Jus Nepal
मङ्लबार, माघ १, २०८१ | January 14, 2025 |

सामाजिक परम्परा विरुद्ध कठोर हुदै कानून

Marriageविवाह, ब्रतबन्ध, चूडाकर्म, पास्नी, न्वारान, जन्मदिवस, छैठी, बूढो-पास्नी र पितृ-कार्य आदी हरेक नेपालीले मनाउने वा गर्ने कार्यक्रम हुन । यस्ता शुभ तथा अशुभ कार्यहरु गर्दा बिभिन्न संस्कार, चलन र प्रक्रीया अनुसार मनाईने गरीन्छ । यसलाई सबैले ब्यक्तिगत कुराहरु तथा आफ्नो मनपरी हिसाबले मनाउने कुरा अधिकार ठान्दछौ ।

यस्ता बिविध कार्यक्रममा रमाईलो गर्ने, भेला हुने र सक्दो समाजमा आफ्नो शक्ति र तडकभडक देखाउने अवसरको रुपमा प्रयोग गर्ने सामान्य चलन हो । तर यस्ता कार्यक्रममा पनि कानुनले केही सिमा तोकीदीएको छ । यस्ता कार्यक्रममा कति सहभागि हुन पाउने कसते कस्तो ब्यबहार समाजमा देखाउन पाईने भन्ने कुरा जथाभावि गर्दा कानुनको उल्लङ्घन भई कानुन बमाजिम कारवाही हुन्छ भन्ने कुरा सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ मा ब्याख्या गरीएको छ ।

यो ऐन सामाजिक व्यवहारमा भइरहेको र बढ्दो प्रतिस्पर्धात्मक भडक र फजुल खर्चमा नियन्त्रण गरी सुधार गर्न बनेको हो । त्यसैले भडकीलो ब्यबहार पनि अपराध हो समाजमा त्यस्तो ब्यबहार र देखाउनका लागि बढी फजुल खर्च गरेमा सजाए हुन्छ ।

यस ऐन अनुसार विवाह हुँदा तिलक लिन दिन हुँदैन । यदी लिएमा बिगो जफत गरी बाह्र हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा तीस दिनसम्म कैद वा दुवै सजाय हुनेछ ।

त्यसैगरी छोरीबेटीको विवाह गरी दिंदा सो बापत दुलही पक्षले आफनो लागि कुनै नगदी जिन्सी लिन हुँदैन । कसैले लिएमा बिगो जफत गरी बाह्र हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ र दिनेलाई त्यसको आधासम्म सजाय हुनेछ । कतिपय चलनमा माईति पक्षले लिनै पर्ने चलन पनि रहेको पाईन्छ ।

विवाह हुने छोरीबेटीको लागि दुलहा पक्षले यति गहना, कपडा, नगद–जिन्सी वा जेथा दिनुपर्छ भनी कर लगाउन हुँदैन । यस्तो कर कसैले गरेमा दश हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद हुनेछ ।

विवाह हुँदा वा विवाह पछि दुलही पक्षबाट दुलही वा दुलहालाई यति नगद जिन्सी दाइजो, दान, बकस, भेटी, विदाई उपहार समेत जुनसुकै रुपमा दिनुपर्छ भनी दुलहा पक्षले कर लगाउन वा यति लिने दिने भनी दुवै पक्षले अगावै तय गर्न हुँदैन र दाइजो दिएन भनी दुलहा पक्षले टण्टा गर्न वा विवाह गर्न इन्कार गर्न वा विवाह भइसकेको भए दुलही विदाई गराई साथ नलग्न वा दुलही पछि मात्र विदाई गराई लग्ने प्रथा भएकाहरुले पछि विदाई गराई लग्न इन्कार गर्न हुँदैन ।

तर विवाह हुँदा जिउमा लगाएको एकसरो गहना बाहेक आफनो कुल परम्परा अनुसार राजीखुशीले दिनेले पनि बढीमा दश हजार रुपैयाँसम्मको मात्र दाइजो दिन हुन्छ भन्ने ब्यबस्था यो ऐनमा छ । कसैले यस्तो गरेमा लिन दिन नपाउने बिगो भए बिगो जफत गरी दश हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुनेछ ।

कतै कतै दुलहाको पढाईमा लागेको वा लाग्ने खर्च वा निजलाई व्यापार वा व्यवसायमा लगाउन चाहिने पूँजी वा दुलहा तर्फको विवाह खर्च दुलही पक्षबाट माग्ने वा लिने चलन पनि पाईन्छ यस्तो गर्नु पनि यस ऐन अनुसार अपराध नै हो । त्यसैगरी जन्त लग्दा लागेको बाटो खर्च तथा खाना खर्च दुलही पक्षले व्यहोर्न पाईदैन र केटा पक्षले तिराउन पाईदैन, यस्तो गरेमा बिगो जफत गरी बीस हजारदेखि चालीस हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुनेछ ।

जन्त जानेहरुलाई कुनै किसिमको नगद जिन्सी उपहार दिन हुँदैन यदी कसैले दिएमा बीस हजारदेखि चालीस हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद हुनेछ । तर जन्तसाथ जाने भरियाहरुलाई नगदी वा जिन्सी ज्याला दिन भने बाधा पर्ने छैन ।

त्यसै गरी यो ऐनले सहभागिको संख्या र कार्यक्रमको आकारमा पनि सिमा तोकेको छ । विहेमा बाजावाला लगायत एकाउन्न जानाभन्दा बढी जन्त वा बरियात लान नहुने, जन्तमा कुनै प्रकारको भाडावाल नाच लग्न नहुने, जन्तमा आतसबाजी गर्न नहुने र जन्तमा एघार जना भन्दा बढी बाजावाला राख्न नहुने प्रावधान छ । यस्ता कसुर कसैले गरेमा दश हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुनेछ ।

त्यसै गरी दुलहा तथा दुलही पक्षबाट आयोजित भोजमा नजीकको नातेदार बाहेक अरु छरछिमेकी इष्टमित्रहरु मध्येबाट एकाउन्न जना भन्दा बढी व्यक्तिलाई आमन्त्रण गरेमा बीस हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुनेछ ।

छैठी, न्वारान, जन्मदिवस, पास्नी, चूडाकर्म, ब्रतबन्ध, बुढो–पास्नी गर्दा सो कर्मकाण्डसंग सम्बन्धित नजिकको नातेदार बाहेक अरु छरछिमेकी इष्टमित्रहरुमध्येबाट पच्चीस जनाभन्दा बढी व्यक्तिलाई भोजमा आमन्त्रण गरेमा दश हजार रुपैयाँ जरिवाना वा सात दिनसम्म कैद वा दुवै सजाय हुनेछ ।

कुनै पनि व्यक्तिको मृत्यु उपरान्त गरिने काज किरिया, श्राद्ध एवं अन्य विभिन्न क्रिया गर्दा नजीकको नातेदार र मलामी (गुठियार) बाहेक अरु छरछिमेकी इष्टभित्रहरु मध्येबाट पच्चीस जनाभन्दा बढी व्यक्तिलाई भोजमा आमन्त्रण गरेमा दश हजार रुपैयाँसम्म जरिवाना वा सात दिनसम्म कैद वा दुवै सजाय हुनेछ ।

कुनै पनि सामानहरु दाइजो, उपहार र अन्य सामाग्रिहरु भडकिलो रुपमा प्रदर्शन गरी लैजान वा पठाउन हुँदैन यस्तो गरेमा पाँच हजार रुपैयाँसम्म जरिवाना वा सात दिनसम्म कैद वा दुवै सजाय हुनेछ ।सामाजिक व्यवहार गर्दा कुनै अवसर वा उपलक्ष्यमा चाहिनेभन्दा बढी हुनेगरी भड्किलो रुपमा घर सजाउने वा वत्ती बाली घर सजाउने गरेमा दश हजार रुपैयाँसम्म जरिवाना वा सात दिनसम्म कैद हुनेछ ।

कसैले उल्लेखित ब्याबहार संग सम्बन्धीत कसुरहरु गरेमा त्यस्तो व्यक्ति उपर कानूनी कारवाई जिल्ला कार्यालयले गर्नेछ । साथै यस्ता विवाह, ब्रतबन्ध, चूडाकर्म, पास्नी, बूढो पास्नी तथा पितृ–कार्य आदिमा गरिने खर्चको सम्बन्धमा हदबन्दी लगाई नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आदेश जारी गर्न पनि सक्नेछ र सामाजिक व्यवहारको सिलसिलामा भोजको लागि आमन्त्रण गरिएका व्यक्तिहरुको लगत तथा ऐनमा तोकिएबमोजिम भए नभएको विवरण सम्बन्धित प्रमुख जिल्ला अधिकारीले माग गर्न सक्नेछ, त्यसरी मागिएको विवरण सम्बन्धित व्यक्तिले सूचना पाएको मितिले बाटाका म्याद बाहेक पन्ध्र दिनभित्र दिनु पर्नेछ ।

यसरी प्रमुख जिल्ला अधिकारीले विवरण माग गर्दा ऐनको म्यादभित्र उजूर परेको हकमा मात्र माग गर्न सक्नेछ । यदी प्रमुख जिल्ला अधिकारीले मागेको विवरण नदिएमा तीन हजार रुपैयाँसम्म जरिवाना वा तीन दिनसम्म कैद वा दुवै सजाय हुनेछ ।

यस्ता गतिबिधि बारे भएको पैंतीस दिन भित्र मुद्दा दायर नगरेमा मुद्दा चलाउन सकिने छैन । साधारण नागरीक भएमा बढीमा तीस हजार रुपैयाँसम्म जरिवाना वा तीस दिनसम्म कैद हुनेछ भने सरकारी कर्मचारी वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रण भएको संगठित संस्थाको कर्मचारी वा नेपाल सरकारबाट स्थापना गरिएको संस्थान वा संगठित स्वशासित संस्थाका कर्मचारीहरुले यस्ता कसुर गरेमा तोकिएको सजायको अतिरिक्त निजको सेवा शर्तसम्बन्धी कानून बमोजिम विभागीय कारवाही समेत गरिनेछ ।

साथै सरकारले कुनै पनि समय यस्ता सामाजिक ब्याबहारका अन्य कुराहरुमा पनि कानुन बनाई लागु गर्न सक्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

पछिल्ला सामाग्री


गतिविधि

थप

Kanoon Post

जस नेपाल प्रा.लि.
द्वारा सञ्चालित
सुचना विभाग द.नं. ४८११/०८१/०८२

सम्पादकः हरिप्रसाद मैनाली

९८५१०४१३९३

© 2024 - 2025 Jus Nepal Pvt. Ltd. All Rights Reserved. Site By: Neem Chhetri