म आफन्त नभएको जराविनाको रुख जस्तै जस्तै छु ।
राज्यले पनि तेरो जरा छैन भनेपछि, मेरो सहारा नै पो को छ र ?
म अहिले बालुवामाथिको धुलो जस्तै जस्तै बनेको छु ।
म एक काठमाडौं जिल्लाको आसपासमा एक शिक्षकका घरमा उहाँको संरक्षकत्वमा आश्रय लिई बस्दै आएको, नाता खुलेका र परिवार संरक्षक नभएको टुहुरो, नागरिकता नभएको मन, भावना, रगतका कण कणमा नेपाल कुँदिएको नेपाली नागरिक हुँ ।
कानून बमोजिम १६ बर्ष नपुगेको वा पुगेको भएता पनि नागरिकता लिन नआएकाहरु अनागरिक हुँदैनन, कुनै दिन नागरिकता लिन गएमा पाउँछन् । तर, म १६ बर्ष पनि पुगेको र नागरिकता लिन पहल गरेता पनि आमा बुवा र परिवार नभएको टुहुरो भएको कारण नै अहिलेसम्म अनागरिक रहेको छु ।
मलाई थाहा छैन, थिएन !
म अबोध हुँदाको अवस्थादेखि नै आफ्ना आमाबुवाको संरक्षणविहीन बनेको रहेछु । मेरो पानी भरिएको मस्तिस्क जब केही कुरा सुनेर सम्झन सक्ने भयो, त्यतिबेला म काठमाडौं जिल्लाको आसपासमा थिएँ ।
मैले थाहा पाऊँदा मेरी आमासँग आएको आफूलाई अलिअलि बाल्यकालको मात्र सम्झना छ । मेरो सम्झनामा भएअनुसार मेरी आमाको नाम सीता भएको जस्तो लाग्छ र पछि यस ठाउँका मानिसहरुले म बुझ्ने भएपश्चात सुनाएअनुसार आमाको नाम चम्सुरी राखेका रहेछन् ।
मलाई याद भए अनुसार म आमासँगै थिएँ र मेरी आमा म संरक्षण लिई बसेको घर वरपर घर, संरचना बनाउने ठाउँमा बालुवा चाल्दै उहाँ आफू पालिएर मलाई पनि बचाउनुभएको थियो । मेरी आमालाई फोन चलाउन आउँदैनथ्यो । पूर्ण निरक्षर हुनुहुन्थ्यो ।
मेरा लागि आमाको न्यानो काख एक पूर्णआमाको काख थियो । स्थानीयहरूले अहिले सुनाउनु हुन्छ- म कहिले आमासँग काम गर्ने ठाउँमा नै आमालाई दिक्क लगाउने त कहिले सताउने गर्थे रे ।
मेरो बच्चा दिमागले त आफू उभिएको धर्ती नै संसार लागेजस्तै के थाहा पाउनु, पछि म बुझ्ने हुँदा आमा करिब-करिब मानसिकरुपले अस्वस्थ हुनुहुँदो रहेछ भन्ने कुरा थाहा पाएँ । मेरी आमालाई चिन्ने, बुझ्नेले भने अनुसार आमाले पैसासमेत चिन्नु हुन्न थियो रे ।
मैले आफ्नी आमासँग कहिले कहिले कुरा हुँदा आमाले भनेको जम्मा दुई कुरा मात्र याद छन् । आफू कहिले जन्मेको भनी सोद्धा ‘राजा मरेको साल जन्मेको हो’ भन्नुहुन्थ्यो । अनि बुबा खोई, को हो ? भन्दा ‘कृष्णबहादुर खड्का’ हो भन्नुहुन्थ्यो ।
आमा बालुवा चालेको समयमा म आमा भएको वरपर माटोमा खेल्ने, बस्ने गर्थें । विभिन्न मानिसले जिस्काएर बोलाउँदा बोल्ने लगायत गर्दै आएको अवस्थामा रहेको थिएँ ।
त्यसै क्रममा मेरी आमा एकाएक हराउनुभयो । कहीँ कतै खोजी गर्दा पनि भेटिनुभएन । म अबोध बच्चासँगै भएका कारणले पनि होला, त्यहाँ भएका गन्नेमान्ने र ठेकदारहरुसमेत लागेर मेरी आमाको खोजी गर्दासमेत आमालाई भेटिएन । मलाई उक्त दिनको याद छ, म आफूलाई रोक्न नसकी एकोहोरो रोएको मात्र थिएँ । कसैले सम्हाल्न सकेका थिएनन् ।
सबैले जीवनमा मलाई मनपर्ने खानेकुरा, मिठाई ल्याएर दिए । तर, आमाको अभाव ती चकलेट, खानेकुराले लिनै कुरै थिएन । कयौं पटक भक्कानिएर रोएँ । विछिप्त भई अत्तालिएँ ।
सोही अवस्थामा मलाई कहिले काहीँ चकलेट किनेर दिने र बोलाई रहने एक शिक्षकले मलाई आफ्नो घरमा राख्छु जाऊँ, अब आमा पनि भेटिएन, आमा भेटिएपछि आमासँगै आउनु, म स्कुलमा मेरो खर्चले पढादिउँला भन्नु भयो ।
मैले मनमा जेजति कुरा खेले पनि, जति पीडा भए पनि गर्न सक्ने नै के थियो र ? उहाँले मलाई पहिलेबाटै बोलाउने, मिठाई किनेर दिने र माया गर्ने गर्नुहुन्थ्यो । मैले केही बुझेर, सोचेर होइन तर रुँदै रुँदै उहाँले डोर्याएतर्फ पाइला चल्दै गएँ र म उहाँको संरक्षणमा रहँदै आएँ ।
कयौं दिन बेपत्ता आमा, आफ्नो भनेर मैले देखेको एकजना मात्र मान्छे मैले जीवनभरका लागि गुमाएकोमा ती दिन हुन् कि रात, उस्तै बितिरहे ।
कोही महिलाको आवाज सुन्दा पनि आफ्नै आमा आउनुभयो कि भन्ने झल्कोले मेरो दिमाग करिब १ बर्षसम्म नराम्रोसँग रुमल्लिइरह्यो ।
मेरी आमा हालसम्म जीवित छिन् वा मृत्यु भयो, मलाई केही थाहा छैन । त्यो दिनबाट मैले आमाले पहिले काम गरेका सबै ठाउँमा प्राय:जसो हेरिरहें । तर कहिल्यै आमालाई देखिनँ । अहिले आमालाई जीवितै रहेको भए पनि चिन्न सक्ने अवस्था पनि छैन ।
जब मैले एक शिक्षकलाई संरक्षक पाएँ, उहाँको माया र राम्रो व्यवहारले मलाई बिस्तारै पीडाबाट बाहिर ल्याउँदै गयो । संरक्षक नै शिक्षक भएको विद्यालमा उहाँले नै भर्ना गरेर मैले पढ्न थालें ।
हाल मैले उच्च शिक्षा प्लस टु सकाएको छु । तर, जa स्नातक पढ्न पर्यो, म फेरि दोस्रोपटक आमा गुमाएजस्तै पीडामा परेको छु । म नेपालको नागरिक बन्न नसकेको कुराले मलाई यस्तो पीडामा पारेको हो ।
म परिवार, नाता र आफन्त नभएको, जराविनाको रुखजस्तै भएको छु । राज्यले पनि तेरो जरा छैन भनेपछि म अहिले बालुवामाथिको धुलोजस्तै बनेको छु ।्म
अहिले करिब २० बर्षको भएँ होला । म उहाँ संरक्षकको घरमा छैन । उहाँलाई धेरै दु:ख दिन पनि मन लागेन र आफ्नो क्षमताले सक्ने केही काम गर्छु भनी एक रष्टुरेन्टमा काम गर्न थालेको छु ।
जब मैले काम गरेर पहिलो तलव बुझें, खुसीको सीमा नै रहेन !
मेरी आमा संँगै भए,बुवा पनि भएको भए छोराको कमाइको है भनेर खुसी साट्न पाउथेँ होला नि भन्ने कुराले एकपटक भावविह्वल बनायो ।
तर, म दुनियाँले पाउने उक्त खुशी मारेर बस्न बाध्य थिएँ ।
मेरो केही महिनाको तलब होटलका साहुजीलाई नै राखिदिन भनें । जब १ लाख रुपैयाँ भयो, मैले पनि आफ्नै बैंक खाता खोलेर राख्छु, मेरो पनि त भविश्य छ, मैले पनि त भविश्य बनाउनु पर्छ, केही वर्षमा बिहे गर्नु पर्छ, श्रीमती, बच्चाबच्ची . . . . यस्तो सपनामा सजाउँदै जब म रकम जम्मा गर्न, बैंक खाता खोल्न बैंकमा गएँ, नागरिकता नभएका कारण बैंक खाता खोल्न अयोग्य भएँ ।
सिडियो कार्यलयले नागरिकता नदिने, बैंकले नागरिकताविना खाता नखोल्ने । नागरिकता नहुँदा म पढ्न नपाउने । यस्ता भोगाइले मलाई लाग्थ्यो, यो संसारमा म मात्र हो यस्तो पीडाको शिकार ।
न मेरो कमाइमा खुसी साट्ने कोही छ, न त कामाएको रकम राखिदेउ भनेर दिने बुवाआमा नै । न त बैंकले खाता खोल्न योग्य देख्छ ।
म आफूलाई अन्यायमा परेको, एक डोरी चुँडिएको बेलुन सोचिरहन्थें । रेस्टुरेन्टमा काम गर्दा, सर्भ गर्दा टोल्हाएको देखेर मलाई जागिरमा राख्ने दाइले तिमीलाई न्याय दिने अदालत छ भन्नुभयो ।
उहाँले एक वकिलसँग भेटाई सबै कुरा बताउँनुभयो । यिनको कोही छैन, मैले नै हो सबै गर्ने, तपाईको न्यूनतम पेशागत फी लिएर रिट दर्ता गरिदिनुहोला भनी उहाँले दर्ता शुल्क तिरी मुद्दा लेख्न छोडी आउनुभयो ।
अब मेरो पीडाको भारी बोक्ने जिम्मा कानून व्यवसायीको काँधमा आयो ।
रिट दर्ता र अदालतबाट भएको आदेश फैसला दोस्रो अंकमा…