प्रारम्भिक कुरा : अफूलाई मर्का परेको कुराको उजुरी नै फिराद हो । आफ्नो हक पुग्ने विषयमा मर्का परे मात्र फिराद दिन पाइन्छ । तर सार्वजनिक सरोकारको विषयको कुरामा र नाबालिक, आँखा नदेख्ने, अपाङ्ग, बृद्धबृद्धा लगायत असहाय र विदेशमा रहेको व्यक्तिको हकमा अदालतको अनुमतिले अरुले पनि नालिस गर्न सक्दछ ।
एकपटक मुद्दा परी फैसला भइसकेपछि पुनः सोही विषयमा फिराद गर्न पाइँदैन । दुनियाँवादी मुद्दामा वादीले चाहे जुनसुकै अवस्थामा पनि मुद्दा फिर्ता लिन सक्दछ । झुटा मुद्दा गर्नेलाई कानुनले सजायको व्यवस्था गरेकोछ ।
देवानी र फौजदारी मुद्दाको फिरादपत्र अलग अलग हुनुपर्दछ । फिराद दर्ता भइसकेपछि पुनः उक्त फिरादमा अन्य प्रतिवादी थप गर्न पाइँदैन । फिरादपत्र जिल्ला अदालत नियमावली २०५२ ले तोकेको ढाँचामा हुनुपर्नेछ ।
फिरादपत्रमा उल्लेख हुनुपर्ने कुराहरु :
फिराद गर्नुपर्ने विषयको तथ्यगत व्यहोरा र वस्तुस्थिति । कुन ऐन अन्तर्गतको दाबी हो सम्बन्ध्ति कानुनको उल्लेखन । कुन ऐनअन्तर्गत अदालतको अधिकार क्षेत्रभित्र पर्ने हो सो कुरा । फिरादपत्र हदम्यादभित्र रहेको विषय । अचल सम्पत्ति सम्बन्धी दाबी लिएको मुद्दा भए सोको चार किल्ला र आंशिक दाबी भए कसको तर्फबाट दाबी लिएको हो सो कुरा । कुन कार्यविधि कानुनअन्तर्गत कारवाही हुने हो सो कुरा ।
फिरादपत्रसँग संलग्न गर्नुपर्ने कुराहरु :
दाबीसँग सम्बन्धित प्रमाणहरु फिरादपत्रसाथ पेश गर्नुपर्नेछ । तर तत्काल आफूसाथ नरहेको प्रमाण कागज अदालतको अनुमतिले पछि पेश गर्न सकिनेछ । प्रतिवादीलाई म्यादसँगै जाने फिरादको नक्कल फिराद साथ पेश गर्नुपर्नेछ । कोर्ट फि वा फिराद दस्तुर ।
– जिल्ला अदालत प्रयोगकर्ताको वडापत्र, सर्वोच्च अदालत, नेपाल २०६६