम्झनामा भएअनुसार आमाको नाम सीता भएजस्तो लाग्छ । पछि म बुझ्ने भएपश्चात यस ठाउँका मानिसहरुले सुनाएअनुसार आमाको नाम चम्सुरी राखेका रहेछन् ।
मलाई याद भएअनुसार म वाल्यकालमा आमासँगै थिएँ । आमा हाल म बसेको स्थानकै वरपर घर, संरचना बनाउने ठाउँमा बालुवा चाल्ने काम गर्नुहुन्थ्यो । आमालाई फोन चलाउन आउँदैनथ्यो । पूर्ण निरक्षर हुनुहुन्थ्यो । चिन्ने, बुझ्नेले भनेअनुसार आमाले पैसासमेत चिन्नुहुन्न थियो रे । तर, मेरा लागि आमाको न्यानो काख एक पूर्णआमाको ओत थियो ।
म प्रायः आमाले काम गर्ने ठाउँमै हुन्थें । आमालाई दिक्क लगाउन, सताउने गर्थेँ ।
म बुझ्ने हुँदा आमा करिव–करिव मानसिकरुपले अस्वस्थ हुनुहुँदो रहेछ भन्ने थाहा पाएँ ।
कहिलेकाहिँ कुरा हुँदा मलाई आमाले भनेको जम्माजम्मी दुईवटा कुरा मात्र याद छ । आफू कहिले जन्मेको भनी सोद्धा राजा मरेको साल जन्मेको हो भन्नुहुन्थ्यो । बुबा खोई, बुबा को हो ? भन्दा कृष्णबहादुर खड्का भन्नुहुन्थ्यो ।
आमाले बालुवा चालेको समयमा म वरपर माटोमा खेलिरहेको हुन्थें । मानिसहरुले मलाई अनेकथरि भनेर जिस्काउँथे । आमाको कुरा काटिरहेको सुन्थें ।
एकदिन आमा अचानक हराउनुभयो ।
कहीँ कतै खोजी गर्दा पनि भेटिनुभएन । म अबोध बच्चाको बिचल्ली हुने देखेर पनि होला, त्यहाँ भएका गन्नेमान्ने र ठेकदारले समेत खोजी गरे । तर, उहाँ कतै भेटिनुभएन ।
मलाई आजसम्म त्यो दिनको याद ताजै छ । म आफूलाई रोक्न नसकेर भक्कनिँदै रोएको थिएँ । मलाई कसैले सम्हाल्न सकेका थिएनन् ।
मानिसहरुले फकाउन खानेकुरा, मिठाई ल्याएर दिए । तर, आमाको अभाव ती चक्लेट र खानेकुराले पूर्ति गर्न सक्ने कुरै भएन ।
यो संसारमा मेरो आफ्नो भन्नु तिनै एकजना आमा मात्रै हुनुहुन्थ्यो । कयौं दिन मैले आमाको यादमा रोएरै बिताएँ । कोही महिलाको आवाज सुन्दा पनि आमा पो आउनुभयो कि भन्ने झझल्कोले सताइरह्यो ।
मेरी आमा हालसम्म जीवित हुनुहन्छ वा मृत्यु भयो ? मलाई थाहा छैन । त्यो दिनबाट मैले आमाले काम गरेका सबै ठाउँमा प्रायःजसो हेरिरहें । तर, कहिल्यै आमालाई देखिनँ । अहिले आमालाई जीवितै भेटिए पनि चिन्न सक्दिनँ होला ।
मेरा कयौं रातहरु भक्कानिएरै कटे । विछिप्त भई अत्तालिएँ ।
त्यही अवस्थामा मलाई कहिलेकाँहि चक्लेट किनेर दिने दक्षिणकाली नगरपालिका वडा नं. ५ का एकजना शिक्षकले आफ्नो घरमा लैजानुभयो । तिम्री आमा पनि भेटिइनन्, अब मेरो घरमा जाऔं, मेरै खर्चले पढाइदिउँला भन्नुभयो ।
मसित अर्को विकल्प नै पो के थियो र ? उहाँले पहिलेबाटै मलाई भेट्दा बोलाउने, मिठाई किनेर दिने गर्नुहुन्थ्यो । मलाई माया गरेको महसुस हुन्थ्यो । मैले रुँदै रुँदै उहाँको घरतर्फ पाइला डो¥याएँ ।
जब मैले एक शिक्षकलाई संरक्षकका रुपमा पाएँ, उहाँको माया र राम्रो व्यवहारले मलाई विस्तारै पीडाबाट बाहिर ल्याउँदै गयो । म उहाँले नै पढाउने विद्यालयमा भर्ना भएँ । र, अहिले मैले उहाँकै संरक्षकत्वमा १२ कक्षा सकाएको छु ।
जब स्नातक पढ्ने बेला भयो, फेरि मलाई संरक्षक गुमाएजस्तो भएको छ । फेरि दोस्रोचोटि आमा गुमाएजस्तै भएको छ । किनभने, म नेपाल आमाको छोरो बन्न सकिनँ । म पहिचानविहीन बन्न पुगेको छु । म परिवार, नातागोता वा आफन्त नभएको, जराविनाको रुखजसतै भएको छु । राज्यले नै तेरो जरा छैन भनेपछि म बालुवामाथिको धुलो बनेको छु ।
म अहिले करिव २० बर्षको भएँ होला । म उहाँ संरक्षकको घरमा छैन । किशोरावस्था पार भइसकेपछि उहाँलाई धेरै दुःख दिन मन लागेन र म आफ्नै क्षमताले केही गर्छु भनेर उहाँको घरबाट निस्किएँ । र, एउटा रोष्टुरेन्टमा काम गर्न थालें ।
जब मैले काम गरेको पहिलो तलब बुझें, खुसीको सीमा थिएन । यतिखेर मेरी आमा सँगै भएको भए, बुवा सँगै भएको भए ल छोराको पहिलो कमाइको है भनेर खुसी साट्न पाउँथे होला नि भन्ने कुराले एकपटक मलाई भावविह्वल बनायो । तैपनि म दुनियाँले पाउने खुसी मारेर बस्न बाध्य थिएँ ।
मेरो केही महिनाको तलब होटलका साहुजीलाई नै राखिदिन भनें । किनभने मसँग पैसा जम्मा गर्ने बैंक खाता थिएन । खाता खोल्नका लागि चाहिने नागरिकता थिएन ।
काम गर्दै जाँदा जब मेरो तलब एक लाख रुपैयाँ जम्मा भयो, मैले आफ्नै बैंक खाता खोलेर राख्छु, भविश्य बनाउँछु, केही वर्षपछि बिवाह गर्छु, मेरा पनि श्रीमती, बच्चाबच्ची, परिवार हुन्छन् भन्ने सपना बुन्न थालें ।
यस्तै सपनामा डुबुल्की मारिरहेको थिएँ । तर, मेरो बैंक खाता खोलिएन । सिडियो कार्यालयले त्यत्तिकै नागरिकता नदिने, बैंकले नागरिकताविना खाता नखोल्ने । नागरिकता नहुँदा मैले पढ्नसमेत नपाउने ।
यस्तै भोगाइले गर्दा मलाई लाग्थ्यो– के यो देशमा म मात्रै हो यस्तो पीडाको शिकार ? न मेरो कमाइमा खुसी साट्ने कोही छ, न त कमाएको रकम राखिदेऊ भनेर दिने बुवाआमा नै । न त बैंकले खाता खोल्न योग्य देख्छ । म आफूलाई घोर अन्यायमा परेको, डोरी चुँडिएको बेलुन जस्तै ठान्थें।
रेस्टुरेन्टमा सर्भ गर्दा टोल्हाएको देखेर मलाई उक्त रेष्टुरेन्टको जागिरमा राख्ने थमन भन्ने दाइले भन्नुभयो– तिमीलाई न्याय दिने अदालत छ भन्नुभयो ।
उहाँले बुद्धनगरमा एकजना वकिलकोमा लगेर भेट गराइदिनुभयो । वकिललाई मैले आफ्नो कथा–व्यथा जस्ताको त्यस्तै सुनाएँ । मेरो पीडाको आधा भारी बोक्ने जिम्मा कानून व्यवसायीको काँधमा सरेको छ ।
अदालतको आदेशपछि तत्कालै बैंक खाता खोल्न पाएको छु । कमाइको एक–एक बुँद बैंकमा जम्मा गरेको कल्पना गर्दैछु ।
अदालतको फैसला आएको छैन । तर, मैले बेपत्ता भएकी आफ्नी आमा चमेलीका नामबाट नागरिकता पाएको सपना देख्न थालिसकेको छु । र, एक टुहुरोको पनि अब परिवार, जहान बच्चाहरु हुनेछन्, अब म एक्लो रहने छैन भन्ने साचिरहेको छु ।
नागरिकता पाएको रात आमा र बुबा सम्झँदै नसुतिकन उज्यालो बनाउन आतुर छ मेरो मन । व्यग्र प्रतिक्षा गरिरहेको छु म त्यो दिन ।
(थप दोस्रो भागमा)
यसअघि प्रकाशित सत्यकथाहरु-
बानेश्वरमा बसभित्रै चिनजान, बागबजार पुग्दा लभ ?
सर्वोच्चसम्म आइपुगेको नवलपरासीको मानव बली !