राष्ट्र विप्लव गर्नेलाई जन्मकैद सजाय हुने प्रावधान छ । राज्य बिरुद्धका अपराधहरुमा सबै भन्दा ठुलो र सजाय बढि हुने अपराध राष्ट्र विप्लव अपराध हो । राज द्रोह भन्दा जघन्य यो अपराधलाई मानिन्छ ।
राज्य विरुद्धको अपराध र सजायको ब्याख्या तथा ब्याबस्था गर्न बनेको ऐन ‘राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६’ ले राष्ट्र विप्लव अपराध र सजाय सम्बन्धी ब्यबस्था गरेको छ । यस ऐनको दफा ३ मा यस सम्बन्धी प्रावधानहरु उल्लेख छन । कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा निजलाई जन्म कैद हुनेछ ।
त्यस्तै दफा ३ कै बुदा २ मा कसैले आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी नेपाल सरकारलाई पल्टाउने
नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा निजलाई जन्म कैद वा दश वर्ष कैद हुनेछ ।
त्यसै गरी कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा आघात पर्न सक्ने गरी कुनै विदेशी राज्य वा संगठित शक्तिसंग मिली कुनै प्रकारको षडयन्त्र गरेमा निजलाई जन्म कैद वा दश वर्षसम्म कैद हुनेछ भने माथिका अपराध गर्ने षडयन्त्र रचेमा वा सो गर्ने नियतले मानिस, हातहतियार वा खरखजाना जम्मा गरेमा वा सो गर्न दुरुत्साहन दिएमा निजलाई दश वर्षसम्म कैद हुने ब्यबस्था यस ऐनले गरेको छ ।