मुद्दा मामिलामा हाजिर हुनुपर्ने झगडीयाले आफ्नो सट्टा प्रतिनिधित्व गर्न नियुक्त गरेको प्रतिनिधिलाई वारिस भनिन्छ । कुनै मुद्दाको प्रतिवादीलाई अदालतमा उपस्थित हुन अदालतबाट समाह्वान वा इलतायामा जारी गर्दा पनि वारिस लाग्ने मुद्दामा वारिस पठाउनु भन्ने शब्द परेको हुन्छ, जुन शब्दको अर्थ प्रतिनिधि भन्ने हुन्छ ।
(क) वारेस राख्न पाइने अवस्था
- कुनै कारणवश आफ्नो मुद्दामा आफै पुर्पक्षमा बस्न नसके पक्षले वारेस राख्न पाउँछ ।
- सामान्यत सबै देवानी मुद्दामा वारेस राख्न पाइन्छ ।
- पुर्पक्षको लागि थुनामा बस्नुपर्ने र जमानत लाग्ने अवस्थामा जमानत दिन नसकी थुनामा
- बस्नुपर्ने व्यक्तिले वारेस राख्न पाउँदैन ।
- विदेशीले धरौट वा जमानत दिएको अवस्थामा मात्र वारेस राख्न पाउँछ ।
- सरकारवादी फौजदारी मुद्दामा अदालतको अनुमति लिएर मात्र वारेस राख्न पाउँछ ।
- पक्षले चाहे आफ्नो वारेस परिवर्तन गर्न वा आफैले सकार गरी लिन सक्दछन् ।
(ख) वारेस हुन अयोग्य व्यक्तिहरु
- अदालतबाट लागेको दण्ड, जरिवाना, दशौद, आदेशले बाँकी रहेको कोर्ट फि, सरकारी बिगो बुझाउन बाँकी रहेको व्यक्ति ।
- १६ वर्ष उमेर नपुगेको व्यक्ति ।
- कानुन बमोजिम थुनामा रहेको व्यक्ति ।
- घूस कीर्तेमा सजाय पाएको व्यक्ति ।
- नैतिक पतन देखिने फौजदारी अपराधमा सजाय पाएको व्यक्ति ।
- चारकोशभन्दा टाढाका अड्डामा परेको मुद्दामा वारेस भैरहेको व्यक्ति ।
(ग) अधिकृत वारेस सम्बन्धी व्यवस्था
- कुनै व्यक्तिले आफ्नो अचल सम्पत्ति हक हस्तान्तरण गर्न र मुद्दा मामिलामा पूर्पक्ष गर्नको लागि अधिकृत वारेस मुककर गर्न सक्नेछ ।
- अधिकृत वारेसनामा प्रमाणित गराउनको लागि लिने दिने दुबैे आफ्ना ३/३ प्रति पासपोर्ट आकारको फोटो, नागरिकताको प्रमाणपत्र एवं आवश्यक अन्य कागजपत्रको सक्कलै र तिनका नक्कलसहित २ प्रति अधिकृत वारेसनामाका लिखत र निवेदन लिई स्वयं उपस्थित हुनुपर्छ ।
- अधिकृत वारेसनामाको लिखत पक्ष स्वयं वा कानून व्यवसायीद्वारा तयार गरिएको हुनुपर्दछ ।
- अधिकृत वारेसनामा नेपालभित्र भए जिल्ला न्यायाधिश र विदेशमा भए नेपाली राजदूत वा वाणिज्यदूतबाट प्रमाणित गरिन्छ ।