नैसर्गिक अधिकार भित्र पर्ने एउटा प्रमुख अधिकार हो स्वतन्त्रताको हक । यो हकलाई मानवअधिकारको महासन्धीदेखि लिएर हाम्रो संविधानले पनि पूर्ण रुपमा स्वीकारेकोछ । मानिसले सबैभन्दा पहिले स्वतन्त्र भएर बाँच्न पाउनु पर्छ । अनि मात्र अन्य कुराहरु उसका लागि महत्वपूर्ण हुन्छन् ।
जब स्वतन्त्रतापूर्वक बाँच्न नै पाइएको हुँदैन भने अन्य अधिकार, हक एवं सुविधाहरुको कुनै अर्थ रहन्न । त्यसैले यसलाई एउटा प्रमुख अधिकारका रुपमा हेर्ने गरिन्छ । के तपाईलाई थाहा छ स्वतन्त्रताको हक भित्र के के पर्छ रु नेपालको अन्तरिम संविधान २०६३ को भाग ३ अन्तर्गतको मौलिक हकभित्र धारा १२ अन्तर्गत स्वतन्त्रताको हक पर्दछ । संविधानतः हामीले प्राप्त गरेको मौलिक हक यसप्रकार छ ।
स्वतन्त्रताको हकः
(१) प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ र मृत्यु दण्डको सजाय हुने गरी कुनै कानून बनाइने छैन ।
(२) कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरण हुने छैन ।
(३) प्रत्येक नागरिकलाई देहायको स्वतन्त्रता हुनेछः–(क) विचार र अभिव्यक्तिको स्वतन्त्रता, (ख) बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, (ग) राजनैतिक दल खोल्ने स्वतन्त्रता, (घ) संघ र संस्था खोल्ने स्वतन्त्रता, (ङ) नेपालको कुनै पनि भागमा आवतजावत र बसोवास गर्ने स्वतन्त्रता, (च) कुनै पेशा, रोजगार, उद्योग र व्यापार गर्ने स्वतन्त्रता ।
तर, (१) खण्ड (क) को कुनै कुराले नेपालको सार्वभौमसत्ता, अखण्डता वा विभिन्न जात, जाति, धर्म वा सम्प्रदायहरूका बीचको सुसम्बन्धमा खलल पर्ने वा गाली वेइज्जती वा अदालतको अवहेलना हुने वा अपराध गर्न दुरुत्साहन दिने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी कानून बनाउन रोक लगाएको मानिने छैन ।
(२) खण्ड (ख) को कुनै कुराले नेपालको सार्वभौमसत्ता, अखण्डता वा सार्वजनिक शान्ति र व्यवस्थामा खलल पर्ने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी कानून बनाउन रोक लगाएको मानिने छैन ।
(३) खण्ड (ग) र (घ)को कुनै कुराले नेपालको सार्वभौमसत्ता, अखण्डता वा विभिन्न जात, जाति, धर्म वा सम्प्रदायहरुका बीचको सुसम्बन्धमा खलल पर्ने वा हिंसात्मक कार्य गर्न दुरुत्साहित गर्ने वा सार्वजनिक नैतिकताको प्रतिकूल हुने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी कानून बनाउन रोक लगाएको मानिने छैन ।
(४) खण्ड (ङ)को कुनै कुराले सर्वसाधारण जनताको हित वा विभिन्न जात, जाति, धर्म वा सम्प्रदायहरुका बीचको सुसम्बन्धमा खलल पर्ने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी कानून बनाउन रोक लगाएको मानिने छैन ।
(५) खण्ड (च)को कुनै कुराले सर्वसाधारण जनताको सार्वजनिक स्वास्थ्य या नैतिकताको प्रतिकूल हुने कार्यमा रोक लगाउने वा कुनै खास उद्योग, व्यापार वा सेवा राज्यले मात्र संचालन गर्ने वा कुनै उद्योग, व्यापार, पेसा वा रोजगार गर्नका लागि कुनै सर्त वा योग्यता तोक्ने गरी कानून बनाउन रोक लगाएको मानिने छैन ।