जीउ मास्ने बेच्नेलाई हाम्रो कानुनले मात्र नभई अन्तर्राष्ट्रिय कानुनले समेत एक अपराधको रुपमा हेरेकोछ । भर्खरै मात्र केन्द्रीय अनुसन्धान ब्युरोले १७ वर्षपछि जीउ मास्ने बेच्ने अभियोग लागेको व्यक्तिलाई पक्राउ गरेको छ ।
मुलुकी ऐन अनुसार जीउ मास्ने बेच्ने भन्नाले यौनसम्बन्धी कार्य गराउनेलाई मात्र मानिँदैन । कमारा कमारी बनाउने, दास तुल्याउने जस्ता गतिविधि पनि यसै महल अन्तर्गत पर्दछन् । कानुनमा अपराधीलाई सजाय मात्र नभएर क्षतिपूर्तिको व्यवस्था पनि छ । के भन्छ त हाम्रो मुलुकी ऐनले यस विषयमा, यसको विस्तृत हामीले यहाँ प्रस्तुत गरेका छौं । मुलुकी ऐनको महल ११ अन्तर्गत जीउ मास्ने बेच्ने पर्दछ । जसको निम्न बुँदाहरु रहेका छन:
१. नं. कसैले कुनै मानिसलाई बिक्री गर्ने उद्देश्यले ललाई फकाई नेपाल सरहद बाहिर लैजान वा लगी बिक्री गर्न हुँदैन । विदेशमा बेच्न लागेकोमा बेच्न नपाउँदै पक्राउ भए बेच्न लैजानेलाई दश वर्ष र बेचिसकेको भए बीस वर्ष कैद हुन्छ । किन्ने मानिस नेपाल सरहदभित्र फेला परे निजलाई समेत बेच्नेलाई हुने सरहको सजाय हुन्छ ।
२. नं. कसैले सोह्र वर्ष नपुगेका नाबालकलाई वा कुनै उमेरको भए पनि मगज बिग्रेका मानिसलाई कानूनी संरक्षकको मञ्जुरी बेगर उसको संरक्षकत्वबाट छुटाउन वा छुटाउनको निमित्त ललाउन फकाउन हुँदेन । सो बमोजिम छुटाए वा ललाए फकाएमा सो गर्नेलाई पाँचसय रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुबै सजाय हुन्छ ।
३. नं. कसैले कसैलाई कमारा कमारी बनाउन, दास तुल्याउन वा बाँधा बनाउन हुँदैन । त्यसरी कमारा कमारी बनाउने, दास तुल्याउने वा बााँधा बनाउने व्यक्तिलाई तीन वर्षदेखि दश वर्षसम्म कैद हुन्छ र अदालतले त्यस्तो कसुरदारबाट सम्बन्धित व्यक्तिलाई मनासिब क्षतिपूर्ति समेत भराई दिन सक्नेछ ।
४. नं. यसै महलको १.२.३ नम्बरमा लेखिएको कसुर गर्नमा जानी जानी मद्दत दिनेलाई मुख्यलाई हुने सजायको आधा सजाय हुन्छ ।
५. नं. यसै महलको १.३ नम्बरमा लेखिए बमोजिम मानिस बेचे किनेकोमा किन्नेको थैली भूस गराई बेच्नेलाई सो नम्बरहरुमा लेखिएको सजायमा थप सो थैलीको बिगो बमोजिम जरिवाना समेत गर्नुपर्छ ।