सामान्यतः सबै देबानी मुद्दामा फिराद दायर गर्नेले दस्तुरको रुपमा फिराद दस्तुर वा कोर्ट फि बुझाउनुपर्दछ । कोर्ट फि लाग्ने मुद्दामा बिगोको दाबी गरेको जम्मा रकमको आधारमा निम्नानुसार कोर्ट फि बुझाउनुपर्दछ–
पहिलो दुई हजार रुपैयाँसम्म रु एक सय ।
रु पच्चीस हजारसम्म भए दोस्रो रु तेइस हजारसम्मको ४ प्रतिशतका दरले ।
रु एक लाखसम्म भए तेस्रो रु पचहत्तर हजार सम्मको ३ प्रतिशतका दरले ।
रु दुई लाख पचास हजार सम्म भए चौथो रु एक लाख पचास हजासम्मको २ प्रतिशतका दरले ।
रु पच्चीस लाख भन्दा बढी भएमा बढी अंक जतिको सयकडा १ प्रतिशतका दरले ।
कोर्ट फि नलाग्ने मुद्दामा रु ५०।– फिराद दस्तुर लाग्दछ । फिराद दर्ता गर्दाका अवस्थामा बिगो खुल्न नसकेकोमा सुरुमा रु १००।– कोर्ट फि राखी पछि बिगो खुलेपछि बिगो बमोजिमको थप कोर्ट फि तिर्नुपर्दछ । कोर्ट फि लाग्नेमा कोर्ट फि नराखीकन मुद्दा दर्ता गरे मुद्दा खारेज हुन्छ ।
नितान्त गरिब भएको वा झगडा गरेको वस्तुबाहेक अरु जायजेथा केही नभएको कारणबाट तत्काल कोर्ट फि राख्न नसक्ने भएमा सम्बन्धित गाविस नपाबाट सिफारिस गराई ल्याएमा वा सो कुराको विश्वास लायक प्रमाण दाखल गरेमा पछि कोर्ट फि दाखेल गर्ने गरी अदालतले फिराद दर्ता गर्ने आदेश दिन सक्दछ ।
वादीले मुद्दा जिते आफूले तिरेको कोर्ट फि प्रतिवादीबाट भराई लिन पाउँछ । दाबी नठहरे वादीले राखेको कोर्ट फि जफत हुन्छ ।