बालक जता पनि प्रत्यक्ष वा अप्रत्यक्ष ठुलाहरुबाट हेपिनु पर्ने बर्गमा पर्दछ । शक्तिमा पनि ठुला संग प्रतिरोध गर्न सक्ने क्षमता हुदैन साथै राम्रै कुरा पनि सानो भनेर महत्व दिईदैन । यस्तो समस्या त सामान्य नै होला तर बालबालिकालाई कडा श्रम गर्न बाध्य पनि बनाएको पाईन्छ । बालकलाई श्रम गराउन कानुनले रोक लगाएको छ तर कानुनी कार्यान्वयनको पक्ष फितलो हुदा हाम्र देशबाट बाल श्रम निर्मुल गर्न सकिएको अबस्था छैन ।
बालकलाई कल कारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन निषेध गर्न तथा बालकलाई अन्य काममा लगाउँदा उनीहरुको स्वास्थ्य, सुरक्षा तथा सेवा र सुविधाका सम्बन्धमा आवश्यक व्यवस्था गर्नका लागि बनेको बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ अनुसार बाल श्रम अपराध हो । बालक श्रमिकको रुपमा काममा लगाउनु बालश्रम हो भने यो अपराध हो ।
चौध वर्ष उमेर पूरा नगरेका बालकलाई श्रमिकको रुपमा काममा लगाउन पाईदैन यदि कसैले लगाएमा निजलाई तीन महीनासम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुन्छ ।
कसैले बालकलाई कुनै पनि जोखिमपूर्ण वा कल कारखाना, संगठन, संस्था, फर्म, कम्पनी व्यवसाय वा काममा लगाएमा वा ललाई, फकाई वा झुक्याएर वा कुनै प्रलोभनमा वा डर, त्रास वा दवाबमा पारी वा अन्य कुनै तरिकाले निजको इच्छा विरुद्ध श्रमिकको रुपमा काममा लगाएमा एक वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुन्छ ।
कसैले बालबालिकालाई काम लगाउनै पर्ने भएमा सम्बन्धित श्रम कार्यालय वा कार्यालयले तोकेको अन्य कुनै निकाय वा अधिकारी र बालकको बाबु, आमा वा संरक्षकको स्वीकृति लिनु पर्नेछ । तर नेपाल सरकारबाट स्वीकृति प्राप्त शिक्षण संस्था वा बालकको हक र हितको संरक्षणको निमित्त कार्यरत प्रचलित कानून बमोजिम स्थापित संस्थाद्वारा बालकको बृहत हितको निमित्त आयोजना गरिने काममा वा सांस्कृतिक कार्यक्रममा लगाउन स्वीकृति लिनु पर्ने छैन ।
बालकलाई काममा लगाउने स्वीकृति दिंदा श्रम कार्यालयले बालकको शीप र योग्यताको विकास गर्ने तथा शिक्षा प्रदान गर्ने उद्देश्यले शर्तहरु लगाउन सक्ने र यसको अनिवार्य पालना गर्नु पर्नेछ । प्रतिष्ठानले बालकलाई श्रमिकको रुपमा काममा लगाउनु अघि त्यस्तो बालकले श्रमिकको रुपमा काम गर्न सक्ने योग्यताको प्रमाणपत्र लिनु पर्नेछ । योग्यताको प्रमाणपत्र लिन त्यस्तो बालकले गर्नु पर्ने कामको प्रकृति र उमेर समेत उल्लेख गरी श्रम कार्यालयमा निवेदन दिनु पर्नेछ । निवेदन प्राप्त भएपछि श्रम कार्यालयले बालकको स्वास्थ्य परीक्षण गराई योग्य देखिएमा चिकित्सकले तोके अनुसार एक बर्षका लागि योग्यताको प्रमाणपत्र दिनेछ । यदि यस्तो तोकिएको प्रक्रिया नपुर्याएमा दुई महीनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुन्छ ।
त्यसै गरी बालबालिकालाई बेलुका छ बजेपछि बिहान छ बजेसम्म काममा लगाउनु पाईदैन । वा काममा लगाउँदा दिनमा छ घण्टा र एक सप्ताहमा छत्तिस घण्टाभन्दा बढी पैसा दिएर पनि काममा लगाउनु पाईदैन । त्यस्तै बालकलाई प्रत्येक दिन लगातार तीन घण्टा काम गरेपछि आधा घण्टा आराम गर्ने समय र प्रत्येक सप्ताहमा एक दिन पारिश्रमिक सहीतको बिदा दिनु पर्दछ । एकै दिन एउटा भन्दा बढी काममा लगाउन पाईदैन । त्यस्ता काम गर्ने बालबालिका जति भए पनि सबैलाई कुनै भेदभाव नगरी समान कामको लागि समान पारिश्रमिक र सुविधा दिईनु पर्दछ । त्यस्तै ज्याला दिदा कानुनले तोके भन्दा कम दिन पाईदैन ।
यस्ता कानुन बिपरित भएका कामहरुका कारण एक पटक सजाय पाइसकेपछि पुनः सोही काम गरेमा निजलाई पटकै पिच्छे तोकिएको सजायको दोब्बर सजाय हुनेछ ।
यस्ता बालश्रम तथा श्रम शोषण लगायतका कसूर भएमा कुनै पनि व्यक्ति वा संस्थाले सम्बन्धित श्रम कार्यालयमा, निरीक्षण गर्ने कर्मचारी,इलाकाको प्रहरी, बालकको बाबु, आमा वा संरक्षक, विकास समिति वा नगरपालिका, टे«ड युनियन, बालकको हक र हितको संरक्षणमा कार्यरत स्थापित निकाय वा गैरसरकारी संस्था समक्ष कसुर भए गरेको एक वर्षभित्र उजूरी दिनु पर्नेछ ।
कहाँ कहाँ काममा लगाउन हुदैन बालबालिकालाई ?
(क) पर्यटन, आवास, मोटेल, होटेल, जुवाघर, रेष्टुराँ, बार, पव, रिसर्ट स्किइङ्ग, ग्लाईडिङ्ग, वाटर ¥याफ्टिङ्ग, केवल कार कम्प्लेक्स, पोनी टे«किङ्ग, पदयात्रा, पर्वतारोहण, हट एयर ब्यालुनिङ्ग, प्यारासेलिङ्ग, गल्फ कोर्ष, पोलो, अश्वरोहण आदि पर्यटनसँग सम्बन्धित व्यवसायहरु,
(ख) कार्यशाला, प्रयोगशाला, पशु वधशाला, शीत भण्डार आदि सेवामूलक व्यवसायहरु,
(ग) सार्वजनिक परिवहन र निर्माण व्यवसायहरु,
(घ) चुरोट, बिडी बनाउने, गलैंचा बुन्ने तथा रङ्गाउने, ऊन सफा गर्ने, कपडा बुन्ने, धुने, रङ्गाउने तथा बुट्टा छाप्ने, छाला प्रशोधन गर्ने, सिमेन्ट उत्पादन तथा प्याकिङ्ग, सलाई, विष्फोटक तथा अन्य आगजन्य पदार्थहरुको उत्पादन र बिक्री वितरण, बीयर, मदिरा तथा अन्य पेय पदार्थहरुको उत्पादन, साबुन उत्पादन, बिटुमिन उत्पादन, पल्प र पेपर उत्पादन, स्लेट, पेन्सिल उत्पादन, कीटनाशक औषधि उत्पादन, लुब्रिकेटिङ्ग तेल उत्पादन, फोहोर मैला संकलन, प्रशोधन तथा इलेक्ट्रोप्लेटिङ्ग, फोटो प्रोसेसिङ्ग, रबर, सिन्थेटिक, प्लाष्टिक, सिसा, पारोसँग सम्बन्धित कार्यहरु,
(ङ) जलस्रोत, वायु, शौर्यशक्ति, कोइला, प्राकृतिक तेल वा ग्यास, बायोग्यास तथा त्यस्तै अन्य स्रोतबाट उर्जा पैदा गर्ने र त्यसको प्रसारण वा वितरणसँग सम्बन्धित कार्यहरु,
(च) खानी, खनिज पदार्थ, प्राकृतिक तेल वा ग्यासको उत्खनन्, प्रशोधन तथा वितरणसँग
सम्बन्धित कार्यहरु,
(छ) रिक्सा वा ठेलागाडा,
(ज) कटिङ्ग मेशीन जस्ता कार्यहरु,
(झ) जमिनमुनी, पानीमुनी र धेरै उँचाईमा चढेर गर्नु पर्ने कार्यहरु,
(ञ) रसायनिक पदार्थहरुसँग सम्पर्क हुने कार्यहरु, र
(ट) प्रचलित कानून बमोजिम तोकिएको अन्य जोखिमपूर्ण कार्यहरु ।