के तपाईको कुनै हक अधिकारको हनन भएकोछ, या त अन्य कुनै कारणले कानूनी लडाइँ लड्ने बारेमा सोच्दै हुनुुहन्छ ? यदि त्यस्तो हो भने केही कुराहरु जान्नुपर्ने हुन्छ । अदालतमा दर्ता गर्न ल्याइने कुनै पनि लिखतहरुमा रीत पुर्याउनुपर्ने पर्ने हुन्छ । बिना रीतको लिखतहरु दर्ता हुँदैनन् । यस्ता लितहरुले पक्षले पनि लेख्न सक्छन् र विपक्षीले पनि लेख्न सक्छन्, जसको तर्फबाट लेखिएको भए पनि रीत पुर्याउनु जरुरी हुन्छ । यसैलाई विचार गरेर हामीले निम्न विषयवस्तुहरु प्रस्तुत गरेका छौं ।
अदालतमा दर्ता गर्न ल्याउने लिखतहरुमा पुर्याउनुपर्ने रीत :
- लिखितम दर्ता गर्न ल्याउने व्यक्ति विपक्षी र पेटबोलीमा नाम उल्लेख भएका व्यक्तिको नाम, थर, ठेगाना तथा थाहा भएसम्म घर/ब्लक नं., कुनै कार्यालयमा कार्यरत रहेकोमा त्यस्तो कार्यालय वा संस्थाको नाम, ठेगाना तथा लिखत दर्ता गर्न ल्याउने पक्ष र प्रत्यर्थीको फ्याक्स, ईमेल, टेलेक्स वा अभिलेख हुन सक्ने विद्युतीय माध्यमसम्बन्धी ठेगाना भए सो ठेगाना र अन्य परिचयात्मक विवरण उल्लेख भएको हुनु पर्दछ ।
- पक्ष, विपक्षको बाबु वा आमा वा पति वा पत्नीको नाम समेत उल्लेख गर्नुपर्दछ ।
- सोह्र वर्षभन्दा कम उमेरका व्यक्ति, होस ठेगानामा नभएका व्यक्ति, लाटालाटी तथा विदेशमा गई फर्की आउने ठेगान नभएका व्यक्तिको हकमा निजका हकवाला, हकवाला नभए निजको संरक्षण वा रेखदेख गर्ने व्यक्तिले अदालतको अनुमति लिई लिखत दर्ता गर्न सक्दछ ।
- के प्रयोजनको लिखत हो, सोको तथ्यगत व्यहोरा र कानुनी आधार खोलिनुपर्दछ ।
- लिखतहरु शिष्ट र संयमित भाषामा लेखिएको हुनुपर्दछ ।
- आफूले लिएको दाबी जिकिर तथा कानुन प्रस्ट रुपमा उल्लेख गरिएको हुनुपर्दछ ।
- लिखत साथ आवश्यक प्रमाणहरु पेश गर्नु वा उल्लेख गर्नुपर्दछ ।
- लिखत दर्ता गर्न ल्याउने व्यक्ति आफैले लिखतको मस्यौदा गरेको भए पहिलो पृष्ठको बायाँपट्टि किनारामा ‘यो लिखतको मस्यौदा मैले गरेको हुँ, मैले घूस किर्ते जालसाजीमा सजाय पाएको छैन’ भनी आफ्नो नाम, ठेगाना स्पष्टसँग लेखी दस्तखत गरेको हुनुपर्दछ ।
- लिखतमा केरमेट भएमा वा थपघट भएमा दर्ता गर्न ल्याउने व्यक्तिले सहीछाप गरेको हुनुपर्दछ ।
- लिखतको प्रत्येक पृष्ठमा दस्तखत र अन्तिम पृष्ठमा पूरा दस्तखत गरेको वा लेख्न नजान्ने भए ल्याप्चे सहीछाप गरेको हुनुपर्छ ।
- लिखत तोकिएको ढाँचमा हुनुपर्दछ ।
लिखत दर्ता सम्बन्धी व्यवस्था
- रीत पुगेका लिखतहरु दर्ताका लागि पेश हुन आएपछि तत्काल दर्ता गरिनेछ ।
- रीत नपुगेकोमा के कति रीत पु¥याउनुपर्ने हो, सो खुलाई अदालतको छाप लगाई फिर्ता दिइनेछ ।
- अदालतमा दर्ता भएको लिखतमा साटफेर र अंक अक्षर थपघट गर्न पाइने छैन । तर लेखाइ वा कम्प्युटर टाइपको सामान्य भूल सच्याई पाऊँ भनी छुट्टै निवेदन दिन सकिनेछ ।
- कुनै लिखत प्रचलित कानुनले दर्ता गर्न नपर्ने वा नहुने रहेछ भने सोको स्पष्ट कारण जनाई दरपीठ गरी फिर्ता दिइनेछ ।
- दरपीठ भएमा सो उपर इजलास समक्ष निवेदन दिन सकिनेछ ।
- लिखत दर्ताका लागि पेश गर्नुपर्ने शाखा, समय, गुनासो सुन्ने अधिकारी र दस्तुरको विवरण अनुसूचिमा उल्लेख गरिएको छ ।
जिल्ला अदालत प्रयोगकर्ताको वडापत्र, सर्वोच्च अदालत, नेपाल २०६६